सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ६ निवासी सामाजिक एवम् व्यावसायिक व्यक्तित्व सुरेन्द्रमान श्रेष्ठले आफ्नो शुभ जन्मदिनको पावन अवसरमा सुन्दरबजार अस्पताललाई पाँच थान भित्ते घडी प्रदान गर्नु भएको छ । उहाँले सो अस्पतालका मेडिकल अफिसर शिशिर बिकलाई ती घडी बैशाख २९ गते प्रदान गर्नु भएको हो ।
ती घडी १० हजार रुपैयाँ मूल्य बराबरको भएको दाता श्रेष्ठले बताउनु भएको छ । उहाँले उक्त घडी अस्पतालमा एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा उहाँले जन्मदिन केक काटेर वा फजुल खर्च गरेर भन्दा अस्पताल जस्तो पवित्र संस्थामा सेवाका लागि उपयोग गर्दा आफूलाई बढी आत्म सन्तुष्टि हुने बताउनु भयो । उहाँले आउदा दिनमा पनि आफूले अस्पताललाई सक्दो सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले यस्ता रचनात्मक कार्य गर्ने प्रतिष्ठित व्यावसायी सुरेन्द्रमान श्रेष्ठलाई बिशेष धन्यवाद दिदै आगमी दिनमा पनि यस्तै सेवात्मक कार्य गर्न अनुरोध गर्नु भयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले सुन्दरबजारका सामाजिक एवम् व्यावसायिक व्यक्तित्व सुरेन्द्रमान श्रेष्ठ यस क्षेत्रका सामाजिक अभियान्त हुनुका साथै अस्पतालको भौतिक लगायत अन्य विकासमा महत्त्वपूर्ण भुमिका निभाउनु भएको व्यक्तित्व हुनु भएको जानकारी दिनु भयो ।
अध्यक्ष श्रेष्ठले यसअघि दाता श्रेष्ठले सो अस्पताललाई चार थान बिरामी कुरुवा एवम् भिजिटरहरू बस्ने कुर्सी ८० हजार रुपैयाँ बराबरको हस्तान्तरण गर्नु भएको स्मरण गर्दै उहाँलाई बधाई दिनु भएको थियोे । अस्पताल परिवार उहाँको शुभ जन्मदिनको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य समन्वयको अपेक्षा गर्दछ उहाँले भन्नुभयो ।
प्रकाशित मिति २०८२ बैशाख २९, सोमबार १७:५६ गते