लमजुङमा खुल्यो नयाँ धार्मिक गतव्य : ‘धर्मनाथ धाम’को उदघाटन

लमजुङमा खुल्यो नयाँ धार्मिक गतव्य : ‘धर्मनाथ धाम’को उदघाटन

नवराज पहाडी

@antaranganews

२०८२ बैशाख १८ गते बिहिबार ०६:१९

‘धर्म, साधना र संस्कारको संगम धामका रूपमा विकास हुँदै गएको यो स्थलमा गरिएको यस अद्वितीय कार्य तथा धार्मिक संरचना लमजुङमा मात्र नभई मुलुकमै पहिलोपटक निर्माण भएकाले यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटक(हिन्दू र बौद्धिष्ट)लाई आकर्षण गर्ने अपेक्षा गरिएको छ ।’

मूल कार्यक्रम धाममा स्थापित मूर्तिहरूमा प्राण भर्नका लागि प्रतिष्ठा गर्ने हो । यसका लागि पाँच दिन लाग्ने शास्त्रीय मत रहेको छ । सोही अनुसार कार्यक्रम तय गरिएको अध्यक्ष ओलियाको भनाइ छ ।

पाउँदी(लमजुङ)– लमजुङमा नयाँ धर्मिक गन्तव्य स्थलको सिर्जना गरिएको छ । धर्मनाथ धामसहित सप्ताहव्यापी ज्ञानमहायज्ञको उदघाटन भएसँगै बैशाख १७ गते अक्षयतृतीयाका दिनमा त्यस्तो खुलासा भएको हो । मुक्तिनाथ धामका पिठाधिशश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज मुक्तिनाथ बाबाले उक्त स्थलको उदघाटन गर्नु भएको हो ।
अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले सो धामको उदघाटन गर्दै हाम्रो सनातन संस्कृतिको सभ्यता नदी सभ्यता हो र यो नै मूल सभ्यता हो भन्नुभयो । ऐले देशमा यस्ता सभ्यताको संरक्षण र प्रवद्र्धन कार्यमा ध्यान नदिएको हुँदा देशले दुःख पाइरहेको उहाँको कथन थियो । उहाँले भन्नुभयो ‘यो धर्मनाथ धाम तीन नगरपालिका, दुई जिल्ला र नदी सभ्यताकै अर्को एक रुप हो, हामी गण्डकी सभ्यतासँग जोडिएका छौं ।’ यो स्थलको नाम सुन्ना साथ मलाई उहाँ आउने मन उठ्यो र बिना विघ्नबाधा म आउन सकेँ, यसबाट पनि यो स्थलमा दिव्य शक्ति छ भन्ने उहाँले उल्लेख गर्नु भयो । उहाँले हामीसबै मिलेर नदी अर्थात सनातन सभ्यताको संरक्षण र प्रवद्र्धन गर्नु पर्दछ भन्ने आग्रह गर्नु भएको थियो ।
मञ्चको औपचारिक कार्यक्रम हुनु अघि मुक्तिनाथ पीठाधीश्वरले धर्मनाथधाम परिसरमा निर्माण गरिएका १०८ गौमुखी धारा, १०८ शिवलिंग र १००८ शालिग्राममा पानी सेचन गरी उदघाटन गर्नु भएको हो ।
सो परिसमा १२ फिटको शिवजीको ध्यानात्मक मुर्ति, ५÷५ फिटका गणेश र हनुमानका मूर्ति, पाँच फिट लम्बाई तथा साढे तीन फिट उचाईको नन्दीको मुर्ति समेत निर्माण गरिएको छ । उक्त धर्मनाथ धाम लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित मस्र्याङदी नदी किनारमा निर्माण गरिएको छ ।
कार्यक्रममा आयोजक संस्था तथा कार्यक्रमका अध्यक्ष कृष्णराज ओलियाले धर्मनाथ धामको इतिहासदेखि वर्तमानसम्मका गतिविधिमा प्रकाश पार्नु भएको थियो । उहाँका अनुसार त्यस बाहेक परिक्रमा स्थल निर्माण गरिएको छ, मूल कार्यक्रम प्राणप्रतिष्ठा हो । मूल कार्यक्रम धाममा स्थापित मूर्तिहरूमा प्राण भर्नका लागि प्रतिष्ठा गर्ने हो । यसका लागि अर्थात मूर्तिहरूमा प्राण भर्नका लागि पाँच दिन लाग्ने शास्त्रीय मत रहेको छ । सोही अनुसार कार्यक्रम तय गरिएको अध्यक्ष ओलियाको भनाइ छ ।
