दोर्दी गाउँपालिका जुट्यो व्यवसायिक अकबरे खुर्सानी खेतीमा : सात सय रोपनीमा विरुवा रोपण, किसानलाई ५० प्रतिशत अनुदान

दोर्दी गाउँपालिका जुट्यो व्यवसायिक अकबरे खुर्सानी खेतीमा : सात सय रोपनीमा विरुवा रोपण, किसानलाई ५० प्रतिशत अनुदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १७ गते शनिवार ०८:२०

गत वर्ष परीक्षणको रुपमा २० रोपनी क्षेत्रफलमा लगाएको अकबरे खुर्सानीबाट किसानहरूले मनग्य आम्दानी गरेपछि यो वर्षबाट पालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाका ९ वटै वडामा यो खुर्सानीको खेती सुरु भएको छ । कृषक अनुदानका लागि पालिकाको ३० लाख विनियोजन गरेको थियो, लक्ष्य अनुसार किसान तयार भएनन् ।

नौथर(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका व्यावसायिक अकबरे खुर्सानी खेतीमा जुटेको छ । गाउँपालिकाले किसानहरूलाई व्यवसायिक बनाई उनीहरूको जीवनस्तर उठाउने दुरागामी सोच र योजनाको साथ सो कार्यक्रम सञ्चालन गरी सात सय रोपनीमा अकबरे खुर्सानीका विरुवा रोपण गरेको जनाएको छ । किसानलाई प्रोत्साहन दिन अनुदानका लागि ३० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको छ ।
अन्यवालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू समेत उत्साहका साथ व्यावसायिक खेतीमा जुटेका हुन् । तर पालिकाले राखेको लक्ष्य अनुसारको संख्यामा किसान तयार नभएको जानकारीमा आएको छ । गाउँपालिकाको एक हजार रोपनीमा अकबरे खुर्सानी गर्ने लक्ष्य रहेकोमा करिब सात सय रोपनीमा मात्र माग आयो गाउँपालिकाको कृषि शाखाका प्रमुख निराजन पौडेलले बताउनु भयो । उहाँका अनुसार किसानहरूलाई लागत साझेदारीमा ५० प्रतिशत अनुदान दिने नीति गाउँपालिकाको हो । उहाँले भन्नुभयो, ‘त्यस अनुसार करिब १६ लाख मात्र खर्च भएको छ ।’
किसानहरूले सामुहिक तथा व्यक्तिगत गरी अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन् । अनुदान लिनका लागि कम्तिमा एक रोपनीमा लगाउनु पर्ने पालिकाको नीति रहेको पैडेलले बताउनु भयो । उहाँका अनुसार अकबरे खुर्सानीको व्यवसायिक खेतीमा एक रोपनीमा खुर्सानी लगाउने करिब एक सय परिवार छन् भने व्यक्तिगत रुपमा सबैभन्दा धेरै १७ रोपनी कुमबहादुर तामाङले लगाउनु भएको छ । प्रगति मिलिजुली किसान समूह हिलेबेसीले ३७ रोपनी, काञ्चोक किसान समूहले ३६ रोपनी, दोभान खोला किसान समूहले १६ रोपनीमा खेती गरेका कृषि शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले व्यावसायिक खेतीको लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरेपछि किसानलाइ सहजता भएको उनीहरूको भनाइ छ । किसानालाई अकबरे खुर्सानीको खेतीका लागि बीउ, नर्सरी व्यावस्थापन लगायतका कार्यमा गाउँपालिकाले सहयोग गर्नुका साथै बजारको समेत जिल्ला लिई प्रवन्ध गर्ने भएपछि किसानहरू थप आकर्षित भएका हुन् । कृषकहरूलाई मल्चिङ प्लास्टिक, स्प्रेयर, हजारी आदि को लागि गुमोज प्लास्टिक र तालिमहरू प्रदान गरेको दोर्दी गाउँपालिकाको कृषि शाखाका प्रमुख निराजन पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार यस वर्ष गाउँपालिका क्षेत्रका तीन सय किसानहरूले सात सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले गत आ.व २०८०÷८१ मा उत्पादन परीक्षणको रुपमा २० रोपनी क्षेत्रफलमा लगाएको अकबरे खुर्सानीबाट किसानहरूले मनग्य आम्दानी गरेपछि यो वर्षबाट विशेष कार्यक्रम सञ्चालन गरिएको हो ।’
