जाल्पादेवी मन्दिर : (तान्द्राङ टक्सार) जिर्णोद्धारसँगै प्रचारप्रसारको प्रतिक्षामा

जाल्पादेवी मन्दिर : (तान्द्राङ टक्सार) जिर्णोद्धारसँगै प्रचारप्रसारको प्रतिक्षामा

नवराज पहाडी

@antaranganews

२०८२ बैशाख २४ गते बुधबार ११:५६

जेठी दिदी दुराडाँडाको तुर्लुङकोट कालिकाले पाञ्चवलीको भोग खाने तर महिली नेटाकी मालिका र आफू कान्छीलाई त्यो भोग नदिने गरेको हुँदा दिदीसँग रिसाई दुई दिदी बहिनी पश्चिमतर्फ मुहुडा गरेको भन्ने किंवदन्ति छ ।

जाल्पादेवी मन्दिरमा देवीलाई चढाइको यौटा घण्टीमा विसं १९२० मा चढाएको भन्ने उल्लेख छ, यसबाट पनि मन्दिर के कति पुरानो हो र कति शक्ति छ भन्ने पुष्टि गर्दछ ।

तान्द्राङ टक्सार(लमजुङ)– लमजुङमा रहेको एक मन्दिरको स्थानीयस्तरमा निकै महिमा भएता पनि प्रचारप्रसारको अभावले त्यसको महत्वको उजागर हुन सकेको छैन । जाल्पादेवी नामक मन्दिर रहेको भवन जीर्ण भएको हुँदा जिर्णोद्धारसँगै प्रचारप्रसारको प्रतिक्षामा रहेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– २ को तान्द्राङटक्सार स्थित पहाडको थुम्को, करिब १९ सय मिटरको उचाईमा स्थापित उक्त देवी मन्दिर आसपासमा घना जंगल छ । मानव बस्तीबाट करिब आधा घण्टाको पैदल दुरीमा जाल्पादेवी मन्दिर रहेको छ । सो स्थानमा गुराँसको जंगल समेत रहेको छ ।
जाल्पादेवीलाई तीन दिदी बहिनीमध्ये कान्छी, दुराडाँडा तुर्लुङकोटको कालिका देवी जेठी, नेटकी मालिकादेवी माहिली भनेर पुज्ने प्रचलन रहेको सो मन्दिरका पुजारी ६९ वर्षीय काजीमान गुरुङले बताउनु भयो । उहाँले आफूले सो मन्दिरमा पुजारी काम गर्न लागेको १२ वर्ष भयो, त्यसअघि आफ्ना ठूलो दाजु १०१ वर्षीय कृष्णबहादुरले स्वास्थ्यको कारणले पुजा गर्न नसक्ने भएपछि पुजारीको काम गर्न थालेको जानकारी दिनु भयो । कृष्णबहादुर गुरुङ ऐले १०१ वर्षको हुनुहुन्छ । उहाँले कान राम्रो नसुन्ने, लेखपढ गर्न पनि खासै नसक्ने हुँदा मन्दिरको महिमाका बारेमा बताउन असमर्थ रहेको उहाँका छोरा श्रीप्रसाद गुरुङले बताउनु भयो । श्रीप्रसाद जाल्पादेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ ।
मानिसहरूले आफ्नो मनोकांक्षा पुरा गर्नका लागि देवीको भाकल गर्ने गरेको श्रीप्रसाद गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, ‘परिवारमा कोही बिरामी पर्दा छिटो स्वास्थ्यलाभको कामना गर्दै, विदेशमा जाँदा कुनै दुःख, झञ्जट, अकाल मृत्यु नहोस् भन्नका लागि, आफूले पालेका गाई वस्तु बिरामी हुँदा सञ्चो होस् भन्ने कामनाका साथ भाकल गर्ने गरेका छन् ।’ सो जंगलमा घाँस दाउरा गर्दा मान्छे बिरामी पर्ने गाउँमा अनिष्ट हुने गर्छ भने लामो खडेरी पर्दा मन्दिरमा जालधारा सहितको क्षमा पूजा गरेपछि पानी पर्ने गर्छ उहाँले जानकारी दिनुभयो ।
