
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै ‘सुरक्षित वैदेशिक रोजगारीमा सञ्चारकर्मीको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । बेसीशहर नगपालिकाको सभाहलमा आयोजना भएको सुरक्षित वैदेशिक रोजगारी अर्थात आप्रवास (सामी) कार्यक्रम असार २ गते सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालयमा कार्यरत गण्डकी प्रदेशका कार्यक्रम अधिकृत शिव रेग्मीले एक कार्यपत्रमार्फत आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँले आव २०६४÷६५ देखि वैदेशिक रोजगारीको औपचारिक रेकर्ड राख्न थालिएको जानकारी दिनुभयो । उहाँले त्यस समयदेखि वर्तमानसम्मको तथ्यांकको संक्षिप्त जानकारी दिँदै सुरक्षित आप्रवासन कार्यक्रमको संरचना, कार्यविधि र उद्देश्यबारेमा आफ्नो प्रस्तुति गर्नु भएको थियो । उहाँका अनुसार नेपाली आप्रवासी श्रमिक र तिनका परिवारलाई सुरक्षात्मक ढंगले सशक्त बनाउँदै, सूचना, सीप, न्याय, वित्तीय साक्षरता र मनोसामाजिक सहयोग उपलब्ध गराउनु यस कार्यक्रमको मूल लक्ष्य हो । यसका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारको सहकार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
आव २०६४÷६५ देखि हालसम्म ८४ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । तीमध्ये गण्डकी प्रदेशबाट मात्रै ९४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । आव २०८०÷८१ मा मात्र वैदेशिक रोजगारबाट देशमा १४ खर्ब ४५ अर्ब ३२ करोड दुई लाख रूपैयाँभन्दा बढी विप्रेषण आएको थियो । यसले वैदेशिक रोजगारीको आर्थिक महत्व देखाउँछ, तर त्यससँगै त्यसक्रममा आउने सामाजिक, कानुनी र पारिवारिक चुनौतीहरूको व्यवस्थापन हुन अत्यावश्यक रहेको रेग्मीले बताउनु भएको थियो ।
सामी कार्यक्रम चार चरणमा सञ्चालनमा आएको छ । पहिलो चरण २०११ देखि २०१३ सम्म दुई जिल्लामा प्रारम्भ भएको थियो । दोस्रो चरणमा १८ जिल्लामा विस्तार गरियो । तेस्रो चरणमा कार्यक्रम ३८ जिल्ला र १५६ स्थानीय तहमा फैलिएको थियो । अहिले चौथो चरण अन्तर्गत यो कार्यक्रम ७७ जिल्ला र ७५३ स्थानीय तहमा कार्यान्वयन हुने गरी अगाडि बढाइएको रेग्मीले आफ्नो प्रस्तुतिमा जानकारी दिनुभयो । यो कार्यक्रममा सुरुका दिनदेखिनै स्वीस सरकारको सहयोग रहँदै आएकोछ । चौथो चरणमा स्वीस सरकार, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूको आर्थिक साझेदारीमा कार्यक्रम सञ्चालन हुँदैछ ।
गण्डकी प्रदेशमा अहिले कार्यक्रम ११ वटै जिल्लाका ४८ स्थानीय तहमा सञ्चालन भइरहेको छ । लमजुङ जिल्लामा चालु आवमा बेसीशहर, सुन्दरबजार र दोर्दीमा सामी कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आवमा राइनास, मध्यनेपाल, मर्स्याङ्दी, दुधपोखरी र क्व्होलासोथरसमेत आठ वटै पालिकामा कार्यक्रमको कार्यान्वयन गरिने भएको कार्यक्रम अधिकृत रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षमा थप २४ पालिकामा विस्तार गर्ने योजना रहेको छ । कार्यक्रम अन्तर्गत व्यक्तिगत सूचना तथा परामर्श सेवा, निःशुल्क कानुनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तालिम, सीप विकास तालिम र रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण जस्ता कार्यहरू सञ्चालनमा छन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि आवश्यक जानकारीको पहुँच पु¥याउने, सामाजिक सञ्जालमा नकारात्मक भन्दा सकारात्मक र प्रेरणादायी सामग्री प्रकाशनमा जोड दिने र पीडितका आवाजलाई उजागर गर्ने जस्ता विषयमा जोड दिन अनुरोध गरिएको थियो ।
कार्यक्रममा सूचना अभाव, प्रमाण अभिलेखनको कमजोरी, नयाँ स्वरूपका ठगी, तेस्रो पक्षको संलग्नता, कानुनी समस्याहरू र सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण प्रचारजस्ता चुनौतीहरूबारे पनि छलफल भएको थियो । वैदेशिक रोजगारीका क्षेत्रमा जनचेतना फैलाउन र आप्रवासी श्रमिकहरूलाई सुरक्षासहितको रोजगारीतर्फ उन्मुख गराउन सञ्चारकर्मीहरूको जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमको निष्कर्ष रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले कार्यक्रमबाट पीडितहरूको न्यायमा सहज पहुँच र सहजीकरणमा सहज हुने अनुभूति भएको छ । सबैले मिलेर काम गर्दा पीडितले छिटो न्याय पाउने सक्ने हुन्छ, त्यसैले मिलेर काम गर्नेतर्फ सबै लागौं भन्नुभयो ।
कार्यक्रममा वैदेशिक रोजगारको वर्तमान अवस्था, यससँग जोडिएका कानुनी, सामाजिक र मनोवैज्ञानिक पक्षहरूको समग्र समीक्षा गरिएको सहभागी सञ्चारकर्मीहरूले जानकारी दिएका छन् ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको संयोजन, बेसीशहर नगपालिकाको सहकार्य र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सो कार्यक्रम सञ्चालन भएको हो ।
प्रकाशित मिति २०८२ असार २, सोमबार २०:२७ गते