भोर्लेटार(लमजुङ)– लमजुङमा कुनै दिन जंंगलका न्यूरो, सिस्नो, तरुल, गीठा, भ्याकुर लगायतका कन्दमुल खाएर दिन गुजारा गर्नु हुने छलीमाया दुरा ऐले करोडपति बन्ने दौडमा हुनुहुन्छ । उहाँ यतिबेला मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित केन्द्रटी गाउँमा बसोबास गर्नु हुन्छ । छलीमाया नमूना किसान बनेर व्यवसायिक खेतीको काम गर्न थाले पछि उहाँको करोडपति बन्ने दौड सुरु भएको हो । उहाँ यतिबेला केन्द्रटी गाउँमा रहेको दुरा कृषि तथा पशु फर्मको प्रोपाइटरका साथ नमूना किसानको रुपमा सक्रिय हुनुहुन्छ ।
उहाँको जन्म थालो सोही नगरपालिका– ७, तत्कालीन ईशानेश्वर गाविस– १ को पैह्रावन गाउँमा हो भने उहाँको मागी विवाह सोही नगरपालिका– १० तत्कालीन नेटा गाविस– १ को बर्धन गाउँमा भएको हो । २०५८ सालमा विवाह भएकी उहाँले तीन वर्षसम्म नराम्रोसँग बुहार्तन खेपेर सहन गर्न सक्ने स्थिति बनेपछि २०६० सालको वडादशैंमा टिका आउन तीन दिन बाँकी छदा घरबाट विद्रोह गरी रित्तै निस्केको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘घरबाट निस्कदा श्रीमान्का साथमा आफ्नो र श्रीमान्का लगाउने कपडा बाहेक घरको सिन्को पनि नलिई निस्केर हिडेकी थिएँ ।’
घरबाट निस्केपछि पहिलो एक वर्ष सोही पालिका– ७ को स्याउली बजारमा बसेर धान खेती अधिया कमाई गरेको, २ वर्ष श्रीमान् विदेश गएको बेलामा माइतीमा बसेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार नौ वर्ष सोही पालिकाको कुलाको मुहानमा बसेर अधिया खेती गरी गुजारा गरेको, त्यो बीचमा कुखुरा पालन, माछा मार्ने र बेच्ने, खुतुर्काे बचत गरेर, २,४ पैसा हुनासाथ सुन जोड्ने गरेर साढे दुई लाख रुपैयाँ जम्मा गरी ऐले बसेको ठाउँमा घडेरी एक रोपनी दुई आना जोड्न सफल भएको जानकारी दिनु् भयो । आफूले किनेको बेलामा सो ठाउँमा लज्जावती झार, टाप्रे, वनमारा, अरेली काँडाको जंगल थियो त्यो जंगल भित्र पस्न पनि डर थियो । डोजर लगाएर खारेर आफूले घडेरीको रुपमा विकसित गरेको उहाँले उल्लेख गर्नुभयो । दुःखका ती सम्झदै छलीमायाले भन्नुहुन्छ, ‘१६ पटक किनेको सुन जोड्दा बल्ल एक तोला पुगेको थियो ।’
घडेरीका रुपमा किनेको सो स्थानमा ऐले नौ रोपनी जग्गा भाडामासमेत लिएर छलीमायााले तरकारी खेती, केरा खेती, पशुपालनका लागि भूइँ तथा डालेघाँस नेपियर, बकाइनो, किम्बु, बडहर, काउरो, अम्रिसो लगायत फलफूल खेतीका साथमा मौरी पालन गरी आउनु भएको छ । उहाँले भन्नुभयो, ‘मौरीबाट कमाई नभएको वर्षमा पनि ६० हजार हुन्छ भने राम्रो भएको वर्षमा चार लाखसम्म आम्दानी भएको सम्झना छ ।’ कुनै दिन दुई सय बढी लोकल कुखुरा पालेर चर्चामा रहेकी उहाँले केरा खेतीबाट पनि राम्रो आम्दानी गर्न सकेको जानकारी दिनुभयो । चार रोपनीमा केरा खेती गरेको उहाँ बताउनुु हुन्छ ।
