यो कविता संग्रह करिब तीन महिना अघि पत्रकार स्वस्तिका पन्थीद्वारा मेरो हातमा ‘समीक्षा’ गरीदिन आग्रहका साथ थमाइएको थियो । किताब हात पर्दै गर्दा ‘नाई’ भन्न सकिन तर मसँग त्यति ठूलो पुस्तक एकै बसाईमा पढ्न सक्ने समय जुटाउन सहज थिएन/छैन । तर जिम्मामा आएको/पाएको काम पुरा गर्नुपर्छ भन्ने मान्यताबाट प्रेरित मलाई त्यो स्वस्तिकाको ‘समीक्षा’ शब्दले चिमोटी रह्यो ।
साहित्यमा रुचि भएता पनि पत्रकारितामा जस्तो दक्षता पनि ममा छैन र बेफुर्सदीले समीक्षा लेख्न छाडेको पनि धेरै वर्ष बितिसकेको थियो । त्यसो त विलोल शब्द वल्लरी हात पर्नासाथ त्यसको साजसज्जाले पनि पढुँ, पढुँ नलागेको भने होइन । एक पटकमा १५– २० वटा कविताका दरले सर्सर्ति अद्योपान्त पढेँ । पछिल्ला दिनमा कविता पढ्दा अघिका कविता कति सम्झें यसै भन्न सक्दिन । साहित्य सिक्दै गर्दा ‘विलोल’ भनेको चञ्चल, चारतिर फैलिएको यस्तै यस्तै अर्थ हुन्छ भन्ने सम्झी रहेको थिए । त्यस्तै, ‘वल्लरी’ भनेको लता, लहरा वा मञ्जरी भन्ने पनि बिर्सिएको थिइनँ । यी दुवै शब्दले साहित्यसँग सामिप्यता राख्छन् भन्ने बुझ्न कठिन भएन र यसको अर्थ निकाल्न पनि त्यति साह्रो परेन । भन्दा हुन्छ कि ! कविका भावना र भोगाइँको संँगालो हुनुपर्छ भन्ने आंकलन गरेँ ।
कविता पढ्दै जाँदा त्यो अनुमानले ठ्याक्कै मेल खायो । अनि, मनमा प्रश्न उठ्यो र मथिंगल हल्लायो कि ! यस्ता भावनात्मक भावका धनी, राष्ट्रवादी चेतले ओतप्रोत, प्रकृति एवम् नेपालको संस्कार संस्कृति, गीत संगीतमा भुतुक्क हुने मान्छे पनि किन विदेशिन्छन् होला ? त्यसको उत्तर सायद यसका स्रष्टा कविसँगै सोध्न, खोज्न बेस हुनेछ ।
त्यसो त कविले शिक्षोपार्जनका लागि पढेका तथा पिएचडी गरेका विषय र उहाँले गर्नु भएको यो शब्दको खेती भने विपरित धु्रवका जस्ता लाग्दछन् । अपवाद व्यक्तिबाट मात्र यस्तो काम हुँदै आएको छ, जसमा कवि डा. विलोल पनि पर्नु हुँदोरहेछ । साधुवाद छ उहाँलाई ।
‘विलोल शब्द वल्लरी’ कविता संग्रह छोटा, मध्यम र लामा कविताको संगालोसमेत रहेछ । जसमा यौटा गजल समेटिएको छ भने अन्य दुई वटालाई पनि गजल भन्न मिल्ने तर काफिया भने नमिलेको रुपमा रहेछन् । पठाक वर्गलाई थाहै छ गजल प्रायः पाँच शेर अर्थात दश हरफमा लेखिने गर्दछ । ती बाहेक पनि आधा पेजका कविता अन्य छवटा भेटिन्छन् । त्यस्तै कविले तीनवटा कवितालाई शास्त्रीय छन्दमा बुन्ने प्रयत्न गरेको देखिन्छ तर छन्द भने भङ्ग छ ।
कुल १९२ वटा कविता संग्रहित उक्त ‘विलोल शब्द वल्लरी’ कृतिमा चार पेज लामो कविता पनि एउटा समाविष्ट रहेछ भने साढे तीन पेज र त्यो भन्दा लामा अन्य दुई कविता पनि छन् । तीन पेज ओगटेका कविता छ वटा रहेछन् भने एक पेजका तीन दर्जन कविता छन् । अन्य कविताले दुई वा अढाई पेज ढाकेका छन् ।
