पर्यटकहरूको यात्रामा मनोरञ्जन मात्र नभएर धेरैको धार्मिक, सांस्कृतिक प्राकृतिक, जैविक बिविधता लगायत अध्ययन, अनुसन्धान गर्ने उद्देश्य समेत हुन्छ । पर्यटकहरूले यात्रामा आफू पुगेको ठाउँको संस्कृति, इतिहास प्रकृति र जनजीवनका क्षेत्रमा समेत अनुभव लिन सक्दछन । अर्कोतर्फ पर्यटनमा नयाँ अनुभूति र ज्ञानको यात्रा समेत हुन्छ । गोरखा पर्यटनको लागि छुट्टै महत्व भएको भूगोल हो । तिब्बतसंग सीमा भएको हिमाल पारीको सामा गाउँ र चुमलुव्रीदेखि लिएर चितवन जिल्लासंग जोडिएको गोरखाको भूगोल मर्स्याङदी, दरौदी र बुढीगण्डकी किनारमा दर्जनौं ठूला टारहरू रहेका छन् ।
पर्यटनको क्षेत्रमा ऐतिहासिक भुरे–टाकुरे राजाहरूको शासनदेखि शाहवंशको सुरुआत भएको जिल्ला पनि हो गोरखा । गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा गोरखामा रहेका छन । मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा छन । गोरखामा कालताल अर्थात कल्छुमान ताल, वीरेन्द्र ताल, निसराङ ताल, चुवु ताल, दूधपोखरी, नारद पोखरी, नागे पोखरी, निम्चे आदि पोखरीहरू उत्तरी भेगमा पर्दछन भने मनास्लु, श्रृङ्गी, गणेश, हिमाल चुली र बौध्द हिमाल पर्दछन । गोरखामा लिगलिगकोट बाहेक अन्य साना–ठूला गरी ३६ वटा कोटहरू छन । सबैभन्दा बढी अग्लो कोट अजिरकोट हंसपुरमा पर्दछ । गोरखाका अन्य रमणीय अन्य कोटहरूमा मिरकोट, धुवाकोट, लकाङ्कोट, ताकुकोट, श्रीनाथकोट, वुङकोट जस्ता ऐतिहासिक कोटहरू पर्दछन । तर पनि पश्चिम गोरखाको लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । किनकी लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको सुरुआत भएको ठाउँसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । लिगलिगकोटबाट मनास्लु हिमालको दृष्य अवलोकन र गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल पनि देख्न सकिन्छ ।
पर्यटन भनेकै नदेखेको ठाउँ, नदेखे पनि पढदा अथवा कसैले ठाउँको बारेमा सुनाउँदा कतिपय मानिसहरूलाई पुग्न पाए हुन्थो भनेझैं लाग्छ । घुम्नको लागि गोरखा जाँदा पर्यटकहरूले सबै ठाउँ एकै पटकको यात्रामा गर्न नसकिने हुन्छ । प्रायः घुम्नको लागि धेरै पर्यटकहरूले छोटो समय निकालेका हुन्छन । त्यसैले गोरखामा घुम्न जादा पर्यटकहरूले आफ्नो यात्रा गर्ने समय र ठाउँहरूको छनौट गर्दा यात्राको उपलब्धि धेरै हुन्छ । गोरखाको वारपाक धेरै पर्यटकहरूका लागि नौलो नाम भने होइन । भूकम्प जानुभन्दा अगाडि वारपाक गएको कुनै पर्यटक आजभोलि बारपाक गाउँमा पुग्यो भने एक्कैछिन अलमल पर्दछ । विनाशकारी भूकम्प गएको अहिले १० बर्ष भएको छ । भूकम्पले भौतिक तथा मानवीय क्षति अत्यधिक भएको वारपाक गाउँमा अहिले सडकको पहुँचसँगै आधुनिक शैलीका घर पुनःनिर्माण भएका छन । बारपाक गाउँको पुरानो पहिचान गुमाएको छ । पर्यटकहरु गाउँमा पुग्दा वारपाक हो की हैन ? उ आफैमा द्विविधा पर्दछ । उसले देखेको वारपाक गाउँ ढुंगाले छाएका एकनासका घर, ढुंगा नै बिछाएको बाटो र आँगन मात्र होइन वारपाक गाउँका