गिलुङ गाउँ, पर्यटन र लुकेको इतिहास    

 गिलुङ गाउँ, पर्यटन र लुकेको इतिहास    

के.बि. मसाल

@antaranganews

२०८२ बैशाख २६ गते शुक्रबार ०६:२९

क्व्होलासोँथरको घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरू भेटिदैन । तर पनि वंशवलीमा तमूहरूको आदिम राजधानी क्व्होलासोँथरको पतन १५औँ शताब्दीको मध्य तिर भएको मानिन्छ । क्व्होलासोँथर विस्थापित भएपछि क्याल्पो रोजा उपनाम भएका पर्सै ख्ह्ले अर्थात क्ले परसुराम लमचुँ १० थर डाँडामा राज्य स्थापना गरे । जुन ठाउ अहिले मस्र्याङदी गाउँपालिका घनपोखरामा पर्दछ । 

पुरातत्व विभागले पनि गिलुङकोटको बारेमा केही बोलेको भेटिदैन । गिलुङ गाउँ भित्रको इतिहास खोज्ने हो भने घले राजाहरूको इतिहास खोज्नै पर्ने हुन्छ । 

पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । घुम्ने संस्कृतिको विकास भएको छ । पर्यटकहरू घुम्नको लागि नयाँ ठाउँको खोजीमा हुन्छन । कुनै नयाँ ठाउँको कुरा सुन्दा जान पाए हुन्थो भने झैं गर्दछन । पर्यटन भनेकै नयाँ ठाउमा पुग्ने र त्यहाँको प्रकृति र संस्कृतिमा रमाउने हो । कतिपय पर्यटकहरू इतिहासमा रुचि राख्दछन । पुगेको गाउँ ठाउँको इतिहास खोज्दछन । प्रकृति, संस्कृति र ऐतिहासिक स्थलमा रम्न खोज्ने पर्यटकहरू सडक यातायात र खानेबस्ने सुबिधा भएपछि दुरदराज गाउँहरूमा पनि पुग्दछन ।
लमजुङको क्व्होलासोथार गाउँपालिका– ९ स्थित गिलुङ गाउँ पर्यटनको लागि पुग्नै पर्ने ठाउँ हो ।  गिलुङ गाउँ समुद्री सतहबाट एक हजार ४५० मिटरको उचाईमा पर्दछ । पूर्वमा मिदिम खोला, पश्चिममा रुदी र मादी खोलाको बिचमा रहेको गिलुङ गाउँ मध्यपहाडी लोकमार्गमा पर्ने करापुटार बजारदेखि सलक्क उठेको नागबेली डाडाँकाडाँमा प्रकृतिले सजिएको रमणीय भूगोलमा पर्दछ । गिलुङ गाउँको चिसो हावा पानी, स्वच्छ वातावरण, सफा सडक चिटिक्क मिलेका मौलिक घर देख्दा पहिलो पटक गिलुङ पुगेको पर्यटक अचम्ममा पर्दछ । गिलुङ गाउँ भित्र स्वावाटोल, आन्द्राटोल, कोलडोटोल, कोदोटोल, मायाँटोल, क्याजाटोल, पुरकोटोललगायतका गाउँहरू पर्दछन । गाउँको बिचमा पुरानो कौसी घर, बिच–बिचमा ढुङ्गाका सिढी भएको पदमार्ग, ढुङ्गा र टिनका छाना भएका मौलिक घर, गाउँदेखि तल खेतीयोग्य जमिन र खेमाघर वरपर शिव पार्वतीको मन्दिर भएको गिलुङ गाउँमा चार सय २० घरधुरी रहेका छन् । गाउँको शिरमा पईचु देवीको मन्दिर रहेको छ । गिलुङ गाउँमा रहेका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा पर्यटनसँग जोडिएका छन ।  गिलुङ गाउँ भाषा र संस्कृतिले पनि धनी छ । गिलुङ गाउँमा गुरुङ संस्कृतिका विविध पक्ष पर्यटकहरूले अवलोकन गर्न सक्दछन । गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमश्रृखलाको दृश्य अवलोकन गर्न सकिन्छ । गिलुङबाट सुर्योदय र सुर्यास्तको मनोरम दृश्य समेत पर्यटकहरूले देख्न सक्दछन ।
