लमजुङ– यो मुलुकमा दण्डहिनताको शृंखला लामै छ । त्यसमा अर्को एक घट्ना पुनः थप भएको छ । नेपाल तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उदघाटन शत्रमा उत्पन्न विवादपछि आफ्नै साथीउपर जेठ ३ गते खुकुरी प्रहार भयो । घो घट्नामा संलग्न चार जनाका विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता भएको छ ।
घटना भएको तेस्रो दिनपछि जिल्ला प्रहरी कार्यालयले बल्लतल्ल जेठ ५ गते जाहेरी दर्ता गर्यो । तर जेठ ८ गते विहान यो समाचार तयार गर्दा सम्म पनि अरोपितलाई पक्रन प्रहरी सफल हुन सकेको छैन । आरोपिमध्ये एकदुईजना मन्त्रीको गाडीमा सुरक्षित रहने गरेकोसमेत स्रोतले दावी गरेको छ ।
सो अधिवेशनका लागि प्रतिनिधि छनौट कार्य नै विधान सम्वत् नभएको भन्दै इतर पक्षले अधिवेशन सार्न प्रयास गरेको हो । तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङको उपस्थितिमा पटक पटक सहमतिको प्रयास सफल हुन सकेको थिएन । एकतिर सहमति हुन्छ भनेर अल्मल्याउने र अर्कोतिर उदघाटन थाल्ने कार्य गरिएपछि सो कार्यक्रम इतर समूहले रोक्न खोज्दा उत्पन्न विवादमा संस्थापन पक्षबाट खुकुरी प्रहार गर्दा चार जना घाइते भएका थिए । यद्दपि उनीहरूले ल्याएकै खुकुरी खोसेर प्रतिकार गरेको हो भन्ने संस्थापन पक्षको दावी पनि छ । त्यो के कति सत्य हो ? अनुसन्धानबाट खुल्ने नै छ ।
त्यस बखतमा मा घाइते भएका मध्ये नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा तरुण दलका जिल्ला उपाध्यक्षका प्रत्यासी सुदीप अधिकारी यो समाचार तयार गर्दासम्म पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । उहाँको टाउकोमा खुकुरीको गहिरो चोट रहेको र त्यो घाउ आधा इन्च मात्र पनि गरिहो हुन गएको भए ज्यान नै लतमाथि हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएको सुदिपको परिवार स्रोतले उल्लेख गरेको छ । सो स्रोतका अनुसार सुदीपले आजका दिनसम्म पनि चपाएर खाना खान सक्ने अवस्था नभएको हुँदा जाउलोको भरमा रहेका छन् ।
अर्का घाइते बेसीशहर नगरपालिका–९ का वडा अध्यक्षसमेत रहनुभएका खुसीजंग गुरुङ तरुण दलका क्षेत्रीय सभापति चितवनको सोही अस्पतालमा उपचारपछि घर फर्कनु भएको छ । अन्य घाइतेद्वय कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र तरुण दलका जिल्ला सदस्य शंकर सापकोटा प्रदेश अस्पताल लमजुङमा उपचारपछि घर फर्कनुभएको छ ।
घटनापछि संस्थापन पक्ष ‘राजनीति दाउपेचमा के को मुद्दा ? केही हुन हुन्न र हुन हुँदैन ।’ भन्दै जिद्धि कसेर आन्तरिक रूपमा मिलाउने प्रयासमा लागि रहेको छ तर ज्यानै जोखिममा पर्ने स्थिति देखेपछि इतर पक्ष मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने पक्षमा रही रह्यो । अन्ततः मुद्दा दर्ता भएको छ । पीडित पक्ष आफ्नो अडानमा रहिरहेकै बुझिन आएको छ ।
