मर्स्याङदी गाउँपालिकामा लुकेको इतिहास र गुरुङ संस्कृति

मर्स्याङदी गाउँपालिकामा लुकेको इतिहास र गुरुङ संस्कृति

के. वि. मसाल

@antaranganews

२०८२ जेठ ५ गते सोमबार ०९:५८

मर्स्याङदी गाउँपालिका भित्र नायुँमा रहेको तलङ्यो पोखरी, भीरपुस्तुनमा रहेको कालिका मन्दिर, स्याङे झरना, च्याम्चेमा रहेको अक्टोपस झरना, हामखोला झरना, च्याम्चे झरना, घनपोखराको झरना, हर्सिङडाँडा, जगत र बाहुनडाँडाको तातोपानी कुण्ड मर्स्याङदीको प्राकृति धरोहर हुन ।  

   मणिलाल गुरुङ साहित्यकार डिल्लीजंग गुरुङको बुबा थिए । वि.स १९८६ मा खुदीको तल्लोबजारमा सुब्बा नरजङ गुरुङको विशेष पहलमा झोलुङ्गे पनि निर्माण गर्नुका साथै खुदीबजारमा वि.स.१९८६ मा भाषा पाठशाला पनि खुलेको थियो ।

इतिहास कुनै पनि ज्ञान, विज्ञान, साहित्य र शास्त्रहरूको जग हो । इतिहास भनेको बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । अर्को शब्दमा भन्दा प्राचीनकालदेखि मानवजातिसँग जोडिएको घटनाहरूको वर्णन नै इतिहास हो भन्दा पनि हुन्छ । हाम्रा पुर्खाहरूले इतिहासको महत्वलाई लिखित अथवा लोक कथाको क्रममा छोडेर गएका छन । मानव सभ्यताको विकासक्रम देखिनै मानव इतिहासको पनि सुरुवात भएको छ । वास्तवमा शिलालेख इतिहासका स्रोतहरू हुन । इतिहास लेख्न तथ्य र प्रमाण चाहिन्छ । बिना तथ्य इतिहास बन्दैन । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । इतिहास सर्वव्यापक छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । ऐतिहासिक सत्यतथ्य पत्ता लगाउन कठिन हुन्छ । इतिहासको खोज अनुसन्धान अहिल्य सकिदैन ।
मर्स्याङदी (गाउँपालिका)को भूगोल र इतिहास लुकेको क्षेत्र :
मर्स्याङदी (गाउँपालिका)को भूगोल इतिहास लुकेको क्षेत्र हो । सामान्य लेखको सामग्रीबाट मर्स्याङदीको इतिहासको खोज पूर्ण हुदैन । इतिहासविदहरूका अनुसार, गुरुङहरू हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएका हुन । तर केही विद्वानले भने गुरुङहरू मगंोलबाट बसाइ सरेकाहरू हुन भनेका छन । तर मानव सभ्यताको विकास भएको मूल थलोहरू मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि उत्पति भएको मानिन्छ । ह्वाङवो नदीमा उत्पति भएपछि हजारौं वर्षपछि गुरुङहरू तिब्बतको भूमिहुँदै मुस्ताङ हँुदै मनाङतिर आइपुगे । मनाङको ङावलमा घले राजाहरूले १० पुस्ता राज्य गरेको इतिहास भेटिन्छ । तमु र गुरुङ एकै हो । नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछन । त्यो बेला तमुहरू शिकारको यात्रामा नयाँ ठाउँहरू राम्रो लागेमा बसाइ समेत सर्ने गर्दथिए । इतिहास विदहरूका अनुसार तमुहरू बि.स.५५६ तिर शिकार खेल्दै अन्नपूर्ण हिमश्रृंखला पार गरी अहिलेको भुजुङ गाउँको भूगोलमा आएका थिए ।
लमजुङको मर्स्याङदी गाउँपालिकाको इतिहास लामो छ । गाउँपालिका गाउँपालिका भित्रको इतिहास खोज्ने हो भने घले राजाहरूको इतिहास खोज्नै पर्ने हुन्छ । घले राजाहरूले क्होलासोंथार र घेर्मु र दोर्दीको दाम्राङ नजिकै जुमडाँडा शासन गरेका थिए । तर जुमडाँडा घले दरबारको बारे कुनै लिखित इतिहास भने भेटिएको छैन । घेर्मु र क्होलासोंथारमा भने घले राजाहरूले राज्य गर्दाका केही ऐतिहासिक लिखित कुराहरु भेटिन्छ । अहिले मर्स्याङदी  गाउँपालिकामा पर्ने साविकका सात गाउँ विकास समिती घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले र सिम्पानीको सबै इतिहास खोज्न ताम्रपत्र, भोजपत्र, ताडपत्र र शिलापत्र भेटन सकिदैन । मर्स्याङदीको लुकेको इतिहास खोज्दा लोक कथा र बिभिन्न इतिहासकारहरूले लेख्नु भएको किताव र लेखको आधार लिनु पर्ने हुन्छ । इतिहासकारहरुको पनि आफ्नै धारणा रहेको पाइन्छ । कतिपय इतिहास भइसकेका कुराहरू पनि फरक बिचारले कुन ठीक हो भन्ने कुरा लेखकलाई स्रोत सामग्री दिन गारो हुन्छ ।