गिलुङ गाउँको गुम्बा, मन्दिर, घुमाउने घर र एकै किसिमले बनेका घरहरूको मनोरम दृश्यले पर्यटकहरूको मन लोभ्याइ दिने गर्दछ । पर्यटकहरूका लागि गाउँका १९ वटा घरमा होमस्टे पनि सञ्चालनमा छन । गिलुङ गाउँ अतिथि सत्कारका लागि पनि प्रख्यात मानिन्छन । गिलुङमा पुग्ने पर्यटकहरूले होमस्टेको आतिथ्य सत्कारमा आत्मीयता झल्कने परिवारकै सदस्य जस्तो भएर बस्न पाइन्छ । होमस्टेमा आर्गनिक खाना आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्दुक, लोकल कुखुराको मासु र इच्छा हुनेहरूका लागि ‘नारे पा’ अर्थात कोदोको रक्सीको स्वाद समेत लिन सक्ने छन । गाउँमा होमस्टे सञ्चालन भएपछि संस्कार संस्कृतिले पुनर्र्जीवन पाएका छन । समय अनुसार गिलुङमा पुग्ने पर्यटकहरूले घाँटु, सोरठी, कृष्णचरित्र लगायतका नाँचहरू पनि हेर्न सक्दछन । गिलुङ गाउँ गुरुङ संस्कृतिको संग्राहलय हो । गिलुङको रहनसहन, संस्कार, संस्कृति, जीवनशैली, पुराना घर आफ्नै शैलीका छन । गिलुङ गाउँलाई तमु भाषा अर्थात गुरुङ भाषामा तमुह्युला क्लिनु नासा भनिन्छ । जसलाई नेपाली खस भाषामा गिलुङ गाउँ भन्ने गरिन्छ ।
गिलुङ जादा पर्यटकहरूले गिलुङकोट पुगेन भने यात्रानै अधुरो जस्तै हुन्छ । गिलुङकोट पर्यटकहरूका लागि प्राकृतिक भ्युटावर हो भन्दा पनि हुन्छ । कोटबाट आकाश सफा भएको बेला आँखाले भ्यायसम्मका गाउँठाउँहरू देख्न सकिन्छ । गिलुङ गाउँको पुराना घरहरू, सात दिनको सुत्केरीले गाडेको ढुङगा, तेलपेल्ने ढुङ्गाको कोल, घाँटु नाच समापन गर्ने स्थल, गिलुङ गाउँमा गुरुङ संस्कृतिको प्रचलित घाँटु नाच श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी शुरु गरी बैशाख पूर्णिमामा समापन गरिन्छ ।
घुमाउने घरको महत्व पनि पर्यटकहरूलाई छुट्टै हुन्छ । गोला आकारकाघरलाई खेमाघर भनिन्छ । जुन घर गिलुङमा सुरुमा आएर बसोवास गर्ने लामिछाने थरका गुरुङले बनाएको थिए । गिलुङ गाउँमा बिवाह भएका चेलीबेटीहरूले रकम संकलन गरी गाउँभरीने ढुङ्गाको सिढी बनाएर पर्यटकहरूलाई सजिलो बनाइदिएका छन । गिलुङ गाउँमा स्वर्गकोद्वार पनि छ । जहाँ मानिसहरूको मृत्यु संस्कार गरिन्छ । मृत्यु संस्कार गर्ने ठाउँमा महिला र पुरुषलाई जलाउने भिन्न ठाउँ निर्माण भएका छन । गिलुङ पुग्ने पर्यटकहरू गाउँको पुरानो पधँेरामा प्रायः सबै पुग्दछन । आदिम कालदेखिको गिलुङबासीको सामुहिक पधँेरामा बाघमुखे धारा छ । गाउँको शिरमा रहेको गुम्वाको परिसरबाट गिलुङ गाउँको सौन्दर्यता झनै राम्रो देखिन्छ । डाडाँमा रहेको बोन धर्मालम्बीहरूको क्युइमदी मन्दिरले पर्यटकहरू दंग पर्दछन । अन्य मठ मन्दिर भन्दा फरक आकार प्रकारको क्युइमदीले पर्यटकहरूलाई आकर्षण गर्दछ । क्युइमदी भनेको गुरुङ भाषामा लामा अर्थात पुराहितको थान भन्दा पनि हुन्छ । गिलुङ जादा पर्यटकहरूले खेल मैदान र कर्पुडाडाको चरा अवलोकन गर्ने स्थलमा पुग्नै पर्दछ ।
गाउँमा पुग्दा पर्यटकहरूले धार्मिक एवं सांस्कृतिक महत्वका बारेमा पनि रुचि राख्छन । धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन्छन । धार्मिक, सांस्कृतिक ऐतिहासिक, पुरातात्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरू पर्यटकीयरुपमा कहिल्यै पुराना हुँदैनन । गाउँमा पुग्ने पर्यटकहरूले यस्ता सम्पदा खोज्ने गर्दछन । अहिले पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको खोजी संरक्षण र संस्कृति एवं परम्परालाई गाउँघरमा पर्यटनसँग जोडिन थालेका छन । पुराना मठ मन्दिरहरूको संरक्षण गर्ने नयाँ निर्माण गर्ने क्रम पनि बढदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा पर्यटन लक्षित महोत्सव आयोजना भएका छन । यसबाट मध्यमवर्गीय परिवारमा पनि आफ्नै देशको गाउँघरमा घुमफिर गर्नुपर्छ भन्ने सोच उत्पन्न भएको छ । पर्यटन र वातावरण एक–अर्कासँग ज्यादै नगिचको सम्बन्ध हुन्छ । किनभने मानिस अनुकूलको वातावरण भएन भने त्यो स्थानमा पर्यटक जान रुचाउँदैनन ।
