काठमाडौं– सेयर बजारमा पनि ठूलो आर्थिक चलखेल हुने गरेको र त्यसमा बिचौलिया हावी हुने गरेको विदितै छ । तर पछिल्ला दिनमा त्यस्ता विचौलिया बीच खैलाबैला मच्चिएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अन्तिम मिनेटमा हुने चलखेल बन्द गर्ने गरी कानूनी व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएसँगै विचौलिया बीच खैलाबैला मच्चिएको हो ।
सेयर बजारका केही खेलाडीहरूले कमजोर वित्तीय अवस्थाका कम्पनीहरूको सेयरमूल्य बढाउन तथा घटाउनका लागि अन्तिम एक मिनेटमै चलखेल गर्न थालेपछि त्यसलाई नियमन गर्नुपर्ने चुनौति थियो । सेबोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले सो चुनौति स्वीकार गरेर बजार शुद्धिकरणको प्रतिबद्धतासहित एक पछि अर्को कदम चाल्न थालेपछि सल्बलाएका बिचौलियाहरू अन्ततः अध्यक्ष उपर नै खनिन थालेका हुन् ।
सेबोन अध्यक्ष श्रेष्ठको निर्देशनको अक्षरंश पालना गर्दै नेप्सेले पनि बजारमा चलखेल गर्ने शक्तिशाली र ठूला लगानीकर्ताहरुको खेलोफड्को सधैंका लागि बन्द गरी नयाँ नियम ल्याएको थियो । योसँगै अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो कम्पनीको सेयरको अन्तिम मूल्य तय गरियो । यो व्यवस्थाले अन्तिम एकमिनेटमा खेल गरी सोझा लगानीकर्तालाई फसाउने र उनीहरुबाट कित्ता लुट्ने वा उनीहरुलाई कित्ताहरु भिडाउने वर्षौदेखिको प्रवृति रोकिन पुग्यो । त्यसअघि उसले बजारमा कारोबार हुने सेयरको अन्तिम मूल्य भारित औसतमा आधारित हुने व्यवस्था लागु गरिएको थियो ।
धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष श्रेष्ठको सुधारको कदम त्यतिमा मात्र रोकिएन । संसदको सार्वजनिक लेखासमितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूलाई आईपीओ निस्कासनको स्वीकृति नदिन निर्देशन दियो । धितोपत्र बोर्डले पनि त्यसलाई स्विकार गर्दै सोहीअनुसार नियमावली तयार गरिदियो । यो व्यवस्थाका कारण अघिल्ला अध्यक्षहरूको कार्यकालमा नेगेटिभ नेटवर्थ हुँदा पनि अंकित मूल्य मात्र नभई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिने र मिलेमतोमा सर्वसाधारण लगानीकर्ता लुट्ने खेल सधैंका लागि बन्द हुने स्थिति सिर्जना भयो ।
धितोपत्र बोर्डको अघिल्लो अध्यक्षको कार्यकालमा नेगेटिभ नेटवर्थ भएका कम्पनीहरूलाई आईपीओ निश्कासन गर्न दिइएको विषय अझै विवादमै छ । हालै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले समेत त्यस्तो गलत कार्यप्रति प्रश्न उठाइएको छ । सेबोनका अध्यक्ष श्रेष्ठको कदमले अघिल्लो कार्यकालमा जस्तो पायो त्यस्तो कम्पनी खडा गरी आईपीओको नाममा जथाभावी गर्न पल्केकाहरूको मनोमानीमा लगाम लगाइ दिए । ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओमा कडाई गरेपछि धेरैको सर्वसाधारण लुट्ने योजना तुहिन गयो । सो क्रममा केही दिनअघि ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूलाई आईपीओको पाइपलाइनबाटै हटाउने काम अध्यक्ष श्रेष्ठबाट भयो ।
त्यस लगत्तै अध्यक्ष श्रेष्ठबाट पछिल्लो समय रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सझुाव आयोग, २०८० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन र हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले सुझाएको विषयलाई कार्यान्वयनमा बढाउँदै व्यवसायिक उत्पादन नै सुरु नगरेका जलविद्युत कम्पनीलाई आईपीओ निस्कासन गर्न नदिने नीतिगत व्यवस्थातर्फ अगाडि बढाउने काम भयो । जसका कारण बिजुली उत्पादन नै नगरी झोलामा खोला राखेर कागजी प्रोजेक्ट देखाई आईपीओको नाममा जनताबाट पूँजी संकलन गर्ने र त्यसको चरम दुरुपयोग गर्नेहरूको खेलोमेलो अन्त्य हुने अवस्था सिर्जना हुन गयो ।
अध्यक्ष श्रेष्ठको कदम बजारको विकृति अन्त्यका लागि क्रमशः अगाडि बढेको र भविष्यमा समेत नरोकिने छाँटकाट देखिएपछि चलखेलबाट मोटाउँदै ठूला खेलाडी बनेकाहरूको निद्रा हराउन पुग्यो । यस्ता कदमले ठूला लगानीकर्ता, उच्च घरानाका व्यक्ति तथा ठूला सेयर खेलाडीले एकपछि अर्को झट्का भेट्नु स्वभाविक थियो ।
