
सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजार नगरपालिका– ७ को कुमाल गाउँमा सञ्चालिनमा ल्याइएको खुला व्यायामशालामा सर्वसाधारण युवा वृद्ध केटाकेटीको घुइँचो लाग्न थालेको छ । मध्य पहाडी लोकमार्गसँगै जोडिएको सो स्थानमा गत सातादेखि खुला व्यायामशाला सेवा सञ्चालनमा ल्याइएको हो ।
आयुर्वेद निर्देशानलय काठमाडौको संयोजन र सुन्दरबजार नगरपालिका– ७ को समन्वयमा सुन्दरबजार नगरपालिका क्षेत्रमा नै पहिलो खुला व्यायामशाला निर्माण गरेको हो । वडा साथै नगरबासीलाई स्वस्थ, स्फुर्त र तन्दुरुस्त एवम् निरोगी बनाउन तथा नियमित व्यायाम गर्ने बानीको विकास गर्न खुला व्यायामशाला सञ्चालनमा ल्याइएको सुन्दरबजार नगरपालिका–७ का वडा अध्यक्ष जयराम रेग्मीले बताउनुभयो । उहाँका अनुसार स्वस्थ स्फुर्त र तन्दुरुस्त जीवनका लागि व्यायाम महत्त्वपूर्ण भएकोले वडाको समन्वयमा खुल्ला ब्यायाम शाला निर्माण गरेको र खुला व्यायामशालाले केटाकेटी वृद्ध किशोर किशोरी सबै उमेर समुहका सर्वसाधारणको ध्यान खिच्न सफल भएको छ ।
सुन्दरबजार च्याम्बरका अध्यक्ष एवम् स्थानीय बिष्णुकुमार श्रेष्ठले वडामा खुला व्यायामशाला अहिलेको गाँस बास र कपास जस्तै महत्त्वपूर्ण भएको बताउदै हरेक वडामा यस्ता व्यायामशालाको स्थापना गर्नु पर्ने बताउनु भयो । उहाँको अनुसार यस्तो व्यायामशाला सञ्चालनमा आएको सम्भवतः जिल्लामै पहिलो हो ।
शारीरिक तन्दुरुस्ती मानसिक स्वास्थ र स्फूर्तिका लागि आवश्यक खुला व्यायामशालाका बनाइएको र उक्त खुला व्यायामशाला वडावासीले निःशुल्क प्रयोग गर्न सक्ने वडा सचिब सिताराम प्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिका– ७ बजार क्षेत्र भएकोले खुला व्यायामशालाको अत्यावश्यक थियो, त्यसका लागि कहाँ बनाउने भन्ने व्यापक अन्तक्र्रीया छलफलपछि यो ठाउँ उपयुक्त देखियो । खुला व्यायामशालामा बिहान बेलुकी साझ बालबालिका, युवा र वृद्धवृद्धा व्यायाम गर्न आउने गरेका छन् ।
उक्त खुला व्यायामशालामा पुल अप बार, सेटर क्लाइम्बर, लेट पुल अप, साइक्लिङ लगायत विभिन्न ११ प्रकारका व्यायाम सामग्री जडान गरिएको सञ्चालकहरूले जानकारी दिएका छन् ।
प्रकाशित मिति २०८२ असार २१, शनिबार १३:०२ गते