प्रकृतिबाट प्राप्त वातावरणलाई व्यवस्थित गरी पर्यटनको विस्तार गर्न भने सकिन्छ । हिमाल, वन जंगल, जीवजन्तु, वनस्पति, ताल, झरना, नदी, आदि सबै पर्यटनको विकासको लागि संरक्षण गर्नुपर्ने हुन्छ । सामान्यतया पर्यटकहरू आफ्नो व्यस्त र भीडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा घुमफिर गर्न चाहन्छन । जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नु पर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै पर्यटकको मुख्य उद्देश्य हुन्छ । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ । गाउँघरमा विभिन्न क्षेत्रमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन । कतिपय अवस्थामा जो आफै मानवका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो मनमोहक र चुनौतीपूर्ण हुन सक्छन । जसमा सबैखाले पर्यटकहरू रमाउन सक्छन ।
गिलुङ गाउँमा जाँदा इतिहासमा रुचि राख्ने पर्यटकहरूले गिलुङकोट पुग्नै पर्ने हुन्छ । गिलुङ गाउँको भूगोल इतिहास लुकेको क्षेत्र हो । गिलुङकोटमा प्राचिन बकंरहरू रहेको छ । कोटको वरपर देखिने बकंरले पर्यटकहरू इतिहास जान्न खोज्दछन । तर कोट वरपर पर्यटकहरूले केही देख्दैनन । प्राचीनकालदेखि मानवजातिसँग जोडिएको घटनाहरूको वर्णन नै इतिहास हो । प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षण गर्ने सरकारी निकाय पुरातत्व विभाग हो । तर पुरातत्व विभागले पनि गिलुङकोटको बारेमा केही बोलेको भेटिदैन । शिलालेख र ताम्रापत्र भोजपत्र, ताडपत्र, वास्तवमा इतिहास चियाउने आँखीझयाल हुन । गिलुङकोटको इतिहास लेख्न र खोज्न तथ्य प्रमाण केही भेटिदैन । गाउँमा बुढापाकाहरूबाट सुनिने जनश्रुतिले सबै कुरा इतिहाससंग नजोडिन सक्दछ । गिलुङ गाउँ भित्रको इतिहास खोज्ने हो भने घले राजाहरूको इतिहास खोज्नै पर्ने हुन्छ ।
तर राजा यशोब्रह्म शाहको पालामा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानी र आवश्यकताअनुसार विभिन्न ठाउँमा कोट स्थापना गरेको इतिहास छ । सबैभन्दा पहिले स्थापना गरिएको कोट चाहिँ पुरानोकोट हो । त्यसपछि तुर्लुङकोट, जिताकोट, तान्द्राङकोट, याङ्जाकोट(हाल कास्की), बजारकोट, तार्कुकोट, राइनासकोट र बाहुनडाँडाको कोट खडा गरेका थिए ।  लमजुङमा भएका धेरै कोट र गढीका बारेमा खोज अनुसन्धान हुन सकेको छैन । गढी अथवा थुम र कोत प्राचीनकालका राजाहरूले शासन गर्ने किल्ला वा रक्षा गर्ने ठाउँ हो । कोट शब्द कोतबाट भएको हो । प्राचीनकालमा हतियार राख्ने अथवा शासन गर्ने ठाउँ नै कोट हो । जुन कोट र गढीमा देवीको मूर्ति स्थापना गरी राजा र सेनाले पूजा समेत गर्दथे । अहिलेका कोटहरूमा भएका कालिकाका मूर्ति र मन्दिरहरू नै त्यसका प्रमाण हुन ।
घले राजाको इतिहास :
