चारधाम, पर्यटन र यमुनोत्रीदेखि बद्रीनाथसम्मको यात्रा  

चारधाम, पर्यटन र यमुनोत्रीदेखि बद्रीनाथसम्मको यात्रा  

के बि मसाल

@antaranganews

२०८२ जेठ २५ गते आईतबार ११:००

चारधामको यात्राले केवल धार्मिक र आध्यात्मिक तृप्ति प्रदान मात्र होइन भारतको उत्तराखण्डको विभिन्न भौगोलिक र सांस्कृतिक विविधता अनुभव गर्न पनि सकिन्छ । यात्रामा धार्मिक, आध्यात्मिक, मानसिक, सांस्कृतिक र शारीरिक रुपमा फाइदा हुन्छ । चारधामलाई मोक्षदायिनी धाम समेत भनिन्छ । चारधामको यात्राले जन्म मृत्युको चक्रबाट मुक्ति हुने कुराको विश्वास गरिन्छ ।

बद्रीनाथको मन्दिर आदि शंकराचार्यले आठौं शताब्दीमा स्थापना गरेका थिए । बद्रीनाथको मन्दिर भगवान विष्णुलाई समर्पित छ । 

पर्यटनको क्षेत्रमा धार्मिक अथवा आध्यत्मिक उद्देश्यले गरिने यात्रा तीर्थाटन पर्यटन हो । धार्मिक पर्यटनको सुरुवात मानव सभ्यताको प्रारम्भिक कालदेखि भएको मानिन्छ । मानिसहरुले जबदेखि धार्मिक विस्वासहरू विकास गर्न थाले त्यहि समय देखि तीर्थाटनमा यात्रा गर्न थालेका हुन । तीर्थाटन पर्यटनको मुल उद्देश्य भनेको आफ्नो धर्म अनुसार कुनै पनि पवित्र स्थल मन्दिर, मस्जित, गुम्वा, स्तूप आश्रम लगायतका स्थानमा पुगेर पुजा आजा र दर्शन गर्नु हो ।
हिन्दुहरूको चारधाम तीर्थाटन पर्यटनको लागि महत्वपूर्ण यात्रा हो । भारतीय भूमिमा रहेका चार प्रमुख धार्मिकस्थललाई चारधाम भनिन्छ । उत्तराखण्डको चारधामको यात्रा बिशेष गरी बैशाखदेखि कार्तिकसम्म मात्र खुल्ला हुन्छ । बाँकी समय हिउँ पर्ने हुदा चारधामका मन्दिरहरू बन्द हुन्छन । हिन्दुहरूको लागि चारधाम यात्रा मोक्ष प्राप्तिको मार्ग मानिन्छ । चारधाम यात्रामा तीर्थाटनका पर्यटकहरुले धार्मिक सास्कृतिक, प्राकृतिक र आत्मिक दृष्टिले एक अद्वितीय अनुभव लिन सक्दछन । सयुक्त राष्ट्रसघंको पछिल्लो तथ्याकं अनुसार विश्वमा ८.२ अर्ब जनसख्या पुगेको छ । यो तथ्यांक अनुसार विश्वभर हिन्दुधर्म मान्नेहरूको सख्या १.२ अर्ब अर्थात १२० करोड छन । यसरी हेर्दा विश्वमा १५ प्रतिशत मानिसहरू हिन्दुहरू छन । विश्वमा प्रमुख धर्ममा हिन्दु, बौद्ध, इस्लाम, ख्रीष्टियन र यहूदी गरेर पाचँ धर्महरू छन । यी धर्मलाई विश्व धर्म मानिन्छ । किनभने यी धर्मका अनुयायीहरू विश्वका धेरै राष्ट्रमा रहेका छन । तर यी धर्म बाहेक पनि सिख धर्म, जैन धर्म, बहाई धर्म, कफ्युसियनवाद धर्म, ताओ धर्म, शिन्तो धर्म, जोराष्ट्रीयन धर्म लगायत धर्म मान्ने मानिसहरू पनि छन ।
