तनहुँसुर, ग्रामीण पर्यटन र इतिहासको खोज

तनहुँसुर, ग्रामीण पर्यटन र इतिहासको खोज

के.बि.मसाल

@antaranganews

२०८२ बैशाख ७ गते आईतबार ०६:४३

वि.सं.२००७ सालमा राणा शासनविरुद्धको क्रान्तिका क्रममा बन्दीपुर सदरमुकाम कब्जा गर्ने क्रममा ज्यान गुमाएका शहीदको स्मृतिमा तनहुँसुरमा पार्क स्थापना गरिएको छ । शहीद पार्कमा बन्दीपुर कब्जा गर्न गएका शहीदहरू सन्तबहादुर राना, धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, धर्मध्वज गुरुङ र खडगबहादुर गोदारको प्रतिमा स्थापना गरिएको छ । शहीद मध्ये ४ जना धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठ तनहुँसुरका थिए भने खडगबहादुर गोदार वसन्तपुरका र धर्मध्वज गुरुङ पुलिमराङका थिए ।

मगर, नेवार र दलितको बसोबास रहेको गाउँमा घरबासमा आउने पर्यटकहरूलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने गरिन्छ । 

नेपाली समाजमा आजभोलि घुमन्ते संस्कृतिको विकास भएको छ । पर्यटन भनेकै नयाँ ठाउँमा घुम्ने प्रकृतिमा भएका विभिन्न सम्पदा र इतिहासको खोज अनुसन्धान गर्ने र विभिन्न जातिहरूको भाषा, संस्कृतिको अवलोकन गर्ने हो । इतिहास र पुरातात्विक सम्पदा जति अध्ययन हुन सक्यो नयाँ कुराहरू फेला पर्दछ । इतिहासको खोज कहिल्य पनि सकिदैन । इतिहास शास्त्रहरूको जग हो भन्दा पनि हुन्छ । आजभोलि पर्यटकहरूले ऐतिहासिक पुरातात्विक सम्पदाहरूको खोज अनुसन्धानमा रुचि राख्दछन । पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरूको खोज– अनुसन्धान गर्न पर्यटकहरूको ठूलो योगदान हुन्छ । पुस्तकमा नलेखिएका बिषयहरूको खोज अनुसन्धान गर्ने भनेको खुल्ला विश्वद्यिालयबाट हो । खोज अनुसन्धानबाट आएका कुराहरू इतिहाससँग जोडिन्छ ।   तनहुँ ऐतिहासिक र ऋषिहरूको तपस्यास्थल भएको आध्यात्मिक भूमि हो । तनहुँको तनहुँसुर ऐतिहासिकस्थल हो । तनहुँ जिल्लाको नामकरण पनि तनहँुसुरबाटै भएको मानिन्छ । सार्वजनिक सवारी साधनमा सदरमुकाम दमौलीबाट घाँसीकुवा हुँदै १७ किलोमिटरको यात्रामा तनहुँसुर पुग्न सकिन्छ । अर्कोतर्फ तनहुँसुर जानका लागि डूम्रे भंसार हुँदै चुँदी रम्घाको टुहुरेपसल, सिमपानी भएर पनि पुग्न सकिन्छ । तनहुँमा पुग्ने पर्यटकहरू विशेष गरी सेन राजाहरूको इतिहास अध्यन गर्न तनहुँसुर पुग्नै पर्ने हुन्छ । तनहूँसुर पहाडको तीन चुचुराहरू मिलेर बनेको छ । ऐतिहासिक तनहूँसुरको करिव चार सय वर्ष लामो इतिहास छ । पाल्पाका राजा मणिमुकुन्द सेनका जेठो छोरो भृङ्गीसेनदेखि उनीपछिका सेनवंशी राजाले २ सय ३० वर्षसम्म तनहूँसुरमा सेन राजाले शासन गरेको इतिहास रहेको छ । प्रथम राजा भृङ्गी सेनदेखि अन्तिम राजा हरकुमार सेनसम्म विभिन्न ९ जना सेन राजाले तनहुँमा शासन गरेका थिए । विक्रम संवत १६१० मा स्थापित तनहुँसुर राज्यको अन्त्य १८३९ मा भएको थियो । तनहुँसुरमा सेन राजाको दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला, गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढीचौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, र भगवतीपानी मन्दिर ऐतिहासिक सम्पदा हुन ।