त्यसैगरी, मौसमी र बेमौसमी तरकारीबाट पनि राम्रो आम्दानी हुने गरेको उहाँको अनुभव छ । रातोमाटो भएको ठाउँमा तरकारी, केरा लगायतको यति राम्रो खेती कसरी सम्भव भएको हो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘एक मिटरदेखि पाँच फिटसम्म गहिरो खाडल खनेर त्यसमा मल, स्याउला, केराको स्ुप्ला र मलिलो माटो भरेर तरकारीको विरुवा रोप्ने गरेकी छु, चिचिण्डा म भरीको फल्छ भने घिरौंला पनि निकै सप्रिएको छ ।’ करेला तीनवटाले एक किलो सहजै पुग्छ छलीमायाले जानकारी दिनुभयो । सप्रेको एउटै करेला आठसय ग्रामसम्मको भएको थियो उहाँले स्मरण गर्नुभयो ।
उहाँले आफूले उत्पादन गरेका वस्तुहरू सबै होलसेल मूल्यमा घरबाटै बिक्री हुने गरेको हुँदा बजारको समस्या नरहेको जानकारी दिनु भयो । उहाँले झापाली मनभोग, चिनी, फुस्रे, जि– ९, घिउ केरा लगायतका जातका केरा प्रति दर्जन एक सय रुपैयाँमा दिने गरेको, दर्जन दिदा पनि २, ३ कोसा थप दिने र बजारको मूल्यभन्दा कम गरेर दिएको हुँदा घरमा किन्ने मानिसको घुइँचो लाग्छ, चाडबाडको बेलामा त माग धान्नै सकिन्न उहाँले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘यो केराको बजारमा मूल्य प्रति दर्जन १५० देखि १८० रुपैयाँसम्म छ तर मैले एक सयमै दर्जन दिने गरेकी छु ।’
उहाँले धान खेतीसमेत गर्नु भएको छ । धानमा पनि अनदी उहाँको मुख्य उत्पादन हो, जो प्रति मुरी छ हजार रुपैयाँका दरले बिक्री हुँदै आएको, अब ५– ६ मुरी बिक्रीका लागि बाँकी होला उहाँले बताउनु भयो । ऐले त आफ्नै घरमा कुटानी पिसानी मिल समेत सञ्चालनमा आएको हुँदा ग्राहकको चाहना अनुसार धान वा चामल जे भन्यो त्यही दिन सक्ने भएकी छु छलीमाया सगर्व बताउनु हुन्छ ।
यस्तो काम गर्ने प्रेरणा के कसरी प्राप्त भयो ? भन्ने जिज्ञासामा उहाँले भनिन्, ‘म सानैदेखि समाजसेवामा रुचि राख्थे, मन्त्री बनेर सेवाका काम गरेर नाम कमाउने चाहना थियो, महिला सशक्तिकरण हुनुपर्छ भन्ने पक्षमा थिएँ, दुःख पाएका दिदी बहिनीहरूको पक्षमा आवाज उठाई रहन्थेँ । मैले बोलेको सुनेपछि कतिले ‘यो त दुराको छोरीनै हैन’ पनि भने ।’ तर म डराइन अन्याय गरेको भए सजाय भोग्न तयार छु, मैले बोलेको ठीक छ भने काम किन हुँदैन ? भन्ने जनप्रतिनिधिहरूसँग पनि छलफल भइरहन्थ्यो, त्यसैले गाउँ क्षेत्रमा विभिन्न तालिम आउँदा मलाई सम्झन थाले, तालिममा गएर नै धेरै कुरा सिक्ने मौका पाएकी हुँ, त्यो सीपले आफूलाई यो ठाउँमा ल्याएको हो छलीमायाले जानकारी दिनुभयो । तरकारीमा मिटर बोडी, मालेपाटन– १, चौमासे सिमी, कात्तिके बोडी(कालो, खैरो), बोसेबोडी जातका बोडी समेत लगाउनु भएको छ । उहाँले लगाएका केरा तगा फलफूलका अधिकांश बोटविरुवा हुर्कदै गरेको समेत उहाँले देखाउनु भयो । उहाँले काँक्रो पनि लाउनु भएको छ, यो वर्ष त्यतिराम्रो भएन १०– १२ हजारको मात्र विक्रीभयो होला उहाँले सुनाउनु भयो । यसैगरी, अकबरे खुर्सानीको समेत व्यवसायिक खेती गर्नु भएको छ । उहाँले अकबरे खुर्सानीको विरुवासमेत विक्री गर्ने गर्नु भएको रहेछ । बकाइनो आदिको विरुवा पनि हुर्काएर बिक्री हुन्छ ।
