भारत पाकिस्तान युद्धमा समेत राष्ट्रियताको नेपाली नाटक

भारत पाकिस्तान युद्धमा समेत राष्ट्रियताको नेपाली नाटक

वरिष्ठ अधिवक्ता दामोदर पौडेल

@antaranganews

२०८२ जेठ १० गते शनिवार ०१:५२

हाम्रा साझा मान्यता, संस्कृति, परंपरा, धर्म, साझा भौगोलिक परिस्थिति र एकै मुल भाषामा आधारित भाषा समेतको कारणले हामी हेपिएर होइन ? समानता र औचित्यको आधारमा नजिक बन्नै पर्छ । भारत र नेपालले बुझ्न पर्ने मुख्य चुरो बिषय पनि यही हो ।

भारतले सायद अब धार्मिक एकता र सद्भावको युगमा प्रबेस गरिरहेको छ ।

भारत र पाकिस्तान बिच झण्डै युद्ध भयो वा भएर पनि छिट्टै रोकियो । यसभन्दा पहिला भारतले पाकिस्तानको आक्रमणको जवाफ दिएको थियो भने यस पटक पाकिस्तानका इस्लामिक आतंकवादी समुहले भारतमा तीर्थयात्रासमेत गरिरहेका हिन्दुहरू माथि धर्म सोधेर गोली हानेर २६ जनतालाई मारेको कारण देखाएर भारतले नै पाकिस्तानमा पहिलो पटक आक्रमण गरेको थियो । भारतले पनि आतंकीको बिरुद्धको जवाफमा पाकिस्तानका नौ आतंकवादी केन्द्रहरू ध्वस्त पारेको जनाएको छ । त्यस कार्यको जबाफमा पाकिस्तानले पनि सैन्य परिचालन गरेको थियो । यो युद्धलाई अमेरिकी राष्ट्रपति ट्म्पको प्रयासले रोकिएको भन्ने पनि छ ।
यसको मुख्य परिणाममा आधारित भएर हेर्दाको बुझिने तात्पर्य भनेको भारतले अमेरिका, फ्रान्स आदि देशबाट र आफैले बनाएका हतियारहरूको परीक्षण गर्न पाएको थियो । पाकिस्तानले पनि मुलत चीन र टर्कीमा बनेका हतियारहरूको अनुभव लिन पाएको थियो । लामो समयसम्म युद्धमा नरहेको भारत र ठूलो युद्धमा नरहेको पाकिस्तानले युद्धको अनुभव आउंदा दिनहरूलाई संगाल्न पाएका छन् । युद्धको आर्थिक परिणामको कारण भारतले टर्कीसंग ब्यापारमा कडाइ गर्ने जनाएको छ र त्यो कार्य टर्कीको बिपक्षमा जस्तो देखिएको छ किनकि दुई पक्षीय व्यापारमा टर्की फाइदामा थियो । पाकिस्तानसंगको व्यापारमा भने भारत नै फाइदामा रहेको देखिन्छ ।
यो धर्मको लडाइ जस्तो पनि देखियो । सुरुवातमा नै धर्म सोधेर पर्यटकहरूलाई मारिएको थियो । युरोपको मुस्लिम बहुल देश टर्की मुस्लिम देश पाकिस्तानको पक्षमा थियो र इरान पनि एक हदसम्म पाकिस्तानको पक्षमा देखियो । जवकि, अफगानिस्तान भारतको पक्षमा खुलेर नै बचनबद्ध देखियो । बांगलादेश नखुले पनि पाकिस्तानको पक्षमा थियो कि ! जस्तो देखिएको हो र त्यसको प्रमुख कारण बेगम खालिदा जियाको सरकारको अन्त्य पछि भारतको भुमिका पनि कारण यो अवस्था बनेको हुन सक्छ ।
भारतमा भने अचम्मको हिन्दु मुस्लिम एकताको लहर आयो । भारतका भाजपा बिरोधी ओबेसी जस्ता मुस्लिम नेताहरू खुलेर पाकिस्तान र मुस्लिम आतंकवादीहरूको बिपक्षमा र भारत सरकारको पक्षमा रहे । भारतमा धेरै जसो मुस्लिम धार्मिक नेताहरू र सचेत मुसल्मान नागरिकहरूले पाकिस्तानको बिरोध मात्र गरेन् बरु बन्दुक दे, पाकिस्तानको नक्सा यायव गर्छौ भन्ने नारा लगाए । पाकिस्तानीहरूलाई भारतीय मुसल्मानहरूले चुनौति दिदै जसरी भारतीय हिन्दुहरूलाई धर्म सोधेर मारियो, त्यसै गरेर हामी हिन्दु हौं भनेर पाकिस्तानीहरूलाई मार्छौं भनेर आवाज उठाए । भारतले सायद अब धार्मिक एकता र सद्भावको युगमा प्रबेस गरिरहेको छ ।