आदि शकंराचार्य हिन्दु धर्मका एक महान दार्शनिक सन्यासी गुरु हुन । उनले उपनिषदको गहिरो ज्ञानलाई जनसामान्यसम्म पु¥याए र सनातन धर्मलाई दृढ बनाउने काम गरेका थिए । शकंराचार्य भन्ने पद अथवा उपाधि एउटै व्यक्ति भने होइन । यो एक परमपरा हो । जसलाई आदि शकंराचार्यले सुरुवात गरेका थिए । शकंराचार्यले हिन्दु दार्शनिक तथा वेदान्तका प्रचारक थिए । जसले अद्वदैत वेदान्त दर्शनको स्थापना गरेका थिए । शकंराचार्यले भारतमा चार ठाउँमा अर्थात पूर्व दिशामा गोवर्धन मठ, पश्चिममा शारदा मठ, द्वाराका उत्तरमा बद्रीनात ज्योतिर्मठ र दक्षिणमा शृंगेरी शारदा मठको स्थापना गरेका थिए । जसमा मठमा नेतृत्व गर्ने गुरुलाई शकंराचार्य भनिन्छ । शकंराचार्य उपाधि बिशेष गरी ८ औ शताब्दीमा महान हिन्दु दार्शनिकद्वारा सुरु गरिएको हो । यो पद अद्वैत वेदान्त परम्पराका प्रमुख गुरुलाई दिइन्छ । शकंराचार्यको जन्म इस्वी सम्वत ७८८ मा भारतको कालडीगढ केरलामा भएको थियो । शकंराचार्यले ब्रह्मचारीबाट आठ बर्षको उमेरमा गुरु गोविन्दपादबाट सन्यास लिएका थिए । शकंराचार्यको महासमाधि ३२ बर्षको उमेरमा इ.स. ८२० मा भएको थियो ।
हिन्दु धर्ममा चारधाम यात्राको ठूलो महत्व छ । अहिले चारधाम अर्थात बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्रीको यात्रा सुरु भएको छ । चारधाम यात्रालाई वेद र पुराणमा निकै शुभ मानिएको छ । चारधामको यात्रा गरी तीर्थाटन गर्नेहरूको सबै पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । हिन्दु धर्ममा चारधामको यात्रा दुई प्रकारका छन । एउटा बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्री र अर्को बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारका धामको दर्शन गर्नेलाई पनि चारधाम भनिन्छ । यी सबै पवित्र स्थानहरू भारतको विभिन्न प्रदेशमा रहेका छन । त्यसैले यी क्षेत्रको सबै यात्रालाई चारधाम यात्रा भनिन्छ । हिन्दु धर्ममा आफ्नो जीवनकालमा कम्तिमा एक पटक चारधामको यात्रा गर्नुपर्छ भन्ने मान्यता रहेको छ । यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथ उत्तराखण्डका चारधाम हुन । यमुनोत्रीमा यमुना देवी, गंगोत्रीमा गंगा, केदारनाथमा भगवान शिव र बद्रीनाथमा भगवान विष्णुको मन्दिर छ ।
उत्तराखण्डको चारधाम यात्रा गर्दा तीर्थाटन पर्यटकहरूले हरिद्वार वा ऋषिकेशमा गंगा स्नान गरेर यात्राको सुरुवात गर्दछन । यो चारधामको यात्रामा पर्यटकहरूले कुल १ हजार ६०७ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । हरिद्वारदेखि सुरु हुन्छ उत्तराखण्डको चारधाम यात्राको सुरुवात यमुनोत्री, गंगोत्री, केदारनाथ हुदै बद्रीनाथमा पुगेर सकिन्छ । यो चारधाम