गल्लीहरू पनि ढुंगा छापिएको पुरानो दृष्य भने बारपाकमा आजभोलि देख्न पाइदैन । वारपाकमा पहिलाको संरचना छैनन् । अहिले बारपाकमा परमपरागत बनेका मौलिक घरहरू छैनन् । परम्परागत शैलीमा निर्माण भएका घरहरुको सट्टा अहिले बारपाकमा भूकम्प प्रतिरोधात्मक घर बनेका छन् । उनीहरूले ऋण धन गरेर भए पनि आधुनिक सुविधा सम्पन्न घर निर्माण गरेका छन । नयाँ घरहरूले भरिएको बारपाकको रुप फेरिए पनि मौलिकता हराएको छ । बारपाकमा पहिले साँगुरो गल्ली थियो, अहिले चोकचोकसम्म मोटर मार्ग भएको छ । अहिले सिमेन्टेड रङ्गीचङ्गी घर बनेका छन् । पहिलेको ढुंगाकै गाह्रो, ढुंगाकै छानोले बनेका घर बारपाकमा देखिन छाडेको छ । भूकम्प जाँदा सबै घर भत्किए तर आरसीसी गरेर बनाइएको घर भत्केनन् । त्यसैले अहिले धेरैले आरसीसी घर बनाएका छन । अहिले बारपाक अनेकौं रङको जस्ताको छानाले रंगीबिरंगी भएको छ । बेलायत, हङकङ, काठमाडौं बस्ने बारपाकका जनताले धेरै लगानी गरेर गाउँमा ठूला आरसीसी भवन बनाएका छन । तर प्रायः ठूला घरका मान्छे गाउँमा बस्दैननन । होलिडे होमका रुपमा घर बनाएर छोडेका छन् ।
बौद्ध हिमालको काखमा रहेको सुन्दर गाउँको नाम हो बारपाक । घले र गुरुङ जातिहरूको पहिचान, रुविनाला, बौद्ध हिमाल, नारदपोखरी, लार्केको अवलोकन गर्दै हिँडने मनास्लु पदयात्राको बाटोमा पर्दछ बारपाक । भूकम्पपछि बारपाकले पुरानो पहिचान गुमाइसकेको छ । आजभोलि पर्यटकहरूले पहिलेको जस्तो सुन्दर दृश्य र मौलिकताको अनुभव भने गर्न सक्दैनन । पुरानो बारपाक अहिले नयाँ बारपाक भएको छ । बारपाक गाउँमा सडक मार्ग पुगेको छ । दैनिक नयाँ–नयाँ ठाउँबाट पर्यटकहरू पुग्दछन । खान बस्नको लागि बारपाकमा कुनै असुबिधा छैन । गाउँमा होमस्टे मात्र नभएर सुबिधा युक्त होटलहरू सञ्चालन छ । बारपाकमा पुगेपछि पर्यटकहरू बुद्धपार्क, मनीडाँडा, चौतारा ढुङ्गेधारा र गाउँ हेर्न आतुर हुन्छन । बारपाकमा ०७२ को भूकम्पले १ हजार ४ सय भन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । भूकम्पपछि वारपाक गाउँको कोटडांँडा, मान्द्रे गाँउ र अल्छी डांडाका घरहरुको जग कहाँ थियो पत्ता लगाउनै गारो भयो । भूकम्पबाट ७२ जनाको मृत्यु भएको थियो । भूकम्पपछि घर पुनःनिर्माण गर्दा सरकारले बनाएको मापदण्ड अनुसार बारपाक गाउँको मौलिकता गुमेको मात्र छैन गाउँको स्वरुप फेरिएको छ ।
बारपाक प्राकृतिक सुन्दरताले भरिएको गाउँ हो । बारपाकमा गाउँमा पर्यटनका लागि धेरै ऐतिहासिक सम्पदाहरू छन् । वारपाक गाउँ विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ पनि हो । वारपाक द्वितीय विश्व युद्धमा जापानसंग ब्रिटीसको पक्षमा विरताको पराक्रम देखाएका भी.सी. गजे घलेको जन्मथलो हो । भी.