लमजुङको क्व्होलासोँथर अर्थात घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरूको आदिम थलो हो । अहिले गाउँपालिकाको नामनै क्व्होलासोँथर राखिएको छ । क्व्होलासोथर गुरुङ भाषाको शब्द हो । यसको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातिहरूको आदिम थलो । अहिले बाग्लुङ पानी, मालिङ, उत्तरकन्या, भोजे, सिङदी, गिलुङ र भुजुङ सबै गाउँहरू क्होंलासोंथरमा पर्दछ । घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ । वंशावली अनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए । कालान्तरमा उनका सन्तानहरू क्होंल, ख्होल क्होंल र पोंचोंको कोइम्लीनासाका राजा भए । घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन भने अन्तिम राजा क्याल्पोेरुजाक्ले थिए । गुरुङ भाषामा घलेगाउँलाई कोइम्ली, घलेलाई ल्के, राजालाई म्रु र राज्यलाई ख्याल्सा भनिन्छ । घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमा सहित घलेपार्क बनाइएको छ ।
क्व्होलासोँथरको घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरू भेटिदैन । तर पनि वंशवलीमा तमूहरूको आदिम राजधानी क्व्होलासोँथरको पतन १५औँ शताब्दीको मध्य तिर भएको मानिन्छ । गुरुङहरूको आदिम वासस्थल क्व्होलासोँथर विस्थापित भएपछि क्याल्पो रोजा उपनाम भएका पर्सै ख्ह्ले अर्थात क्ले परसुराम घलेले आफूसंग मन मिल्ने भारदारहरूलाई लिएर आफ्नो गुरुको परामर्श अनुसार लमचुँ १० थर डाँडामा गए । जुन ठाउँ अहिले मर्स्याङदी गाउँपालिका १ घनपोखरामा पर्दछ । घनपोखरा गाउँबाट माथिल्लो क्षेत्रमा कुनै पनि मानव बस्ती समेत छैन । लमचुँ १० थर डाँडाबाट हेर्दा रमाइलो हरियो चउर र पानीको स्रोत समेत नजिकै हुनाले परसुराम घलेले त्यहिनै राज्य स्थापना गरे । घले राजाले त्यो बेला आफ्नो राज्यको नाम लमचुँ र राजसभाको नाम नालछोज नामकरण गरेका थिए भने मन्त्रीलाई ख्याल भन्ने पद दिएका थिए ।
घले राजाले राज्य सञ्चालन गर्नको लागि पाचँ क्षेत्रमा राज्यलाई बिभाजन : 
घले राजाले राज्य सञ्चालन गर्नको लागि पाचँ क्षेत्रमा राज्यलाई बिभाजन गरेका थिए । भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायँु, लामागाउँ, कपुरगाउँ, रापासिँ, नजरे, मालिङ, पुमा, बिम्दा र नाल्मा थियो । यी सबै गाउँहरूलाई १० थर नाम राखिएको थियो । घलेगाउँ राजधानी र १० थर गाउँको नालछोँज हुने स्थान कपुर गाउँ थियो । हाल नालछोँज हुन ठाउँ कोक्यु बजारको नामबाट परिचित छ । अर्को क्षेत्र पसगाउँ, सिङदी, कुम्लुङ, चारा, भोजे, मोप्योङ, धाम्राङ, तोँबु, टक्सर, छाप, डडुवा, गिलुङ र कल्याङ गाउँहरू थियो । यी गाउँको क्षेत्रलाई पाँच गाउँ नाम राखिएको थियो । पाँच गाउँ क्षेत्रको नाल छोँज हुने स्थान ‘साल्मे डाँडा’मा थियो । त्यसैगरी पाख्रिकोट, वाचोक, भाचोक, नागिधर, याङ्जाकोट, ध्याम्राङ र ताङतिङ गाउँहरूलाई छ गाउँको नाम राखिएको थियो । छ गाउँको नाल छोँज हुने स्थान याङजकोट थियो । च्याम्चे, जगत, चजक्यु, सिउरुङ, ताध्रिङ, थाकन, सिलढुंगा, मिप्रा, ढगै, टोँबु, खुदी, निम्द,रोउ, फाँचे, कसिँतुँ, सञ्जाबु, थालाजुङ, कालाघिरिङ, चिप्लो, उस्ता, भिर पुस्तुन, तराचे, भुलभुले र भंगेरी गाउँको क्षेत्रलाई चौध खोला नाम राखियो । चौध खोलाको नाल छोँज हुने स्थान खुदी थियो । खासुर, भाचोक, हिले, टक्सर, लाँकुरीबोट र चिसापानी गाउँलाई बाह्रथरको नाम राखियो । बाह्रथरको नाल छोँज गर्ने स्थान खासुर थियो ।
