१६ हप्ते कृषक पाठशाला कार्यक्रमको समापन

१६ हप्ते कृषक पाठशाला कार्यक्रमको समापन

अपूर्वराज अधिकारी 

@Apurwaraj Adhikari

२०८२ असार ५ गते बिहिबार १०:३३

बेसीशहर– यहाँ स्थित सहजी तथा मिलिजुली आइ.पि.एम. (एकीकृत शत्रुजीव व्यवस्थापन) १६ हप्ते अर्थात चार महिनाको कृषक पाठशाला कार्यशालाको संयुक्त रूपमा समापन भएको छ । सो कार्यक्रम बेसीशहर नगरपालिका– ७, भलुवाटारमा असार ५ गते समापन भएको हो...

बेसीशहर– यहाँ स्थित सहजी तथा मिलिजुली आइ.पि.एम. (एकीकृत शत्रुजीव व्यवस्थापन) १६ हप्ते अर्थात चार महिनाको कृषक पाठशाला कार्यशालाको संयुक्त रूपमा समापन भएको छ । सो कार्यक्रम बेसीशहर नगरपालिका– ७, भलुवाटारमा असार ५ गते समापन भएको हो ।
समन्वय समिति लमजुङको उपप्रमुख बुना कुमारी रिमालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको समापन भएको हो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङको उपप्रमुख बुनाकुमारी रिमालले विषादीयुक्त बाली उत्पादन बढी हुने गरेकोमा यस्ता कार्यक्रम गरी विषादीमुक्त बाली उत्पादनको प्रयास सराहनीय रहेको उल्लेख गर्नु भयो । उहाँले परम्परागत निर्वाहमुखी कृषि खेती भइरहेको अवस्थामा जीवनस्तर बढाउन र राज्यको आर्थिक स्थितिमा सुधार ल्याउन तथा कृषकहरू व्यवसायिक बन्न पनि यस्ता कृषि पाठशालाले मद्दत गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले कृषि क्षेत्रमा धेरै लगानी गरेको र यस कार्यक्रममा तपाईंले सिक्नु भएको सीपले महत्वपूर्ण भुमिका खेल्ने छ, प्राप्त सीपको उपयोग गर्नु होला ।’
कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले आफू पनि कृषि पृष्ठभूमिमै रहेको बताउँदै यस्तो कार्यक्रमले कृषकलाई विषादीमुक्त उत्पादनतर्फ उत्प्रेरित गर्ने र नयाँ प्रविधि सिकाउने बताउनु भएको थियो । उहाँले कृषक पाठशालाको इतिहास २०५३ सालदेखिनै आफू परिचित भएको बताउनु भयो । उहाँले कसरी बालीलाई विषादी मुक्त बनाउने र कृषकलाई कृषि प्राविधिक बनाउनका लागि कृषक पाठशालाले महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।
सहजी पाठशालाकी अध्यक्ष धनकुमारी थापाले समापन कार्यक्रममा स्वागत गर्नुभएको कार्यक्रमका नमिता थापा र लक्ष्मी थापाले ‘स्वागतम स्वागतम हाम्रो निम्तो स्वीकारेर आउनेलाई’ भन्ने बोलको स्वागत गीतबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा दुबै समूहले आफ्ना सिकाइका अनुभवहरू प्रतिवेदनमार्फत प्रस्तुत गरिएको थियो । सहजी कृषक पाठशाला समूहको प्रतिवेदन नमिता थापाले प्रस्तुत गर्नुभएको थियो भने मिलिजुली कृषक पाठशाला समूहको प्रतिवेदन सुमित्रा पौडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँहरू दुवैले पहिलो दिनदेखि सोह्रै हप्ताको प्रगति विवरणको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा विषादी प्रयोग गर्न नहुने र प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने सन्देश सहितको सडक नाटक समेत प्रदर्शन गरिएको थियो । सो नाटकमा धामीझाँक्री प्रथासहित विषादीको असरबारे सचेतनामूलक सन्देश दिने अभिनय प्रस्तुत गरिएको थियो ।
सो सडक नाटकमा नमिता थापा, निर्मला थापा, लक्ष्मी थापा, जुना सुनार, पार्वती थापा र विमला विकले भाग लिनु भएको थियो । सो अवसरमा लक्ष्मी थापाले घरेलु मल, तितेपातीजस्ता बनस्पतिबाट झोल मल तयार गरी सखाप भएको बाली पुनर्जीवित गर्न सफल भएको जानकारी दिनुभएको थियो ।
कार्यक्रमका सार्थै मिलिजुली कृषक पाठशालाकी अध्यक्ष रिता पौडेलले परम्परागत कृषि प्रणालीबाट आधुनिक प्रविधितर्फ रुपान्तरणको आवश्यकता औँल्याउँदै सिकाई प्रयोग गरी स्वस्थ्य बाली उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले नियमित रूपमा बालीको अवलोकन तथा व्यवस्थापन गरेमा उत्पादन राम्रो हुने जानकारी दिदै आफूले विषादीलाई पनि औषधि भन्दै आएको र विष विष नै भएको त्यो कहिल्यै १९ र २० नहुने रहेछ भन्ने समेत कार्यशालामा सिक्ने अवसर पाएको जानकारी दिनु भयो ।

चार महिने पाठशालाको समापन कार्यक्रममा दुई समूहका गरी ५० जना महिलाहरू सहभागी थिए, जसमा दुई समूहमा २५–२५ जनाले भाग लिएको सो कार्यशालाका प्रशिक्षक कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार सो पाठशालामा ७२ वर्षीया कृष्णकुमारी थापाले समेत भाग लिनु भएको थियो ।
उक्त कार्यक्रम कृषि ज्ञान केन्द्र लमजुङ र बाली संरक्षण प्रयोगशाला, पोखरा कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो । सो कार्यशालाका प्रशिक्षकद्वय कान्ता घिमिरे र गंगा अधिकारी हुनुहुन्थ्यो । सो कार्यशालामा कम्तिमा चार घण्टा अनुसार सात घण्टासम्म आफू खट्ने गरेको उहाँहरूको भनाइ थियो । उहाँहरूका अनुसार सो कार्यशालामा करेला, घिरौला, भेण्टा, फर्सी, खुर्सानी, काँक्रो, खुर्सानी आदि उत्पादन गरिएको थियो ।                                                                                                                                                            आई.पि.एमको चार सिद्धान्त स्वास्थ्य वाली उत्पादन, नियमित बालीको अवलोकन, मित्रु जीवको संरक्षण सत्रु जीवको व्यवस्थापन र कृषक स्वयं दक्ष बन्ने रहेको प्रशिक्षक अधिकारीले बताउनु भयो ।                                                                                                              मिलिजुली आइ.पि.एम. कृषक पाठशालाको अध्यक्ष रिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहजी आइ.पि.एम. कृषक पाठशालाकी सहभागी सदस्य सुमित्रा थापा भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ असार ५, बिहीबार २२:३३ गते
हजुरको प्रतिक्रिया