उहाँका श्रीमान् हस्तबहादुर दुरा १२ वर्षसम्म वैदेशिक रोजगारमा गएको भएपनि उहाँको आफ्नो कमाई आफैलाई ठिक्क भयो, जाँदा लागेको ऋण मासिक चार रुपैयाँका दरले व्याज तिर्ने, सावा तिर्ने गर्दा ठीक भयो । ऐले भने उहाँले सँगै बसेर खेतीपातीमा सहयोग गरिआउनु भएको छ । तीन छोराछोरीलाई लालनपालन, पठाई, लेखाई लगायतका काम आफ्नो एकल कमाईले नै सम्भव भएको छलीमायाले सगर्व सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘विवाह गरेको पहिलो तीन वर्ष निकै दुःख बेहोर गरेर घरमा बसेँ, छ महिना त जंगलका तरुल, सिस्नो, कर्कलो, गीठा, भ्याकुर, न्यूरो आदि खाएर गुजारा गरेँ, जंगली पिडालुले कोक्याएर सताउँथ्यो ।’ विहान उठेर काममा गयो, आउँदा १२ बजेको हुन्थ्यो, त्यो बेलासम्म पनि घरमा आउँदा भैंसी दुहेको हुन्नथ्यो, फेरि रुखमा गएर घाँस झारेर ल्याएर भैंसी दुहुने काम गर्थे तर बुहारीलाई दुध खान दिन हुन्न भन्ने चलन थियो, खान दिइन्नथ्यो । त्यस्तो सब बुहार्तन सहन गर्न नसक्ने भएपछि २०६० सालको बडादशैंमा घरबाट विद्रोह गरी, घरको सियो समेत नलिई निस्केर हिडेर आज यतिको गरेकी हुँ गर्वका साथ छलीमायाले सुनाउनु भयो । दुःखका ती दिन सम्झदै छलीमाया भन्नुहुन्छ, ‘आफूले राखेको खुतुर्के फोर्ने र टाल्ने गरी एउटैलाई १६ पटकसम्म प्रयोग गरेँ, अर्को किनिन ।’
जीवनलाई परिस्कृत गर्ने क्रममा उहाँले प्लम्बर तालिमदेखि विभिन्न तहका मौरीपालन तालिम, तरकारी खेती तालिम, नमूना किसान तालिम, सामुदायिक वनको महिलाहरूको सीप अभिवृद्धि जस्ता विविध तालिम एक दिनेदेखि १० दिनेसम्म लिएर सिकेको सीपको उपयोग गरी आजको हैसियत प्राप्त भएको छलीमायाले जानकारी दिनुभयो । उहाँले परीक्षणका लागि मौरी पालन र तरकारी खेती गर्न थालेको १५÷१६ बितिसकेको छ भने व्यवसायिक रुपमा दुरा कृषि तथा पशु फर्म दर्ता गरेर सो खेतीको थालनी गरेको भने पाँच वर्ष भएको छ । उहाँले भन्नुभयो, ‘यो फर्म २०७८ सालको बैशाखमा आफ्नै नाउँमा दर्ता गरेकी हुँ ।’ फर्म दर्ता भएपछि उहाँले फर्म सञ्चालनका लागि केही अनुदान पनि पाएको बताउनु भयो, त्यो अनुदानले पनि आफूलाई यो क्षेत्रमा सक्रियपूर्वक लाग्न उत्प्रेरित गरेको उहाँको भनाइ छ ।
आफै अभावको जिन्दगी जिएर पनि छलीमाया समाजसेवाका काममा हुरुक्क हुने गर्नु हुन्छ । उहाँले आफू हुर्कदै गर्दा १३ वर्षदेखि २० वर्षको अवधिमा गाउन बजाउन सिक्ने उमेर हो तर आफ्नो त्यो उमेरमा सशस्त्र द्वन्द्व चर्केको र दिउँसो चार बजेदेखिनै कर्फु लाग्थ्यो, त्यसैले पनि त्यो सीप र कला सिक्न नपाएकोमा पछुतो छ छलीमायाले बताउनु हुन्छ । उहाँले आफू ठाडोभाकाका सर्जक देउबहादुर दुराको ठाहिली नातिनी बुहारी भएको जानकारी दिदै ससुरा बाजेको सम्झनामा पुरस्कार सञ्चालन गर्नका लागि अक्षयकोषका लागि एक लाख एक सय पाँच रुपैयाँ ठाडोभाका लोककला प्रतिष्ठानलाई हालै उपलब्ध गराएको समेत सगर्व सुनाउनु भयो ।
हरेक वर्ष शिवरात्रीको अवसरमा ईशानेश्वर मन्दिर परिसरमा लाग्ने मेलामा हुने कृषि मेला प्रदर्शनीमा छलीमायाले उत्पादन गरेका तारकारी तथा फलफूलहरूले हरेक वर्ष सान्त्वना भने पनि पुरस्कार पाएकै हुन्छन् । त्यस्ता प्रदर्शनीमा प्रायः तेस्रो स्थान हासिल गर्दै आएको उहाँले पाएका प्रमाणपत्रहरू समेत देखाउँदै भन्नुभयो ।