यो पंक्तिकार उक्त मन्दिरमा पुग्दा नेपाली सेनामा कार्यरत सोही वडाको काभ्रेठाना गाउँका किरण दुरा भाकल पुज्नका लागि पाठी लिएर पूजा गर्न आएको भेटिनुभयो । उहाँले आफू शान्ति सेनामा गएर १७ महिनापछि फर्केको, नेपाल फर्केको एक महिना जति भयो, उता जानेबेलामा आफ्नो शान्ति सेनाको बसाईमा कुनै विघ्न बाधा नहोस् भनेर आफूले जाल्पादेवीलाई सम्झेर गएको हुँदा राम्रोसँग फर्कन सकेँ र त्यही भाकल बुझाउन आएको हुँ भन्नुभयो ।
सो मन्दिर हातामा १४२ वटा घण्टी, १३ वटा शंख रहेका छन् किरण दुराले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये जाल्पादेवी मन्दिरमा देवीलाई चढाइको यौटा घण्टीमा विसं १९२० मा चढाएको भन्ने उल्लेख (फोटोमा पनि देख्न सकिन्छ) रहेको छ । उहाँले भन्नुभयो, ‘यसबाट पनि मन्दिर के कति पुरानो हो र कति शक्ति छ भन्ने पुष्टि गर्दछ ।’ त्यो घण्टी जहर सिंह दुराले चढाउनु भएको उल्लेख छ ।
मन्दिर क्षेत्रमा रहेको जंगल जाल्पादेवी मन्दिरकै नाउँमा रहेको सो मन्दिरका पुजारी काजीमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो जंगलमा गएर जीवित रुखको लौरो पनि काट्न हुन्न काटेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैगरी, निम अर्थात भाकल पूजा गर्न जाँदा मन्दिरको छेउँमा स्वःफूर्त रुपमा आगो उत्पत्ती हुने, मन्दिरको उत्तरतर्फ पानी पलाएको समेत हुने गर्दथ्यो भन्ने आफ्ना अग्रजबाट सुनेको पुरानापाका मानिसले सुनाउँछन् उहाँले उल्लेख गर्नुभयो ।
सुरुका दिनमा महिलाले समेत सो मन्दिरमा दर्शन र पूजा गर्ने गर्दथे । कालान्तरमा मन्दिर क्षेत्रमा एक महिला घाँस दाउरा गर्न गएका बेलामा जाल्पादेवी प्रकट भई नुहाएर, कपडा धोई सुकाई बसेको बेलामा अचानक महिलाको देवीसँग भेट भएछ । त्यसपछि देवीबाट ‘म यो मन्दिरको देवी हुँ, तिमीले मलाई देखे, भेटेको कुरा कसैसँग नगर्नु, नभन्नु’ भन्ने अनुरोध गरेकोमा ती महिलाहरूले आफ्ना गाउँका दिदीबहिनीहरूलाई सो विवरण सुनाएको कारणले देवीले रिसाई ‘अब आयन्दा महिला जातिले मेरो दर्शन गर्न आएमा अनिष्ट हुनेछ’ भन्ने आकाशवाणि भएछ, त्यसै समयदेखि उक्त जाल्पादेवी मन्दिरमा महिलाहरू दर्शन गर्न र पूजाका लागि जाने, मन्दिरमा चढाएको नैवेद्य आदि पनि महिलाले सेवन नगर्ने गरेको आफ्ना बाजेहरूबाट सुनेको पुजारी काजीमान गुरुङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यसै समयदेखि त्यो जंगलमा घाँस दाउरा नगर्ने, हरियो रुखको लौरोसमेत काट्न हुन्न भन्ने प्रचलन रहेको छ ।’