सी. गजे घले बर्माको एउटा डाँडामा सत्रुपक्ष अर्थात जापानीजसँग आफ्ना सबै साथी मारिंदा पनि एक्लै लडेर जापानलाई परास्त गर्न सफल भएका थिए । बारपाकमा दोस्रो विश्व युद्वमा चमत्कारपूर्ण युद्वकला देखाएर परमबीरचक्रम तथा महावीरचक्र अर्थात भिक्टोरियाक्रस पदक जित्न सफल गोरखाका ४ वीर पुरुषहरूको सम्झनामा संग्रहालय निर्माण भएको छ । विश्व युद्वमा विश्वलाई चकित पारेर लडेका बारपाकका भीसी गजे घले, मुच्चोकका भानुभक्त गुरुङ, गुम्दाका थमन गुरुङ, मनकामनाका लक्षिमान गुरुङले लगाउने पोशाक, उनीहरूको विषयमा लेखिएका पुस्तकहरू, उनीहरूसँग सम्बन्धित अन्य सामग्रीहरू संग्रहालयमा राखिएको छ । संग्रहालयमा बारपाक गाउँमा परापूर्व कालमा प्रयोग हुने प्राचीन महत्वका बस्तुहरू, घले, गुरुङका पोशाकहरू, चोयाबाट बनेका, काठबाट बनेका, माटोबाट बनेका सामग्रीहरू, पञ्चैबाजा समेत राखिएको छ । गुरुङ र घले समुदायको घना बस्ती रहेको बारपाकमा पुर्खाहरूले प्रयोग गरेको र अहिले लोप हुन लागेका परम्परागत सामग्री संकलन गरी संग्रहालयमा राखिएको छ । संग्रहालयलमा गजे घलेको घरमा भेटिएको बन्दुक सैनिक पदमा कार्यरत रहँदा घलेले प्रयोग गरेको सुट र अन्य सामग्रीहरू पनि छ । वर्षौ पूराना सामग्री संकलन गरेर संग्रहालयमा राखिएको छ । संग्रहालय अवलोकन गर्न पुगेका पर्यटकले बारपाकको स्थानीय पहिचान झल्काउने डकुमेन्ट्री पनि हेर्न सक्दछन ।
वारपाकका धेरैजसो युवाहरू ब्रिटिश र भारतीय सेनामा छन् । वारपाकका बासिन्दाहरू लण्डन, हङकङ, भारत, काठमाडौं, गोरखा र नारायणघाट बसाई सरेता पनि चाडपर्व र कुलपुजा आदिमा गाउँ फर्कने र गाउँलाई जीवन्त राख्ने गर्दछन् । बारपाक गाउँमा बौद्ध धर्मावलम्वी धेरै छन् । चाडपर्वहरू मनाउन वारपाकवासी देश बाहिर रहेकाहरू पनि गाउँ फर्कने गर्दछन् । वारपाकमा गाउँमा वैशाख पूर्णिमा, साउने सक्रान्ती, पौष पन्ध्रको पर्व मनाउने गर्दछन भने दशैं, तिहारलाई कम औपचारिकता दिने गर्दछन् । वाररपाक गाउँको शिरान अर्थात मनिडाँडामा एउटा चौतारी छ । जुन चौतारीँलाई अल्छी चौतारी भनिन्छ । चौतारीमा काम नभएकाहरू जम्मा हुने र गफ गर्ने गर्दछन् । बारपाक गाउँको उत्तरतर्फ गाई भैंसी र भेडाको चरिचरण वनजंगल अर्थात खर्क रहेको छ । वारपाक गाउँका मानिसहरु भेडा, बाख्रा, गाई, भैंसी पाल्ने र राडी, वख्खु, फुदुङ, उत्पादन गर्ने गर्दछन् । फाल्गुनदेखि कार्तिकसम्म लेक अर्थात खर्क माथि जाने र हिंउद कार्तिकदेखि फाल्गुनसम्म बेसीमा गोठ राख्ने परमपरा रहेको छ । हिउंदमा भेडा, बाख्रा, गाई, भैंसी, गोठ बारीमा छाप्रो राखी चरन गराउने गर्दछन् । वारपाकंमा हिउंदमा खेती लगाउंदा गोरुको सट्टा मान्छेले जोत्ने चलन पनि छ । यो दृष्य देख्दा बारपाकमा पुग्ने पर्यटकहरू आश्चर्य मान्दछन । गोरुले तीन दिन लगाएर जोत्ने ठाउँमा मान्छेले जोत्दा एक दिनमा सकिन्छ । वारपाकमा मृतकहरूको शव गाड्ने च्यानडाँडा छ । शव गाडेको चिहानहरूलाई सिमेन्टेड मठमा शिला लेख पनि राखिएको हुन्छ । शिलामा मृतक को हो ? उसले जीवनमा के काम ग¥यो ? सबै परिचय लेखिएको हुन्छ । चिहान नजिकै खुम्बे बौद्ध गुम्वा छ । त्यस क्षेत्र भन्दा अझ माथि वनभोज गर्ने स्थल पनि छ ।
