काठमाडौँ— जीवनवादी लेखक एवम् पूर्वमन्त्री, वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उपचारका क्रममा नेपालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा बैशाख २३ गते निधन भएको हो । उहाँ ७१ वर्षको हुनुहुन्थ्यो ।
नेपाल केही दिनदेखि उपचारका लागि अस्पताल भर्ना हुनु भएको थियो भने अघिल्लो दिन उहालाई आईसीयूमा सारिएको थियो । लामो समयदेखि पार्किन्सन्स रोगबाट उहाँ ग्रस्त उहाँलाई पछिल्लो समय निमोनियासमेत देखिएको थियो ।
नेकपा एमालेको नौमहिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बन्नु भएका नेपालले नै पहिलोपटक रेडियो नेपालबाट संस्कृत भाषामा समाचार प्रसारण गर्ने प्रवन्ध गर्नु भएको थियो । नेपाल ०५५ सालमा जलस्रोत र स्वास्थ्यमन्त्री बन्नु भएको थियो । २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उहाँ शिक्षा तथा खेलकुदमन्त्री हुनु भएको थियो । ०४९ मा नेकपा एमालेको केन्द्रीय बन्नुभएका उहाँ ०५० मा राष्ट्रिय सभा सदस्य, ०५४ सालमा एमाले स्थायी कमिटी सदस्य बनेका प्रदीप उहाँ भन्नुहुन्थ्यो, ‘राजनीति गर्दागर्दै मन्त्री हुनु मेरा लागि केवल संयोग थियो ।’
नेपाल ०५६ सालमा काठमाडौं– १ बाट प्रतिनिधि सभाका सांसद चुनिनु भएका उहाँ ०७० मा वामदेव गौतम गृहमन्त्री हुँदा नेपाल गृह मन्त्रालयको सल्लाहकार हुनुहुन्थ्यो ।
तर पछिल्ला वर्षमा भने उहाँ राजनीतिमाभन्दा साहित्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँले नेपाली साहित्यिक क्षेत्रमा सञ्जय थापाका नामले स्थापित हुनुहुन्थ्यो । एक दर्जनभन्दा बढी उपन्यास लेख्नु भएका उहाँले एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेख्नु भएको छ ।
‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायत उहाँका १६ वटा उपन्यास र १० वटा कथासंग्रह प्रकाशित छन् । साहित्यकार खोलाघरे साहिलाका अनुसार उहाँका ५१ कृति प्रकाशित छन् । तीमध्ये स्वप्निल शहर, देउमाईको किनारमा मुक्त आकाशको खोजी, मुक्ति, पूर्वतिर, पार्टीकी आमालगायत उहाँका कृतिहरू प्रसिद्ध छन् ।
कुनै दिन एमालेका प्रभावशाली नेता रहनु भएका नेपाल पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय हुनुहुन्थ्यो । २०६५ सालको आठौं महाधिवेशनमा महासचिव तथा ०७१ सालको नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिए पनि दुवै चुनावमा उहाँ पराजित हुनु भयो ।
२०१० सालको पुस ८ गते भोजपुरको पोखरे गाउँमा जन्मनु भएका नेता नेपाल सानैदेखि विद्रोही स्वभावका हुनुहुन्थ्यो । उहाँले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनमा प्रवेश गर्नु भएको थियो ।
०२६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका नेपाल तत्कालीन नेकपा मालेको संस्थापक सदस्य हुनुका साथै ०३५ देखि २०४९ सालसम्म उहाँले विभिन्न जिल्ला इन्चार्ज भएर काम गर्नु भएको थियो ।
२०३५ पुस ११ गते नेकपा माले गठन हुँदा उहाँ संस्थापक नेता हुनुहुन्थ्यो । त्यसअघि झापा विद्रोहका अन्य नेतासँगै जेल परेका बन्दीहरू २०३३ साल जेल ब्रेक गरेर निस्किने १५ नेतामध्ये नेपाल पनि एक हुनुहुन्थ्यो ।
आठौं महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिएर नेपाल ईश्वर पोखरेलसँग पराजित हुनु भएको थियो भने नवौं महाधिवेशनमा ओली समूहबाटै उपाध्यक्षमा उम्मेदवारी दिएर पुनः पराजित हुनु भयो । त्यसो त उहाँले दुवै पटक केपी शर्मा ओली प्यानलबाट उम्मेदवारी दिनु भएको थियो ।
पाँच दशकबढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय नेपाल कोअर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै नेता एमालेका संस्थापक नेता तथा पटकपटक एमाले स्थायी समिति सदस्य रहनु भएको थियो ।