त्यो बेला घले राजाले स्थापना गरेको नालछोंजको उद्देश्य समानताको आधारमा आधारित थियो । नालछोंजमा विशेष गरेर जग्गा जमिन, खोरिया, भीर, पाखा, खोला, नाला, पोखरी, वन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, खर्चरी, पुवाघारी, मौरीको भीर, डाँफेचरन, माछाचरन, गौचरन, साँध, सीमाना, थिति बन्देज, रीतिरिवाज, चाडपर्व, संस्कृति, संस्कार आदिको बारेमा छलफल गरेर थिति बाध्ने गरिन्थो । यसरी बाँधिएका थितिहरू राज्यका सर्वसाधरण सबैलाई मान्य हुन्थ्यो । लमजुङको गुरुङ गाउँहरूमा नाल छोँजको अवशेषको रुपमा अझै पनि भदौ महिनाको पहिलो साता थिति सभाको आयोजना गरिन्छ । जस्माः गाउँको थितिमा चरन, खर्क खर्चरी, बाटो, धाटो, पानी पाँधेरो, पाटी, पौवा र बस्तु भाउको खरिद बिक्रिको बजार मुल्य निर्धारण गरिन्छ । यसरी थिति सभाले निर्धारण गरेको बस्तु भाउँको मुल्य गाउँ भित्र एक रुपता भए तापनि गैर गाउँलेहरूलाई बिक्रि वितरण गर्दा यो नियम भने लागु हुँदैन ।
शाह राजाको उदय :
क्व्होलासोँथरको पतन भएपछि लमजुङमा कालु शाहको उदय भएको थियो । त्यो बेला राजकुमार खजे घले र राजा परसुराम घलेको बीचमा राज्यसत्ताको सवालमा खचपच भएपछि खजे घले तुर्लुङमा नयाँ कोट स्थापना गरी घलेबाट दुराको उपनामबाट स्वतन्त्र रुपमा रजाइँ गरेर बसेका थिए । खजे दुरालाई दाजुको राज्य विस्तारको अभियान मन परेको थिएन । त्यसैले आज भन्दा ५४१ बर्ष पहिले कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई वि.सं १५४० मा कुश्माखर घिमिरे, खजेदुरा, सुकराम क्याउसा र लक्ष्मण दुरालहरु मिलेर लमजुङको पहिलो चौबीसे राज्यको राजा बनाएर तुर्लुङकोट दरबारमा राखिएको थियो । पछि तुर्लुङकोटबाट पुरानोकोट दरबारमा सारिएको थियो । अहिले पनि पुरानोकोटमा दरवारको भग्नावशेष देख्न सकिन्छ । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउँ क्षेत्र घले राजाबाट शासित थियो । अर्कोतर्फ कालु शाहलाई लमजुङको राजा बनाएको कुरा घलेहरूलाई मन परेको थिएन । घलेराजा र कालु शाहका सेनाहरू बिच बेला बखत बिवाद भइरहन्थ्यो । तर विवाद बढ्दै जाँदा घले राजा परसुरामले शिकार खेल्ने बहानामा जंगलमा लगेर मृग मार्ने बहानामा कालु शाहलाई वाण प्रहार गरेर मारिदिए । राजा कालु शाहले कुल १० बर्ष मात्र शासन गर्न पाए ।
कालु शाहको हत्या पछि पुनः खजेदुरा, सुकराम क्याउसा, कुश्माखर घिमिरे, लक्ष्मण दुरालहरूले नै कुलमण्डलका साइला छोरा यशोबह्म शाहलाई दोस्रो पटक कास्कीबाट ल्याएर राजा बनाएका थिए । यशोबह्म शाहलाई सुरुमै पुरानकोट दरबार लैजान अनुकूल नदेखि पहिला दुराडाँडामा राखिएको थियो । तर कुश्माखरले साइत हेर्दा राजा बनाउने उत्तम साइत टर्न लागेको देखिँदा यशोब्रह्म शाहलाई नजिकैको ठूलो ढुङगा माथि राखी सिन्दुर जात्रा गरी विसं १५५० असार १५ गते राजा घोषणा गरी पुरानकोट दरबारमा भित्र्याइएको थियो । घले राजा परसुरामले शिकार खेल्ने निहुमा कालु शाहको हत्या गरेकोले यशोब्रम्ह शाहको घले राजासंग राम्रो सम्वन्ध थिएन । लामो समयको विवाद र युद्धपछि बिना हतियार खुदी नजिक भलम खोलाको किनारमा सम्झौता गर्ने निर्णय भयो । तर यशोमह्म शाहका सेनाहरूले अघिल्लो दिन हात हतियार भलम खोलाको वालुवामा लुकाई सकेका थिए । वि.स १५६७ जेष्ट १० गते पूर्णिमाको दिनमा दुबै राजाहरू बिच शान्ति संझौताको प्रस्तावमा छलफल भयो । तर छलफलबाट कुनै निर्णय हुन नसकेपछि राजा यशोबह्म शाहका सेनाले बालुवा मुनि लुकाएर राखेका हतियारहरू निकालेर घले राजा परसुरामलाई काटीदिए । घले राजा मारिएपछि हतियार रहित यशोबह्म शाहका सेनाहरू ज्यान जोगाउन भागे । यसरी, शाान्ति संझौताको नाउँमा पूर्व नियोजित षडयन्त्र भएको हुनाले १४ वर्ष शासन गरेपछि लमजुङमा घले राजाको पतन भयो ।