तनहुँसुर पुगेपछि पर्यटकहरूले सेनवंशी राजाको इतिहास जान्न खोज्दछन । नेपालमा कुनै समयको विशाल खस राज्य विक्रम संवत १४६० को अन्त्यसम्म आइपुग्दा पतन हुन पुग्यो । विशाल खसान राज्यको पतनपछि बाइसे र चौबिसे राज्यहरूको उदय हुन पुग्यो । त्यहि समयमा पाल्पामा सेनवंशी राज्यको उदय भएको थियो । राजा मणिमुकुन्द सेनले पाल्पा राज्यमा शासन गर्दा उत्तरमा मुक्ति क्षेत्रदेखि दक्षिणमा हरिहर क्षेत्र र पश्चिम काली गण्डकीदेखि पूर्वमा टिष्टासम्म विस्तार भएको थियो । विक्रम संवत १६१० मा पाल्पा राज्यका शक्तिशाली राजा मणिमुकुन्द सेनको मृत्युपछि उनका १३ भाइ छोराहरूले बुवाको पैतृक सम्पतिका रुपमा भाइ अंशमा बाँडफाँड गरी छुट्टाछुट्टै राज्य घोषणा गरे ।
मणिमुकुन्द सेनको मरणोपरान्त छोराहरू माणिक्य सेनले पाल्पा, विनायक सेनले बुटवल, लोहाङ सेनले मकवानपुर, राम सेनले रिसिङ, कुवेर सेनले राजपुर र भृङ्गी सेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । लोहाङ सेनको मकवानपुर राज्य पनि भाइ अंश लाग्दै मकवानपुर, विजलपुरा अर्थात विजयपुर र चौदण्डी राज्यमा विभाजन हुन पुगेको थियो । तनहुँ राज्य भृङ्गी सेनको भागमा परेपछि तनहुँको राज्यको राजधानी तनहुँसुरमा भयो । त्यो बेला तनहुँसुरमा सातवटा गढी थिए । अहिले भग्नावशेष पाउनसमेत मुस्किल भएको छ । अहिले ती ठाउँहरूमा पार्क र मोबाइल टावर रहेको छ ।
पछि रिसिङका राजा रामसेन निसन्तान भएकाले तनहुँका राजा भृङ्गी सेनका जेठा छोरा हम्वीर सेनको हातमा राज्य अपुतालीमा आयो । अर्कोतर्फ तनहुँका राजा भृङ्गी सेनको वि.सं.१६२८ मा मृत्यु भएपछि राजगद्दीको हकदारका विषयमा हम्वीर सेन र भाइ धर्माङगतबीच मनमुटाव भयो । राज्यको अधिकार कसको हातमा भन्ने विवादले तनहुँ राज्य कमजोर भएको अवस्थामा त्रिशूलीदेखि मर्स्याङदीसम्मको विशाल राज्य हम्वीर सेनले थाम्न सकेनन । परिणाम स्वरुप गोरखामा खडका, मगर, तामाङ र घलेहरूले राज्य गर्न थालेका थिए । विक्रम संवत १६१६ मा द्रव्य शाहले लिगलिगकोटको दौडबाट गोरखा राज्य स्थापना गर्न सफल भएका थिए । यसरी तनहुँ राज्यको पूर्वी सिमाना मर्स्याङदीसम्म खुम्चिन पुग्यो । त्यति मात्र होइन, हम्वीर सेन र धर्माङगत सेन बीच तनहुँ  राज्य कसले लिने भन्ने भाइ झगडाले तनहुँबाट छुट्टिएर मिर्लुङकोटले छुट्टै राज्यको अस्तित्व लिएको थियो । जसको नेतृत्व भाइ धर्माङगत सेनले गरेका थिए । हम्वीर सेनपछि तनहूँको राजगद्दीमा तुला सेन आए । त्यसपछि दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कामरीदत्त सेन र हरकुमारदत्त सेनले तनहुँको राज्य सम्हालेका थिए । तनहुँका राजा दिग्विजय सेनको पालामा गलेखामकोट, मिर्लुङ्गोट, गजरकोट, किहुँ र ढोर राज्यहरू तनहुँमा मिलाइएको थियो । त्यस्तै, राजपुरको राज्य अपुतालीमा पर्न आएको थियो । यसरी तनहुँ राज्य पहाडदेखि तराईसम्म फैलिएको विशाल राज्यका रुपमा उभिएको थियो । वि.सं.१८३४ साउन ३ गतेका दिन तनहुँको चितवन खण्ड र वि.सं.१८३९ माघ १८ गतेका दिन तनहुँको पहाडी खण्ड गोरखा राज्यमा विलय भएको थियो । पृथ्वीनारायण शाहले तनहुँलाई नेपाल राज्यमा गाभ्नुअघि तनहुँ राज्य चितवनको पुरै भाग समेटी भारतको रामनगर तथा राजपुरसम्म फैलिएको थियो ।