क्व्होलासोँथर अर्थात घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरूको आदिम थलो हो । अहिले गाउँपालिकाको नामनै क्व्होलासोँथर राखिएको छ । क्व्होलासोथर गुरुङ भाषाको शब्द हो । यसको शाब्दिक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातिहरूको आदिम थलो । अहिले बाग्लुङ पानी, मालिङ, उत्तरकन्या, भोजे, सिङदी, गिलुङ र भुजुङ सबै गाउँहरू क्होंलासोंथरमा पर्दछ । घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ । वंशावलीअनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए । कालान्तरमा उनका सन्तानहरू क्होंल, ख्होल क्होंल र पोंचोंको कोइम्लीनासाका राजा भए । घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन भने अन्तिम राजा क्याल्पोेरुजाक्ले थिए । गुरुङ भाषामा घलेगाउँलाई कोइम्ली, घलेलाई ल्के, राजालाई म्रु र राज्यलाई ख्याल्सा भनिन्छ । घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमा सहित घलेपार्क बनाइएको छ ।
क्व्होलासोँथरको घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरू भेटिदैन । तर पनि वंशवलीमा तमूहरूको आदिम राजधानी क्व्होलासोँथरको पतन १५औँ शताब्दीको मध्य तिर भएको मानिन्छ । क्व्होलासोँथर विस्थापित भएपछि क्याल्पो रोजा उपनाम भएका पर्सै ख्ह्ले अर्थात क्ले परसुराम लमचुँ १० थर डाँडामा राज्य स्थापना गरे । जुन ठाउँ अहिले मस्र्याङदी गाउँपालिका घनपोखरामा पर्दछ । घले राजाले त्यो बेला आफ्नो राज्यको नाम लमचुँ र राजसभाको नाम नालछोज नामकरण गरेका थिए भने मन्त्रीलाई ख्याल भन्ने पद दिएका थिए । घले राजाले त्योबेला राज्य सन्चालन गर्न राज्यलाई पाँच क्षेत्रमा बिभाजन गरेका थिए । भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायँु, लामागाउँ, कपुरगाउँ, रापासिँ, नजरे, मालिङ, पुमा, बिम्दा र नाल्मा यी सबै गाउँहरूलाई १० थर नाम राखिएको थियो । घलेगाउँ राजधानी र १० थर गाउँको नालछोँज हुने स्थान कपुर गाउँ थियो । हाल नालछोँज हुने ठाउँ कोक्यु बजारको नामबाट परिचित छ ।
अर्को क्षेत्र पसगाउँ, सिङदी, कुम्लुङ, चारा, भोजे, मोप्योङ, धाम्राङ, तोँबु, टक्सर, छाप, डडुवा, गिलुङ र कल्याङ गाउँहरू थियो । यी गाउँको क्षेत्रलाई पाँच गाउँ नाम राखिएको थियो । पाँच गाउँ क्षेत्रको नाल छोँज हुने स्थान साल्मे डाँडामा थियो । त्यसैगरी पाख्रिकोट, वाचोक, भाचोक, नागिधर, याङजाकोट, ध्याम्राङ र ताङतिङ गाउँहरूलाई ६ गाउँको नाम राििखएको थियो । ६ गाउँको नाल छोँज हुने स्थान याङ्जकोट थियो । च्याम्चे, जगत, चजक्यु, सिउरुङ, ताध्रिङ, थाकन, सिलढुंगा, मिप्रा, ढगै, टोँबु, खुदी, निम्द, रोउ, फाँचे, कसिँतुँ, सञ्जाबु, थालाजुङ, कालाघिरिङ, चिप्ला(तल्लो र माथिल्लो), उस्ता, भिर पुस्तुन, तराँचे, भुलभुले र भंगेरी गाउँको क्षेत्रलाई चौध खोला नाम राखियो । चौध खोलाको नाल छोँज हुने स्थान खुदी थियो । खासुर, भाचोक, हिले टक्सर, लाँकुरीबोट र चिसापानी गाउँलाई बाह्रथरको नाम राखियो । बाह्रथरको नाल छोँज गर्ने स्थान खासुर थियो ।