यात्रामा तीर्थाटनका पर्यटकहरूले हरिद्वार देखि चारै धाम पुग्न र फर्कन कम्तीमा १० दिनको समय तय गर्नु पर्दछ । हरिद्वार÷ऋषिकेश चारधामको प्रवेशद्वार हो भन्दा पनि हुन्छ । पहिलोचोटी चारधामको यात्रामा जाने तीर्थाटनका पर्यटकहरूका लागि हरिद्वार र ऋषिकेशको इतिहासका बारेमा पनि जान्ने उत्सुकता हुन्छ । गंगा नदीको किनारमा रहेको हरिद्वार प्राचिन धार्मिक शहर हो । जसको इतिहास धार्मिकग्रन्थहरूमा उल्लेख छ । हरिद्वार दुई शब्दबाट बनेको छ । हरि भगवान बिष्णु र द्वार ढोका अर्थात हरिकोद्वार । हरिद्वारमा १२ बर्षमा कुम्भ मेला पनि लाग्दछ । त्यसैले हरिद्वारलाई हिन्दु धर्ममा मोक्षद्वार पनि भनिन्छ । हरिद्वारको पौडीघाट पवित्र घाट हो । यहाँ प्रत्यक साझ गंगा आरती हुन्छ । अहिले हरिद्वारमा धार्मिक शहर मात्र नभएर योग आयुर्वेद र अध्यात्मिक शिक्षाको केन्द्र पनि भएको छ । त्यसैगरी ऋषिकेश ऋषिहरूको ध्यान स्थल अर्थात तपोभूमि पनि हो । ऋषिकेशमा गायत्री मन्त्रका प्रवर्तक ऋषि विष्णुक्षेय र गिरिजाशंकरले गंगा तटमा आश्रम स्थापना गरी तपस्या गरेको स्थल पनि हो । ऋषिकेशमा साधु समाज र अखडाहरु धेरै छन । 
उत्तराखण्डको यात्रामा इतिहासमा रुचि राख्ने तीर्थाटन पर्यटकहरूलाई ऐतिहासिक कुराको समेत अध्यन अवलोकन गराउछ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा भित्रको भूमि सहजरुपमा नेपपालले प्रयोग गर्न नसकेको अवस्थामा इतिहास नपढेका कतिपय पर्यटकहरूलाई अहिले भारतको उत्तराखण्ड कुनै बेला नेपालको थियो भन्ने सुन्दा अचम्म मान्दछन । सुगौली सन्धि हुनु भन्दा पहिले नेपालको पश्चिमको सिमाना अहिले हिमाचल प्रदेशमा पर्ने काँगडासम्म थियो । सन १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धले सुगौली सन्धि भएको थियो । सन्धिपछि नेपालले आफ्नो सार्वभौमिकता बचाए युद्धमा विशाल नेपालको भूमि गुमाउनु परेको थियो । युद्धमा ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारले नेपालको मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल र नालापानीमा आक्रमण गरेको थियो । काँगडा किल्ला ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । काँगडा किल्ला नेपालको महाकाली नदीबाट पश्चिम ७१६ किलोमिटर पश्चिममा पर्दछ । काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडा ढुंगे किल्लाभित्र तीन वर्षसम्म थुनिएका थिए ।  