यो बिवादमा नेपाल सरकारी तवरले भने मौन रह्यो । केही लाल बुझक्कड नेता र बिद्धान भनिनेहरूले पाकिस्तानको प्रसंसा गरे, पाकिस्तानले भारतलाई उसको हैसियत देखाइ दिएको मात्र होइन बरु भारत हार्नु पर्छ भन्ने नै ज्यादा देखिए । त्यसो भन्ने नेताहरूमा मुसल्मान कोही थिएन् र कथित हिन्दु मात्र थिए । कथित हिन्दु भन्नुको तत्पर्य हिन्दु राष्ट्र हटाउनेहरूको समर्थनमा रहेकाहरू भन्ने हो । तर तिनीहरूले बुझ्नै पर्छ कि ! नेपालीहरूले भारतलाई जति नै गाली दिए पनि भारतको हैसियत राम्रो भए मात्र नेपालको हैसियत राम्रो हुने हो । भरत सम्पन्न भएमा र सुखी भएमा नेपालीहरू स्वतः व्यवस्थित हुन्छन् । नेपालमा लोकतन्त्र ल्याउन मात्र होइन, गणतन्त्र ल्याउन र माओवादीहरूलाई तालिम दिएर सहयोग पनि भारतले नै गरेको हो । त्यो तथ्यलाई प्रचण्डले पनि स्विकार गरेका छन् । यद्यपि त्यो समय कांगे्रसको सरकार रहेको भारत थियो । कांग्रेस नेपाललाई हिन्दु राष्ट राख्न चाहंदैनथ्यो । तर अहिले भारतमा भाजपा छ र त्यसको चाहाना नेपाल हिन्दु राष्ट्र बनोस् भन्ने छ ।
भारत गरिब भएमा र युद्धले क्षतबिक्षत भएमा तेल, डिजेल, पेटेल मात्र होइन, औषधि र नुनको लागि पनि हामीले सास्ती भोग्न पर्ने हुन्छ । यो अवस्था एक दिन वा एक महिना वा एक बर्ष होइन, सधैंको लागि हो । भारतले नेपालमा बजेटरी सहयोग समेत गर्ने गरेकोमा त्यो पनि संभव हुंदैन । त्यो अवस्थाको कल्पना गरौं त, भारतलाई गाली दिने बिद्धानहरू । भारत धनी भएमा त्यसको नेपालमा सकारात्मक प्रभाब धेरै पर्छ र भारत गरिव भएमा नेपाललाई नकारात्मक प्रभाव झनै धेरै पर्छ । भारतको एकता हामीहरूको लागि पनि आर्थिक उन्नती र सुखको आधार हो । यदि भारत छिन्नभिन्न हुने हो भने समुन्द्रबाट नुन पनि एक देश होइन, धेरै देशलाई गुहारेर धेरै ट्याक्स् तिरेर ल्याउन पर्ने हुन्छ ।
हामीहरूले भारत पाकिस्तान युद्धमा नेपालीलाई प्रयोग गर्न पाइदैन भन्ने नेपालीहरूका आबाज पनि सुन्यौं । कसैसंग युद्ध नगर्ने हो भने भारतले नेपालीहरूलाई सेनामा किन लग्ने, बसेर खानको लागि ? त्यसको लागि त सहायता दिएकै छ नि । भारतले शिक्षा, रोजगारी, सहायता, ऋण समेतका धेरै सहयोग नेपाललाई गरेको छ र बिकास आयोजनाहरूमा पनि सहयोग गरेको छ । तर हामी नेपाली भएर उल्टो मानसिकता लिएर भारतको सहयोगको सट्टा अरु देशबाट पनि सहयोग लियौं भनेर धाक दिन्छौ । अब हामी भारतको सट्टामा अरु देशबाट सहयोग लिने होइन, आफू सक्षम भएर अरुलाई सहयोग गर्ने हो भन्ने भावना ती नेता र बुद्धुहरूको मनमा कहिले घाम लागे जसरी लाग्ने हो । त्यसैको प्रतिक्रियामा भारतीय सेनामा काम गर्नेहरूले नेपालीहरूले पनि सिधै भनेका थिए कि हामीहरूलाई भारतले आफ्नो सुरक्षाको लागि जागिर दिएको हो र हामी भारतको स्वाभिमानको लागि युद्धमा जान्छौ र जानु हामीहरुको कर्तव्य हो ।
