
काठमाडौँ– प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरू निलो रिबन गलामा पहिरिएर संसद् भवनमा छिरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएको रास्वपाले विरोध स्वरुप निलो रिबन पहिरिएर संसद्मा असार ३ गते पुगेका हुन् ।
मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीक मनिने हुँदा त्यस्तो पहिरन गरिएको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’को विरोध गराउनेछौ’ भन्नुभयो ।
यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए । उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै जेठ १२ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । तर सभामुखले जबरजस्ती संसद् बैठक चलाउँदै आएका छन् ।
त्यसो त रास्वपाको पार्टीको रङ पनि निलो नै हो । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय भेलामा ‘निलो क्रान्ति’को व्याख्या गर्नु भएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरूले निलो रिबन लगाएर संसद भवनमा गएका हुन् ।
प्रकाशित मिति २०८२ असार ३, मंगलवार १४:३२ गते