पर्यटनका लागि बारपाक विशेष पहिचान भएको गाउँ हो । मनास्लु हिमाल र मनास्लु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले पर्यटनको क्षेत्रमा गोरखालाई विश्वमा नै चिनाएको छ । बुद्ध हिमालको काखमा रहेको वारपाकमा निर्माण भएको भ्युटावरबाट नजिकै अर्थात पुचुडाँडा र मनास्लु हिमालको श्रृंखला दृष्यावलोकन गर्न सकिन्छ । समुद्रसतहबाट झण्डै २ हजार मिटर उचाईमा रहेको बारपाकमा ४० घरधुरी दलित र बांकी झण्डै आधा जति घले थरका डाँगे, सामी, ध्यालसङ, रिलाङ र गुरुङ जातिहरुको बसोबास रहेको छ । पर्यटकहरू गाउँ माथीको डाँडाबाट मनास्लु, वुद्ध, गणेश हिमालको रेन्ज हेर्न पुग्दछन । कतिपय पर्यटकहरू डाडामा क्याम्पिङ गरी बस्ने गर्दछन । वारपाकमा अन्य जिल्लाको मात्र होइन वारपाक बाहेक अन्य गाउँका मानिसले घर जग्गा किन्न पाउदैनन् । लघु जलविद्युतबाट पारपाक गाउँलाई पुग्ने बिजुली उत्पादन भएको छ । हङकङ, बु्रनाई, बेलायत बस्ने किन नहोस केटा वा केटी विवाह गर्ने समयमा गाउँकै केटा वा केटीसँग बिहे गर्नुपर्ने प्रचलन वारपाकमा छ । भेडाको मासु बाहेक अरु जनावर र पशुपंक्षिको मासु घरबाहिर पकाउनु पर्ने परम्परा छ ।
वारपाकमा पुगेपछि खान बस्नको लागि कुनै असुविधा हुँदैन । गाउँमा सञ्चालनमा आएका होमस्टेले सबै पर्यटकहरूलाई स्वागत सत्कार गरी होमस्टेमा राख्ने गर्दछन् । पर्यटकलाई बारपाक प्रवेशद्वारबाट बाजा बजाएर स्वागत गर्ने प्रचलन छ । होमस्टेमा पर्यटकहरूले बासबसे बापत आन्तरिक र वाह्य पर्यटकहरूलाई छुट्टाछ्ुट्टै शुल्क लिने गरिन्छ । शुल्क लिएबापत उनीहरूले स्थानीय परिकार खान दिने, मनोरञ्जन दिने र समूह बनाएर गाउँ घुमाउने गर्दछन् । गाउँमा पुग्ने पर्यटकहरूलाई महिला समूह, युवा समूह र गाउँ समूहले समूह विभाजन गरी पर्यटकका लागि आवश्यक सेवा दिने गर्दछन् । बारपाकमा एक घरमा चार पर्यटक मात्र राख्ने गरिन्छ । होमस्टेमा पर्यटकहरूले इच्छा अनुसार भेडाको मासु, सिस्नुको तरकारी सगं ढिँडो, खान पाउँछन् । मदिराका पारखीहरूलाई चाख्नकै लागि मात्र गाउँमा बनाएको आधा गिलास रक्सी दिइन्छ । पर्यटकहरूको खानापछिको समय भने बारपाकका युवा समूहले लिन्छन् । युवा समूहले पर्यटकलाई सांस्कृतिक कार्यक्रम देखाउँछन् । पर्यटकहरूलाई युवाहरूले रातको १२ बजेसम्म झाँकी, मारुनी नाच, घाँटु नाच, लाहुरे नाच, तोमो, झाँक्री, मकै विवाह, तुक्लुङ, ठाडो भाकालगायतका गीत तथा नाच देखाएर मनोरञ्जन दिन्छन् । भूकम्पले तहसनहस भएको वारपाकमा अहिले पुरानो पीडा बिर्सेर पुन गाउँको विकासमा जुटेका छन् । शोकलाई शक्तिमा बदल्नुपर्छ भने झैं वारपाकबासी अहिले कसरी पुनः पुरानै जीवनमा फर्कन सकिन्छ भन्ने खोजिमा छन् ।
बारपाक पुग्ने कतिपय पर्यटकहरू पदयात्रामा रमाउन खोज्दछन । तल्लो मनास्लु क्षेत्र भनिने गोरखाको लेकाली क्षेत्र बुद्ध हिमालको काखमा रहेको छ । जैविक विविधता एवं प्राकृतिक सौन्र्दयले भरिपूर्ण रहेको ती क्षेत्रमा पर्यटकहरू पदयात्रामा जान्छन । पर्यटनकै लागि बारपाकदेखि रुबिनालासम्म करिब ३० किलोमिटर लामो पदमार्ग निर्माण भएको छ । पदमार्गलाई नारदपोखरी र बुद्ध हिमालको फेदी हुँदै