संग्रहित कविता पढ्दा ‘जहाँ नपौचे रवि त्यहाँ पौचे कवि’ भन्ने पुराना पाका मानिसले साहित्यका कुरा चल्दा भन्ने गरेको भनाई चरितार्थ भएको पाइन्छ । र, त्यस्तो विधा यौटा भेटिदैन कि ! यसमा त कविको दृष्टि पुगेनछ भनेर खोट लगाउने ठाउँ खासमा भेटिदैन कृतिमा । कविमा आध्यात्मिक चेतदेखि विज्ञानमा भौतिकवादको चरमोत्कर्षको वर्णनका साथमा प्रकृति प्रेमदेखि राष्ट्रवादले ओतप्रोत भएको समेत पाइन्छ भने अग्रज स्रष्टा भानुलाई पनि भुल्नु भएको छैन । भावनामा डुब्ने मान्छे मायालु नहुने त प्रश्नै रहेन । त्यसो त विरक्तिपन पनि उहाँका कवितामा छरप्रष्ट भेटिन्छ । ‘मलाई ज्यादै रुन मन लाग्छ’, आत्महत्या, आफ्नो नामप्रति प्रश्न, पुत्र शोक र ईश्वर अनि सिन्दूर बिनाको सिउँदो आदिले विरक्तिपनालाई बढावा दिएका छन् ।
तीजलाई नै दुई तीन तरिकाले लिपिवद्ध गर्नु भएका उहाँले वडादशैंलाई भुल्ने प्रश्नै रहेन दशैं पनि दुईवटा कावितामा समाविष्ट छ भने ईश्वरलाई ‘कपटी’को उपमा दिएर उहाँले भौतिकवादको पक्षपोषण गर्नु भएको हो कि ? भन्ने छनक पनि पाइन्छ । तर उहाँले संस्कार संस्कृति भुल्न हुन्न भन्ने सन्देश आफ्ना कावितामार्फत प्रसस्त दिनु भएको छ । ब्रम्हाण्डको वर्णनका साथ आन्दोलनको भिडमा समेत पुग्नु भएका कवि विलोलले जीवनका धेरै पाटाहरू केलाउने प्रयास विभिन्न कवितामा गर्नु भएको छ । ‘जीवन’लाई शीर्षकको दायाँ बायाँ सार्दै गरेर आफ्नो शाब्दिक अर्थात बौद्धिक सामर्थलाई उदाङ्गो पार्नु भएको छ ।
‘तिम्रो माया’ शीर्षकका दुई कवितालाई उक्त कृतिमा समावेस गरेर पनि भित्री लेखनमा भने प्रायः एउटै पनि शब्द नदोहोर्याइँ कविता बुनेर लेखन कर्ममा समय अनुसारको सोच, लेखन वातावरण तथा घट्ना विशेष या परिवेशले पनि फरक पार्छ भन्ने छर्लङ्ग्याउनु भएको छ ।
प्रस्तुत कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा तीनजना व्यक्तित्वहरूको शुभकामना समेटिएको छ । उहाँहरूले समेत कविलाई चिनाउने प्रयत्न गर्नु भएको छ । आदर्शप्रसाद पोखरेलले भन्नु भएको छ, ‘पाश्चात्य मुलुकमा पनि T.S. Eliot (Tha West-Land), Thomas Hardy, Mathew Arnold जस्ता नैराश्यवादी नभएका होइनन् तर यसप्रकारका कविताले जीवनको यथार्थतालाई उदाङ्ग पारिदिन्छ, मानवीय संवेदनालाई झक्झक्याउछ र पाठकलाई स्वअस्तित्वप्रति सकारात्मक रहन प्रेरणा प्रदान गर्दछ ।’
त्यस्तै, वरिष्ठ अभिनेता, निर्देशक, निर्माता कृष्ण मल्लले ०४१ सालमै कलाकारहरूका सामाजिक संस्था ‘अभियान’को महासचिव हुनु, धार्मिक कुराहरूमा अत्यन्त लगाव र समर्पण रहेको भन्दै कविको प्रशंसा गर्नु भएको छ ।