तनहुँसुरमा अहिले पनि सेनवंशी राजाले बनाएका सातवटा गढी, चौतारा, सेनाले प्रयोग गरेको तोप लगायतका ऐतिहासिक सम्पदा पर्यटकहरूले देख्न सक्दछन । सेनकालीन तोप सेन शासनकालको जुन तोप तनहुँसुरको खानीबाट निकालिएको फलामबाट स्थानिय कालीगढले बनाएका थिए । जसको प्रमाण स्वरुप दमौलीबाट तनहुँसुरसम्म मोटर मार्ग निर्माणको क्रममा फलाम पिटने आरन र फलामका कीट भेटिएको थियो । तनहुँसुर दरबारको दक्षिणतर्फ एउटा चौतारा छ । जसलाई गद्दीचौतारा भन्ने गरिन्छ । चौताराको बीचमा काठको फ्रेम चारैतिर बनाई त्यसमाथि स्लेटले छाएको र तल बस्ने ठाउँ छ । गद्दीचौतारामा बसेर सेनवंशी राजाको समयमा न्याय निसाफ गर्दथिए भन्ने इतिहास छ । वि.सं.२००७ सालमा राणा शासनविरुद्धको क्रान्तिका क्रममा बन्दीपुर सदरमुकाम कब्जा गर्ने क्रममा ज्यान गुमाएका शहीदको स्मृतिमा तनहुँसुरमा पार्क स्थापना गरिएको छ । शहीद पार्कमा बन्दीपुर कब्जा गर्न गएका शहीदहरू सन्तबहादुर राना, धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, धर्मध्वज गुरुङ र खडगबहादुर गोदारको प्रतिमा स्थापना गरिएको छ । शहीद मध्ये ४ जना धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठ तनहुँसुरका थिए भने खडगबहादुर गोदार वसन्तपुरका र धर्मध्वज गुरुङ पुलिमराङका थिए ।
तनहुँसुर इतिहास र प्रकृतिसंग रम्न खोज्ने पर्यटकहरू पुग्नै पर्दछ । सामुन्द्रिक सतह देखि १ हजार २४५ मिटर उचाइमा पर्ने तनहुँसुर गर्मीको समयमा पुग्दा सितलताको अनुभव हुन्छ । तनहुँसुर प्रकृति प्रेमीका लागि हरिया डाँडापाखा र गाउँले जीवनशैलीले पर्यटकहरू लोभिन्छन । तनहुँसुरमा मगर जातिको बाहुल्य भएपनि नेवार, दलित, बाहुन, क्षेत्री आदिको बसोबास रहेको छ । सफा मौसम भएको बेला तनहुँसुरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, हिमचुली, बुद्ध र लाङटाङलगायत हिमश्रृखला अवलोकन समेत गर्न सकिन्छ । अर्को तर्फ तनहुँसुरबाट महाभारत पर्वत श्रृखला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न भूगोलको अवलोकन गर्न सकिन्छ । तनहुँसुरमा जादा पर्यटकहरुलाई खाना बस्नको कुनै असुबिधा हुँदैन । तनहुँसुरमा पर्यटकहरूका लागि सामुदायिक घरवास सञ्चालन गरिएको छ । पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । अर्कोतर्फ पाल्पालीथोक, पत्यारथोक र गङलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । मगर, नेवार र दलितको बसोबास रहेको गाउँमा घरबासमा आउने पर्यटकहरूलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने गरिन्छ । आत्मीय गाउँले व्यवहार, सरसफाइ एवं स्थानीय अर्गानिक परिकारको स्वाद तथा मगर र नेवार संस्कृतिमा पर्यटकहरू रमाउछन ।
पर्यटनमा जहिले पनि नयाँ कुरा र नयाँ ठाउको खोजी हुन्छ । नयाँ ठाउमा पर्यटक पुग्दा उसको रुचि अनुसार खोज अनुसन्धान गर्न खोज्दछ । नयाँ कुरामा पर्यटकहरूलाई खोज गर्ने रुचि जाग्दछ । प्रकृति र सस्कृति भित्र लुकेर रहेका खोजपूर्ण कुराहरूलाई उसले बाहिर ल्याउछ । तनहुँसुर नदेखेकोलाई नयाँ हुन्छ । अब तनहुँसुरमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरूको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले सहयोग गर्ने सक्ने हो भने पनि तनहुँसुरको पर्यटन विकासमा सुधार आउन सक्छ । पर्यटनको लागि तनहुँसुरमा पुर्वाधारको विकास गर्दै जानु पर्दछ । पर्यटनको विकासले तनहुँसुरको अर्थतन्त्रमा सुधार आउन सक्दछ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । अहिले तनहुँसुरको पर्यटनको बिकासको लागि ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ । तनहुँसुरको पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पुर्याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।
