उच्च शिक्षामा अनुसन्धानबाट सिकाई बारे राष्ट्रिय सम्मेलनको तयारी पुरा

उच्च शिक्षामा अनुसन्धानबाट सिकाई बारे राष्ट्रिय सम्मेलनको तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २६ गते शुक्रबार ०८:२४

दुई दिने उक्त सम्मेलनमा ३२ वटा विषयको कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा जिल्ला बाहिरबाट ५० जना र जिल्ला भित्रबाट ३० जनाले भाग लिने अनुमान गरिएको आयोजकको भनाइ छ ।

प्रा.डा. केशरजंग बरालको प्रमुख आतिथ्यतामा लमजुङमा शिक्षण अभियन्ताहरूको दुई दिने सम्मेलन हुने तयारी छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमकुममा उच्च शिक्षा अनुसन्धानबाट सिकाईको दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको छ । भोलि बैशाख २७ गतेदेखि सुरु हुने सम्मेलनको तयारी पुरा भएको आयोजक मर्स्याङदी बहुमुखी क्याम्पस बेसीशहरले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी २६ गते जानकारी दिएको हो ।
उक्त राष्ट्रिय सम्मेलनमा मुलुकका पाँच विश्वविद्यालय अन्तरगतका २५ क्याम्पसका प्रमुख एवम् प्रतिनिधिले भाग लिने भएको पत्रकार सम्मेलनमा आयोजक क्याम्पसका प्रमुख हरिबाबु थापाले बताउनु भयो । उहाँका अनुसार यो राष्ट्रिय सम्मेलन लमजुङ जिल्लामा पहिलो पटक हुने भएको हो । उहाँले भन्नुभयो, ‘सबैभन्दा टाढा सिन्धुली जिल्ला र रुपन्देही जिल्लाबाट सम्मेलनमा भाग लिन र कार्यपत्र समेत प्रस्तुत गर्ने तयारी साथ सहभागीहरू आएका छन् ।’ सम्मेलनको उद्देश्य अनुसन्धान मार्फत ज्ञानको प्रवर्द्धन गर्नु हो । नेपालमा भएका विभिन्न विश्व विद्यालयका अनुसन्धानकर्ता एवम् शिक्षा क्षेत्रका विज्ञहरूबाट प्राप्त कार्यपत्र २ दिनको प्यानल सेसन मार्फत प्रस्तुतीकरण गरिने छ उहाँले जानकारी दिनुभयो ।

सिन्धुलीको सिद्धज्योति शिक्षा क्याम्पसका प्रमुख नानीबाबु घिमिरे बेसीशहर आइपुग्नु भएको छ । लुम्बिनी बाणिज्य क्याम्पस बुटबलका उपप्रध्यापक मधुकर शर्मा सहित चारजना तथा बुटबलकै कवि देवकोटा क्याम्पसका हरि बस्नेत सहित दुई जनाको टोली बाटोमा आउँदै रहेको आयोजक क्याम्पसमा सम्मेलन व्यवस्थापन समितिका सदस्य विनोद न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार साँझसम्म सबै सहभागी आइपुग्ने छन् ।
दुई दिने उक्त सम्मेलनमा ३२ वटा विषयको कार्यपत्र प्रस्तुत हुनेछ । त्यसमा मूलतः अनुसन्धानको तौरतारिका र त्यसको उपलब्धिमा केन्द्रीत रहने आयोजक क्याम्पसको सम्मेलन व्यवस्थापन समितिका अर्का सदस्य जनक बस्नेतले बताउनु भयो । उहाँका अनुसार प्रा. डा. केशरजंग बरालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन हुने तयारी छ । उनले भने, ‘आयोजक क्याम्पस क्यूएए मान्यता पाएको छ, त्यसको नवीकरण गर्न सन् २०२७ मा हुने पुनरावलोकनका लागि पनि यो सम्मलेनले इटा थप्ने छ ।’
सम्मेलनमा मुख्य तीन विषयमा केन्द्रीत रहेर समूहगत छलफल पनि हुने भएको छ । ती विषयमा उच्च शिक्षामा अनुसन्धानको महत्व, भाषा(नेपाली र अंग्रेजी दुवै)को स्तर, महत्व र परिवेशका साथै सामाविक विज्ञान र दिगो विकास रहेको सम्मेलनमा आयोजक क्याम्पसका प्रमुख हरिबाबु थापाले बताउनु भयो । उहाँका अनुसार जिल्लामा पहिलो पटक हुन लागेको यो सम्मेलनले गौरव बोध हुने गरी सम्पन्न गर्ने तयारी छ । उहाँले भन्नुभयो, ‘जिल्ला बाहिरका पाँच विश्वविद्यालयका १८ क्याम्पस र लमजुङमा सञ्चालित आठ क्याम्पसका अनुसन्धानमा रुचि राख्ने क्याम्पस प्रमुख तथा प्रतिनिधिहरूले भाग लिने छन् ।’
सम्मेलनमा जिल्ला बाहिरबाट ५० जना र जिल्ला भित्रबाट ३० जनाले भाग लिने अनुमान गरिएको आयोजक क्याम्पसका सहायक क्याम्पस प्रमुख पदम राउतले जानकारी दिनुभयो ।
सो सम्मेलनका लागि पाँचदेखि सात लाख खर्च हुने अनुमान गरिएको आयोजक क्याम्पसका लेखा अधिकृत डम्बर आलेले उल्लेख गर्नुभयो । उहाँका अनुसार त्यसमध्ये दुई लाख त्रिविबाट प्राप्त भएको छ, तीन लाख जिल्लाका स्थानीय तहबाट प्राप्त हुने आश्वासन प्राप्त भएको छ र नपुग रकम क्याम्पसले बोहर गर्ने तयारी छ ।
पत्रकार सम्मेलन आयोजक मर्स्याङदी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो । उहाँले सम्मेलनलाई उपलब्धिपूर्ण बनाउनका लागि सहयोग र सहभागिताका लागि पत्रकारहरूसँग अपिल गर्नु भएका थियो । पत्रकार सम्मेलनको सञ्चालन आयोजक क्याम्पसका व्यवस्थापन समितिका सदस्य विनोद न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २६, शुक्रबार २०:२४ गते
हजुरको प्रतिक्रिया