
सुन्दरबजार– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजार नगरपालिका– को ७ तार्कुटार स्थित सरकारीस्तरको सुन्दरबजार अस्पतालमा १ दिने निःशुल्क भिडियो एक्सरे सहित स्त्री रोग उपचार एवम् परामर्श शिविर सञ्चालन भयो । सो शिविरमा एक सय ३१ जनाले स्त्री रोग उपचार सेवा तथा एक सय २० जनाले भिडियो एक्सरे सेवा असार १४ गते लिएका हुन् ।
शिविरमा सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका, दोर्दी गाउँरपालिका र तनहुँको भानु नगरपालिकाका १३१ जनाले निःशुल्क भिडियो ग्राफी सेवा, स्त्रीरोग सेवा, परामर्श सेवा लिएका छन् । उनीहरूलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियोे । सो शिविरको लागि आर्थिक सहयोग सुन्दरबजार नगरपालिका– ७ बाट भएको थियो भने प्राविधिक सेवा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सीनियर कन्सल्टेण्ट रेडियोलोजिस्ट विशेषज्ञ डा. सन्तोष बरालका साथै मातृशिशु मितेरी अस्पताल पोखराका सिनियर स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्यालले गर्नु भएको थियोे ! शिविर अत्यन्तै प्रभावकारी भएको र डाक्टरको सेवा र परामर्शबाट आफू सन्तुष्ट भएको शिविरमा सेवा लिन आउनु भएकी सुन्दरबजार– ६ निवासी शोभा राना गुरुङले बताउनु भयो ।
शिबिर सञ्चालन अघि औपचारिक उद्घाटन कार्यक्रम भएको थियो । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले सुन्दरबजार अस्पतालले जग्गाप्राप्ति गरिसकेको वर्तमान अवस्थामा भवन निर्माण र आगामी बर्षमा प्रदेश अस्पतालको रुपमा रुपान्तरण गर्न आफू लागि परेको बताउनु भयो । त्यस्तै बिशेष अतिथि सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले अस्पतालको भौतिक विकास एवम गुणस्तरीय सेवाको लागि आफू सदैव लाग्दै आएको र भोलिका दिनमा पनि लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले अस्पताल लागि आवश्यक पर्दा सदैव आफू अग्रसर रहेको समेत स्मरण गर्नु भयो ।
अस्पताल व्यवस्थापनका समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षता भएको उक्त उदघाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले आउँदो आवको पहिलो महिना साउनबाटै विशेषज्ञ सेवा शुरु गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिनुभयो । उहाँले एम्बुलेन्स सेवाका लागि सरोकारवाला निकायमा पहल गरिरहेको समेत बताउनु भयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रशान्त मिश्रले स्वागत गर्नु भएको सो सो कार्यक्रमको सञ्चालन अस्पतालका प्रसासन सहायक धनकुमारी दुराले गर्नु भएको अस्पतालका सिनियर अनमी सपना परियारले जानकारी दिनु भयो ।
उक्त अवसरमा सुन्दरबजार नगरपालिका– ७ का वडा सदस्यहरू सविना सापकोटा, बुद्धिकला विक, अस्पतालका मेडिकल अफिसर डाक्टर शिशिर विक, अस्पतालका जग्गादाता रमेशबाबु सापकोटा, चेतनशील महिला साकोसका अध्यक्ष राधादेवी श्रेष्ठ, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य श्यामका रेग्मी घिमिरे लगायतको सहभागिता थियोे ।
प्रकाशित मिति २०८२ असार १४, शनिबार १७:५३ गते