यसैगरी, डा. माधवप्रसाद पोखरेलले कवि विलोललाई सानैदेखि बाठो, प्रतीभाशाली, मेहनती, फूर्तिलो र इमान्दार केटो रहेको स्मरण गर्दै अभाव र संघर्षबाट हुर्केको हुनाले विलोलले समयको महत्व बुझेर नेपालमै पनि उन्नति गरेको स्मरण गर्नु भएको छ । त्यसैले उनका यी कवितामा निराशा, धोका, एक्लोपन, अविश्वास र मायाको खोजी देखिन्छ भन्नु भएबाट कविको उचाई, गरिमा एवम् गहिराईको आंकालन गर्न सकिन्छ उहाँले भन्नुभएको छ ।
धरान नगरपालिका– १२ को विजयपुर, सुनसरीमा जन्मेर हुर्कनु भएका कवि यतिबेला भने अमेरिकाको फ्रेस्नो, टेक्सासमा रहनु भएको छ । कविले आफ्नै भनाइमा पनि खस्रा बालुवामा चिप्लेटी खेलेर हुर्केको जीवन बाचेको मैले उत्कृष्ट भाव बुन्ने सामर्थ जुटाउन सकिन होला भन्दै क्षमा समेत माग्नु भएको छ एकातिर भने अर्कोतिर यो शब्दहरूको संगालोले आउँदा पिंढीहरूलाई मेरो अनुभवको यात्रामा रुमलिने एक अवसर प्रदान गर्न सकुन भन्ने अभिप्राय हो भन्नु भएको छ । आप्रवासी जीवनमा अचम्मको अनुभव पाएको छु भन्दै कवि भन्नुहुन्छ, ‘हरेक खानाको नाम नेपालीमै सुन्ने चेष्टा हुन्छ, त्यतिमात्र हैन हाँस्न र रुन पनि नेपालीमै मन पर्छ ।’ त्यसैगरी, प्रवासमा धेरै हास्ने तर भित्रभित्रै थुप्रै रुने मेराजस्ता भोग्नै नपर्ने भोगिएका आप्रवासीहरूले आफ्नो पीडाको उदबोधन गर्दा रहेछन् भन्ने लाग्छ उल्लेख गर्दै विदेशी जीवन नेपालमा बसेर सोचेको जस्तो सहज नभएको कटुसत्यलाई समेत पस्किनु भएको छ ।
‘विलोल शब्द वल्लरी’मा संग्रहित काविताहरूले उहाँको कविहृदयलाई नराम्रोसँग उदाङ्गो बनाइदिएका छन् भन्दा अतिशयोक्ति हुने छैन । बाँकी पाठक वर्गले कविता नै पढेर उहाँ र उहाँको कविहृदयलाई चुम्न प्रयत्न गर्नु हुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्दछु ।
साहित्यकार तथा कविहरूमा राजनीतिक गर्ने नेताहरूको जस्तो बडप्पन, अहमता एवम् मपायित्व प्रायः हुँदैन नै । त्यस्तै विनयशीलता कविको हृदयमा पनि पाइन्छ ।
अन्त्यमा कविले ‘विलोल शब्द वल्लरी’लाई भाग– १ को संज्ञा दिनु भएको छ । यसको अर्थ हो, यसका अन्य भाग– २, ५, ९ कृतिहरू थपिदै जाने छन् भन्ने हो/हुनुपर्छ । उहाँको कवि हृदयले झनै उचाईलाई चुम्न सकोस् आउने कृतिहरू थप परिमार्जित, परिस्कृत हुँदै यथासिघ्र प्रकाशित हुन सकुन् । ती कृतिहरू छिटो पढ्ने अवसर प्राप्त होस् भन्ने आग्रह तथा उहाँको छिट्टै नेपाल बसाईको वातावरण बनोस् भन्ने शुभेच्छाका साथ कलमलाई यही रोक्न चाहन्छु ।
संक्षेपमा :
कृति : विलोल शब्द वल्लरी (भाग– १)
लेखक : डा. विलोल पोखरेल
संस्करण : प्रथम (२०८१)
प्रकाशक/वितरक : जेनिश ईन्टरटेनमेन्ट मिडियाा प्रा. लि.
सर्वाधिकार : लेखकमा
मूल्य : व्यक्तिगत रु २५०।–, रु ५००।– संस्थागत ।
जय साहित्य ! जय लोककला संस्कृति !!
प्रकाशित मिति २०८२ जेष्ठ ८, बिहीबार १८:२१ गते