त्यसो त नेपालमा न्याय कति दुरुह छ भन्ने त निर्धा, निमुखाहरूले बुझ्दै र बेहोर्दै आएकै छन् । घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालयमा घट्ना भएकै दिन जाहेरी दिनु भए पनि प्रहरीले तेस्रो दिन ५ गते मात्रै दर्ता गरेको हो । तर यो समाचार तयार गर्दासम्म कसैलाई पनि पक्राउ नगरिएको छैन । तर खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिनुभयो । त्यसो त घटना हुँदा प्रहरी आफैले हतियार खोसेर पनि सम्बन्धित व्यक्तिलाई पक्राउ नगरेकोमा भने प्रहरीले निकै आलोचना खेपिरहेको स्थिति छ ।
पीडितकातर्फबाट मध्यनेपाल नगरपालिका– ७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका– ६ का गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिका–५ का भूपेश गुरुङलाई ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरीमा जाहेरी दिइएको हो ।
यसैबीच, तरुण दलका चार नेताहरू केन्द्रीय सदस्य बृषराज गुरुङ, कावा जिल्ला अध्यक्ष कुमराशी (भूपशे) गुरुङ, निर्वाचन क्षेत्रीय सभापति खुशीजंग गुरुङ र हिरा गुरुङले संयुक्त दस्तखत गरी एक प्रेस वक्तव्य जारी गरेको सार्वजनिक भएको छ । सो वक्तव्यमा ‘‘राजनीतिक रुपमा हुने यस्ता विवादको समाधान कानुनी पाटोबाट नभई राजनीतिक रुपमै सहमति, सहकार्य र एकताका आधारमा गरिने समाधान हो, तसर्थ व्यक्तिगत महत्वाकांक्षालाई त्याग गरी तरुण दलको संगठनलाई एकताबद्ध गराउन अनुरोध गर्दछौं ।’ भनिएको छ ।
आ–आफ्नै दावी :
तरुण दलमा एकथरी (इतर पक्ष) ले आफ्नोमा ६५ देखि ७० प्रतिशत प्रतिनिधिहरू रहेको दावी गरेका छन् भने अर्को संस्थापक पक्ष आफ्नो पक्षमा ९० प्रतिशत प्रतिनिधि रहेको र विपक्षमा १० प्रतिशत पनि मुस्किल छ भन्ने दावी गरिरहेका छन् ।
तर यतिबेला भने लोकतन्त्र एवम् विधिको शासन हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राख्ने नेपाली काँग्रेसले आफ्ना भातृ संगठनलाई के कस्तो शिक्षा दिदै छ ? तथा आफै भित्र हतियारको प्रयोग गरेर राजनीतिको कस्तो संस्कार बसाउन खोजिएको हो ? भन्ने आम प्रश्न उठिरहेको छ ।
नेताहरूको सहमति बिनाको वक्तव्य झारपात :
उता, चार नेताहरूद्वारा जारी गरिएको उक्त वक्तव्य लमजुङमा बसेर बृहत छलफलबाट दोहोरो सहमति भई जारी गरेको नभई कसैको लहड, दबाब र प्रभावका भरमा गरिएको हो भन्ने पीडित पक्षको गुनासो र आक्रोश छ । त्यसैले त्यस्ता विषयमा कुनै सरोकार नरहेको र त्यस्तो भ्रममा नपर्न पीडित पक्षबाट भनिएको छ । पीडित पक्षको स्रोतका अनुसार जबसम्म पार्टी नेतृत्वमा रहेका दुई पक्षका नेतृत्वकर्ता टकराज गुरुङ र गमप्रसाद गुरुङ बीचको सहमतिको वक्तव्य जारी हुन्न त्यो बेलासम्म अन्य वक्तव्यको अर्थ रहन्न, ती झारपात हुन्, मतलब र विश्वास गरिदैन, नगर्नु होला भनिएको छ ।