त्यसरी महिलाहरू मन्दिरमा जान हुन्न भन्ने आकाशवाणिमा विश्वास नगरी जगतबहादुर गृुरुङ नामका एक बृद्धले आफ्नी छोरीलाई लिएर मन्दिरमा दर्शन गरेर घरमा फर्कदा व्याएको महिना दिन पनि नपुगेको दुहुनो भैंसी ठहरै भई मरेबाट महिलाले सो मन्दिरमा जान छाडेको भन्ने थप कथन छ ।
धार्मिक सहिष्णुताको नमूना :
सो मन्दिर क्षेत्र धार्मिक सहिष्णुताको नमूनाका रुपमा समेत रहेको छ । जहाँ ब्राह्मण, क्षेत्री, जनजातिहरू तथा दलित आदि सबै मिलेर बसेबाट धार्मिक सहिष्णुताको नमूना मान्न सकिन्छ ।
‘मन्दिरमा चढाउन ल्याएको वस्तु प्रसाद वा भाकलमा ल्याइएका जोडी परेवा र पाठी मात्र पुजामा चल्ने अन्य वस्तु चल्दैन,’ पुजारी गुरुङले भन्नुभयो, ‘ती चिज पनि मानिसले आफ्नो घरमा लिएर जान हुँदैन, मन्दिर नजिकै पकाएर, खाएर घरमा फर्कनु पर्छ, त्यस्तो प्रचलन रहिआएको छ ।’
मन्दिरको विशेषताका बारेमा पुजारी गुरुङले थप भन्नुभयो, ‘कुनै वर्ष लामो खडेरी पर्यो, पानी परेन भने जाल्पादेवी मन्दिरमा गएर जलधारा गर्ने, देवीलाई क्षमा पूजा गर्ने गरेमा पानी पर्ने गरेको हामी आफैले पनि कति भोगेका छौं ।’ त्यस्तै, मन्दिरमा चढाएको प्रसाद जत्ति धेरै खादा पनि बिसञ्चो नहुने र जति धेरै जना भए पनि सबैलाई सन्तुष्ट हुने गरी पुग्ने गरेको समेत पुजारी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार जाल्पादेवी मन्दिरमा साउन, मंसिर र बैशाखमा विशेष निम पुजा हुने गर्दछ । निम पुजामा त्यस क्षेत्रमा रहका करिब १६० घरधुरीबाट धुप अक्षता परेवा र पाठीको मूल्य अनुसार कम्तिमा २४ रुपैयाँदेखि ७० रुपैयाँसम्म एक पटकमा प्रति घर पर्ने गरेको छ । पुजारी गुरुङ भन्नुहुन्छ, ‘२०७२ सालको बैशाख १२ गते निम पुजाको दिन थियो । त्यस दिनमा पुजा गर्ने क्रममा भुलबस कुनै त्रुटी हुन गएछ त्यसपछि सने दिनमा भूइँचालो गएको हो भन्ने पनि कतिले विश्वास गर्ने गरेका छन् ।’
वर्षमा तीन पटक समीक्षा पूजा :
मन्दिरमा वर्षमा तीन पटक समीक्षा पूजा हुने गरेको छ । तीनै पटक पाठी र जोडी परेवा चढाउने प्रचलन छ । बैशाख महिनामा पाठी र जोडी परेवा चढाई पूजा गरिन्छ भने त्यसबाहेक साउन महिनामा तीनको साथमा खिर चढाईन्छ । मंसिर महिनामा धान काटेर कुनियो लगाई सकेपछि नयाँ धानको अक्षता तथा रोठ चढाउने प्रचलन रहेको छ, सो मन्दिरमा पुजा गरेपछि मात्र दाई गर्ने प्रचालन रहेको पुजारीको भनाइ छ । ‘जाल्पादेवी मन्दिरमा एकादशी र औंसी तिथिको दिनमा, हप्ताको हरेक आइतबार र मंगलबार पुजा हुँदैन ।’ पुजारी गुरुङले भन्नुभयो, ‘पुजा गरेर प्रसाद खाइसकेपछि पुनः बिसर्जन पूजा गरेपछि मात्र घर फर्कनु पर्छ ।’
जाल्पादेवी मन्दिर जत्ति सक्यो छिटो पुरातत्व विभागमा सूचिकृत हुन आवश्यक :