राजा संसार चन्दले पंजावको राजा रणजित सिंहसँग ठूलो सैन्य सहयोग लिएर हमला गरेपछि नेपालीको नराम्रो हार भयो । त्यो युद्धमा सेनापति बडाकाजी अमरसिंह थापा नेपालतर्फको कमाण्डर थिए । त्योभन्दा अगाडि नै काजी नयनसिंह थापासहित ३०० जति नेपाली सेनाले यसै किल्लामा वीरगति प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यस भन्दा अगाडि नेपाली सेना बढन सकेन । पश्चिमी एकीकरण अभियान अन्त भयो । देउथलको युद्धमा नेपाली सेनाको अगुवाइ भक्ति थापाले गरेका थिए । सरदार भक्ति थापाले पनि देउथलको मलाउ किल्लाको युद्धमा वीरगति प्राप्त गरेका थिए ।
देहरादून उत्तराखण्ड राज्यको राजधानी र ऐतिहासिक शहर हो । देहरादूनको इतिहास लामो छ । देहरादुनले महाभारतकालदेखि आधुनिक ब्रिटिशकालसम्मको विरासत बोकेको छ । देहरादूनमा नेपाली मुलका धेरै मानिसहरू छन । कुमाउ, पिथौरागढ, अल्मोडा, चम्पावत, डीडीहाट लगायत ठाउँहरू नेपालमा विभिन्न जिल्लामा रहने धेरै थर गोत्रको मानिसहरुको मुल थलो पनि हो । देहरादून सास्कृतिक, भौगोलिक, शैक्षिक तथा ऐतिहासिक दृष्टिकोणले पर्यटनका लागि महत्वपूण शहर हो । हरिद्वार अथवा ऋषिकेशबाबा चारधाम यात्रा गर्दा देहरादून भएर जानु पर्दछ । देहरादून पर्यटनका लागि तीर्थयात्री पर्यटकहरूले घुम्दा राम्रो हुन्छ । यहाँ मसूरी, सहस्त्रधारा, टप्केश्वर मन्दिररोबसै केभजस्ता पर्यटकियस्थल छन । देहरादूनको मौसम र हिमालको दृष्यले सबैलाई लोभ्याउछ । यात्रामा देहरादून घुम्दा धेरै कुराको जानकारी हुन्छ । ऋषिकेशदेखि देहरादूनसम्मको दुरी करिवन ४२ किलो मिटरको दुरीमा पर्दछ ।
यमुनोत्री उत्तराखण्डको गढवालको सबैभन्दा पश्चिमी क्षेत्रको मन्दिर हो । यमुनोत्री यमुना नदीको उदगमस्थल पनि हो । यो स्थान देवी यमुनाको मन्दिर र पवित्र तातोपानीका लागि परिचित छ । यमुना मन्दिर टिहरी गढवालका महाराज प्रताप शाहले निर्माण गराएका थिए । यमुनोत्रीमा तीर्थाटन पर्यटकहरु द्वारा पितृ कार्य गर्दछन । त्यसपछिको यात्रा हुन्छ उत्तरकाशिको । उत्तरकाशिमा विश्वनाथ मन्दिरको दर्शन हुन्छ । त्यो पछिको यात्रा हुन्छ केदारनाथको । केदारनाथ पुग्नको लागि मोटरमार्ग छाडेर २२ किलोमिटर उकालो पदयात्रा गर्नु पर्दछ । तर पदयात्रा गर्न नसक्ने तीर्थाटनका पर्यटकहरूका लागि पाल्ली, डोली, अथवा घोडा र खच्चडको सवार गरेर पनि केदारनाथको मन्दिरमा पुग्न सकिन्छ । केदारनाथ देखि जोशीमठ हुँदै बद्रीनाथ पुगिन्छ । बद्रीनाथ नजिकै सम्म मोटरमार्ग पुगेको छ । तर पनि पदमार्गको यात्रा गर्न रुचाउने तीर्थाटनका पर्यटकहरूका लागि जोशीमठदेखि करिवन ३ किमकिो पदयात्रामा बद्रीनाथको मन्दिरमा पुगिन्छ ।
