काठमाडौँ– हिन्दू राष्ट्र स्थापनाको पक्षमा सक्रिय शिवसेना नेपालका अध्यक्ष अनिल बाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबा पक्राउ पर्नुको कारण सार्वजनिक गरिएको छैन तर काठमाडौं उपत्यकाबाट खटिको प्रहरीले नियन्त्रणमा लिएको भने पुष्टि गरेको छ ।
शिवसेना नेपालले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणाको माग गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ । बाबाको नेतृत्वको समूह संविधानको धर्मनिरपेक्षताको प्रावधानको विरोधमा उत्रिँदै आएको छ ।
पछिल्लो समय विभिन्न धार्मिक र राष्ट्रियतासम्बन्धी मुद्दा उठाउँदै सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा अनिल बाबा सक्रिय देखिनु हुन्थ्यो ।
शिवसेनाका कार्यकर्ताहरूले अनिल बाबाको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको कुठाराघात भन्ने टिप्पणी गरेका छन् । उनीहरूका अनुसार उहाँमाथि कुनै ठोस आरोप नराखी पक्राउ गरिएको दाबी गरिएको छ ।
स्मरणीय छ, यसअघि पनि अनिल बाबालाई राष्ट्रपतिविरुद्ध प्रदर्शनको तयारीमा रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अनिल बाबाको गिरफ्तारीलाई समर्थकहरूले सामाजिक सञ्जालमार्फत विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् । निकट भविष्यमै पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।
चैत १५ गतेको हिंसाको आयोजक को हो ? : प्रधानमन्त्री
प्रधानमन्त्री केपि ओलीले गत चैत १५ गतेको हिंसाको आयोजक को हो ? भन्ने प्रश्न उठाएकै दिन बाबालाई पक्राउ गरिएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राजावादीहरूलाई लक्षित गर्दै प्रश्न सोध्नु भएको थियो ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संविधानको धारा २७० ले दिएको फरक विचार राख्न पाउने अधिकारलाई सरकारलाई कुल्चिएको भन्दै संविधान ठूलो कि प्रधानमन्त्री ? भन्दै गरेको प्रश्नको जवाफ दिने क्रममा प्रम ओलीले त्यस्तो भन्नु भएको हो ।
प्रधानमन्त्रीले संविधानले अधिकार दिएकै कारण फरक विचार राख्नेहरू पनि संसद्मा रहेको भन्दै तीनकुने हिंसाको सन्दर्भ उठाउनु भएको थियो ।
चैत १५ गते राजावादीहरूले राजतन्त्र पुनस्र्थापनालगायतका माग राखेर तीनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शनमा हिंसा भड्कदा दुईजनाको ज्यान जानुका साथै प्रदर्शनकारीले जुटबुटी उद्योग, निजी घरहरू, निजी तथा सरकारी सवारीसाधन, पार्टी कार्यालय जलाउने तथा भाटभटेनी मार्केमा लुटपाट समेत गरेका थिए ।
त्यो हिंसाको जिम्मा लिन अहिले कोही तयार नभएको भन्दै प्रधानमन्त्रीले सोधे, ‘जुडीबुटी उद्योगले दिक्क लागेर आत्मदाह गरेको हो ? त्यत्रा घर आफैं जलेका हुन् ? जडिबुटीको औषधी कारखानाले दिक्क लागेर आत्मदाह गरेको हो ? आह्वान कसले गरेको थियो चैत १५ गतेको ? त्यस बितण्डा (हिंसाको अर्थमा)को आयोजक को थियो ? अहिले कसैले जिम्मेवारी नै लिँदैन ।’
प्रत्युत्तरका क्रममा प्रधानमन्त्रीले जति थोत्रो भए पनि विचार व्यक्त गर्न पाइन्छ तर त्यसका लागि हिंसाको सहारा लिन पाइदैन भन्नुभएको थियो ।
अध्यक्ष बस्नेतको पक्राउप्रति ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक सुवेदीको आपत्ति :
यसैबीच, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई बिना कारण पक्राउ गरिएको दावी गर्दै आपत्ति व्यक्त गरेको छ ।
समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै बस्नेतलाई पक्राउ गर्ने सरकारको कदमको बैशाख २८ गते निन्दा गर्नु भएको छ । सरकारले मानवअधिकार हनन् गरेको सुवेदीको दावी छ । साथै बस्नेतको तीनकुने घटनामा कुनै संलग्नता नरहेको सवेदीले स्पष्ट्याउनु भएको छ । तैपनि शान्तिकामी नागरिकलाई यसरी आतङ्कित तुल्याउने कार्य सरकारले छोडेको छैन सो विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ बैशाख २८, आईतवार १९:५६ गते