दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा ठाडोभाकाका इतिहास पुरुष एवम् सर्जक देउबहादुर दुराको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठानद्वारा यहाँ स्थित संस्कृति सदन मा.वि.मा आयोजित छात्रवृत्ति वितरण एवम् ठाडोभाका प्रस्तुति कार्यक्रममा सो घोषणा जेठ २२ गते गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष एवम् प्रतिष्ठानका सल्लाहकार दामोदर अधिकारी हुनुहुन्थ्यो । उहाँले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँकै रोहबरमा सो पुरस्कारको अक्षयकोष घोषणा गरिएको हो ।
आफ्नो उद्घाटन मन्तव्यमा उहाँले भौतिक संरचना राम्रो बनाउनु मात्र विकास होइन, संस्कृति, कला, साहित्यका प्रतीभाहरूको प्रस्फुटनको मौका दिनु, तिनको संरक्षण र प्रवद्र्धनका कार्य गर्नु पनि विकास हो तर यसतर्फ राज्यको उचित ध्यान जान सकेको छैन भन्नुभयो । उहाँले लमजुङका थुप्रै संस्थालाई जितेर यो क्षेत्रमा ठाडोभाका लोककला प्रतिष्ठानले काम गरेको स्मरण गर्नु हुँदै प्रतिष्ठान कहिले उत्तरी क्षेत्रको रकगार्डेन खानीगाउँ, कहिले पूर्वका दोर्दी, दुधपोखरी, कहिले पश्चिम मध्यनेपाल, कहिले सुन्दरवजार त कहिले राइनास गएको हामीले थाहा पाएकैछौ भन्दै प्रतिष्ठानको यो क्रियाशीलता जारी रहोस् भन्नुभयो ।
उहाँले हाम्रो संस्कार संस्कृति पिताहरूले राखेको ढुंगाले वरदान दिन्छ भन्ने मान्यतामा विश्वास गर्ने रहेको छ । पराइको धर्म भयाबह हुन्छ भन्ने तर्फ हामीले ध्यान दिएर आफ्नो मौलिक लोक कला, संस्कृति, साहित्यको विकासमा सबै जुटौं उहाँले भन्नुभयो । अब यो प्रतिष्ठानले हाम्रा सोरठी, कृष्ण चरित्र लगायतका संकटमा पर्न थालेका संस्कृति संरक्षणमा समेत ध्यान दिनेछ सुझाव दिनुभयो । उहाँले संस्कृतिको संरक्षण बोलेरमात्र हुँदैन भन्नुभयो । त्यसको प्रतिष्ठान कार्यान्वयनमा जसरी लागेको छ, नयाँ पुस्ताका लागि प्रेरणा दिन्छ उहाँले भन्नुभयो ।
यो कार्यमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को साथ सहयोग र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको क्रियाशीलता उल्लेख्य छ भन्नुभयो । कुनै पनि संस्कृति जाति विशेषको हुँदैन भन्दै हिजोका दिनमा भोडीखर्के साइलाले गाएर थामेको विरासत अब सावित्री शाही, नवीन बरालजस्ता विद्वान व्यक्तिहरूले पनि गाउन थालेबाट समेत पुष्टि हुन्छ उहाँले भन्नुभयो ।
उहाँले दया, माया, करुणा धर्म संस्कृति हो, यसलाई परिस्कृत गर्दै लग्न सक्नु पर्छ । लोक संस्कृतिको जगेर्ना र प्रसस्त गर्न प्रतिष्ठानले वीउ रोपेको छ । त्यो विउलाई हुर्काउने जिम्मेवारी तपाई हामी सबैको हो उहाँले उल्लेख गर्नु भयो ।
सो अवसरमा सो विद्यालयमा अध्ययन गर्ने कक्षा– १० की छात्रा सुनिजा भुजेललाई छात्रबृत्तीको रुपमा १८ हजार २० रुपैयाँ नगद प्रतिष्ठानकोतर्फबाट कार्यक्रमका प्रमुख अतिथि अधिकारी सहित प्रतिष्ठानका पदाधिकारीहरूले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि सोही माविको व्यवस्थापन समितिका अ्रध्यक्ष पूर्णभद्र न्यौपानेले प्रतिष्ठानले गरेका कार्यले कीर्ति राख्ने काम भएको छ । आफ्नो डाँडोलाई पनि सम्झेर विगतका केही वर्षदेखि छात्रवृत्ती वितरण कार्यलाई निरन्तरता दिनु भएकोमा खुशी छौं भन्नुहुँदै विद्यालयकोतर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को अध्यक्षतामा भएको कार्यक्रममा उहाँले मन्तव्य सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले सार्वजनिक स्थललाई गुठीमा परिणत गर्न माग गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि एवम् भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष अधिकारीलाई त्यस कार्यमा पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