एमालेका स्थायी कमिटी सदस्य रहेका राजेन्द्र गौतमले ‘उहाँ कुशल संगठक, निर्णायक क्षमताका धनी, खरो र प्रस्ट स्वभाव, विलक्षण लेखन क्षमताका धनी, कुनै पनि काम गर्छु भनेपछि गरेरै छाड्ने स्वभाव थियो । तर हुन्न भनेपछि हुँदैन थियो ।’ भन्ने स्मरण गर्नु भयो । गौतमका अनुसार स्व. नेता नेपालका झण्डै ४५ वटा साहित्य सिर्जना लिखित कृति रहेका छन् ।
त्यसो त नेता नेपाल केवल वामपन्थी विचारका बन्दीमात्रै भने हुनुहुन्थेन । चर्का टिप्पणीहरू दिन डराउनु हुन्नथ्यो उहाँ । एकपटक गिरिजाप्रसाद कोइरालाबाट अन्तवार्ताका क्रममा काम गर्न अप्ठेरो लाग्ने पार्टीबाहिरका मन्त्रीमा नेपालको नाम लिएर टिप्पणी भएको थियो । त्यही अन्तवार्तामा कोइरालाले सजिला मन्त्रीमा केपी शर्मा ओलीको नाम लिनु भएको थियो । आफ्नो बगावतका कारण पार्टीभित्र र बाहिर आफूलाई सहज रुपमा लिने नगरिएको प्रतिक्रिया नेपालले दिने गर्नु भएको थियो ।
अहिले पार्टी अध्यक्ष रहेका केपी शर्मा ओली, त्यस बेलाका महासचिव माधव नेपालहरूलाई नेपालले वैचारिक आलोचना खुलेर गर्नु हुन्थ्यो । माओवादीले चलाएको सशस्त्रद्वन्द्वका बेला नेपालले थुप्रै वैचारिक असहमति राख्दै किताबहरू लेखेका थिए ।
एमालेले धर्मनिरपेक्षताको लाइन पास गर्दा नेपाल सर्वधर्म सापेक्ष राष्ट्रको वकालत गर्नु हुन्थ्यो । त्यतिमात्र हैन एमालेसमेतको समर्थनमा बनेको अन्तरिम संविधान– ०६३ का अन्तर्वस्तुहरूमा आलोचनासहित लेखिरहनु हुन्थ्यो । खासगरी संघीय व्यवस्थामा देश गएकामा उहाँको चित्त बुझेको थिएन ।
भिन्न मतहरूलाई टड्कारो स्वरमा दर्ज गर्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर मौलिकतासहितको खुलापनका पक्षपोषक बन्नु भएको थियो । प्रजातन्त्रको बहसमा अरुभन्दा अघि बढेर छलफल गर्ने स्वभावका उहाँ कम्युनिस्ट पार्टीभित्र गैरवामभन्दा बढ्ता प्रजातान्त्रिक बहस र अभ्यास हुन सकेको भए सोभियत संघ ढल्ने थिएन भन्ने उहाँले पटक पटक लेख्नु भएको छ ।
एमाले विभाजन हुँदा उहाँ एकीकृत समाजवादीमा खुल्नु भएको थियो तर पछि सक्रियता देखाउनु भएन ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह, रक्षा मन्त्री मानवीर राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नर्भिक अस्पताल पुगेर परिवारका सदस्यहरूसँग भेट्न पुग्नु भएको थियो ।
अस्पतालबाट पार्थिव शरीर हिजै अपराह्न पशुपति आर्यघाट लगेर उहाँको हिजै हिन्दू प्ररम्पराअनुसार पशुपतिमा अन्तिम संस्कार गरिएको छ । नेपालको अन्तिम इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन । पार्टीका नेताको निधनपछि पार्टी झन्डा ओढाउने र श्रद्धाञ्जली कार्यक्रम दिने परम्परा नेपालको हकमा लागू नगरिएन नेपालका भाइ समीर नेपालले बताउनु भयो । उहाँका अनुसार दिवंगत दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन् । जसमा झन्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन उल्लेख थियो ।
उहाँको शवमा पार्टी झण्डा नओढाउने भएपछि प्रधानमन्त्रीसमेत रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि श्रद्धाञ्जली सभामा उपस्थित हुनु भएन । नेपालको परिवारकै इच्छा अनुसार श्रद्धाञ्जली सभा नहुने भएपछि ओली अन्तिम संस्कारमा सहभागी नहुनु भएको उहाँको सचिवालयले जनाएको छ ।
नेपाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णु पौडेल लगायत कम्युनिष्ट नेताहरूले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम विदाई गर्नु भएको थियो ।
स्मरणीय छ, बचनका पक्का प्रदीप नेपाललाई बाम राजनीतिमा इमानदारीका उदाहरणीय नेताका रुपमा चिनिन्छ । बाँचुन्जेल कुर्सी छाड्न नचाहने नेताहरूका लागि प्रदिप नेपाल एक मिसाइल हुनुहुन्थ्यो । आफू ६० वर्ष पुगेपछि राजनीतिमा कार्यकारी भूमिकाबाट अलग रहने र लेखनमा लाग्ने घोषणा गर्नु भएको उहाँल २०७० मा ६० वर्ष पुगेका नेपाल त्यसपछि पार्टीको कमिटीमा रहनु भएन । कमिटीमा राखिए पनि बैठकहरूमा जानु भएन । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली !
प्रकाशित मिति २०८२ बैशाख २४, बुधबार ०८:५१ गते