पाउँदी(लमजुङ)– आज अक्षय तृतीया, लमजुङमा धर्मनाथ धामसहित सप्ताहव्यापी ज्ञानमहायज्ञको उद्घाटन हुने तयारी पुरा भएको छ । लमजुङलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि आजको दिन कोशेढुंगा हुने आंकलन गरिएको छ । लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित मर्स्याङदी नदी किनारमा धर्मनाथ धामको निर्माण गरिएको छ । सो स्थानमा निर्माण गरिएका विभिन्न देवताका मूर्तिहरूमा प्राण भर्नका लागि प्रतिष्ठा कार्यसहित धर्मिक सप्ताहव्यापी ज्ञान महायज्ञको उद्घाटन बैशाख १७ गते हुने भएको हो ।
सर्बोदय धर्मनाथ धाम, लमजुङको आयोजनामा हुने उक्त सप्ताहव्यापी धार्मिक कार्यक्रमलाई आध्यात्मिक ऊर्जा र आस्था मात्र नभई भविष्यको धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको सर्बोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार आवश्यक पूर्वाधारको निर्माण सहित सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
सप्ताहभर विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन् । प्रत्येक दिन रुद्री पाठ, हवन, कथा प्रवचन लगायतका विधिहरू गरिने कार्यक्रम रहेको छ । आयोजकले श्रद्धालु भक्तजनहरूलाई धर्म, संस्कार र साधनाको गहिरो अनुभूति दिलाउने गरी कार्यक्रम तय गरिएको छ उहाँले जानकारी दिनुभयो । ओलियाले भन्नुभयो, ‘कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रमा अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको प्रमुख आतिथ्यता रहने छ ।’ साथमा विशेष सांस्कृतिक झाँकीसहितको भव्य उद्घाटन समारोह हुने ओलियाले उल्लेख गर्नुभयो ।
धर्मनाथधाम परिसरमा १२ फिटको शिवजीको ध्यानात्मक मुर्ति, ५/५ फिटका गणेश र हनुमानका मूर्ति, पाँच फिट लम्बाई तथा साढे तीन फिट उचाईको नन्दीको मुर्ति रहेका छन् । त्यस बाहेक १०८ गौमुखी धारा, १०८ शिवलिङ्ग र १००८ शालिग्रामसमेतको परिक्रमा स्थल निर्माण गरिएको छ । मूल कार्यक्रम प्राणप्रतिष्ठा हो । यसका लागि अर्थात मूर्तिहरूमा प्राण भर्नका लागि पाँच दिन लाग्ने शास्त्रीय मत रहेको छ । सोही अनुसार कार्यक्रम तय गरिएको ओलियाको भनाइ छ । उहाँका अनुसार यी सबै कार्यका लागि उक्त आश्रममा आउने तथा आश्रमको महिमाको बारेमा जानकारी पाएपछि श्रद्धालु भक्तजनबाट स्वःस्फूर्त रुपमा प्राप्त सहयोग रकमबाट धाम निर्माण कार्य गरिएको ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार पछि आश्रम तथा धाम परिसरमा बारबन्देज, ढलान, नदीमा जाने बाटो निर्माण, १०८ धाराका लागि मस्र्याङ्दी नदीको पानी लिफ्ट गरी निरन्तर बहावको प्रवन्ध गर्ने आदि कार्यका लागि राइनास नगरपालिकाले ३० लाख र गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ सहयोग यो वर्ष प्राप्त भएको छ ।
धर्मनाथ धाम करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको छ भने सोसँगै रहेको सर्वोदय सेवाश्रमको क्षेत्रफल ४० रोपनी रहेको छ । ती दुवै क्षेत्रको अवलोकन गर्नका लागि करिब १५/१५ मिनेटको समय लाग्ने गर्दछ ।
धर्मनाथ धामको स्थापना :
सो स्थानमा २०६८ सालको कार्तिकमा हरिबोधनी एकादशीका दिन सर्वोदय सेवाश्रमको कार्य थालनी भएको थियो । त्यस स्थलोमा आउनुहुने मानवीय सेवा भावनका स्वयम्सेवी व्यक्तित्वहरूका लागि धार्मिक स्थल हुन जरुरी थियो । यो क्षेत्र सिद्धेश्वर महादेव रहेको सिद्ध तीर्थस्थल क्षेत्र पनि हो । यसै क्रममा मर्स्याङदी नदीमा स्वप्नबाट हिरण्य गर्भ, शिवलिङ्ग, शिला, शालिग्रामसमेत प्राप्त भयो ती सबैको व्यवस्थापन गर्नका लागि वैदिक सनातन संस्कृतिमा विश्वमै नभएको धामका रुपमा धर्मनाथ धाम नामाकारण गर्नका लागि धार्मिक गुरुहरूबाट सल्लाह, सुझाव प्राप्त भयो । त्यसकै आधारमा यो धामको निर्माण भएको हो ओलिया बताउनु हु्न्छ ।
यस कार्यले पवित्र तीर्थस्थलको अनुभूति दिने विश्वास गरिएको ओलियाको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो अद्वितीय कार्य तथा धार्मिक संरचना लमजुङमा मात्र नभई मुलुकमै पहिलोपटक निर्माण भएकाले यसले आन्तरिक तथा बाह्य हिन्दू धार्मिक पर्यटकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ ।’ धर्मनाथ धाम विश्वकै लागि नमूना स्थल हो उहाँले उल्लेख गर्नुभयो ।

धार्मिक प्रवचन कार्यक्रमको क्रममा बैशाख १७ गते स्वामी कमलनयनाचार्य र श्रीसनाथ योगी, बैशाख १८ गते स्वामी रमणानन्द गिरी र रामरोशन दास, बैशाख १९ गते चैतन्यकृष्ण र योगी सोमराजको प्रवचन हुने कार्यक्रम छ । त्यस्तै, बैशाख २० गते लामा गुरु सागरधम्म र लामा गुरु मिङमार डाक्पोरेपा, बैशाख २१ गते डा. चिन्तामणि नाथ योगी र मानसाग्नी डा. हरिप्रसादले, बैशाख २२ गते योगाचार्य कृष्ण शरणले र अन्तिम दिन बैशाख २३ गते कञ्चन घिमिरे र श्रीराम स्वधर्मले प्रवचन दिनुहुने कार्यक्रम तय भएको आयोजकको भनाइ छ ।
धर्मनाथ धामको प्राकृतिक शान्त परिवेश, धार्मिक संरचना र आध्यात्मिक साधनाको समागमले लमजुङलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको आयोजक सर्वोदय सेवाश्रमका कोषाध्यक्ष भुमिनन्द तिमिल्सिनाले बताउनु भएको छ ।
यो धाम निर्माणका लागि दुई वर्ष लागेको धर्मनाथ धाम उदघाटन समारोहको प्रचार समितिका उपसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार ऐले बिहान ११ः३० बजे उदघाटन हु्ने कार्यक्रम छ ।
कार्यक्रम सफल पार्न स्थानीयको सक्रियता, धार्मिक संस्थाको सहयोग र श्रद्धालुहरूको सहभागिता अपेक्षा गरिएको छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
उक्त धर्मनाथ धाममा जानका लागि लमजुङको प्रवेश नाका पाउँदीबाट पूर्वतर्फ करिब दुई किमिको दुरीमा रहेको छ । त्यसमा करिब आधा किमि कच्ची र बाँकी पक्की सडक सुविधा रहेको छ ।
आज अक्षय तृतीया :
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
प्रकाशित मिति २०८२ बैशाख १७, बुधबार ०७:५७ गते