पर्यटनको क्षेत्रमा घुमफिर गर्दा प्याकेज कार्यक्रम बनाउँदा राम्रो हुन्छ । आजभोलि पर्यटनको क्षेत्रमा पनि प्याकेज शब्द प्रयोग हुन थालेको छ । पर्यटकहरूले घुमफिर गर्दा आफ्नो रुचि, समय र घुमफिरको लागि हुने खर्चको लेखाजोखा गरी यात्राको प्याकेज बनाउदा एउटै यात्रामा धेरै ठाउँमा पुग्न सकिन्छ । घुमफिरमा समूहमा जादा खर्च पनि कम लाग्ने र यात्रामा रमाइलो पनि हुन्छ । तर, धेरै पर्यटकहरूमा प्याकेजमा घुमफिर गर्ने संस्कृति छैन । प्याकेज भनेको आबधिक योजना हो । घुमफिरको लागि यात्राको योजना बनाएर घुम्दा सुरक्षित मात्र नभएर धेरै कुरामा सजिलो हुन्छ । पर्यटनको प्याकेजमा कतिजना जाने, कति दिनको घुमफिर गर्ने ? पदयात्रा गर्ने कि नगर्ने ? कुन–कुन ठाउमा बास बस्ने ? र यसका लागि कति रकम आवस्यक पर्दछ भन्ने तय हुन्छ । अहिले सकेसम्म पारिवारिक र साथीहरूको समूह बनाएर यात्रामा निस्कने बानी पनि धेरैमा हुने गरेको छ । तनहुँमा घुमफिर गर्नका लागि खाना बस्नका लागि धेरै ठाउँमा होटल र होमस्टे सुविधा छ । प्रायः सबै गाउँ ठाउँमा सडक यातायातको पहुच मार्ग बनेको छ । तर पनि साना सवारी साधन बलेरो र स्कारपिओ जस्ता गाडी प्रयोग गर्दा सजिलो, छिटो र भरपर्दो पनि हुन्छ ।
तनहुँमा पर्यटनका लागि घुमफिर गर्ने ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदा धेरै छन ।  पर्यटकहरूको रुचि अनुसार तनहुँसुर जाँदा भानुभक्तको जन्मस्थल चुदी रम्घा पनि पुग्न सकिन्छ ।  पर्यटकहरूलाई भानुको जन्मस्थल पुग्दा बेग्लै अनुभूती हुन्छ । भानुभक्त जन्मस्थल भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुदीँ रम्घाको शिखर कटेरी हाल धर्मशाला चुदी बेसीबाट उत्तर–पूर्व अग्लो डाँडोमा रहेको छ । शिखर कटेरीमा जान आजभोलि मोटरमार्ग पुगेको छ । तर पैदल यात्रामा रमाउने पर्यटकहरूका लागि चुँदीबाट शिखर कटेरी पुग्न पैदल ४० मिनेट जति उकालो बाटो यात्रा गर्नु पर्दछ । भानुभक्त जन्मिएको वि.सं.१८७६ मा पं. श्रीकृष्ण आचार्यले बनाएको घर भग्नावशेष छ । शिखर कटेरीमा जन्मनु भएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनु भएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरूमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । अहिले शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ । भानुभक्तको चुँदी रम्घामा संग्राहलय रहेको छ । संग्राहलयमा भानुभक्तसंग जोडिएका केही सामान राखिएको छ ।
कसरी पुग्ने ?
पृथ्वी राजमार्गमा पर्ने घाँसीकुवादेखि उत्तर १५ किलोमिटर दूरीमा तनहुँसुर पर्दछ । बस, जिप, कार र मोटर बाइकमा तनहुँसुर गाउँसम्म पुग्न सकिन्छ । अहिले पदयात्रामा रमाउने पर्यटकहरूका लागि पदमार्ग समेत निर्माण भएको छ ।
(लेखक : हाल दाङबासी हुनुको साथै पर्यापर्यटनका क्षेत्रमा विशेष चासो राख्दै दक्षता हासिल गर्नु भएको व्यक्तित्व हुनुहुन्छ ।)
प्रकाशित मिति २०८२ बैशाख ७, आईतवार १८:४३ गते
हजुरको प्रतिक्रिया