घले राजाको पतन पछि शाह राजा र घले गुरुङहरूको बीचमा गाउँशहर दरबारमा संझौता हुदा गुरुङको क्षेत्र र गाउँहरूमा गुरुङकै थिति अनुसार शासन चल्न थाल्यो । त्यो बेलामा गुरुङको क्षेत्र भित्र बसोबास गर्ने गैर गुरुङहरूले पनि गुरुङकै थिति मान्न बाध्य भए । गुरुङ गाउँहरूमा यो थिति लामो समयसम्म रहेको थियो । राजा यशोब्रह्म शाह, राजगुरु कुश्माखर घिमिरे र भारदारिया खजे दुरा यी तीन जना मिलेर लमजुङ राज्यमा रचनात्मक काम गर्न थाले । पुरानोकोटको धर्मसभा, लमजुङ दरबारको नीतिसभा जस्ता उच्चस्तरीय मिटिङ बसालेर जनचाहना र राज्यको आवश्यकता अनुसार काम हुन थाल्यो । कुश्माकर घिमिरेको पहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरुको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानी र आवश्यकता अनुसार विभिन्न ठाउँमा कोट स्थापना गर्ने कार्यक्रम अघि बढाए । सबैभन्दा पहिले स्थापना गरिएको कोटचाहिँ पुरानोकोट हो । त्यसपछि तुर्लुङकोट, जिताकोट, तान्द्राङकोट, याङजाकोट, बजारकोट, तार्कुकोट, राइनासकोट र बाहुनडाँडाको कोट खडा गरेका थिए ।
ङावलमा घले राजाले १० पुस्तासम्म राज्य गरेको इतिहास छ :
अर्कोतर्फ आदिम कालमा मनाङको ङावल गाउँमा घले राजाको दरवार थियो । पहिलो मनाङको घलेराजा ख्योम्योर घले थिए । ङावलमा घले राजाले १० पुस्तासम्म राज्य गरेको इतिहास छ । पछि अहिले लमजुङ जिल्लामा पर्ने घेर्मु भन्ने गाउँमा एघारौ पुस्ताका अन्तीम राजा ताछातोर्खे घले थिए । यी राजाले घेर्मुमा दरवार बनाएर राज्य गरेका थिए । दरवारको अहिले पनि भग्नावशेष भेटिन्छ । दरवार भएको घेर्मु फाँटमा अहिले खेतियोग्य खेत रहेको छ । किसानहरूले खेती गर्दा खनजोत गर्ने क्रममा दरवारको जग, घोडालाई दाना खुवाउने ढुङ्गाको ओखल, इटाको टुक्रा आदि भेटिने गरेको छ । घेर्मुका ताछातोर्खे घले राजा अत्यन्त अत्याचारी थिए । यिनले दिउसै जुनसुकै जातिका युवतीहरूलाई बलत्कार गर्ने र गाउँलाई त्रसित बनाउथे । अत्याचारी राजाको शासनले गाउँका मानिसहरू डराउन थाले । त्यसैबेला बाहुनडाँडाका कुश्माखर धिमिरेको अगुवाईमा घले राजालाई मनाङको टंकीगाउँ हुदै थोराङलेक कटायर मुस्ताङतिर धपायका थिए ।
मनाङको सदरमुकाम बाहुनडाँडामा डेड बर्ष अर्थात १८ महिना बस्यो :
नेपाल राज्यमा एकिकरण हुनु भन्दा आगाडि मनाङ पनि लमजुड राज्य कै एक अंगको रुपमा रहेको थियो । पछि लमजुङलाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गत पोखरा स्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन भयो । वि.सं.२०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा मनाङ छुट्टै जिल्ला भएपनि सदरमुकाम भने सरकारले मनाङमा राख्न सकेन । धेरै बर्षसम्म मनाङेहरूले बिशेष गरी उपल्लो मनाङबासीहरूले नेपालको सरकारलाई मानेनन् । तर पञ्चायती ब्यवस्थामा मनाङ जिल्लाको रापंस भने लमजुङ घनपोखराका मुनिन्द्रजंग, खगेन्द्रजग र नरेन्द्रजङ गुरुङ भए । त्यो समयमा मनाङको सदरमुकाम लमजुङको बाहुनडाँडामा रहेको थियो । त्यो समयमा मनाङबासीहरूलाई तपाईंहरू नेपाली हुनुहुन्छ । त्यसैले अब तपाईंले नेपाल सरकारको ऐन नियम पालना गर्नु पर्दछ भन्ने कुरा सिकाउनु प¥यो । मनाङको सदरमुकाम बाहुनडाँडामा डेड बर्ष अर्थात १८ महिना बस्यो । त्यसपछि बाहुनडाँडाबाट मनाङको थोँचेमा २०१९ सालमा सदरमुकाम सारिएको थियो । थोचेमा मनाङको सदरमुकाम १० बर्ष बस्यो र २०२९ कार्तिकमा चामेमा सारिएको थियो ।