कार्यकालको पहिलो ६ महिनामा अध्यक्ष श्रेष्ठले बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को ट्रेड म्यानेजमेन्ट सिस्टममा एउटा व्यवसायिक घरानाले गरेको हालीमुहालीलाई समेत रोक्न केही कदम चाल्नु भयो । टिएमएसको भेण्डर कम्पनी वाइकोमार्फत बजारमा चलखेल गरिरहेको समूहको व्यापार हिट हुने गरी ब्रोकर आफैंलाई आईटीमा आत्मनिर्भर हुने विकल्प समेत खोल्ने काम भयो । त्यो बीचमा वाइकोको टिएमएस चलाएर ५० रुपैयाँ प्रतिकित्ताको कम्पनीमा गर्ने गरिएको चलखेल अन्त्यका लागि अबदेखि ५० रुपैयाँ दरका आईपीओ ल्याउन नदिनेसम्मको बजार शुद्धिकरणको योजना समेत अघि बढ्यो ।
यसरी सुरु भयो प्रहार :
बजारमा हुने चलखेल बन्द गर्न एकपछि अर्को कडा कदम चालेका अध्यक्ष श्रेष्ठविरुद्ध त्यसपछि योजना नै बनाएर सुनियोजित प्रहार हुन थालेका छन् । बजारको विकृति अन्त्य तथा थिति बसाल्ने अभियानमा रहेका सेबोन अध्यक्ष श्रेष्ठलाई सर्वसाधारणलाई यो वा त्यो बाहानामा लुटेर कुस्त कमाइरहेका औद्योगिक घराना, सानादेखि ठूला समूह र सेयर खेलाडीहरूले सुनियोजित प्रहार गर्न थालेका देखिएको छ ।
सेयर बजारको खेलोमेलो बन्द गरिदिएपछि छटपटाएका समूहहरूसँग पछिल्लो समय केही जलविद्युत कम्पनीको प्रवद्र्धकहरूको छलफल भई श्रेष्ठमाथि सुनियोजित प्रहार थालिएको छ ।
श्रेष्ठमाथि जलविद्युत कम्पनीको आईपीओ निश्कासनका क्रममा ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप लगाइएको छ । तर, हालसम्म अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको भनिएको अडियो प्रमाण तथा म्यासेजमा कहीँ कतै पनि श्रेष्ठको संलग्नता पुष्टि हुन सकेको छैन । प्रमाण नै नभएका कारण अर्थमन्त्रालयले समेत श्रेष्ठमाथि छानबिन गर्न आवश्यक नठानेको त्यहाँस्थित स्रोत बताउँछ । ‘स्वार्थ समूहको सुनियोजित प्रहारमै काम गरिरहेको कर्मचारीको स्वाभिमानमाथि चोट पुग्ने गरी तत्कालै छानबिन समिति गठन भइहाल्नुपर्छ र उसलाई निलम्बन गरिहाल्नुपर्छ भन्ने विषय गलत छ ।’ अर्थ मन्त्रालयका एक सहसचिव भन्छन्– ‘हामीले अख्तियारसँग बुझ्दा उहाँहरूले पनि आरोप लगाइजस्तो प्रमाणहरू नभेटिएको र सेबोन अध्यक्षको संलग्नताको आधार समेत पुष्टि नभएको देखिन्छ ।’
नयाँ स्टक एक्सचेञ्ज टार्गेट एक : बाहाना अनेक
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठमाथि यो वा त्यो बाहानामा प्रहार हुने गरे पनि अन्तर्यको रहस्य भने फरक छ ।
बजारमा चलखेल गर्न नपाएको झोकमा, आफूले भनेकै बेला आईपीओको स्वीकृति नपाएको रिसमा र सेयर बजारमा पहिलाजस्तो जथाभावी गर्न नपाएको आवेगमा श्रेष्ठमाथि कमिसन मागेको जस्ता आरोपहरू लगाइए पनि यी सबै खेलको एउटै दिशा भने उनीमाथि छानबिन समिति गठनको वातावरण बनाउने र मुखमै रहेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आफूले लिने शक्तिशाली व्यवसायिक समूहहरूको योजना रहेको छ ।
‘अहिले सेबोन अध्यक्षमाथि भइरहेको प्रहारको एउटै तारो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हो ।’ उच्च स्रोतले भन्यो– ‘ठूला व्यवसायिक घरानाहरूबीचको नयाँ लाइसेन्स कस्ले लिने भन्ने लडाईंको शिकार सेबोन अध्यक्ष श्रेष्ठ र उनको करिअर परेको देखिन्छ । बाहिर जे जस्तो हल्ला चलाइए पनि यो सबै खेल सेबोन अध्यक्षलाई हटाउने र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स लिने स्वार्थबाट प्रेरित देखिन्छ ।’
सेबोन अध्यक्षमाथि लागेको आरोप छानबिनका लागि समिति गठन हुने अवस्था भयो भने श्रेष्ठ स्वतः निलम्बनमा पर्नेछन् । उनी निलम्बनमा परेपछि बजार सुधार, विकृति अन्त्यका लागि उनले चालेका कदम बीचमै तुहिनेछन् । त्योभन्दा ठूलो उनले टुंग्याउनै लागेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स समेत आफैंले लिने वातावरण बन्ने व्यवसायिक समूहहरूको बुझाई देखिन्छ ।
प्रकाशित मिति २०८२ जेष्ठ १०, शनिबार ०६:१४ गते