लमजुङको दुधपोखरीसम्म विस्तार गर्ने योजना रहेको छ । गुरुङ समुदायको बाहुल्य रहेको तल्लो मनास्लु क्षेत्रमा बारपाक, लाप्राक, भच्चेक जस्ता गुरुङ गाउँहरू पर्दछन । पर्यटकहरू नारदपोखरी, राम्चे खर्क, रुविनाला, लाप्राक र विभिन्न खर्क हुँदै भ्यु प्वाइन्ट पुग्न सक्दछन । जहाँबाट सुन्दर प्राकृति दृश्यहरु र काठमाडौंको थानकोट पनि देखिन्छ । दरौदी खोला नादर पोखरीबाट उदगक हुन्छ । नारद पोखरीको पानी अर्थात दरौदी गोरखको उत्तरबाट दक्षिणतर्फ बग्दै मझुवा खैरेनीमा रामशाह घाटमा मस्र्याङदी नदीमा मिसिन्छ । बौद्ध हिमाल, रुविनाला क्रस गर्न पर्यटकहरू बारपाक हुँदै पदयात्रा गर्ने गर्दछन । राङरुङको आकर्षक मनमोहक झरनाले पर्यटकहरूलाई लोभ्याउँछ । बारपाकको घना बस्ती र माथिको नाम्चे डाँडा हँुदै लाप्राक, गुम्दा, लापु, नौलीखर्क, खर्कचोक, सीता गुफा, ग्याजी तामाखानी हुँदै घ्याम्पेसाल पुग्न सकिने पदमार्ग छ । तर बारपाक जादा धेरै पर्यटकहरू नादरपोखरी पुग्ने गर्दछन ।
बारपाक गाउँ देखि १९ किलोमिटर उत्तर बुद्ध हिमालको काखमा नारदपोखरी पर्दछ । नारदपोखरी जादा पर्यटकहरूले आफूलाई आवश्यक पर्ने सबै खाने कुरा र लगाउने लुगाको बन्दोबस्ती गर्नु पर्दछ । दुईदिनको यात्रामा बाटोमा कुनै मानवबस्ती छैनन । बाटो ठाउँ ठाउँमा भेडागोठ र गाई भैंसी गोठहरू भेटिन्छ । पर्यटकहरूको लागि अहिले गाउँपालिकाले गुपसी भञ्न्याङ, लाभ्राखर्क, रुन्चेखर्क, मेचेखोला रुन्चे खर्कमा पोटोल हाउस अर्थात धर्मशाला निर्माण गरिदिएको छ । बारपाक जादा कतिपय पर्यटकहरु लाप्राक गाउँ पनि पुग्दछन । बारपाकदेखि करिब साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ लाप्राक गाउँ । लाप्राक पुरानो गाउँ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँ बस्तीले पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ । गैरआवासीय नेपालीहरूले बनाइदिएका लाप्राकको नयाँ बस्ती पर्यटकहरूको अर्को आकर्षणको केन्द्र बन्दछ । लाप्राक पुरानो गाउँ पहिरोको जोखिमका बिच पनि लाप्राकका मानिसहरू नयाँ बस्तीमा खासै बस्ने गर्दैनन । लाप्राकबाट अर्को दिन गुम्दा गाउँ पनि पुग्न सकिन्छ । लाप्राकबाट करिब दुई घण्टाको दुरीमा रहेको गुम्दा गाउँ पनि सडक सञ्जालले जोडिएको छ । गुम्दाबाट यामगाँउ र लप्सीबोट हुदै माछिखोला पुग्न सकिन्छ । माछिखोला बुढिगण्डकी र रेचे खोला अर्थात हाइड्रो खोलाको दोभानमा पर्दछ । जुन मनास्लु सर्किटको प्रस्थान विन्दु समेत हो ।
वारपाक कसरी पुग्ने ?
पृथ्वी राजमार्गको आवु खैरेनीबाट गोरखा जाने सडकमा मोडिने । गोरखा १२ किलोबाट मुख्य सडक छाडेर भित्री सडक पसेपछि शुरु हुन्छ वारपाकको बाटो । बाह किलोबाट वारपाक ४८ किलोमिटर पर्दछ । बाह्रकिलो, छेपेटार, चोरकाटे, भालुस्वाँरा, चनौटे, झयाल्लाफाँट, ढोडेनी, बालुवाबजार, राङरुङ, मान्द्रे हुँदै दरौँदीको नागवेली सुन्दर दृष्य अवलोकन गर्दै बारपाक गाउँ पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ असार ११, बुधबार ११:५८ गते