स्थानीयबासी समेत रहनु भएका बालविकास माविका कम्प्युटर विषय शिक्षक शिवराज खनालले उक्त मन्दिरको ऐतिहासिक महिमा, महत्व तथा ॐकार परिवारका वैदिक सनातन संस्कृतिका अनुयायीहरूको आस्थाको केन्द्रका रुपमा रहेको बताउनु भयो । उहाँका अनुसार जाल्पादेवी मन्दिर जत्ति सक्यो छिटो पुरातत्व विभागमा सूचिकृत हुन आवश्यक छ । ‘यो मन्दिरको इतिहासको बारेमा आफूले खोज्दा विसं १७ सय पूर्व निर्माण भएको भन्ने पुराना पाका मानिसहरूबाट जानकारी पाएको हुँ ।’ उहाँले भन्नुभयो, ‘अधिकांश देवीको मन्दिर पूर्व दिशातर्फ मुहुडा फर्केको हुन्छ । तर जेठी दिदी दुराडाँडाको तुर्लुङकोट कालिकाले पाञ्चवलीको भोग खाने तर महिली नेटाकी मालिका र आफू कान्छीलाई त्यो भोग नदिने गरेको हुँदा दिदीसँग रिसाई दुई दिदी बहिनी पश्चिमतर्फ मुहुडा गरेको भन्ने किंवदन्ति छ ।’
यो मन्दिरको अर्को विशेषता जानजातिहरू पुजारी हुनु :
सोही वडाका अध्यक्ष पदमबहादुर थापा सो मन्दिरको जिर्णोद्धार गरी यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा प्रचारप्रसार गर्ने लक्ष्यका साथ वडा समिति अघि बढेको छ तर आफ्नो कुरा आजसम्म खासै कतै पनि सुनुवाई नहुँदा दुःख लागेको बताउनु हुन्छ । उहाँका अनुसार सो मन्दिरसम्म जानका लागि सहज होस् भनेर आफूले वडाबाट कच्ची भएता पनि मोटर बाटो मन्दिर नजिक पुर्याएको, पुर्वजहरूले पैदल यात्राका लागि सहज होस् भनेर लगाएको सिंडीलाई मर्मत तथा सरसफाईका काम बडा समितिले गर्ने गरेको छ । उहाँले भन्नुभयो, ‘यो मन्दिरको जीर्णोद्धार हुने हो भने छिमेकमा रहेका गाउँमा होमस्टेको विकास गरी बसाईसराई रोक्ने र बसाईसराई गरेर गएकाहरूलाई पनि पैतृक थलोमा फर्कने वातावरण बन्न सक्ने सम्भावना प्रवल छ ।’ उहाँले थप भन्नुभयो, ‘गण्डकी प्रदेशको राजधानी पोखरा र तनहुँको सदरमुकाम दमौलीबाट सबैभन्दा नजिकको लालीगुराँसको जंगल हेर्ने स्थलोको रुपमा यस ठाउँलाई विकास गर्न सकिन्छ, यहाँ आजका दिनमा पनि रुख चढ्न नसक्नेले भूइँबाट पनि गुराँसको फूलसँग रमाउन सक्छन् (फोटोमा देख्न सकिन्छ) थापाले उल्लेख गर्नुभयो । साथमा मन्दिर क्षेत्रबाट बिहानमा सूर्योदयको दृश्यको अवलोकलन समेत गर्न सकिन्छ उहाँले थप जानकारी दिनुभयो ।
‘यसप्रकार जाल्पादेवी माताको महिमाका बारेमा देश विदेशमा प्रचार प्रसार गर्द सक्दा धार्मिक पर्यटनको दरिलो गन्तव्य बन्न सक्ने सम्भावना छ ।’ वडा समिति त्यसै अनुसार काममा जुटेको छ वडाध्यक्ष थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार यो मन्दिरको अर्को विशेषता भनेको जानजातिहरू पुजारी हुनु हो । ‘हामी मन्दिर पुरातत्व विभागमा जत्तिसक्यो छिटो सूचिकृत होस् भन्नेमा छौं’ वडाध्यक्ष थापाले जोडदिदै भन्नुभयो ।
