तीनपिप्ले(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आयोजनामा स्थानीय शिशुविद्याश्रम माविको हातामा छात्रबृत्ती वितरण एवम् ठाडोभाका प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको ठाडोभाका प्रशिक्षण शैलीको रह्यो । जसमा सो विद्यालयका विद्यार्थी, शिक्षकदेखि पालिकाकाका मेयर खड्गबहादुर गुरुङसमेत नाच्नु भएर मनोरञ्जन प्रदान गर्ने काम जेठ २३ गते भएको हो ।
सो कार्यक्रमको प्रमुख अतिथि मेयर खड्गबहादुर गुरुङ हुनुहुन्थ्यो । उहाँले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नुका साथै छात्रबृत्ती हस्तान्तरण गर्ने कार्य गर्नु भएको थियो । आफ्नो संक्षिप्त उदघाटन मन्तव्यमा मेयर गुरुङले लोक संस्कृतिलाई बचाउन सक्दा नै हाम्रो पहिचान रहन्छ भन्नुभयो । उहाँले यो विद्यालयमा किन कार्यक्रम गरिएको हो भने नयाँ पुस्तामा ठाडोभाका सिकाउन र हस्तान्तरण गर्नका लागि हो भन्नुभयो । यसले नयाँ पिंढीमा ठाडोभाका सिक्ने वातावरण दिएको उहाँले उल्लेख गर्नु भयो । जो भाइबहिनीले यसको अभ्यासको प्रयास गर्नु भयो सबैलाई बधाई छ भन्नुभयो । यस्ता कार्यक्रम सके हप्ता १० दिनमा नभए पनि महिनाको एक दिन गर्न आवश्यक छ मेयर गुरुङले विद्यालयलाई सुझाव दिनुभएको थियो । यसैगरी, भोलिको गायक बन्ने चाहना राखेका भाइ रोशन कुमाललाई छात्रवृत्ती प्रदान गरेर प्रतिष्ठानले थप उत्साहवर्र्धक कार्य गरेको उल्लेख गर्नुभयो । यसले पनि ठाडोभाका सिक्नु पर्ने रहेछ भन्ने प्रेरणा दिएको छ, हामी सबै हाम्रो धर्म संस्कृति बचाउने कार्यमा जुट्नु पर्छ मेयर गुरुङले जोड दिनु भएको थियो ।
सो अवसरमा सो विद्यालयमा अध्ययन गर्ने छात्र रोशन कुमाललाई छात्रबृत्तीको रुपमा २३ हजार नौ सयरुपैयाँ नगद प्रतिष्ठानकोतर्फबाट कार्यक्रमका प्रमुख अतिथि गुरुङसहित प्रतिष्ठानका पदाधिकारीहरूले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु हुँदै उहाँले विगतका ५ वर्षदेखि यो कार्यक्रम गर्र्दै आएको स्मरण गर्नु भयो । उहाँले ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण भएन भने यो भाका बाच्दैन, बचाउन सकिदैन, ठाडोभाका रहेन भने प्रतिष्ठान हुनुको अर्थ रहने छैन भन्नुभयो । उहाँले भन्नुभयो, ‘संस्थाको नाम नै ‘ठाडोभाका’ रहेको छ, यसबाट यो हाम्रो जिल्लाबाट सुरु भएको र जिल्लाको पहिचान र गौरवका रुपमा रहेको हुँदा यो भाकालाई मर्न दिनु हुँदैन भनेर विविध गतिविधि गरिआएका छौं ।’
ठाडोभाकाको मौलिकपन बचाउनु कर्तव्य :
कार्यक्रमको मुख्य उद्देश्य यसको मौलिकपनलाई बचाउनु हो उहाँले भन्नुभयो । हामीले हुर्कदै गर्दा भेडीखर्के साइलाबाट जे सुन्यौं ठाडोभाका भनेको त्यही हो भनेर जाने, बुझेका छौं, त्यसलाई बचाउनु हाम्रो कर्तव्य हो भन्दै अध्यक्ष पहाडीले ठाडोभाकाका नाउमा जे भनेर भट्याउँदैमा गीत हुने वा अन्य गीतमा झैं उफ्रिएर घुम्दैमा नाच हुने आवाजमात्र आउने गरी मादल ठोक्दैमा ठाडोभाको बाध्यवादन हुँदैन, त्यो फरक पन नै ठाडोभाकाको विशेषता हो र त्यो मौलिकता पनि हो त्यसलाई बचाउनु आजको आवश्यकता हो र त्यो हामी सबैको कर्तव्य हो भन्नुभयो । त्यसकै लागि यो प्रतिष्ठान स्थापना भएर गतिविधि गर्दै आएको छ उहाँले उल्लेख गर्नुभयो ।
