रुपा(कास्की)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक केन्द्रीय सदस्य एवम् सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताउनु भएको छ । कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन, वडानं ५ को अधिवेशन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
उहाँले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क गर्दै आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको उल्लेख गर्नुभयो । उहाँले आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको समेत जानकारी दिनु भएको थियो । उहाँले भन्नुभयो, ‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दाको स्वरुप दिइएको मात्र हो ।’
न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूले राखेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ । किनभने उहाँ नेपाली जनताले आशा र विश्वास गरेको पात्र हो ।’
रास्वपाले सरकारमा गएर भ्रष्टाचारका फाइल खोल्दै कारवाही अगाडि बढाएपछि हतारमा कांग्रेस एमाले सरकार बनेको र भ्रष्टाचारका काण्डहरूको अनुसन्धान पनि रोकिएको समेत स्मरण गर्नु भयो । आफ्नो पार्टीले उठाएका विषयलाई वर्तमान सरकारले दबाउने काम गरिरहेको पुष्टि गर्दै उहाँले थप भन्नुभयो, ‘रास्वपाले उठाएको मुद्दा दबाउने काम यो सरकारले गरिरहेको छ । हिजोको दिनमा भ्रष्टाचार भएको कुराहरू सुन्न पाइँदैन थियो । तर, अहिले रास्वपा चौथो ठूलो दल हो । अब अझै हामीले जनताको विश्वास जित्न बाँकी नै छ, रास्वपा आएपछि देशमा के कति र कस्तो मात्रामा भ्रष्टाचार हुने गरेको रहेछ भन्ने थाहा भयो ।’
उहाँले यसै जिल्ला तथा गण्डकी प्रदेशको राजधानी रहेको देशकै पर्यटन नगरी पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा १४ अर्बको भ्रष्टाचार भएको, वाइडबडीदेखि गिरिबन्धु जस्ता भ्रष्टाचार काण्डमा संसदीय छानबिन समितिको नजिर बसालेकोमा अझै ढाकछोप गर्ने प्रयास भएको छ भन्नुभयो । त्यस्तै भुटानी शरणार्थी प्रकरणको फाइल खुलिसकेको थियो, फेरि पनि हामीले गरिसक्यौं, अब छाडिंदैन भनेर त्यसलाई दबाउने काम हुँदैछ रास्वपाको संस्थापक केन्द्रीय सदस्य एवम् सांसद सोबिता गौतमले उल्लेख गर्नु भयो ।
अहिलेको सरकार बनेको १० महिना पुग्दा पनि प्रत्येक दिन विभिन्न विवादित मुद्दा र घोटलाका घट्ना मात्रै आइरहेका छन्, सरकार बनाउदा भनिएको संविधान संशोधन ओझेमा परिसकेको उहाँको तर्क थियो ।
उहाँले देशभर निराशा नै निराशा बढी रहेको छ भन्दै ‘यो सरकारले काम गर्न सकिरहेको छैन । यो सरकार सच्चियोस्, हामी चेतावनीयुक्त सुझाव दिन चाहन्छौं ।’ उहाँले भन्नुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विकल्प :
सांसद सोबिता गौतमले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै अबको देशको निकास भएको बताउँदै भन्नुभयो, ‘अबको नेपालको निकास भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीबाट नै हो । नेपाली जनताले प्रत्यक्षरूपमा फलानो प्रधानमन्त्री भयो भने मात्र परिवर्तन हुन्छ भनेर अपेक्षा गरिरहनुभएको छ, त्यसले मात्र नेपाललाई विकासको गतिमा अगाडि बढाउन सक्छ ।’
उहाँले देश बनाउनको लागि कोही नआउने भन्दै उनले आफै प्रत्यक्ष रुपमा सक्रिय हुन पनि उनले अपिल गर्नु भयो । गौतमले मिसन ०८४ कुनै दलको विशेष कुराभन्दा पनि नेपाली जनताले निर्णायक इच्छा व्यक्त गर्ने अभियान रहेको उल्लेख गर्नुभयो ।
सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रम पुरानै कुराहरूको निरन्तरता भएको र शब्दहरूमात्रै थपिएको उहाँको टिप्पणी छ । महत्त्वाकांक्षी नीति कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनता आजित भएको बताउँदै भन्नुभयो, ‘नयाँ हो कि !? भन्ने जस्तो शब्द जाल फिजाएर ल्याइएको छ ।’
प्रकाशित मिति २०८२ बैशाख २१, आईतवार ०७:१० गते