त्यस अवसरमा धर्मनाथ धामको अभिभावकत्व ग्रहण गरेकोमा अनन्तश्री विभूषित मुक्तिनाथ धामका पिठाधिशश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज मुक्तिनाथ बाबालाई आयोजकको तर्फबाट सम्मान गरिएको थियो । राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ र धर्मनाथ धामका अध्यक्ष कृष्णराज ओलियाले संयुक्त रुपमा बाबालाई सम्मान पत्र समर्पण गर्नु भएको हो ।
यसैगरी, उक्त धामको संरचना निर्माणका लागि ३० लाख रुपैयाँ सहयोग गरेकोमा राइनास नगरपालिकालाई पनि सम्मान गरिएको ओलियाले जानकारी दिनुभयो । सम्मानित हुनेमा नन्दीको मूर्ति स्थापित गर्नु हुने नुवाकोट निवासी श्रीराम पाण्डे, १०८ शालिग्राम स्थल निर्माणको सहयोग गर्नु हुने लमजुङको पाउँदी निवासी वेदप्रसाद पोखरेल, सर्वोयद सेवाश्रममा आएर पटक पटक जीवन जिउने कलाको प्रशिक्षण दिनु हुने कञ्चन घिमिरेलाई पनि सो अवसरमा सम्मान गरीएको थियो । समनको कार्यक्रम भोलिदेखि अन्तिम दिनसम्म पनि चलिरहने आयोजकको भनाइ छ ।
सो स्थानमा निर्माण गरिएका विभिन्न देवताका मूर्तिहरूमा प्राण भर्नका लागि प्रतिष्ठा कार्यसहित धर्मिक सप्ताहव्यापी ज्ञान महायज्ञ प्रारम्भ भएको हो । यो दिन कोशेढुंगा हुने आंकलन गरिएको छ । उक्त सप्ताहव्यापी धार्मिक कार्यक्रमलाई आध्यात्मिक ऊर्जा र आस्था मात्र नभई भविष्यको धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको सर्बोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सप्ताहभर विभिन्न धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन् ।’
प्रत्येक दिन रुद्री पाठ, हवन, कथा प्रवचन लगायतका विधिहरू गरिने कार्यक्रम रहेको छ । आयोजकले श्रद्धालु भक्तजनहरूलाई धर्म, संस्कार र साधनाको गहिरो अनुभूति दिलाउने गरी कार्यक्रम तय गरिएको छ उहाँले जानकारी दिनुभयो । ओलियाले भन्नुभयो, ‘धर्मनाथधाम परिसरमा १२ फिटको शिवजीको ध्यानात्मक मुर्ति, ५÷५ फिटका गणेश र हनुमानका मूर्ति, पाँच फिट लम्बाई तथा साढे तीन फिट उचाईको नन्दीको मुर्ति रहेका छन् । त्यस बाहेक १०८ गौमुखी धारा, १०८ शिवलिंग र १००८ शालिग्रामसमेतको परिक्रमा स्थल निर्माण गरिएको छ ।
सोही अनुसार कार्यक्रम तय गरिएको ओलियाको भनाइ छ । उहाँका अनुसार यी सबै कार्यका लागि उक्त आश्रममा आउने तथा आश्रमको महिमाको बारेमा जानकारी पाएपछि श्रद्धालु भक्तजनबाट स्वःस्फूर्त रुपमा प्राप्त सहयोग रकमबाट धाम निर्माण क्षेत्रमा संरचना निर्माण कार्य गरिएको ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार मूर्तिहरूको मूल संरचना निर्माण भएपछि आश्रम तथा धाम परिसरमा बारबन्देज, ढलान, नदीमा जाने बाटो निर्माण, १०८ गोमुखी धाराका लागि मस्र्याङ्दी नदीको पानी लिफ्ट गरी निरन्तर बहावको प्रवन्ध गर्ने आदि कार्यका लागि राइनास नगरपालिकाबाट ३० लाख रुपैया र गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ सहयोग यो वर्ष प्राप्त भएको छ ।
धर्मनाथ धामको परिकल्पना :