उहाँले ठाडोभाका बचाउन प्रशिक्षण लगायतका कार्य गरिएको छ, त्यसमध्ये यो छात्रवृत्ती वितरण कार्य पनि एक हो उहाँले भन्नुभयो । उहाँले नयाँ पुस्ता(४५ वर्षभन्दा कम उमेर)का जो ठाडोभाकाको संरक्षण र प्रवद्र्धन अभियानमा सरिक हुनुहुन्छ– प्रतिवर्ष एकजनाको सम्मानमा २२ हजार २२२ रुपैयाँ नगद सम्मान पत्र सहितको पुरस्कार सञ्चालन गरेको, प्रशिक्षणमा उत्कृष्ठ ठहर हुनेहरूको प्रोत्साहनका लागि ‘सिर्जना विरही थापा प्रतीभा पुरस्कार’ यो वर्षदेखि सञ्चालनमा ल्याएको, प्रतिष्ठान १० औं वर्षमा प्रवेश गरेको हुँदा यसले आयोजना गर्ने प्रतियोगितामा अबदेखि सर्त पुरा नगरेमा नंबर घट्नेसमेतको व्यवस्था गर्न लागिएको र त्यसमा ३५ वर्षभन्दा कम उमेरका युवा युवतीमध्ये कम्तिमा एक जना अनिवार्य सहभागी गर्नु पर्ने प्रवन्ध गरिएको जानकारी दिनुभयो ।
प्रतिष्ठानको उपलब्धी :
प्रतिष्ठानका अध्यक्ष पहाडीले सावित्री शाही, नवीन बराल, भुन्टीमाया तामाङ र हरि रानाभाटलाई मञ्चमा उभ्याउँदै उहाँहरू प्रतिष्ठानका उपजहरू हुनुहुन्छ । प्रतिष्ठान हुन्नथ्यो भने सायद उहाँहरू यो रुपमा हुनुहुन्थेन ।
सावित्री शाही प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामध्ये दोस्रो प्रतियोगितामा पहिलो हुनु भएको हो, त्यो बेलामा उहाँ २७ वर्षकी मात्र हुनुहुन्थ्यो । यसैगरी नवीन बराल पेशाले पण्डित हुनुहुन्छ, उमेरले २४ वर्षको मात्र हुनुहुन्छ । उहाँ गत वर्ष प्रतिष्ठानले आयोजना भएको छैटौं प्रतियोगितामा पहिलो हुनुभएको हो । यसबाट पनि ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण हुँदैछ भन्ने पुष्टि हुन्छ भन्नुभयो । त्यस्तै, भुन्टीमाया तामाङ र हरि रानाभाट प्रतिष्ठानले सञ्चालन गरेका प्रशिक्षणका विशुद्ध उत्पादन हुनुहुन्छ । जो क्रमशः प्रतिष्ठानको सहकोषाध्यक्ष र कार्यकारी सदस्य समेत हुनुहुन्छ । उहाँहरूको प्रस्तुति तपाईहरूले देखिसक्नु भएको छ ।
स्थानीय सरकारहरूले कुल बजेटको एक प्रतिशत रकम छुट्याउने नीतिगत व्यवस्था गर्नु पर्छ :
यसप्रकार प्रतिष्ठानले ठाडोभाकाको संरक्षण र प्रवर्र्धनका कार्यमा जुटेको छ । तर यो कार्य सजिलो छैन, लोक संस्कृति, साहित्यमा गरिएको लगानीको प्रतिफल तत्काल कुनै भवन, सडक वा खानेपानीको धारा निर्माण गरेको झैं देख्न सकिन्न भन्नुभयो । १० वर्ष अघि रोपिएको प्रतिष्ठानको विरुवाले ऐले परिणाम दिन थालेको छ उहाँले भन्नुभयो । त्यसैले प्रतिष्ठानले लोक संस्कृति साहित्यको श्रीबृद्धिका लागि स्थानीय सरकारहरूले आफ्नो कुल बजेटको एक प्रतिशत रकम यो क्षेत्रको प्रवर्र्धनका लागि छुट्याउने नीतिगत व्यवस्था गर्नु पर्छ भन्ने माग गरिरहेको छ भन्नुभयो । प्रतिष्ठान गैरनाफा मूलक संस्था भएको हुँदा कार्यक्रम गर्न निकै कठिन हुने गरेको उहाँले सुनाउनु भयो । 