गत वर्ष अकबरे खुर्सानी विक्रीबाट करिव २० लाख रुपैयाँ कृषकहरूले आम्दानी गरेको अनुमान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनु भयो । उहाँका अनुसार अकबरे खुर्सानी वाली जस्ता नगदे वालीहरू किसानको मुख्य आम्दानीको स्रोत भएको हुँदा गाउँपालिकाले उत्पादन वृद्धि गर्नेतर्फ प्रोत्साहन गर्न आवश्यक प्राविधिक सेवा गरिरहेको छ । उहाँले भन्नुभयो, ‘अकबरे खुर्सानी विस्तारको लागि यो वर्ष गाउँपालिकाले ३० लाख रुपैयाँ कृषकहरूलाई अनुदान सहयोग गर्ने नीति तय गरेको थियो, लक्ष्य अनुसार किसान तयार भएनन्, आउँदो वर्ष थपिने आशा छ ।’
गाउँपालिकाले किसानहरूलाई आय आर्जनमा जोड्न भौगोलिक र प्राविधिक हिसाबले कृषि पशुका पकेट क्षेत्र छनोट गरेको छ । साथै आधुनिक प्रविधितर्फ आकर्षित गरी कृषि यन्त्रीकीकरण र आधुनिकीकरणमामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दोर्दी गाउँपालिकाले वडा न १, ३ र ७ लाई वाख्रा पकेट, वडा न ९ लाई मौरी र लसुन खेती पकेट, वडा न ६ लाई सुन्तला, माथिल्लो भेगमा कीवी पकेट, वडा न ८ लाई कफि पकेट निर्धारण गरेको छ ।
किसानहरूले अकबरे खेती गरिरहेको स्थानमा गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छा घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, कृषि शाखाका प्राविधिकहरू आफै पनि सहभागी हुँदा किसान झनै उत्साहित भएका छन् ।
यस वर्ष अकबरे खुर्सानी खेती विस्तार भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अकबरे खुर्सानी खेतीबाट गाउँपालिकाले ११– १२ करोडसम्म भित्र्याउन सक्ने देखिएको हुँदा सो लक्ष्य प्राप्तितर्फ गाउँपलिकाका केन्द्रीत भएको छ ।’ कृषकहरूले उत्पादन गरेको खुर्सानी स्थानीय बजारहरूसँगै काठमाडौ, पोखरा, चितावन, बुटवल लगायताका शहरमा पु¥याउने योजना रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको छ, त्यसका लागि के गर्नु पर्छ हामी खोजीनीति गरेर अघि बढ्छौं ।
अकबरे खुर्सानी विक्रीबाट एउटै किसानले एक सिजनमा न्युनतम १ लाख १५ हजारदेखि दुई लाख पचास हजार रुपैयाँसम्मको आम्दानी गरेको दोर्दी गाउँपालिका– ४ का अगुवा कृषक सुकहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले नै जिम्मा लिएर किसानको बारीबाट ठेकेदारहरूले खरिद गरेर लैजाने गरेका छन । उहाँले भन्नुभयो, ‘बारीमा प्रतिकेजी चार सय रुपैयाँमा आफूहरूले उत्पादन गरको अकबरे खुर्सानी विक्री भएको छ ।’
यस वर्षदेखि यो खेतीलाई व्यवसायिक बनाउन र उत्पादनलाई चिरस्थायी बनाउन स्थानीयस्तरमा वडाका साथै पालिकास्तरीय किसान सन्जाल गठन गरेको र त्योमार्फत पालिका भित्रका कृषि सहकारी मार्फत वजारीकरण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष विच्छा घलेले जानकारी दिनु भयो । उहाँका अनुसार गाउँपालिकाका ९ वटै वडामा यो खुर्सानीको खेती सुरु भएको छ । जस्तै, वडा न १ को भारते, सिरुवारी, ढोके, वडा न २ को लामिछाने गाउँ, सल्लाबोट, वडा न ३ को फुजेल गाउँ, लामागाउ, श्रीमन्जाङ गाउँमा खेती लगाइएको छ । त्यसैगरी, वडा न ४ को कामचोक, हटियागाँउ, कवकी, पन्थेडाडा, कुपलिङ गाउँ, वडा न ५ को उपल्लो पाचोक, तल्लो पाचोक, वारीगाउ, फुजेल गाउँ, फोर्जुङ, वडा न ६ किर्तिपुर गाउँ, पैरेखोला, हरिगाउ, सिमे ताजेका साथै वडा न ७ को माझखर्क, लप्सिबोटमा खेती गरिएको छ । त्यस्तै, वडा न ८ खिमचोक, दुवार, वन्सार, वडा न ९ माझगाउँ, लाकुरीबोट, होलेटक्सार, चिसापानी लगायतकाक्षेत्रका व्यावसायिक अकबरे खुर्सानी खेती लगाइएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १७, शनिबार ०८:२० गते
हजुरको प्रतिक्रिया