सो स्थानमा २०६८ सालको कार्तिकमा हरिबोधनी एकादशीका दिन सर्वोदय सेवाश्रमको कार्य थालनी भएको थियो । त्यस स्थलोमा आउनुहुने मानवीय सेवा भावनका स्वयम्सेवी व्यक्तित्वहरूका लागि धार्मिक स्थल हुन जरुरी थियो । यो क्षेत्र सिद्धेश्वर महादेव रहेको सिद्ध तीर्थस्थल क्षेत्र पनि हो । यसै क्रममा मस्र्याङदी नदीमा स्वप्नबाट हिरण्य गर्भ, शिवलिंग, शिला, शालिग्रामसमेत प्राप्त भयो ती सबैको व्यवस्थापन गर्नका लागि वैदिक सनातन संस्कृतिमा विश्वमै नभएको धामका रुपमा धर्मनाथ धाम नामाकारण गर्नका लागि धार्मिक गुरुहरूबाट सल्लाह, सुझाव प्राप्त भयो । त्यसकै आधारमा यो धामको निर्माण भएको हो ओलिया बताउनु हुन्छ ।
यस कार्यले पवित्र तीर्थस्थलको अनुभूति दिने विश्वास गरिएको ओलियाको भनाइ छ । उहाँले भन्नुभयो, ‘धर्म, साधना र संस्कारको संगम धामका रूपमा विकास हुँदै गएको यो स्थलमा गरिएको यस अद्वितीय कार्य तथा धार्मिक संरचना लमजुङमा मात्र नभई मुलुकमै पहिलोपटक निर्माण भएकाले यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटक(हिन्दू र बौद्धिष्ट)लाई आकर्षण गर्ने अपेक्षा गरिएको छ ।’ धर्मनाथ धाम विश्वकै लागि नमूना स्थल हो ओलियाले उल्लेख गर्नुभयो ।
धार्मिक प्रवचन कार्यक्रमको हिजो बैशाख १७ गते स्वामी कमलनयनाचार्य र श्रीसनाथ योगी, आज बैशाख १८ गते स्वामी रमणानन्द गिरी र रामरोशन दास, भोलि बैशाख १९ गते चैतन्यकृष्ण र योगी सोमराजको प्रवचन हुने कार्यक्रम छ । त्यस्तै, बैशाख २० गते लामा गुरु सागरधम्म र लामा गुरु मिङमार डाक्पोरेपा, बैशाख २१ गते डा. चिन्तामणि नाथ योगी र मानसाग्नी डा. हरिप्रसादले, बैशाख २२ गते योगाचार्य कृष्ण शरणले र अन्तिम दिन बैशाख २३ गते कञ्चन घिमिरे र श्रीराम स्वधर्मले प्रवचन दिनुहुने कार्यक्रम तय भएको आयोजकको भनाइ छ ।
धर्मनाथ धामको प्राकृतिक शान्त परिवेश, धार्मिक संरचना र आध्यात्मिक साधनाको समागमले लमजुङलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको आयोजक सर्वोदय सेवाश्रमका कोषाध्यक्ष भुमिनन्द तिमिल्सिनाले बताउनु भएको छ । उहाँका अनुसार जिल्लाको धार्मिक क्षेत्र विस्तारका क्षेत्रमा एउटा ऐतिहासिक काम भएको छ ।
यो धाम निर्माणका लागि दुई वर्ष लागेको धर्मनाथ धाम उदघाटन समारोहको प्रचार समितिका उपसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार कार्यक्रम सफल पार्न स्थानीयको सक्रियता, धार्मिक संस्थाको सहयोग र श्रद्धालुहरूको सहभागिता अपेक्षा गरिएको छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
धाम करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको छ भने सँगै रहेको सर्वोदय सेवाश्रम ४० रोपनीमा रहेको छ । ती दुबै क्षेत्रको अवलोकन गर्न करिब १५÷१५ मिनेट समय लाग्ने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा संविधान सभा सदस्य चन्द्रबहादुर कुँवर, राइनास नगरपालिकाका उपमेयरपुष्पराज खनाल, विभिन्न धर्मगुरुहरू, जनप्रतिनिधिहरू, हजारौं श्रद्धालुहरूको उपस्थिति थियो । धामका अध्यक्ष ओलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद काफ्लेले स्वागत मन्तव्य तथा सचिव राजु धमलाले सञ्चालन गर्नु भएको थियो ।
उक्त धर्मनाथ धामसम्म पुग्नका लागि लमजुङ जिल्लाको मुख्य प्रवेश नाकाका रुपमा रहेको पाउँदी बजारबाट पूर्वतर्फ करिब दुई किमिको दुरीमा रहेको छ । त्यसमा करिब आधा किमि कच्ची र बाँकी पक्की सडकको सुविधा रहेको छ ।

प्रकाशित मिति २०८२ बैशाख १८, बिहीबार ०६:१९ गते
हजुरको प्रतिक्रिया