उच्च शिक्षा बिग्रनुको कारक राजनीतिक दलको हस्तक्षेप : प्रा.डा. केशरजंग बराल, उपकुलपति त्रिभुवन विश्वविद्यालय

उच्च शिक्षा बिग्रनुको कारक राजनीतिक दलको हस्तक्षेप : प्रा.डा. केशरजंग बराल, उपकुलपति त्रिभुवन विश्वविद्यालय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २७ गते शनिवार १०:१३

राजनीतिक प्रभाव र भोटका लागिभन्दा आवश्यकताका आधारमा विश्वविद्यालयको खोल्न स्विकृति दिनु पर्नेमा जोडदिदै नेपालमा यतिबेला १२ वटा विश्वविद्यालयले काम गरिरहेका छन्, दुई वटा निस्कृय छन्, तीनवटा पाइपलाइनमा छन् । मधेश प्रदेशमा दुईवटा समेत छवटा प्रदेशस्तरका विश्वविद्यालय छन्, कर्णाली र सुदुरपश्चिम पनि खोल्ने तयारीमा छ । नेपालका लागि यी सबैको आवश्यकता हो कि होइन ? उहाँले प्रश्न गर्नु भएको थियो । तर विद्यार्थी जता गए पनि तिनै त हुन् नि ! आजका दिनमा पनि विद्यार्थीको भार भने ७८ प्रतिशत त्रिविले बेहोर गरिरहेको प्राडा बरालले उल्लेख गर्नुभयो ।

झण्डै एक घण्टा लामो प्रस्तुति सहितको मन्तव्यमा प्रा.डा. बरालले आफ्नो ४२ वर्षको शिक्षण अनुभव समेत समेटेको बताउनु भएको थियो ।