अक्षयकोषका लागि एकलाख एक सय एक रुपैयाँ हस्तान्तरण :
ठाडोभाका सर्जक देउबहादुरकी ठाइली नातिनी बुहारी छलिमाया दुराको पहलमा सो पुरस्कार स्थापना गरिएको हो । उहाँले सो पुरस्कारको अक्षयकोषका लागि एकलाख एक सय एक रुपैयाँ आयोजक ठाडोभाका लोककला प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा उहाँले पुरस्कार रकम आफ्नो पहलमा परिवारजनका केही सदस्यहरुबाटसमेत संकलन भएको जानकारी दिनुभयो । उहाँले देउबहादुर दुराको छोरा एकजना मात्र मोतिलाल दुरा हुनुहुन्थ्यो, उहाँका छोरा आठ जना र छोरी एकजना छौं, म ठाईली नातिनी बुहारी हुँ, ऐले हाम्रो परिवारमा ४६ सदस्य छौं भन्ने जानकारी दिनुभयो । उहाँले आफ्ना बुढाससुराबा देउबहादुर दुराले गाउने गर्नु भएको ठाडोभाकाका तुक्काहरु सुनाउनु भएको थियोे । उहाँले प्रतिष्ठानले गरेको यो कार्य सराहनीय छ भन्नू हुँदै आफू र आफ्नो परिवारले प्रदान गरेको रकम दुरुपयोग नहोस् भन्नुभयो ।
नयाँ पुस्तामा हस्तान्तरण नभए ठाडोभाका बाच्दैन :
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले कार्यक्रम सञ्चालन गर्र्दै प्रतिष्ठानका गतिविधिसहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । सो क्रममा उठेका जिज्ञासाको सम्बोधनको प्रयास गर्नु भएको थियो । नयाँ पुस्तामा हस्तान्तरण भएन भने ठाडोभाका बाच्दैन, बचाउन सकिदैन भन्ने बोध गरेर नयाँ पुस्तामा हस्तान्तरणका लागि विभिन्न गतिविधि प्रतिष्ठानले सञ्चालन गरेको जानकारी दिनुभयो । त्यसमध्ये यो छात्रवृत्ती वितरण कार्य पनि एक हो उहाँले भन्नुभयो । नयाँ पुस्ता(४५ वर्षभन्दा कम उमेर)का जो ठाडोभाकाको संरक्षण र प्रवर्धन अभियानमा सरिक हुनुहुन्छ– प्रतिवर्ष एकजनाको सम्मानमा २२ हजार २२२ रुपैयाँ नगद सम्मान पत्र सहितको पुरस्कार सञ्चालन गरेको, प्रशिक्षणमा उत्कृष्ठ ठहर हुनेहरूको प्रोत्साहनका लागि सिर्जना विरही थापा प्रतीभा पुरस्कार यो वर्षदेखि सञ्चालनमा ल्याएको, प्रतिष्ठान १० औं वर्षमा प्रवेश गरेको हुँदा यसले आयोजना गर्ने प्रतियोगितामा सर्त पुरा नगरेमा नंबर घट्नेसमेतको व्यवस्था गर्न लागिएको र त्यसमा ३५ वर्षभन्दा कम उमेरका युवायुवतीमध्ये कम्तिमा एक जना अनिवार्य सहभागी गर्नु पर्ने प्रवन्ध गरेको, ती प्रतियोगितामा २, ३ वर्ष छोप्ने काम गर्ने युवा युवती आफै त्यसपछि आफै गाउन सक्ने हुनेछन् भन्ने अनुभव रहेको अध्यक्ष पहाडीले उल्लेख गर्नुभयो ।
ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कार प्रतिष्ठानको सबैभन्दा ठूलो बनाइने :
सो कार्यक्रममा घोषणा गरिएको ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कार प्रतिष्ठानको सबैभन्दा ठूलो बनाइने प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनुभएको छ । उहाँका अनुसार यसको अक्षयकोष रकम कम्तिमा तीन लाख रुपैयाँ पुर्याएर प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारमा सबैभन्दा ठूलो बनाउने सोच रहेको जानकारी दिनु भयो । उहाँले सो पुरस्कार राशि कम्तिमा ३० हजार रुपैयाँ र सम्मान पत्रको हुने र आउँदो प्रतिष्ठानको स्थापना दिवसबाट वितरण थालिने उहाँले उल्लेख गर्नु भयो । उहाँले यो पुरस्कारको परिकल्पना ४, ५ वर्ष अघि गरेर तीन वर्ष अघिको स्थापना दिवस मनाउने क्रममा घोषणा गरी पुरस्कारको अक्षयकोषका लागि उहाँले परिवारजनहरूबाट जत्ति सहयोग हुन्छ सो बराबरको रकम प्रतिष्ठानले थप गरेर सो पुरस्कार सञ्चालन गर्ने उदघोष भइसकेको उल्लेख गर्नु भयो । सोही अनुसार यसको कार्यान्वयन हुनेछ, आज प्रतिष्ठानलाई प्राप्त एक लाख एक सय पाँच रुपैया बराबरको रकम प्रतिष्ठानले सो कोषमा थप गर्नेछ पहाडीले भन्नुभयो ।