मर्स्याङदी गाउँपालिकाको बीच भागबाट बग्ने मर्स्याङदी नदीले पालिकालाई पूर्वी र पश्चिमी दुई भागमा छुटयाएको छ । मनाङदेखि बग्दै आउने मर्स्याङदी नदी पुर्व पट्टी चार र पश्चिम तिर पाचँ वाड रहेको मर्स्याङदी नागवेली आकारमा बग्दै मनाङको सिमाना मर्दीखोलादेखि बेसीशहर नगरपालिकाको सिमाना पुर्वपट्टी लेते खोला र पश्चिम तिर भलमखोला सम्म पर्दछ । मर्स्याङदी नदीको पौराणिक नाम तिलिचो ताल भन्दा तल करमदा र जगतसम्म आउदा नमौदा त्यसपछि खुदीमा पुगेपछि शितप्रभा भएको मानिन्छ । मर्स्याङदी गाउँपालिकाको सौन्दर्यलाई शब्दले चित्रण गर्नै सकिन्न । प्रसिद्ध अन्नपूर्ण पदमार्ग र आदीबासी गुरुङ जातिको बाहुल्यता भएको मर्स्याङदी गाउँपालिकाको भूगोलमा सिमलचौर, बडागाउँ, भुलभुले, भुस्मै, तराइचे, नयाँगाउँ, उस्ता, छिनखेत, ठूलोबेसी, बाहुनडाँडा, ताराचक, नाइचे, घेर्मु, सञ्जापु, तल्लो चिप्ला र उपल्लो चिप्ला गाउँहरू छन । मर्स्याङदी पश्चिम तिर च्याम्चे, जगत, तार्घीङ, अर्खले, सिउरुङ, सिम्पानी, खुदी, घनपोखरा  र तरापु जस्ता सुन्दर गाउँहरू पर्दछन ।
मर्स्याङदी गाउँपालिका ५९७.२५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । तर मर्स्याङदीको भूगोलमा आधा भन्दा बढी हिमाली क्षेत्रमा पर्दछ जहाँ मानव बस्ती छैन । हिमालको काखमा हिमताल तलैया र धेरै ठाउँमा भेडा बाख्रा, गाई भैंसीको चरिचरण अर्थात खर्कहरू पर्दछ । हिमालको काखमा भाद्र महिनामा भेंडीगोठ पुग्ने गर्दछन । मर्स्याङदीको उत्तरी पूर्वी भेग गोरखा जिल्लासंग सिमा बनेको मनास्लु हिमाल पर्दछ भने पश्चिमतर्फ हिमालचुली, ङादीचुली हिमाल, लमजुङ र अन्नपूर्ण हिमाल र बुद्व हिमालहरू पर्दछन ।  मर्स्याङदी गाउँपालिकामा जति पोखरीको पहिचान भएको छ सबै जैविक विविधताका र धार्मिक, पर्यटकीय महत्वका छन । लमजुङमा पहिचान भएका तीन ठाउँमा दुधपोखरी छन । चेपे नदीको उदगमस्थल अर्थात लमजुङ र गोरखा जिल्लाको सिमानाको दुधपोखरी, दोर्दी खोलाको उदगमस्थ अर्थात मेमे पोखरीभन्दा माथिको दुध पोखरी र मनाङ, कास्की र लमजुङको सिमानामा पर्ने थुर्चु भन्ने ठाउँमा पनि दुधपोखरी रहेको छ । दोर्दी गाउँपालिकाको पश्चिम उत्तरमा रहेको दुधपोखरी क्षेत्रमा मेमे, नार्सीङ, र धर्म पोखरी पनि छन । यी पोखरीहरु मध्य सबैभन्दा ठूलो भने मेमे पोखरी रहेको छ । हिमालको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बिच रहेको छ मेमे पोखरी । मर्स्याङदी र दोर्दी गाउँपालिकाको सिमा क्षेत्रमा बाह्रपोखरी पर्दछ । प्राकृतिक सौन्दर्यले आकर्षक बाह्रपोखरी खुला मैदान अर्थात चरिचरन क्षेत्र हो । त्यसैगरी ङादी खोलाको शिरमा ठूलाङी पोखरी पर्दछ । यही पोखरीको पानीबाट ङादी खोलाको उदगम हुन्छ ।
साहित्यकार डिल्लीजंग गुरुङदेखि राष्ट्रकवि माधव घिमिरेको जन्मभूमि :
मर्स्याङदी गाउँपालिकामा शाहवंशको उदय हुनु भन्दा पहिले घले राजाहरूको शासन कालमा अंग्रेजसंग नाङ्गो तरवार लिएर सीमा रक्षाको लागि जीवनको वलिदान दिने राष्ट्रिय विभुति भक्ति थापा, प्रकृति प्रेमी राष्ट्रकवि माधव घिमिरे, वातावरण विद डा हर्क गुरुङ र तमु जातिको उत्थान र सांस्कृतिको बारेमा कलम चलाउने साहित्यकार डिल्लीजंग गुरुङको  जन्मभूमि हो । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी अग्रेज बीच भएको युद्धमा वीरगति प्राप्त गरेका सरदार भक्ति थापाको जन्म सन १७४१ मा मर्स्याङदीको वडा नं. ३ ढँगैबेसीमा भएको थियो । नेपाल एकीकरणका क्रममा लमजुङ राज्यले गोरखासँग हार व्यहोरेपछि नेपालको तत्कालीन सेनामा उहाँ सरदारका रुपमा सामेल हुनु भएको थियो । सन १८१५ मा नेपाल– अँग्रेज बीचको युद्धका बेला देउथलमा कमान्डरका रुपमा खटिएका थापाले वीरगति प्राप्त गर्नु भयो । उहाँको शुर र वीरताको सम्मान गर्दै अग्रेज कमान्डरले समेत उहाँको शवमा दोसल्ला ओढाएका थिए । शुरवीर थापाको स्मृतिमा ढँगैबेसीमा पार्क निर्माण गरिएको छ । डा. हर्क गुरुङ बहुमुखी प्रतिभाका धनी व्यक्ति थिए । विद्वान भूगोलविद तथा योजनाविद डा. हर्क गुरुङको जन्म वि.सं.१९९५ साल पुस २१ तराञ्चेमा भएको थियो । बेलायतको स्कटल्यान्डबाट भूगोलमा विद्यावारिधी गर्नु भएका गुरुङ विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी ०६३ असोज ७ मा मृत्यु भएको थियो । निधनपछि अहिले तराञ्चेमा समाधिस्थल निर्माण गरिएको छ ।