उत्तराखण्डको चारधाम क्षेत्रमा बद्रीनाथ, केदारनाथ, रुद्रप्रयागमा पदयात्रा गर्न नसक्ने तीर्थयात्रीहरूलाई सेवादिन नेपाली मजदुरहरूको सख्या धेरै हुन्छन । चारधाममा काम गर्ने मजदुरहरूमा बिशेषगरी सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिसहरू हुन्छन । यी मजदुरहरले तीर्थयात्री पर्यटकहरुलाई पाल्की र डोकोमा बोक्ने गर्दछन । गढवाल भाषामा डोकोमा बोक्नेहरूलाई कण्डीवाल र पाल्कीमा बोक्नेहरूलाई डण्डीवाल भन्ने गरिन्छ । त्यहा काम गर्ने मजदुरहरु उच्च जोखिममा काम गरि रहेका हुन्छन । चारधाम क्षेत्रमा कठिन भूगोल, छिनछिनमा बदलि रहने मौसम र अधारभुत सुरक्षाको अभावले गर्दा नेपाली मजदुरहरूका लागि चारधाम क्षेत्र जोखिमपूर्ण भएपनि छोटो अवधिमा राम्रो कमाई हुने हुँदा तीर्थयात्री बोक्ने काममा नेपालीहरू धेरै लागेका छन । चारधामको तीर्थयात्रालाई सस्थागत गराउने आदि शंकराचार्य हुन । उनलेनै हिमाल देखि दक्षिण भारत सम्म मठ मन्दिरको स्थापना गरेका थिए । शंकराचार्यले नै बद्रीनाथ र केदारनाथको मन्दिरको पुनःस्थापना गराएको मान्यता छ । गंगोत्री र यमुनोत्री मन्दिर गंगोत्री मन्दिरमा सवारी साधन सीधै मन्दिर नजिकसम्म पुग्छ । वि.स १७९० देखि १८१५ सम्म कुमाउ अर्थात गढवालमा नेपालको शासन थियो । त्यतिबेला गोरखा फौजका सेनापति अमरसिंह थापाले गंगोत्री मन्दिर निर्माण गर्न लगाएका थिए । यो क्षेत्रमा राजा भगीरथले भगवान शिवलाई प्रसन्न तुल्याउन तपस्या गरेका थिए । भगवान शिव यहाँ प्रकट हुनुभयो र गंगाको प्रवाहलाई आफ्नो जटामा समेटेर शान्त गर्नु भयो । त्यसपछि गंगाको पहिलो धारा यही क्षेत्रमा परेको थियो भन्ने धार्मिक विस्वास रहेको छ । गंगोत्रीलाई गंगा नदीको उदगमस्थलको रुपमा पूजा र तीर्थयात्रीहरूले गंगातटमा श्राद्ध तथा तर्पण गरी गंगामाताको आराधना गर्छन ।
भारतको उत्तराखण्ड प्राचीन मन्दिरहरूको लागि प्रसिद्ध छ । उत्तराखण्डमा पर्यटनको लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ चारधाम यात्रा । चारधाम उत्तराखण्डको गढवाल क्षेत्रका उच्च पहाडी भूगोलमा पर्दछ । उत्तराखण्डको चारधाम यात्रा यमुनोत्रीबाट सुरु हुन्छ । त्यसपछि क्रमशः गंगोत्री, केदारनाथ र अन्तमा बद्रीनाथ पुगेर यात्रा समाप्त हुन्छ । यमुनोत्री यमुना नदीको उदगमस्थल नजिक पर्दछ । यमुनोत्री मन्दिर समुद्री सतहबाट ३ हजार २३३ मिटरको उचाइमा उत्तरकाशी जिल्लामा पर्दछ । यमुनोत्री पुग्नको लागि ऋषिकेशबाट करिब २१० किलोमिटर यात्रा गर्नु पर्दछ । गंगोत्री धाम चारधाम यात्राको दोस्रो गन्तव्यमा पर्दछ । गंगोत्री धाम पनि उत्तरकाशी जिल्लामै पर्दछ । गंगोत्री धाम समुद्री सतहबाट ३ हजार ४१५ मिटरको उचाइमा पर्दछ भने भारतको सबैभन्दा अग्ला धार्मिक स्थलहरूमध्ये