
जनकपुरधाम– नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन अन्तर्गत आज मतदान शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । यहाँ स्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा कडा सुरक्षाबीच जेठ ७ गते मतदान सम्पन्न भएको हो ।
अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादव उम्मेदवारी छ । सो निर्वाचनमा ६२८ मतदातामध्ये ६१५ मत खसेको छ । आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेको भएपनि मतदान भने बिहान ११ः२० बजेदेखि मतदान सुरु भएको थियो ।
उम्मेदवारको विषयमा महासेठ र अरगरिया समूहबीच विवादपछि कुटाकुट भएकाले वैशाख २३ मा मतदान प्रक्रिया स्थगित भएको थियो । सोही कारण आज सैयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान गराइएको छ । सो झडपमा पाँच जना घाइते भएका थिए ।
एमाले धनुषा नेतृत्वका लागि एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरियाले जिल्ला पदाधिकारदेखि सदस्यसम्मको प्यानल खडा गरेका छन् । अध्यक्ष पदका उम्मेदवार भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् ।
उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव उम्मेदवार छन् भने सचिव पदका लागि दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलले प्रतिस्पर्धा गरिरहनु भएको छ भने उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादवले उम्मेदवारी छ ।
त्यस्तै, महिलातर्फको उपसचिव पदका लागि किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ प्रतिस्पर्धामा छन् ।
स्मरणीय छ, गत वैशाख २३ गते अन्तिम नामावली प्रकाशनको विषयमा दिनभर झडप भएको थियो । झडपपछि मतदान स्थगित भएको थियो । त्यसमा ५ जना घाइते समेत भएका थिए । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको थियो ।
सामुदायिक विद्यालयका शिक्षक सचिव पदको उम्मेदवार :
यसैबीच, नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औं अधिवेशनमा सामुदायिक विद्यालयका शिक्षक पदाधिकारीको उम्मेदवार बनेको पाइएको छ । एमाले केन्द्रीय सचिव रघुबिर महासेठको प्यानलबाट जिल्ला कमिटीको सचिव पदमा सरकारी शिक्षक रहेका दिपनारायण ठाकुरले उम्मेदवारी दिनु भएको हो ।
ठाकुर मिथिला बिहारी नगरपालिका– ५ स्थित निम्न माध्यमिक विद्यालय ललियामा कार्यरत शिक्षक हुन् । राहत शिक्षकको रुपमा उनी २०६६ असार २५ गतेदेखि कार्यरत रहेको जिल्ला शिक्षा समन्वय इकाई धनुषाले जनाएको छ । उनको उम्मेदवारीको विषयमा निर्वाचन समितिमा उजुरीसमेत परेको थियो । तर, निर्वाचन समितिले उनको उम्मेदवारीलाई सदर गर्दै उम्मेदवारको नामावली प्रकाशन गरेको छ । यसअघि सोही कारण विवाद हुँदा आधा दर्जन नेता घाइते भएर निर्वाचनसमेत स्थगित भएको थियो ।
सरकारी शिक्षकको उम्मेदवारी विधान र निर्वाचन आचार संहिता विपरीत भएको कतिपयको कथन छ ।
यसबारेमा जिल्ला शिक्षा समन्वय इकाई धनुषामा सम्पर्क गर्दा कानुनले नै शिक्षकलाई पार्टीमैत्री बनाएको जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले बताउनु भएको छ । उहाँका अनुसार सबै दलमा उस्तै समस्या छ । उहाँले भन्नुभयो, ‘शिक्षकले मूल पार्टीमा चुनाव लड्न वा पदाधिकारी हुन पाउने र नपाउने सन्दर्भमा कानुन र ऐनमा स्पष्ट व्यवस्था नरहेको कारण जटिलता देखिएको उत्पन्न भएको छ ।’
अधिवेशनको सम्पन्न निर्वाचनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।
प्रकाशित मिति २०८२ जेष्ठ ७, बुधबार २१:४० गते