हामीहरू भारतको दलाल हुने, भारतमा बसेर नेपालीको बिरुद्धमा बन्दुक बोक्ने तालिम दिने, भारतीयहरू नै नेपाल ल्याएर नेपालीहरूको बिरुद्धमा बन्दुक चलाउन लगाउने, नेपालीहरूलाई धर्मको नाममा मार्ने, धार्मिक स्थानहरू तहसनहस पार्ने जस्ता कार्यको बिरुद्धमा हुनै पर्छ । भारतको चाहाना अनुसार सरकार चलाउने भन्ने जस्तो राष्ट्रघाती सोच भन्दा बाहिर जानै पर्छ । अर्थात भारतीय दलालहरूबाट बच्न र त्यसको लागि ती दलालहरूलाई चिनेर नंग्याउनै पर्छ । दलालहरूको अन्त्य पछि नेपाल र भारतका मित्रहरूले भारत र नेपालका साझा हितको लागि मिलेर काम गर्न पर्छ, कसैको हित र कसैको अहितमा होइन । हाम्रा साझा मान्यता, संस्कृति, परंपरा, धर्म, साझा भौगोलिक परिस्थिति र एकै मुल भाषामा आधारित भाषा समेतको कारणले हामी हेपिएर होइन ? समानता र औचित्यको आधारमा नजिक बन्नै पर्छ । भारत र नेपालले बुझ्न पर्ने मुख्य चुरो बिषय पनि यही हो ।
भारत र हामी बिच हुने काल्पनिक आधारको दुरी कि त उग्रराष्ट्रबाट हुन्छ, या अरु देशसंगको अनुचित ताबेदारी हुन्छ वा काम र यथार्थतामा नलाग्ने कल्पना र बुद्धि बिनोनमा रमाउने र अरु नेपालीलाई पनि मुर्ख वनाउने खेल मात्र हुन सक्छ ।
राष्ट्रवाद चुनावमा आउने नारा होइन, यो त एक्काइसौं शताब्दीको अन्तर घुलनशीलतामा आधारित भएर राष्ट्रिय रुपमा मात्र नभइ छिमेकीसंग पनि लोकतन्त्रका मान्यतामा आधारित रहेर मिलेर राम्रो गर्ने र मिलेर समास्याको समाधान गर्ने तथा जनताका साझा हित र समस्याका बारेमा चिन्तन गरेर एकले अर्कोलाई सहयोग र सद्भाव राख्ने खालको हुन पदर्छ । छिमेकीको घरमा आगो लाग्यो भनेर खुशी हुनेले कहिल्यै सुख पाउंदैन, सके त्यही आगो आफ्नो घरमा पनि सल्केला, अन्यथापछि आफ्नोमा आगो लाग्दा टाढाका मायालुहरूले दम्कल पठाउंदासम्म धेरै ढिलो भइसकेको हुन्छ । कुनैले अर्कोलाई यो सहनशील छ, बिबेकी छ, त्यसैले यसलाई जे भने पनि हुन्छ, जे जस्तो व्यवहार गरे पनि हामीलाई अप्ठेरो परेमा खुशी बनाउन सहयोग गरिहाल्छ भन्ने सोच बौद्धिक टाट उल्टाई बाहेक अरु के हुन सक्ला र ?
हामीलाई थाहा छ, भारतले टर्कीलाई भुकम्पमा सवै भन्दा पहिला र सबैभन्दा उपलब्धीमुलक कार्य गरेर खोज, उपचार, औषधि र तत्काल चाहिने बस्तुको ब्यापक सहयोग गरेको थियो । त्यो सद्भावको भावना गुमाउनु टर्कीको लागि राम्रो हो र ? पाकिस्तानको छिमेकी अफगानिस्तान भारतको सहयोगी र मित्र हुनु पाकिस्तानको लागि टर्की भाइ हुनु भन्दा धेरै महत्व छ । नेपाल र भारतको लागि पनि यो उदाहरण हुन सक्छ । भारतको सहयोग नेपालको लागि र नेपालको सहयोग भारतको लागि सबैभन्दा सजिलो र बिश्वासिलो पैचो हो, जुन जहिले पनि उपयुक्त हुन्छ । के हामी यो भुल्न सक्छौं कि नेपालका नेपाली भाषिदेखि सबै भाषा बोल्नेहरू नेपालमा भन्दा भारतमा धेरै छन् । त्यही आधारमा हामीले राजनैतिक रेखाको भिन्नताको साथमा र भौगोलिक समेतका एकताका बारेमा सोच्न र व्यवहार गर्न आवश्यक छ ।
अन्त्यमा भारत र पाकिस्तान बिचको युद्ध सजिलैसंग अरु धेरै क्षति नभई टुंगिएको छ र त्यो कायम रहोस् र उनीहरू बिचमा अब स्थायी मित्रता कायम होस् ।

प्रकाशित मिति २०८२ जेष्ठ १०, शनिबार १३:५२ गते

हजुरको प्रतिक्रिया