मर्स्याङदीको बाहुनडाँडामा राष्ट्रकवि माधव घिमिरे र कुश्माखर घिमिरेको जन्म भएको थियो । कुश्माखर घिमिरेको जन्म विक्रम सम्वत १४८० साल असोज २७ गते विजया दशमीका दिन भएको थियो । कुश्माखरले त्यो बेला लमजुङमा आधुनिक राज्यको थालनी गर्ने नेतृत्व बोकेका थिए । कुश्माखरको नेतृत्वमा वि.सं १५१६ मा लमजुङमा आधुनिक राज्यको थालनी भएको इतिहास छ । संस्कृतिविद प्रा.डा. जगमान गुरुङका अनुसार राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता कुश्माखर घिमिरे थिए । नेपालको वर्तमान चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डाको परिकल्पनाकार समेत कुश्माखर घिमिरे हुन । लमजुङका ८ वटा कोटहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डामा ८ वटा कोणहरू राखिएको संस्कृतिविद जगमान गुरुङको भनाइ छ । यशोमह्म शाहले कुश्माखर धिमिरेलाई श्री ३ को उपाधी दिएका थिए । अर्कोतर्फ यशोमह्म शाहले कुश्माखर धिमिरेलाई सिमलचौरदेखि दुधखोला सम्मको जमिन बिर्ता समेत दिएका थिए । त्यसैबेला भिरपुस्तुनका धिमिरेहरूलाई रक्तकाली गुठी प्रदान गरिएको थियो । त्यो बेला भिरपुस्तुनमा सुरक्षाको लागि सैनिक टुकुरी राखी कोत घरकोसमेत स्थापना भएको थियो । गुठीको जमिन ठूलीबेसी र चनौटेमा रहेको छ । त्यसबेला यी सबै क्षेत्रलाई पुस्तुन मौजा भन्ने गरिन्थो । जुन कुरा इतिहासकार प्रा.डा. रामराजा सुवेदीले कुश्माखर धिमिरे नामक पुस्तकमा लेख्नु भएको छ ।
पछि यशोव्रह्म शाहले कालु शाहको छोरा नरपती शाहलाई भिरपुस्तुनको मौजा राज्य दिएका थिए । तर पछि नरहरि शाहका बिरुद्धमा लाग्यो भनि नरपती शाहलाई मारिएको कुरा इतिहासकार रामराजा सुवेदीले लमजुङ राज्यको बारेमा लेख्नु भएको छ । लमजुङमा शाह वशंले ३०० बर्ष शासन चलाएका थिए । राजा रिपुमर्दन शाहले राज्य सञ्चालन गर्दा लमजुङलाई २७ मौजामा विभाजन गरेका थिए । त्यो बेलामा पनि घले राजाले बिभाजन गरेको नालछोँजलाईनै आधार बनाएर मौजा बिभाजन गरेको पाइन्छ । त्यस बखत अहिले मर्स्याङदी गाउँपालिकामा पर्ने दशथर, स्यायीकुवा अर्थात खुदी(सुधा नदी)खोलाको शिर दुधपोखरी, चारनाल पाचँगाउँ, पुस्तुन मौजामा कालिकाको मन्दिर, देउरालीकोट, लटेश्वर महादेवको मन्दिरस्थल र बाहुनडाँडासमेत पनि रिपुमर्दन शाहले मौजा विभाजन गर्दा परेका ठाउँ हुन ।
अमर मा.वि. वि.स.२०२४ मा स्थापना भएको हो :
राणा प्रधानमन्त्री वीर शमशेरले वि.स.१९५२ मा घनपोखराका मणिलाल गुरुङलाई सुब्बा पदवी दिएका थिए । मणिलाल गुरुङ साहित्यकार डिल्लीजंग गुरुङको बुबा थिए । वीर शमशेरले मणिलाल गुरुङलाई सुब्बा पदवी दिदा अहिलेको मर्स्याङदी गाउँपालिका र मनाङ जिल्लाको समेत तिरो भरो र कर समेत लिनको लागि स्थानीय शासकका रुपमा नियुक्त गरेका थिए । त्यो बेला राजा रजौटाका सन्तान या उत्तराधिकारीहरूलाई सुब्बा पदवी दिने चलन थियो । सुब्बा पदवी पाएपछि त्यो समयमा आफ्नो कार्य सञ्चालन गर्न मणिलाल गुरुङले खुदीमा सम्पर्क कार्यालय समेत खोलेका थिए । वि.स. १९८६ मा घनपोखरा निवासी सुब्बा नरजङ गुरुङले खुदीमा पौवा, भगवती, सरस्वती र टंकेश्वर महादेवको मन्दिर बनाई दिएका थिए । वि.स १९८६ मा खुदीको तल्लो बजारमा सुब्बा नरजङ गुरुङको विशेष पहलमा झोलुङ्गे पनि निर्माण भएको थियो । त्यहि समयमा खुदीबजारमा वि.स.१९८६ मा भाषा पाठशाला पनि खुलेको थियो । तर त्यो भाषा पाठशाला पछि दुराडाँडामा सारियो । वि.स.२०२४ मा अमर मा.वि. स्थापना भएको हो ।
घापोखराका सुब्बा गुरुङ मनाङको माननीय सांसद :