पर्दछ । यमुना नदीको शिरमा यमुनोत्रीमा रहेको तातोपानी कुण्ड स्नानको लागि प्रसिद्ध छ । श्राद्ध गर्नेले कपडामा चामल बाँधेर तातो कुण्डमा राखिदिँदा एकैछिनमा पाक्दछ । त्यहीँ पाकेको चामलको पिण्ड बनाइन्छ । तीर्थाटन पर्यटकहरूले गंगोत्री धाम पुग्न यमुनोत्री धाम देखि ४० किलोमिटर अथवा ऋषिकेशबाट करिब २५० किलोमिटर यात्रा गर्नु पर्दछ । गंगा नदीको उदगम स्थललाई गोमुख भनिन्छ, । जुन गंगोत्री ग्लेसियरमा गंगोत्रीबाट करिब १९ किलोमिटरको दुरीमा पर्दछ । गोमुखबाट बग्ने नदीलाई भागीरथी भनिन्छ र देवप्रयागमा अलकनन्दासँग मिसिएपछि गंगा नदीको नामाकरण हुन्छ ।
केदारनाथमा जाडो याममा भारी हिमपात हुन्छ । त्यसैले जाडोको समयमा केदारनाथको मन्दिरका ढोकाहरू बन्द रहन्छन । केदारनाथ रुद्रप्रयाग जिल्लामा पर्दछ । समुद्री सतहबाट ३ हजार ५८४ मिटर उचाइमा गढवाल हिमालय क्षेत्रमा पर्दछ । ऋषिकेशबाट केदारनाथको दूरी करिब २२७ किलोमिटर रहेको छ । केदारनाथमा १२ वटा ज्योतिर्लिङ्गहरूमध्ये सबैभन्दा अग्लो उचाइमा रहेको शिवलिङ्ग भएको मान्यता छ । केदारनाथ मन्दिर नजिकै मंदाकिनी नदी पर्दछ । केदारनाथको मन्दिर करिब एक हजार वर्ष पुरानो मानिन्छ । बद्रीनाथको मन्दिर समुद्री सतहबाट ३ हजार १०० मिटर उचाइमा पर्दछ । उत्तराखण्डको चारधाम यात्राको अन्तिम तीर्थाटन हो बद्रीनाथ । बद्रीनाथ अलकनन्दा नदीको किनारमा गढवाल हिमालय क्षेत्रमा पर्दछ । बद्रीनाथको मन्दिर आदि शंकराचार्यले आठौं शताब्दीमा स्थापना गरेका थिए । बद्रीनाथको मन्दिर भगवान विष्णुलाई समर्पित छ ।
उत्तराखण्डलाई देवक्षेत्र पनि भनिन्छ । केदारनाथ, बद्रीनाथ, हरिद्वार, ऋषिकेश लगायत प्रसिद्ध हिन्दुहरूको तीर्थस्थल धेरै उत्तराखण्ड राज्यभित्र पर्दछ । चारधाम यात्रा बर्षेनी वैशाखदेखि असोजसम्म सञ्चालन हुने धार्मिक तीर्थाटन हो । हिन्दू धर्म शास्त्र वेद र पुराणहरूमा चारधाम यात्रालाई पापमोचन, पुण्य प्राप्ति र मोक्षदायक मानिएको छ । विशेष गरी, जीवनको शुद्धि, आत्मज्ञान र कर्मफलको मुक्ति प्राप्त गर्न यो यात्रा अत्यन्त फलदायी हुने विश्वास हिन्दू धर्मावलम्बीहरूमा छ । चारधाम यात्राको सबैभन्दा कठिन र चुनौतीपूर्ण गन्तव्य हो, केदारनाथ । सोनप्रयागदेखि गौरीकुण्डसम्म सवारी साधन पुग्छन । त्यसपछि करिब २२ किलोमिटर लामो उकालो यात्रा घोडा, डोली, पाल्की वा पैदल यात्रा गर्न पर्दछ । चिसो मौसम, हिलाम्य बाटो, तीर्थाटन पर्यटकहरुको भिड र लगातार वर्षाका कारण यो यात्रा थप कठिन हुने गर्दछ । यात्राको अन्तिम गन्तव्य बद्रीनाथ हो, जसलाई भगवान विष्णुको आठौं वैकुण्ठ मानिन्छ । धार्मिक मान्यताअनुसार केदारनाथको तीर्थाटन पछि मात्र बद्रीनाथ जानु पुण्यदायक मानिन्छ ।