सोही स्थानमा रहेको बालविकास माविका पुराना शिक्षक बीरबहादुर गुरुङले यो मन्दिरको महत्व नबुझ्दा यस गाउँ क्षेत्रका मानिसहरूले बसाई सर्नु परेको हो भन्नुहुन्छ । यस मन्दिरको महिमाको बारेमा प्रचार हुने र मन्दिरको पुनःनिर्माण हुने हो भने यो क्षेत्रका मानिसलाई यहाँ आउने भक्तजनका कारण बसीबसी खान पुग्ने स्थिति हुन्छ तर यत्ति काम पनि कसैबाट भएन उहाँले दुःखेसो पोख्नु भयो ।
सो मन्दिरको स्थापनाकालीन दिनमा स्थानीय क्याउछा जातिले पूजारीको रुपमा काम गर्ने गरेको थिए । तर पूजाको विधिमा त्रुटी हुन गएपछि देवीले रिसाएर बाघको रुप धारण गरी त्यो जातिको एक बालकलाई लिएर मन्दिरमा गई खाएको हुँदा क्याउछा जातिले डराएर पुजा गर्न छाडेको बताइन्छ । त्यसपछि पोखराको फेवाताल क्षेत्रबाट पच्यु जातिका गुरुङहरूले आएर पुजाआजा गरी सोही क्षेत्रमा बासोबास गरेको भन्ने किंबदन्ति रहेको छ । ऐलेका पुजारी काजीमान गुरुङ पच्यु जातिका छैटौं पुजारी भएको जानकारीमा आएको छ । विसं १८५५ अघि क्याउछाहरू पुजारी रहेको र त्यसपछि गुरुङहरू पुजारी बनेको पुराना पाकाहरूको भनाइ छ ।
पुजारीले भक्तजनले चढाएको भेटी(दक्षिण) नै पारिश्रमिकका रुपमा लिइ चित्त बुझाउने गरेका रहेछन् । कोही भक्तजनहरू एउटैले पनि एक हजारसम्म दिने गरेको पुजारी गुरुङले जानकारी दिनु भयो ।
उहाँका अनुसार जाल्पादेवी मन्दिरको सम्पत्तीको रुपमा विसं १७०० तिर निर्माण गरिएको जीर्ण मन्दिर रहेको छ । मन्दिरको करिब १८ हेक्टर क्षेत्रफलको वन क्षेत्र रहेको छ । भक्तजनले चढाएका घण्टी, शंख आदि डेढ सयको हाराहारीमा छन् भने भक्तजनका लागि पुजा गर्न जाँदा पानी पर्दा ओत लाग्ने जस्ताले छाएको करिब एक सय जना अट्ने पाटी रहेको छ । त्यस्तै पानीको अभावपूर्ति गर्नका लागि एक हजार लिटरको पानी टंकी मन्दिर हातामा राखिएको छ ।
जालपादेवी मन्दिरसम्म पुग्नका लागि तनहुँको सदरमुकाम दमौलीदेखि लमजुङको मध्यनेपाल नगरपालिकाको केन्द्र भोर्लेटारसम्मको व्यासमार्गको दुईपिप्ले खण्डबाट १२ किमिको दुरीमा उत्तरतर्फ रहेको छ । सोमध्ये ८ किमि सडक वडा कार्यालयसम्मको क्षेत्रमा कालोपत्रे गरिएको छ भने बाँकी चार किमि कच्ची सडक रहेको छ । त्यसपछि करिब १० मिनेटको पैदल पेटी लगाएको(उकालो) दुरी पार गर्नु पर्दछ । उक्त वडाको मुख्य बजार रहेको सोती पसल दुईपिप्लेबाट तीन किमिको दुरीसम्म यातायातको सहज पहुँच छ भने त्यसपछि भने निजी वा रिजर्भ यातायातका साधन प्रयोग गर्नु पर्ने हुन्छ ।
यसैगरी, गण्डकी प्रदेशको राजधानी मुलुककै पर्यटन नगरी पोखराबाट करिब ४० किमिको दुरीमा रहेको यो मन्दिर क्षेत्रमा पोखराबाट लमजुङको मध्यनेपाल नगरपालिकाको केन्द्र भोर्लेटार हुँदै व्यासमार्गबाट दुईपिप्लेबाट सोती पसल भएर जाल्पादेवी मिन्दरमा पुग्न सकिन्छ ।

प्रकाशित मिति २०८२ बैशाख २४, बुधबार २३:५६ गते
हजुरको प्रतिक्रिया