बेसीशहर– त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले उच्च शिक्षा बिग्रनुको कारक राजनीतिक दलको हस्तक्षेप भएको बताउनु भएको छ । उच्च शिक्षाकमा अनुसन्धानमार्फत ज्ञानको प्रवद्र्धनको दुई दिने राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै बैशाख २७ गते त्यस्तो बताउनु भएको हो ।
सेरोमोनियल कुलपति हुँदासम्म शिक्षा क्षेत्र उस्तो अस्तव्यस्त भएको थिएन, ऐले त खत्तम छ भन्दै उहाँले आफ्नै उदाहरण दिदै भनुभयो, ‘चीनको एक सेमिनारमा जानु थियो, उड्ने दिनसम्म सरकारबाट अनुमति नै मिलेको थिएन, अनि कसरी हामीले उपलब्धिपूर्ण काम गर्न सकिन्छ ?’ एकजना शिक्षाविद्ले आफूलाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हप्तामा ३, ४ दिन त फाइल बोकेर बालुवाटार र सिहंदरबार धाउनु पर्छ, अनि शिक्षाका क्षेत्रमा कतिबेला काम गर्नु हुन्छ ?’
राजनीतिक प्रभाव र भोटका लागिभन्दा आवश्यकताका आधारमा विश्वविद्यालयको खोल्न स्विकृति दिनु पर्नेमा जोडदिदै नेपालमा यतिबेला १२ वटा विश्वविद्यालयले काम गरिरहेका छन्, दुई वटा निस्कृय छन्, तीनवटा पाइपलाइनमा छन् । मधेश प्रदेशमा दुईवटा समेत छवटा प्रदेशस्तरका विश्वविद्यालय छन्, कर्णाली र सुदुरपश्चिम पनि खोल्ने तयारीमा छ । नेपालका लागि यी सबैको आवश्यकता हो कि होइन ? उहाँले प्रश्न गर्नु भएको थियो । तर विद्यार्थी जता गए पनि तिनै त हुन् नि ! आजका दिनमा पनि विद्यार्थीको भार भने ७८ प्रतिशत त्रिविले बेहोर गरिरहेको उहाँले उल्लेख गर्नुभयो । आफूले दुई प्रधानमन्त्री र तीन शिक्षामन्त्री बेहोर गरेको स्मरण गर्दै भन्नुभयो, ‘तपाईहरूमा भातृसंगठन रोक्नुस् भन्दा तिनले के गरेका छन् र ?’ भन्ने उत्तर गरेको पाएँ । त्यसको परिणाम त हामी सबैका सामुमा छ नि उहाँले सटिक रुपमा उल्लेख गर्नुभयो ।
ऐले १८ प्रतिशतमात्र प्राविधिक शिक्षा रहेको जानकारी दिनुहुँदै उहाँले त्यसमा परिवर्तन गर्ने मानसिकता शिक्षाको प्रशासन संयन्त्र तयार नभएको आफूले पाएको स्मरण गर्नुभयो । ऐले पढाउने, पढ्ने र काम गर्ने सोचको विकास भएको छ, यो पनि आवश्यकताका आधारमा गरिनु पर्छ उहाँले भन्नुभयो । उहाँले हाम्रो शिक्षा नीति दातामुखी रहेको भन्दै क्यूएए लगायतका कार्यक्रम पनि त्यस्तै हुन् भन्ने जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा राजनीतिक नियुक्ति नभई प्राज्ञिक व्यक्तित्वबाट हुनुपर्ने नीतिगत प्रवन्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस्तै, नीतिलाई आर्थिक स्थितिले पनि मेलखाने गरी काम गर्न सक्नु पर्छ भन्दै एकपटक आफूलाई योजना आयोगले ७० प्रतिशत सीपमूलक कार्यक्रम बनाउन भन्यो, मैले भने त्यो अनुसारको आर्थिक प्रवन्ध गर्न सक्नु हुन्छ ? भन्दा जवाफ आएन अनि कसरी बन्छ र हुन्छ नीति, काम वा उपलब्धि ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।
झण्डै एक घण्टा लामो प्रस्तुति सहितको मन्तव्यमा प्रा.डा. बरालले आफ्नो ४२ वर्षको शिक्षण अनुभव समेत समेटेको बताउनु भएको थियो । उहाँले समस्याको पहिचान हुनु पनि केही उपलब्धि हो भन्दै शैक्षिक क्षेत्र सुधारका लागि पनि झण्डै दर्जन सुझाव पेश गर्नुभयो । उहाँले पार्टीहरूले पावरमा कब्जा जमाउने प्रवृत्ती घातक छ र यसको अन्त्य हुन आवश्यक छ भन्नुभयो । त्यस्तै, शिक्षामा पनि पारदर्शीता हुनुपर्ने हुन्छ भन्दै विएससीको विद्यार्थीले तिर्ने १२ हजार के केमा खर्च हुन्छ त ? त्यो भन्न सक्नु पर्छ तर भन्न सकेको अवस्था छैन उहाँले उल्लेख गर्नुभयो । उहाँले अधिकांश विद्यार्थी, अभिभावकको पढेपछि नोकरी नै गर्ने भन्ने मानसिकतामा पनि परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । अनुसन्धान प्रतिवेदन पनि दराजमा थन्क्याउनका लागि तयार गर्ने परिपाटीको अन्त्य हुनुपर्छ साथै क्याम्पसको प्रशासन र शिक्षक विद्यार्थी मैत्री छैनन् यो हुन जरुरी छ उहाँले जोड दिनु्भयो । एकवर्षे नीतिले देश अघि बढ्दैन उहाँले ठोकुवा गर्नुभयो ।
दुई दिने सो राष्ट्रिय सम्मेलनमा मुलुकका पाँच विश्वविद्यालय अन्तरगतका २५ क्याम्पसका प्रमुख एवम् प्रतिनिधिले भाग लिएको आयोजक मस्र्याङदी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापाले बताउनु भयो । उहाँले यो राष्ट्रिय सम्मेलन लमजुङ जिल्लामा पहिलो पटक भएको हुँदा जिल्लाको शैक्षिक इतिहासमा कोशेढुंगा हुने उल्लेख गर्नुभयो ।