उहाँकोमा यतिबेला मौरीका १८ घारमात्र रहेछन् भने १५ वटा मौरी सहितका घार यो वर्ष विक्री गरिसकेको जानकारी दिनुभयो । उहाँलाई तालिम र पालको अनुभवले मौरीका बारेमा रौं– रौं थाहा भइसकेको छ । रानी मौरी, भाले मौरी, मौरीको जात, मह के कस्तो अवस्थामा बन्छ । मौरीले अर्को रानीको उत्पादन के कसरी कुन बेलामा गर्छ आदि सबै कण्ठस्थ छ । मह प्रतिमाना एक हजार रुपैयाँ, मौरी सहितको घारको १० हजार रुपैयाँमा विक्री हुन्छ उहाँले भन्नुभयो । कहिलेकाही स्थानीय तहहरूले किसानलाई ५० प्रतिशत छुटमा उपलब्ध गराउने गरेका छन् उहाँले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘नमूना कृषक तालिमको बेलामा आफ्नो परिवारका लागि पनि कम्तिमा दुई फलफूलका विरुवा आफ्नो घर छेउमा हुर्काउनु पर्छ भन्ने प्रशिक्षकहरूले दिएको निर्देशनलाई पालना गरी आफूले जोडी फलफूलका विरुवा लगाएको हुँ, ती फलफूलका विरुवा प्रायः दुई वर्षका भएका छन् ।’ त्यस्ता फलफूलको संख्या २७ प्रकारका रहेको उहाँले जानकारी दिनुभयो । ती हुन् केरा, एभोकाडो(घिउफल), मेवा, अम्बा, सुन्तला, ड्रागन, सिनकौली(तेजपात), कागती, वन नास्पती, निबुवा, मधु बिमिरो, उखु, किम्बु, राई खनायो, केरा आदि । अनार, लिचीले उत्पादन दिन थालेको उहाँले जानकारी दिनुभयो ।
दुःखका ती दिन सम्झदै उहाँले पुनः भन्नुभयो, ‘ठूलो छोरा जन्मेको बेलामा एघार दिनको सुत्केरी थिएँ, काममा गएँ, छोरालाई सुताएर काममा लागेको त कालोकमिलाले टोकेर छोरा झण्डै सिद्धिएको थियो ।’ त्यस्तै, छोरालाई ढाडमा बोकेर चार खलियो सालका दाउरा ७ दिनमा चिरेको दिन पनि हिजै हो जस्तो लाग्छ छलीमायाले सुनाउनुभयो ।
छलीमायाले बयरजातका बाख्रा पनि पाल्नु भएको छ भने दूध खानका लागि एउटा गाई पनि पालेको देखाउनु भयो । यस प्रकार गरेको आम्दानीबाट परिवारको दैनिक गुजारा गर्नुका साथै छोरीलाई पोखराको पिएन क्याम्पसमा डिप्लोमा, जेठो छोराले यो वर्ष एसईई दिई नतिजाको पर्खाईमा छन् भने कान्छो छोरा स्थानीय ईशानेश्वर माविमा कक्षा– १२ अध्ययन गरिरहेका छन् उहाँले जानकारी दिनुभयो । उहाँले दूध खानका लागि जर्सी गाई समेत पाल्नु भयो ।
परिवार र जीवन शैली साधारण भएता पनि छलीमायाको विचार र व्यवहार उच्च रहेको बुझ्न कठिन हुँदैन । आफूले गरेका नमूना खेतीको अध्ययन, अनुगमनमा विभिन्न जिल्लाबाट आमा समूहहरू तथा कृषकहरूको टोली समेत आउन थालेका छन् । त्यो बेलामा गौरवको अनुभूति हुन्छ उहाँले उल्लेख गर्नुभयो ।
मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित केन्द्रटी गाउँमा छलीमायाले सञ्चालन गरेको दुरा कृषि तथा पशु फर्मसम्म पुग्नका यातायातको राम्रो सुविधा अर्थात पक्की (कालोपत्रे) सडक छ । मध्यपहाडी लोकमार्गको लमजुङ खण्डको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार खण्डमा पर्ने सो फर्म लमजुङको सदरमुकाम बेसीशहर, पोखरा तथा तनहुँको सदरमुकाम दमौलीदेखि सरदर समान ३१ किमिको दुरीमा पर्दछ ।
प्रकाशित मिति २०८२ असार १०, मंगलवार ०७:२४ गते