हतियार प्रहारको घटनापछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै जेठ ३ गते साँझ अबेर सो जिल्ला अधिवेशन १० गतेसम्मका लागि स्थगित गरेको जनाइएको थियो । तर घट्नाले अर्को रुप लिइरहेको बुझिन आएको हुँदा ११ गते वा लगत्तै जिल्ला अधिवशेन हुने देखिदैन स्रोतले भनेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनु भएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहनु भएका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलका बीचमा पहिलेदेखिनै गुटबन्दी चलिरहेको छ । काँग्रेसको १३ औं महाधिवशेनको क्रममा भएको जिल्ला अधिवेशनमा गुरुङ र पौडेल काँग्रेसको जिल्ला सभापतिमा निर्वाचन लडेकोमा पौडेलले जित्नु भएको थियो । १४औं महाधिवेशनमा पौडेलले निर्वाचन नलडी गमप्रसाद गुरुङलाई समर्थन गर्नु भएको थियो । निर्वाचनमा डा. टकराज गुरुङ सभापति निर्वाचित भएपछि पनि दुई पक्षका बीचमा गुटबन्दी जारी छ । यसअघि शिक्षक संघ लगायतको जिल्ला अधिवेशनमा पौडेल पक्षले गुरुङ पक्षलाई सुइकोसम्म नदिई सम्पन्न गरेको बताइन्छ भने महिला संघ, किसान संघ, अपा· संघ लगायतका जिल्ला अधिवेशनमा पनि गुरुङ पक्षले पौडेलपक्षलाई पेल्दै आफू खुशी गरिरहेको गुनासो आइरहेको छ । त्यसको उपज तरुण दलको यो घटना हो भनिएको छ । तर हतियार चलाउनुलाई भने कसैले पनि रुचाएका छैनन् भने पीडितपक्षले पचाउने सक्ने देखिदैन ।
उक्त अधिवेशनको प्रमुख अतिथि तरुणदलका पूर्वअध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य जितजङ बस्नेत हुनुहुन्थ्यो भने तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङ विशेष अतिथि हुनुहुन्थ्यो । उहाँहरू दुबैका सामुन्नेमा हतियार चलाउने सो घट्ना भएको हो । त्यतिमात्र हैन त्यो समयमा तरुण दलका दर्जन बढी केन्द्रीय सदस्य, काँग्रेसका तीन पूर्वजिल्ला अध्यक्ष, वहालवाला दुई उपाध्यक्ष लगायतको उपस्थितिमा सो घट्ना भएको हुँदा पनि त्यसको समाधान के कसरी हुने हो ? हेर्न बाँकी छ ।
काँग्रेसमा गुटबन्दी, २०४८ साल अघिदेखिको आम रोग :
लमजुङमा नेपाली काँग्रेस भित्र दुई गुटको द्वन्द्व आजको भने होइन । पञ्चायतकालमा पनि पञ्चायतमा भाग लिनु पर्छ भन्दै त्यसको पद हत्याउँदै तर मार्ने एक जत्था थियो भने त्यसमा छिरेर बिटुलो हुन हुन्न भन्ने अर्को पक्ष थियो । २०४६ सालमा बुहदलीय प्रजातन्त्रको उदय भएसँगै २०४८ सालको आम निर्वाचनमा पनि विद्रोहको ज्वाला ननिस्केको होइन । त्यसले २०४९ सालको जिल्ला विकास समितिको निर्वाचनमा आइपुग्दा मुर्त रुप धारण ग¥यो ।
त्यसपछिका दिनमा पनि चर्को गुटबन्दी चल्दै आएको हो । पछिल्ला दिनमा मात्र नेतृत्व गर्ने पात्रमा फरक आएको हो प्रवृत्ती भने उनी नै विद्यमान छ र त्यसो त गुटबन्दी मेट्न पनि सहज देखिदैन । किनकि, गुटबन्दी मेटिनु भनेको कुनै एकको अस्तित्व समाप्त हुनु हो, त्यस्तो स्थिति सहजै कस्ले पो चाहन्छ वा स्विकार गर्छ र ?
प्रकाशित मिति २०८२ जेष्ठ ८, बिहीबार १०:५६ गते