सम्मेलनका सहभागीलाई तीन भागमा विभाजन गरी कुल ३२ वटा विषयको कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ । त्यसमा मूलतः अनुसन्धानको तौरतारिका र त्यसको उपलब्धिमा केन्द्रीत रहने आयोजक क्याम्पसको सम्मेलन व्यवस्थापन समितिका अर्का सदस्य जनक बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयोजक क्याम्पस क्यूएए मान्यता पाएको छ, त्यसको नवीकरण गर्न सन् २०२७ मा हुने पुनरावलोकनका लागि पनि यो सम्मलेनले इटा थप्ने छ ।’
सम्मेलनमा जिल्ला बाहिरबाट ५० जना र जिल्ला भित्रबाट ३० जनाले भाग लिने अनुमान गरिएको आयोजक क्याम्पसका सहायक क्याम्पस प्रमुख पदम राउतले जानकारी दिनुभयो ।
आयोजक मस्र्याङ्दी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा भएकोको कार्यक्रममा क्याम्पसका सञ्चालक सदस्य सुभास पौडेलले स्वागत गर्नु भएको थियो भने सञ्चालन आयोजक क्याम्पसको सम्मेलन व्यवस्थापन समितिका सदस्य विनोद न्यौपानेले गर्नुभएको थियो ।
एमओयु आदानप्रदान :
समापन अघि आयोजक मर्स्याङदी बहुमुखी क्याम्पस र गोरखाको द्रव्य शाह क्याम्पसका बीचमा एम ओयुका लागि गरिएको सात बुँदे सहमती पत्रको दुवै क्याम्पसका प्रमुखहरू क्रमशः हरिबाबु थापा र एकदेव अधिकारीले आदान प्रदान गर्नु भएको थियो ।
सो अवसरमा विएड तेस्रो वर्षका छात्राहरू युना गुरुङ, युकुमारी गुरुङ र हेमकुमारी विकले नृत्यद्वारा सहभागीहरूलाई मनोरञ्जन दिएका थिए ।
तीन मुख्य र १८ अन्य कार्यपत्र प्रस्तुत :
सम्मेलनको पहिलो दिनको दोस्रो सत्र कार्यक्रमका प्रमुख अतिथि प्राडा बरालको प्रस्तुतिकै सेरोफेरोमा रहेका थिए । आज तीनवटा मुख्य र १८ अन्य कार्यपत्र प्रस्तुत गरिएको थियो । साथै उच्च शिक्षासँग सम्बन्धित अनुसन्धान र सिकाईका बारेमा अनुदानज आयोगका नारायाण प्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
विज्ञहरूसँगको छलफल कार्यक्रम निकै रोचक र उपलब्धिपूर्ण रह्यो भन्ने लाग्छ सो क्याम्पसका शिक्षा संकायका प्रमुख विनोद न्यौपानेले बताउनु भयो । उहाँका अनुसार डा. नानीबाबु घिमिरे सिन्धुली, डा. बसन्त कडेल आदिकवि भानुभक्त क्याम्पस तनहुँ, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक भूमिराज पण्डित, शान्ति मावि लमजुङका प्रअ उत्तम बसेल र मसहितको सहभागितामा शिक्षणमा भाषाको नीति, अभ्यास र परिणाम विषयक छलफल भएको थियो । उहाँले भन्नुभयो, ‘विद्यार्थी अभिभावकमा अंग्रेजी भाषाप्रतिको मोहले सिकाई, पढाउदा सिर्जित चुनौति र त्यसले कालान्तरमा नेपाली भाषा, धर्म संस्कार, संस्कृतिमा पार्ने असरका बारेमा छलफल भयो ।’
निष्कर्षमा अनुसन्धानले मातृभाषामा बालबालिकाहरू पोख्न हुँदा दोस्रो भाषा सिक्न सहज हुने देखाएको हुँदा मातृभाषा सिक्न सिकाउनमा कञ्जुस्याइँ गर्नु नपर्ने निष्कर्ष निकालिएको जानकारी न्यौपानेले दिनुभयो ।
कार्यक्रममा डा. बुद्धराज खनियाले शिक्षा शास्त्रमा राम्रा विद्यार्थी ल्याउनु पर्नेमा जोड दिनु हुँदै त्यसो हुन सकेमा भोलिका दिनको उत्पादन पनि राम्रो हुन सक्ने भन्दै आफ्नो भनाइको पुष्टि गर्नु भएको थियो । त्यसैगरी, पोखरा विश्वविद्यालयका पूर्वराजिष्टार दीपकबहादु भण्डारीले उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेश जाने क्रमले युवाशक्तिमात्र पलायन भएको नभई ठूलो धनराशि समेत विदेशिएको हुँदा यो प्रवृत्तिलाई तत्कालै रोक्नका लागि उचित कदम चाल्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमका सहभागीहरू अत्यन्तै गुणस्तरीय रहेको जानकारी दिदै न्यौपानेले अस्टेलियामा अध्ययरत, एमफिल र पिएचडि गर्दै गर्नु भएकाहरूको बाहुल्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला बाहिरका ६० जना र जिल्लाका समेत एकसय बढी सहभागी रहेका थिए ।
अनुसन्धान महत्वपूर्ण छ भन्ने यस जिल्लाका सहभागीले राम्रोसँग बुझ्ने मौका पाएको उपप्राध्यापक जनकराज बस्नेतले बताउनु भयो ।
आयोजक क्याम्पसका प्रमुख हरिबाबु थापाले अनुसन्धानका लागि वातावरण बनाएको र त्यसलाई थप विकसित गर्दै गुणस्तरीय र उपलब्धिपूर्ण बनाउन क्याम्पस प्रयासरत छ र रहिरहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँका अनुसार यो सम्मलनबाट यस क्याम्पसका शिक्षक कर्मचारीले अन्य क्याम्पसका उपलब्धि सुनेर उहाँहरूका लागि पनि थप सिकाई होस् भन्ने उद्देश्य राखिएको छ ।
उहाँका अनुसार भोलि बैशाख २८ गतेका लागि तीन वटा मुख्य कार्यपत्र र अन्य १२ वटा रहेको जानकारी पनि उहाँले दिनु भएको छ ।

फोटो सौजन्य : जनकराज बस्नेत/मदन बि क ।

प्रकाशित मिति २०८२ बैशाख २७, शनिबार २२:१३ गते

हजुरको प्रतिक्रिया