रास्वपा सभापति रविको रिट आज पनि हेर्दाहेर्दैमा

रास्वपा सभापति रविको रिट आज पनि हेर्दाहेर्दैमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ८ गते बिहिबार ०७:४३

‘रवि र छविले सहकारीको रकम ल्याउन ठ्याक्कै के काम गरे ? त्यस्तो त ठ्याक्कै केही आउँदैन । अभियोजन गर्ने निकायले व्यक्ति व्यक्तिले के गर्यो भन्ने थाहा हुनु पर्दैन ? फौजदारी दायित्व गोस्वारामा एकमुष्ट ल्याउने हुन्छ ? यसको आपराधिक दायित्व यो हो भन्ने स्पस्ट हुनु पर्छ होला नि ?’ भन्ने प्रश्न उठाइएको थियो । न्यायाधीशहरूबाट सरकारी वकिललाई बारम्बार यही प्रश्न सोधे पनि सरकारी वकिलले गोलमटोल जवाफ दिएका थिए ।

सर्बोच्च अदालतले रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । जाहेरवालाको बहस बाँकी रहेको बताइन्छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सो रिट जेठ ८ गते पनि हेर्दाहेर्दैमा राखेको हो ।
अब जाहेरवालाको तर्फबाट बहस बाँकी रहेको हुँदा मुद्दा हेर्दाहेर्दैमा राखिउको हो । लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरू तथा सरकारी वकिलको बहस सकिएको छ ।
भोलि जाहेरवालाको तर्फबाट बहस लगत्तै जवाफी बहसपछि सो रिटमा आदेश आउने सम्भावना छ ।
यसअघि रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि जेठ ६ गते हेर्दाहेर्दैमा राखिएको थियो । ७ गते संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ हुन सकेको थिएन । आज वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकिको छ ।
रवितर्फका वकिलको बहस सकिएपछि पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए । यस्तै सरकारी वकिलको तर्फबाट पाँच जनाले बहस गरेका थिए । नायव महान्यायाधिवक्ता लोकराज पराजुली, गोबिन्द खनाल, दिनेश घिमिरे लगायतबाट बहस गरिएको हो ।
न्यायाधीश र सरकारी वकिलका बीच सवालजवाफ ः
बहसका क्रममा न्यायाधीशहरू र सरकारी वकिलका बीच सवालजवाफ चलेको थियो, इजलासबाट रवि र छविको भूमिका र जिबी राईबारे प्रश्न उठाइएको थियो । सरकारी वकिलले सहकारीबाट रकम गएको र चेक काटिएको स्वीकार गरे, तर रवि र छविको व्यक्तिगत भूमिकाबारे स्पष्ट जवाफ दिन सकेनन् ।
सुनुवाइको क्रममा न्यायाधीश नहकुल सुवेदीबाट ‘जिबी राई नभेटिएकाले रवि र छविलाई पक्राउ गरेर आरोप लगाइएको हो ?’ सोधनी भएको थियो । उक्त प्रश्नबाट अक्कन वक्क परेका सहन्यायाधीवक्ता खनालले राईको खोजी भैरहेको उल्लेख गर्नुभयो ।
‘इट्स टेक टाइम नि श्रीमान् !’ खनालको जवाफ थियो । अगाडि भने, ‘हामी जिबीलाई खोजिरहेका छौँ । खोज्ने काम हुँदैछ श्रीमान् ।’ त्यसपछि न्यायाधीश सुवेदीबाट पुनः ‘रवि र छविले सहकारीको रकम ल्याउन ठ्याक्कै के काम गरे ? त्यस्तो त ठ्याक्कै केही आउँदैन । अभियोजन गर्ने निकायले व्यक्ति व्यक्तिले के गर्यो भन्ने थाहा हुनु पर्दैन ? फौजदारी दायित्व गोस्वारामा एकमुष्ट ल्याउने हुन्छ ? यसको आपराधिक दायित्व यो हो भन्ने स्पस्ट हुनु पर्छ होला नि ?’ भन्ने प्रश्न उठाइएको थियो ।
न्यायाधीशहरूबाट सरकारी वकिललाई बारम्बार यही प्रश्न सोधे पनि सरकारी वकिलले गोलमटोल जवाफ दिएका थिए । त्यही क्रममा खनालले भन्नुभयो, ‘सहकारीबाट पैसा आएको छ । अनि कम्पनीले चेक काटेर पैसा बाँडेको छ नि । उहाँहरूको कम्पनी ऐन अनुसार दायित्व लिनु पर्यो नि ।’
यस्तै उपन्यायाधिवक्ता पन्थीले ७३ को निवेदनपछि लामिछानेको तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन किन आएको भन्दै प्रश्न उठाएका थिए ।
त्यसक्रममा न्यायाधीश ढकालबाट सहकारीको ऋण लिन रवि र छविको व्यक्गित भूमिकाबारे सोधनी भएको थियो । ‘कहाँ कहाँ के भूमिका भयो ? त्यो आउनुपर्दैन ?’ इजलासको पुरक प्रश्न थियो ।
रवि र छवि दुवै जनालाई सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा राखिएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ८, बिहीबार १९:४३ गते
हजुरको प्रतिक्रिया