उत्तराखण्डको चारधाममा जानु भन्दा पहिले योजना बनाउदा राम्रो हुन्छ । यात्रामा एक्लै जानु भन्दा समूहमा जादा सजिलो र खर्च समेत कम हुन्छ । समूहमा जेष्ठ नागरिक हुनुहुन्छ भने त्यही किसिमको योजना हुनु पर्दछ । अहिले चारधाम यात्रा गराउने विभिन्न ट्राभल एजेन्सी र कम्पनीहरू पनि छन । अर्कोतर्फ भारतीय सीमा बजारमा चारधाम यात्रा गराउने सवारी साधन समेत उपलब्ध हुन्छ । तर सबैभन्दा सजिलो महेन्द्रनगरबाट जाँदा राम्रो र सजिलो हुन्छ । भारतको उत्तराखण्डको चारधाम यात्रामा आजभोलि कञ्चनपुरको गड्डाचौकी नाका हुँदै जान सजिलो हुन्छ । गड्डाचौकी नाकाबाट भारतको हरिद्वारसम्मको सडक दूरी करिब २९३ किलोमिटर पर्दछ । हरिद्वारसम्म जान बस, रेललगायत विभिन्न सवारी साधन प्रयोग गर्न सकिन्छ । चारधाम यात्रा गर्दा होटल, गाडी, गाइड आदि पहिले नै बुक गर्दा यात्रा सजिलो हुन्छ । चारधाम यात्राको लागि तीर्थाटन पर्यटकहरूले रजिस्ट्रेशन अनिवार्य गर्नु पर्दछ । रजिस्ट्रेशन अनलाइन र अफलाइन दुवै माध्यमबाट गर्न सकिन्छ । रजिस्ट्रेशन गर्नका लागि हरिद्वार, ऋषिकेशलगायत स्थानहरूमा काउन्टरहरू राखिएका छन । यात्रामा रजिस्ट्रेशन सर्टिफिकेट साथमा राख्नुहोस । यात्रामा आवश्यक पर्ने आफूले खाने गरेका औषधिहरू साथमा लिएर जानुहोस । यात्रामा आवश्यक न्यानो कपडाहरू अनिवार्य साथमा राख्न पर्दछ ।
उत्तराखण्डको चारधाम तीर्थस्थलहरू यमुनोत्री अर्थात यमुना नदीको उदगम, गंगोत्री गंगा नदीको उदगम, केदारनाथ भगवान शिवको ज्योतिर्लिंग र बद्रीनाथ भगवान विष्णुको विश्रामस्थललाई मिलाएर तयार गरिएको धार्मिक मार्ग हो । चारधामको यात्राले केवल धार्मिक र आध्यात्मिक तृप्ति प्रदान मात्र होइन भारतको उत्तराखण्डको विभिन्न भौगोलिक र सांस्कृतिक विविधता अनुभव गर्न पनि सकिन्छ । यात्रामा धार्मिक, आध्यात्मिक, मानसिक, सांस्कृतिक र शारीरिक रुपमा फाइदा हुन्छ । चारधामलाई मोक्षदायिनी धाम समेत भनिन्छ । चारधामको यात्राले जन्म मृत्युको चक्रबाट मुक्ति हुने कुराको विश्वास गरिन्छ । चारधामको यात्राले बिभिन्न भाषा संस्कृति र परमपरा अध्यन गर्ने अवसर पनि हुन्छ । यात्रामा सबै हिन्दू संप्रदायका पर्यटकहरू हुने हँुदा धार्मिक सहिष्णुता बढाउछ । यात्रामा वृद्ध असाहायको सेवा गर्ने अवसर पनि हुन्छ । जस्ले गर्दा तीर्थयात्री पर्यटकहरूमा धर्म र करुणा बढाउछ । अस्तु !
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ जेष्ठ २५, आईतवार ११:०० गते
हजुरको प्रतिक्रिया