अध्यक्ष पहाडीले हिजो मात्र ऐतिहासिक थलो दुराडाँडामा अर्को ऐतिहासिक घोषणा गरिएको छ । हिजो त्यहाँको संस्कृति सदन माविमा यस्तै कार्यक्रम भएको थियो, त्यसमा ठाडोभाकाका इतिहास पुरुष देउबहादुर दुरा स्मृति पुरस्कार स्थापना गरिएको छ र सो पुरस्कार प्रतिष्ठानले वितरण गर्ने सबैभन्दा ठूलो बनाइने प्रतिष्ठानको लक्ष्य रहेको उहाँले सुनाउनुभयो । उहाँले ऐलेसम्म प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको कार्यक्रम गर्दा वितरण गर्ने ठूलो पुरस्कार राशि २२ हजार २२२ रुपैयाँ रहेको छ, अब यो पुरस्कार राशि कम्तिमा ३० हजार रुपैयाँ र सम्मान पत्रको हुनेछ भन्नुभयो । त्यसका लागि सो पुरस्कारको अक्षयकोष रकम कम्तिमा तीन लाख रुपैयाँ पुर्याउने प्रतिष्ठानको योजना रहेको जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानमार्फत वितरण गरिने पुरस्कारको संख्या आठ पुगेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको अन्त्यमा उहाँले उक्त कार्यक्रममा सहयोग गर्नु हुने तथा सहभागी हुनुहुने सबै– सबैलाई धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।
सो अवसरमा उक्त विद्यालय रहेको राइनास नगरपालिका– ५ का वडाध्यक्ष शंखबहादुर नेपाललीले आयोजक प्रतिष्ठानले गौरव गर्न लायकको कार्यक्रम गरेको बताउनु भयो । उहाँले विद्यार्थीहरूलाई उत्प्रेरित गर्नु हुँदै यस्ता गतिविधिमा पनि उत्कृष्ठ बन्न सकेमा राम्रो हुन्छ, परीक्षामा ल्याइने अंकमात्र उत्कृष्ठ हुन सक्दा राम्रो हो तर त्यो नंबर केही कम भयो भने पनि यस्ता कार्यमा उत्कृष्ठ हुन सक्यो भने पनि राम्रो हुन्छ भन्नुभयो । यसैगरी, सोही माविको व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर अधिकारीले हामी धेरै खुशी छौं, यति राम्रो गीत लोप हुने अवस्थामा पुगेको थियो तर अब भने मर्दैन भन्ने स्थिति बन्दै गएको छ । यो अभियानमा जुट्नु हुने सबै बधाईको पात्र हुनु्हुन्छ र भोलिका दिनमा प्रतिष्ठानका कार्यक्रम झनै सुन्दर हुन सकुन् भन्ने कामना गर्नु भयो ।
उक्त अवसरमा आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले नाचेर प्रशिक्षण झैं केहीलाई नचाउने काम समेत गर्नु भएको थियो । कार्यक्रममा सावित्री शाही र नवीन बराल तथा भुन्टीमाया तामाङ र हरि रानाभाटको टोलीले ठाडोभाका प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेयर गुरुङ, सो माविको व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर अधिकारी, शिक्षकद्वय सावित्री पोखरेल र दुर्गा विक, विद्यार्थीहरू रोशन कुमाल, आइसा सुनार, रोनी परियार, रश्मी सुनार, कृस सुनार लगायतले पनि नाचको अभ्यास गर्नु भएको थियो । सो अवसरमा प्रतिष्ठानका कार्यकारी सदस्य देवराज गुरुङले बाध्यवादको कार्य गर्नु भएको थियो । 
प्रतिष्ठानका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् कवि मातृकाप्रसाद खनालले स्वागत मन्तव्यका साथमा कविता वाचन गर्नु भएको कार्यक्रमको सञ्चालन सोही माविका नि.प्र.अ. देव गिरिले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ २४, शनिबार ०८:५१ गते