लमजुङ लोकतारा एकल गायन प्रतियोगिता– २०८२ सुरु

लमजुङ लोकतारा एकल गायन प्रतियोगिता– २०८२ सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २४ गते शनिवार ०४:४६

प्रतिष्ठानको जिल्ला शाखाले सो प्रतियोगिताको आयोजना गरेको हो । सो प्रतियोगितामा ३६ जनाले भाग लिएर आफ्नो प्रतीभा देखाउँदै छन् ।

लोक दोहोरी प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापामगर बेसीशहरमा : रिता आफू मात्र नभई आयोजक र दर्शकलाई पनि नचाउनु भयो

बेसीशहर– लमजुङमा लोकतारा एकल गायन प्रतियोगिता– २०८२ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापामगर सो प्रतियोगिताको यहाँ स्थित जिल्ला सभा गृहमा जेठ २४ गते उदघाटन गर्नु भयो ।
आफ्नो संक्षिप्त तर सारगर्भित मन्तव्यमा लमजुङसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनु भयो । तर आफ्नो अध्यक्ष कालमा लमजुङ जान सक्दिन कि ! भन्ने लागेको थियो, आज मेरो सोच गलत भएको छ उहाँले भन्नुभयो । माया मनले र व्यवहारले गरिन्छ भन्दै उहाँले कोरोनाकालको स्मरण गर्नु भयो । त्यो बेलामा आफू केन्द्रको वरिष्ठ उपाध्यक्ष र विपदको संयोजक रहदा लमजुङका तत्कालीन अध्यक्ष अनुज अधिकारीको पहिलो कार्यकाल चलिरहेको थियो, कलाकारमा कोरोनाको पहिलो शिकार बन्नुभयो अनुज । क्वारेन्टाइनबाट अनुजको फोन आयो, त्यो आवाजले मलाई त्यति बेलानै लोभ्याएको थियो, संयोगबस कुनै पनि कलाकारलाई कोरोनाले लगेन, लमजुङ आएर आज प्रत्यक्ष देख्न पाए उहाँले भन्नुभयो । यो अवसर जुटाउनु हुने अध्यक्ष अधिकारीसहितको टिम सबै बधाइ योग्य हुनुहुन्छ ।
लमजुङका अग्रज गायक विमाकुमारी दुरा, माया गुरुङ लगायतसँग आफ्नो गुरु चेलाको सम्बन्ध रहेको र लमजुङका त्यस्ता कलाकारहरूको प्रेरणाले म यो स्थानमा आउन सकेकी हुँ रिताले सगर्व सुनाउनु भयो ।
प्रतियोगिताका सहभागीहरूलाई उत्प्रेरित गर्दै उहाँले यो अवसरको उपयोग गर्न आग्रह गर्नु भयो । उहाँले सफलताका लागि त्याग, तपस्या र निरन्तरता चाहिन्छ भन्ने उल्लेख गर्नुभयो । उहाँले संस्थाको उद्देश्यका बारेमा उल्लेख गर्दै मौलिक संस्कृतिको मर्म र भावना अनुरुप नयाँ नयाँ प्रतीभालाई फुलाउनु पनि रहेको उहाँको कथन थियो ।
प्रतियोगिताको उदघाटन सत्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिताले मन्तव्य सहित गीत गाउने काम मात्र गर्नु भएन, नाच्ने र नचाउने समेत गर्नुभयो । ‘हे आमा ! जाउँ भन्यो मलाई ! कस्ले पल्टने लाहुरेले’ बोलको गीतमा गाउने र नाच्ने गरकी रिताले आयोजक र दर्शकलाई समेत नचाएर मनोरञ्जन दिनु भएको थियो ।
प्रतियोगिताको निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव शंकर विरही गुरुङ, सांगठनिक सहसचिव तारानाथ आचार्य लगायत रहेको बताइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा भएको सो प्रतियोगितामा सो शाखाका द्वितीय उपाध्यक्ष पुजा परियार शेर्पाले स्वागत तथा सचिव प्रशान्त तामाङले सञ्चालन गर्नु भएको छ । सचिव तामाङले प्रतियोगिता राती अबेर गरेर पनि आजै सक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानको जिल्ला शाखाले सो प्रतियोगिताको आयोजना गरेको हो । सो प्रतियोगितामा ३६ जनाले भाग लिएर आफ्नो प्रतीभा देखाउँदै छन् ।
सो अवसरमा युनिभर्सल एकेडेमीका छात्राहरू तथा दूधपोखरी आमा समूहका टोलीले नृत्य प्रदर्शन गरेर थप मनोरञ्जन दिएका थिए ।

प्रकाशित मिति २०८२ जेष्ठ २४, शनिबार १६:४६ गते
हजुरको प्रतिक्रिया