अध्यक्ष पहाडीले सो रकमको दुरुपयोग रोक्नका लागि पुरस्कार स्थापना गर्नु हुने परिवारको सदस्य प्रतिनिधि एकजना र प्रतिष्ठानको प्रतिनिधि एक जना गरी दुबैको अनिवार्य दस्तखतबाट मात्र सो रकमको व्याज निकाल्न सकिने प्रवन्ध विधानमा नै गरेको जानकारी दिदै यसकारण यस्ता रकमहरूको दुरुपयोग हुन सक्दैन कसैले पनि चिन्ता नगर्नु होला भन्नुभयो । पहाडीले भन्नुभयो, ‘आज स्थापित यो समेत प्रतिष्ठानले वितरण गर्ने पुरस्कारको संख्या आठ पुगेको छ ।’
सो कार्यक्रममा सोही माविका प्रधानाध्यापक शिवशंकर तिवारीले आफ्नो मन्तव्यका साथमा छात्रवृत्ती पाइरहेकी सुजिना भुजेल चारित्रिक गु्णका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले उनी कक्षाको वार्षिक परीक्षामा तेस्रो स्थान हासिल गर्ने जेहन्दार, मेहनति, असल र अनुशासित विद्यार्थी भएको जानकारी दिनुभयो । उनले नगरपालिकाकाले पालिका क्षेत्रभित्रका १० छात्रालाई प्रदान गर्ने उपमेयर छात्रवृत्तीको रकम समेत पाउन सफल रहेको जानकारी दिनुभयो । उहाँले सुजिनाले अनलाइन प्रतियोगितामा समेत ठाडोभाका गाएर पुरस्कृत भएको र त्यसले देश विदेशमा विद्यालय तथा दुराडाँडालाई चिनाउने काम भएको बताउनु भयो । प्रअ तिवारीले यस्ता असल सन्तान भएका उनीहरूलाई पढाउन बोझ नहुने भन्दै छोराछोरीलाई अनुशासित हुन र सिर्जनशील बन्न घरबाट पनि अभिभावकहरूले उत्प्रेरित गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
सो दिन विश्व वातावरण दिवस समेत भएको हुँदा कक्षा– ६ की छात्रा सृष्टि खनियाले वातावरण सम्बन्धि कविता वाचन गरेकी थिइन् ।
सहायक प्रधानाध्यापक अशोकराज न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा छात्रा सुजिना भुजेलले ठाडोभाका लगायतका गीतको प्रस्तुति गरेकी थिइन् । साथै उनले अग्रज स्रष्टाहरूले ठाडोभाका प्रस्तुत गर्दा छोप्ने र नाच्ने समेत गरेकी थिइन् ।
कार्यक्रममा संरक्षक तथा ठाडोभाका महानायक धम्पुका साथमा प्रतिष्ठानका आजीवन सदस्य सावित्री शाहीले ठाडोभाकाको प्रस्तुति गर्नु भएको थियो । कार्यकारी सदस्य देवराज गुरुङले बाध्यवादन गर्नु भएको सो कार्यक्रममा सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, कार्यकारी सदस्यद्वय मीना गुरुङ, हरि रानाभाट, छलीमाया दुरा आदिले छोप्ने काम गर्नु भएको थियो भने ठाडोभाका महानायक धम्पु र कोषाध्यक्ष सीता गुरुङका साथमा सोही माविका प्रधानाध्यापक शिवशंकर तिवारी सहित शिक्षकहरू तथा विद्यार्थीहरूले नाचेर कार्यक्रमका साहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा पात बजाउने कलाका बारेमा प्रतिष्ठानका कार्यकारी सदस्य देवराज गुरूङले जानकारी दिनुभएको थियो । कार्यकारी सदस्य द्वय मिना गुरूङ र हरि रानाभाटले प्रयोगात्मक अभ्यास गर्नुभएको थियो ।
सुजिनाको प्रस्तुति मन पराउनु भएर छलिमाया दुराले तीन सय रुपैयाँ पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ २३, शुक्रबार २१:२७ गते