त्यो बेला घले राजाले स्थापना गरेको नालछोंजको उद्देश्य समानताको आधारमा आधारित थियो । नालछोंजमा विशेष गरेर जग्गा जमिन, खोरिया, भीर, पाखा, खोला, नाला, पोखरी, वन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, खर्चरी, पुवाघारी, मौरीको भीर, डाँफेचरन, माछाचरन, गौचरन, साँध, सीमाना, थिति बन्देज, रीतिरिवाज, चाडपर्व, संस्कृति, संस्कार आदिको बारेमा छलफल गरेर थिति बाध्ने गरिन्थो । यसरी बाँधिएका थितिहरू राज्यका सर्वसाधरण सबैलाई मान्य हुन्थ्यो । लमजुङको गुरुङ गाउँहरूमा नाल छोँजको अवशेषको रुपमा अझै पनि भदौ महिनाको पहिलो साता थिति सभा जसलाई (भदौ सभा पनि भनिन्छ)को आयोजना गरिन्छ । जस्मा गाउँको थितिमा चरन, खर्क खर्चरी, बाटो, धाटो, पानी पाँधेरो, पाटी, पौवा र बस्तु भाउको खरिद बिक्रिको बजार मुल्य निर्धारण गरिन्छ । यसरी थिति सभाले निर्धारण गरेको बस्तु भाउको मुल्य गाउँ भित्र एक रुपता भए तापनि गैर गाउँलेहरूलाई बिक्रि वितरण गर्दा यो नियम भने लागु हुँदैन ।
क्व्होलासोँथरको पतनपछि कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई वि.सं १५४० मा कुश्माखर घिमिरे, खजेदुरा, सुकराम क्याउसा र लक्ष्मण दुरालहरू मिलेर लमजुङको पहिलो चौबीसे राज्यको राजा बनाएर तुर्लुङकोट दरबारमा राखिएको थियो । पछि तुर्लुङकोटबाट पुरानोकोट दरबारमा सारिएको थियो । अहिले पनि पुरानोकोटमा दरवारको भग्नावशेष देख्न सकिन्छ । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउँ क्षेत्र घले राजाबाट शासित थियो । अर्कोतर्फ कालु शाहलाई लमजुङको राजा बनाएको कुरा घलेहरूलाई मन परेको थिएन । घलेराजा र कालु शाहका सेनाहरू बिच बेला बखत बिवाद भइरहन्थ्यो । तर विवाद बढदै जाँदा घले राजा परसुरामले शिकार खेल्ने बहानामा जंगलमा लगेर मृग मार्ने बहानामा कालु शाहलाई वाण प्रहार गरेर मारिदिए । राजा कालु शाहले कुल १० बर्ष मात्र शासन गर्न पाए ।
  कालु शाहको हत्या पछि पुनः कुलमण्डलका साइला छोरा यशोबह्म शाहलाई दोस्रो पटक कास्कीबाट ल्याएर दुराडाँडामा नजिकैको ठूलो ढुङ्गामा सिन्दुर जात्रा गरी वि.सं. १५५० असार १५ गते राजा घोषणा गरी पुरानकोट दरबारमा भित्र्याइएको थियो । घले राजा परसुरामले शिकार खेल्ने निहुमा कालु शाहको हत्या गरेकोले यशोब्रम्ह शाहको घले राजासंग राम्रो सम्वन्ध थिएन । लामो समयको विवाद र युद्धपछि बिना हतियार खुदी नजिक भलम खोलाको किनारमा सम्झौता गर्ने निर्णय भयो । तर यशोमह्म शाहका सेनाहरूले अघिल्लो दिन हात हतियार भलम खोलाको वालुवामा लुकाई सकेका थिए । वि.स १५६७ जेष्ट १० गते पूर्णिमाको दिनमा दुबै राजाहरू बिच शान्ति संझौताको प्रस्तावमा छलफल भयो । तर छलफलबाट कुनै निर्णय हुन नसकेपछि राजा यशोबह्म शाहका सेनाले बालुवा मुनि लुकाएर राखेका हतियारहरू निकालेर घले राजा परसुरामलाई काटीदिए । यसरी, शाान्ति संझौताको नाउँमा पूर्व नियोजित षडयन्त्र भएको हुनाले १४ वर्ष शासन गरेपछि लमजुङमा घले राजाको पतन भयो ।
गिलुङ कसरी जाने ? 
गिलुङ जाने धेरै वाटाहरू छन । पोखराबाट ४५ किलो मिटरको दूरीमा गिलुङ गाउँ पर्दछ । पोखराबाट बेगनास र रुपाताल हुदै लमजुङको करपुटारको रामबजार भएर पुग्न सकिन्छ । रामबजारदेखि गिलुङ गाउँ करिव २५ किलो मिटरको दुरीमा पर्दछ । तनहुँ सदरमुकाम दमौली र लमजुङ सदरमुकाम बेसीशहरबाट पनि गिलुङ पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ बैशाख २६, शुक्रबार ०६:२९ गते
हजुरको प्रतिक्रिया