घनपोखराका सुब्बा गुरुङहरू राणाहरूले स्थानीय शासकका रुपमा नियुक्त गरेपछि शक्तिशाली सामन्त बने । सुब्बा गुरुङहरूको प्रभाव अहिलेको मर्स्याङदी गाउँपालिका क्षेत्रमा मात्र नभएर तल्लो मनाङको नाचे, ताचे, वडागाउँ, तल्चो, धेराङ गाउँमा समेत रहन गयो । मनाङको सदरमुकाम मनाङकै भूमिमा सरकारले लैजान नसकेको समयमा धेरै बर्षसम्म घापोखराका सुब्बा गुरुङ मनाङको माननीय सांसद अर्थात तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भए । घनपोखराका खगेन्द्रजंग गुरुङ त पञ्चायत कालमा सहायक मन्त्री समेत भए । खगेन्द्रजंग गुरुङ नेपालमा पहिचानको राजनीतिलाई सगठित रुपले उठाउने जनजाति नेता पनि हुन । राजा महेन्द्र र चिनियाँ नेता माओत्सेतुङका बिच चिठी पत्रहरूको आदानप्रदान गरेर दरबार र चीनसँग सम्बन्ध स्थापित गर्ने राजा महेन्द्रका बिश्वास पात्र समेत मानिन्छन । घनपोखराका गुरुङलाई राणा प्रधानमन्त्री वीर शमशेरले राजाहरूको सन्तान भएकाले सुब्बा पद दिएका हुन । नरेन्द्रजंग गुरुङ, शेरजंग गुरुङ, डिल्लिजंग गुरुङ, मुनिन्द्रजंग गुरुङ र गञ्जसिंह गुरुङ त्यतिवेला घनपोखरा भन्दा माथी मनाङ जिल्लाको तल्लो भेगका शासक नै थिए । उनीहरूले जे बोल्यो त्यहिनै कानुन सरह हुन्थो ।
जगत गाउँमा राणाकालीन समयमा तिब्बतसंगको भोटे नूनको व्यापार हुँदा नूनको कर लिनको लागि भन्सार समेत राखिएको थियो । त्यो बेला नूनको कर लिने समेतको काम सुब्बा गुरुङले गरेका थिए ।
सुन भन्दा नून महँगो :
नूनको कर नतिरे जगत लाग्छ भन्ने मान्यता थियो । त्यसै कारणले ठाउँको नाम समेत जगत भएको हो । तिब्बतबाट नून खरिद गरी मनाङको तिल्चे गाउँमा राख्ने र लमजुङ, तनहुँलगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने व्यापारिक केन्द्र तिल्चे र थोचे गाउँ थियो । कुनै समय चीनमा सुन भन्दा नून महँगो थियो । नेपालमा चाहिं नूनको प्रयोग कहिले र कसरी शुरु भयो ? यकिन छैन । तर, खासगरी भोटे नून एक ताका नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा थियो । हिमाली बासिन्दाको जीविकाको आधार थियो । आजभन्दा १७४ बर्ष अगाडि अर्थात बि.स १९०७ सम्म तिब्बतबाट नुन, घोडा, उन, धूलो सुन, याक र चौंरीको पुच्छर आयात हुन्थ्यो । नेपालबाट चामल, लसुन, खुर्सानी, लत्ताकपडा, मरमसला, मुगा, ठेकी, छुरी, चक्कुको बिंड, हाडले बनेका बट्टा आदि तिब्तमा निर्यात हुने गर्दथियो । नूनकै कारण हिमाली र पहाडका जनजाति बीच सम्बन्ध गासिएको थियो । कसैले मितेरी साइनो अर्थात नेचाङ लगाउथे । तिब्बतीसँग मीत लगाउँदा नूनको ब्यापारमा सजिलो हुने गर्दथ्यो । तिब्बतबाट याक, जोपा, घोडा, भेडाबाख्राबाट नुन लिएर आउने मानिसका धेरैका मित हुने गर्दथे । कोशेली आदानप्रदानले त्यो सम्बन्धलाई झन प्रगाढ बनाएको हुन्थ्यो । यसरी नुन र अन्नको विनिमयसँगै मानवीय सम्बन्ध समेत साटासाट गरिन्थे । यी कुरा अहिलेका पुस्तालाई कथा बनेको छ ।
समय वरिवर्तन हँुदै गएको छ । नूनको कर लिने ठाउँ जगत अहिले पर्यटकहरूको लागि रमाउने र तातोपानीमा नुहाउने ठाउँ भएको छ । नून बोके हिडने च्याम्चे र जगत माथि पुरानो जगतगाउँ, जितै, नास्कटे र लामाथान भन्ने गाउँ सुनसान भएको छ । नूनको महत्व बुझेपछि घेर्मु फाँटको मर्स्याङदी किनारमा घनपोखराका सुब्बा गुरुङहरूले नूनखानी समेत सञ्चालन गरेका थिए । तर त्यो नूनखानी आजभन्दा ८० बर्ष पहिले ठूलो पहिरो जाँदा खानीनै पुरिएपछि बन्द भएको थियो । पहिरोको इतिहास मर्स्याङदीमा धेरै छन । अहिले घेर्मुसँगै जोडिएको खानीगाउँले अहिले रकगार्डेनको नयाँ पहिचान दिन थालेको छ । त्यो गाउँ पनि पहिरोले गर्दा बनेको मानिन्छ । तर पहिरो कहिले गएको हो भन्ने कुरा भने भेटिदैन । तर ताघ्रिङमा ०३१ सालमा ठूलो पहिरो गएको थियो । जुन पहिरोले गर्दा त्यसबेला धेरै मानिसहरू बिस्थापित भएर बर्दिया तिर गएको इतिहास छ । घेर्मुको नूनखानी पहिरोबाट बन्द भएपछि घनपोखराकै सुब्बा गुरुङहरूको पहलमा ०२५÷२६ सालमा भुलभुले भन्दा अगाडि नन्देस्वाँरा भन्ने ठाउँमा नून उत्पादन गर्नको लागि अन्वेषणको काम भएको थियो तर सफल भने हुन सकेन ।
