काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको तयारीमा जुटेको छ । तेस्रो स्थापना दिवसका लागि रास्वपाले ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने नारा असार ५ गते तय गरेको छ । रास्वपाको स्थापना दिवस असार ७ गते हो ।
तेस्रो स्थापना दिवस मनाउने सन्दर्भमा रास्वपाले समय सान्दर्भिक नारा तय गरेको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको सम्बर्धनका लागि सडक र संसदमा’ भन्ने नारा तय गरेको सो दलका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो । रास्वपाको केन्द्रले असार ७ गते बिहान ९ बजे पार्टीले यस्तो नारा, कार्यक्रमसहित तेस्रो स्थापना दिवस मनाउने तय भएको हो ।
पार्टी स्थापना दिवसकै दिन, असार ७ गते बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय (चःमति, वनस्थली) मा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय भएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । रास्वपाले महाधिवेशन सारेर फागुनमा पु¥याएको छ ।
रास्वपाले स्याङ्जाको आँधीखोलामा भइरहेको दोहन विरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरिएको घटनाको निन्दा गरेको छ ।
रास्वपाले भनेको छ, ‘पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते हुनुभएको घटनालाई पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ। सौम्य स्वरूपमा उठाइएका विरोधलाई समेत सत्ता पक्षबाट हिंसात्मक रूपमा दबाउने प्रवृत्तिको पार्टी घोर भत्र्सना गर्दछ । यस जघन्य घटनाले पार्टीलाई विचलित गर्न सक्दैन। पार्टी अझ दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदछ । घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नेछ । त्यस्तै, घाइते साथीहरूको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको जानकारी गराइन्छ ।’
सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिएको भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ ।
रास्वपाका अनसार पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको छ । पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए÷नभएको यकिन गर्न सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्यहरू रहनुभएको छ ।
यस्तै इजरायल– इरानबीचको बढ्दो द्वन्द्वबीच दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारसँग तुरुन्त पहल गर्न सरकारसँग रास्वपाले माग गरेको छ ।
प्रकाशित मिति २०८२ असार ५, बिहीबार २१:३८ गते