आज वैशाख कृष्ण औंसी आमाको मुख हेर्ने चाड

आज वैशाख कृष्ण औंसी आमाको मुख हेर्ने चाड

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १४ गते आईतबार ०७:५०

सनातन वैदिक संस्कृतिका शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो चाडलाई लिइने शास्त्रीय परम्परा छ ।

आमालाई आज एक दिनमात्र श्रद्धाभक्ति देखाएर छोराछोरीको कर्तव्य भने पुरा हुँदैन ।

काठमाडौं– नेपाली समाज चाडपर्वमा धनी छ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ वैशाख १४ गते मनाइँदै छ । जन्मदाता आमालाई सम्मान गर्ने चाडका रुपमा पनि आजको दिनलाई सम्झने गरिन्छ ।
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने चाडका रुपमा आज देशभर मात्र नभई नेपाली समाज रहेका विभिन्न देशमा समेत आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।
सनातन वैदिक संस्कृतिका शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो चाडलाई लिइने शास्त्रीय परम्परा छ ।
आफ्नी आमालाई छोराछोरीहरूले आजकै दिन बिहानै उठी नुहाएर राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईको बताउनु भएको छ ।
उहाँका अनुसार सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो, ‘यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।’ वैशाखकृष्ण औंसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी दिनुभयो ।
यही चाडका अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनु भयो । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
तर आमालाई आज एक दिनमात्र श्रद्धाभक्ति देखाएर छोराछोरीको कर्तव्य भने पुरा हुँदैन ।

प्रकाशित मिति २०८२ बैशाख १४, आईतवार ०७:५० गते
हजुरको प्रतिक्रिया