संस्कृति र प्रकृतिको अनुपम संगम :
अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रुपमा रहेको मर्स्याङदी गाउँपालिकालाई संस्कृति र प्रकृतिको अनुपम संगमका रुपमा लिन सकिन्छ । यस गाउँपालिकाभित्र मनोरम झरना र अनुपम प्रकृतिका सम्पदा पनि छन । करिब २३ हजार ३८६ जनसख्या र ४५९३ घरधुरी रहेको मर्स्याङदी गाउँपालिकामा विभिन्न जातजातिको बासोबास रहेको छ । सांस्कृतिक रुपमा पनि मर्स्याङदी गाउँपालिका धनि छ । गाउँमा घाँटु, सोरठी, कृष्ण चरित्र, बालुन, जोरीमाई, झ्याउरे, तामाङ सेलो, भजन लगायतका मौलिक सांस्कृतिले गाउँको महत्व बढाएको छ । ऐले खानीगाउँमा रहेको रकगार्डेन होमस्टे र दिपज्योति आमा समूहले आफ्नोमा आउने पाहुनाहरूलाई थिएटरमार्फत मनोरञ्जन दिने गरेका लमजुङको मौलिक ठाडोभाकाको समेत प्रशिक्षढा सञ्चालन गरेर संस्कृति संरक्षणमा खानीगाउँका बासिन्दाहरू अग्रसर भएका छन् । मर्स्याङदी गाउँपालिका भित्र नायुँमा रहेको तलङ्यो पोखरी, भीरपुस्तुनमा रहेको कालिका मन्दिर, स्याङे झरना, च्याम्चेमा रहेको अक्टोपस झरना, हामखोला झरना, च्याम्चे झरना, घनपोखराको झरना, हर्सिङडाँडा, जगत र बाहुनडाँडाको तातोपानी कुण्ड मर्स्याङदीको प्राकृति धरोहर हुन । अर्कोतर्फ जलविद्युत आयोजनालेसमेत मर्स्याङदी गाउँपालिकालाई आर्थिक रुपले सम्पन्न बनाएको छ । अहिले ङादीमा रहेको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना, राँदी, स्याँगे, अपर स्याँगे, सिउरी, यादी, खुदी र सिनो हाइड्रो सगरमाथा पावर कं.बाट विद्युत उत्पादन हुन्छ । सुपर न्यादी, हिदी, न्यादी फेदी हाइड्रोपावर र अपर खुदी हाइड्रोपावर निर्माणधिन छ भने सुपर मर्स्याङदी, सयपत्री लगायत निर्माण हुने क्रममा छन ।
मर्स्याङदी गाउँपालिकाको पूर्वमा दोर्दी पश्चिममा क्होलासोंथार दक्षिणमा बेसीशहर नगरपालिका र उत्तरमा मनाङको नासोङ गाउँपालिका पर्दछ । भौगोलिक बनावटले पनि सुन्दर अनि गुरुङ समुदायको बाहुल्यता भएको मर्स्याङदी गाउँपालिका आफ्नै छुट्टै पहिचान छ । गाउँहरूबाट देखिने मनोरम पहाडको दृश्य, सेता हिउले ढाकिएको हिमाल गुरुङ समुदायको परा पूर्ब कालदेखिको रिती थितिले पनि मर्स्याङदीको पहिचान छुट्टै रहेको छ । मर्स्याङदी गाउँपालिकाको भूगोलबाट मनास्लु, लमजुङ, हिमालचुली र डा. हर्क पिक जस्ता मनोरम हिमालको दृश्यावलोकन समेत गर्न सकिन्छ । यति मात्र होइन, प्रकृति र संस्कृतिको सगंमका रुपमा रहेको खुदी र ङादी जस्ता मर्स्याङदीको सहायक नदी पनि छन । ङादी खोला ठूलादी पोखरीबाट उदगम भएको छ भने खुदी तिमाङ लेकको भूगोलबाट आएको छ ।
लमजुङ हिमालको काखमा दूध पोखरी नजिकै थुर्जु खर्क पर्दछ । थुर्जु खर्कमा मर्स्याङदी  पश्चिममा च्याम्चे, जगत, स्यागे, ताघ्रिङ, अर्खले र घनपोखरा गाउँका भेडीगोठ पुग्ने गर्दछन । गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिनाबेँसीमा भेडीगोठ राख्दछन । स्याँगे, जगत र ताघ्रिङगाउँका मानिसहरूले थुर्जु खर्कमा गोठ पुर्याउदा गाउँदेखि गाईखर्क, मलङखर्क, मंकुचेक, खुल्चोफाट र बुकीडाँडामा समेतमा भेठागोठ राख्दै र सार्दै घुम्ती चरणमा थुर्जुखर्कमा पुर्याउछन । मर्स्याङदीको पूर्वतर्फको हिमाली भेगमा भुस्मे भन्दा माथि टरिङेखर्क, चित्रेडाँडा, वाह्रपोखरी, खोलेपोखरी, चौरीखर्क लगायत ठाउँमा भेडागोठ लैजाने खर्कहरू छन् ।
मर्स्याङदी गाउँपालिका दक्षिणतर्फ लमजुङ जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिकासँग र उत्तरतर्फ मनाङ जिल्लासँग जोडिएको गाउँपािलिका हो ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ जेष्ठ ५, सोमबार २१:५८ गते
हजुरको प्रतिक्रिया