
भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार बगैंचामा प्रथम खुला पुरूष भेटरान फुटबल प्रतियोगिता जारी रहेको छ । सो प्रतियोगितामा चार टिम सेमी फाइनलमा प्रवेश गरेका छन् । सेमी फाइनल खेल असार १० गते भरखरै सुरु भएको छ ।
राइनास नगरपालिका– ११, साँधी खोला भेटरान दोर्दी, लमजुङ दरबार फुटबल क्लब र लमजुङ भेटरान ह्वाइट सेमीफाइनलामा प्रवेश गरेको आयोजक भोटेओडार भेटरान खेलकुद आयोजक समितिका अध्यक्ष मानकृष्ण आचार्यले बताउनुभययो । उहाँका अनुसार राइनास नगरपालिका– ११ ले सामना युवा क्लब तुरतुरे तनहुँलाई ३– ० गोल अन्तरले हराएको हो ।
त्यस्तै, साँधी खोला भेटरान दोर्दीले लमजुङ भेटरान भोटेओडारलाई ३– १ गोल अन्तरले हराउँदै विजयी भएको हो भने लमजुङ दरबार फुटबल क्लब लमजुङ भेटरान भोटेओडार– टुलाई २– ० गोल अन्तरले हराउँदै अघि बढेको हो । यसैगरी, लमजुङ भेटरान भोटेओडार ह्वाइटले लमजुङ भेटरान भोटेओडार ए लाई ३– १ गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
सुन्दरबजार नगरपालिका– ९ बगैंचा स्थित खेल मैदानमा जारी प्रतियोगितामा विभिन्न स्थानका १५ टिमले भाग लिएका छन् ।
प्रतियोगितामा विजेता हुने पहिलो टिमलाई ५५ हजार पाँच सय ५५ रूपैंया सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाइ छ । त्यस्तै, उपविजेताले ३३ हजार तीन सय ३३ नगद सहित कप मेडल र प्रमाण पत्र प्रदान गर्ने प्रवन्ध गरिएको आयोजक संस्थाका सचिव नरेन्द्र थापाले जानकारी दिनु भयो । उहाँका अनुसार उत्कृष्ट खेलाडीलाई नगद दुइ हजार दुई सय २२ रूपैंया प्रदान गरिने छ ।
सो प्रतियोगिताको एक कार्यक्रम बिच सुन्दरबजार नगरपालिका– ९, का वडा अध्यक्ष मनराज गुरूङले उद्घाटन गर्नु भएको हो । आयोजक समितिका अध्यक्ष मानकृष्ण आचार्यको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा स्थानीय क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सहकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ असार १०, मंगलवार १६:०४ गते