रैथाने बाली प्रवर्द्धन गर्न १३५ जना बालबालिकाका टिफिन हातमा, चेतना मनमा

रैथाने बाली प्रवर्द्धन गर्न १३५ जना बालबालिकाका टिफिन हातमा, चेतना मनमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २२ गते आईतबार ०५:३२

सो अवसरमा केही अभिभावकहरूले आर्थिक अभावका कारण बालबालिका विद्यालय जान नसकेको, कामका लागि बालकहरूलाई गाउँबजार पठाउनु परेको र छोरीहरूलाई समयभन्दा पहिला विवाह गरिदिने दबाब आउनेजस्ता समस्याहरू अझै पनि समाजमा रहेको उल्लेख गरेका थिए ।

मेलाको प्रमुख उद्देश्य बालबालिकामा स्वस्थ जीवनशैली, स्थानीय खाद्यप्रणालीको महत्त्व तथा बाल–अधिकारबारे चेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्था आरसिडिसिका कार्यक्रम अधिकृत पद्मा ढकालले बताउनु भयो ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा विद्यालयस्तरमा अध्ययनरत १३५ जना बालबालिकाले हातमा टिफिन सामग्रीसहितको जङ्क फुड खान नहुने सन्देश अर्थात चेतना पाएका छन् । सुन्दरबजार नगरपालिका– ७ को आदर्श बाल माध्यमिक विद्यालयमा अध्ययनरत १३५ जना बालबालिकाले सो सुविधा पाएका हुन् । उक्त कार्यक्रमको उद्देश्य रैथाने बाली प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ ।
ती बालबालिका अधिकांश सुन्दरबजार नगरपालिका– ६ र ७ वडाका भएको आयोजक ग्रामीण सामुदायिक विकास केन्द्र (RCDC) का फिल्ड सहजकर्ता दिपकराज अधिकारीले बताउनु् भयो । उहाँका अनुसार आरसी अर्थात आरसिडिसीको कार्यक्रममा जोडिएका विपन्न बालबालिकाहरू लक्षित मेलामा बालबालिकाका साथै अभिभावकहरूलाई समेत जोड्ने काम गरिएको छ । उहाँले भन्नुभयो, ‘मेलामा सहभागीहरूलाई पोषण, स्थानीय बालीको महत्त्व, बाल अधिकार तथा सामाजिक चेतनाका विविध आयामहरूसँग जोड्ने प्रयास गरिएको छ ।’
मेलाको प्रमुख उद्देश्य बालबालिकामा स्वस्थ जीवनशैली, स्थानीय खाद्यप्रणालीको महत्त्व तथा बाल–अधिकारबारे चेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्था आरसिडिसिका कार्यक्रम अधिकृत पद्मा ढकालले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा बालबालिकासँगै अभिभावकहरूलाई पनि सहभागी गराएर रैथाने बालीको उपयोग, संरक्षण र पोषणीय पक्षबारे प्रशिक्षण दिने काम भएको छ ।
वडा नं. ६ र ७ मा कृषि अधिकृत दुर्गाप्रसाद ढुङ्गाना, आरसिडिसीका सहजकर्ता सोभित थापासहितको सोही टोलीले अभिभावक तथा बालबालिकालाई रैथाने बालीबारे ज्ञान प्रदान गर्नु भएको थियो । मेलाको अर्को महत्वपूर्ण पक्ष बालबालिकामा सामाजिक चेतना जगाउन अन्तरक्रिया रहेको थियो । पत्रकार विराट न्यौपानेले सञ्चालन गरेको अन्तरक्रिया प्रभाव रहेकोे सहभागी विद्यार्थी तथा अभिभावकले बताए । पत्रकार न्यौपानेले बालबालिका र अभिभावकहरूसँग बाल विवाह, बाल श्रम, बाल हिंसा, लागुपदार्थ दुर्व्यसन जस्ता गम्भीर सामाजिक समस्याहरूका बारेमा व्यक्तिगत जीवन, परिवार र समाजलाई पार्ने असरबारे सहज रुपमा सम्वाद गर्नु भएको थियो ।
सो अवसरमा केही अभिभावकहरूले आर्थिक अभावका कारण बालबालिका विद्यालय जान नसकेको, कामका लागि बालकहरूलाई गाउँबजार पठाउनु परेको र छोरीहरूलाई समयभन्दा पहिला विवाह गरिदिने दबाब आउनेजस्ता समस्याहरू अझै पनि समाजमा रहेको उल्लेख गरेका थिए ।
पत्रकार न्यौपानेले भन्नुभयो, ‘बालबालिकाको सुरक्षाका लागि कानुन मात्रै पर्याप्त छैन, व्यवहारिक स्तरमै परिवर्तन आवश्यक छ, अभिभावक र समुदायको सक्रिय भूमिका विना बालमैत्री समाज निर्माण असम्भव हुन्छ ।’ अन्तरक्रियाले सहभागीहरूलाई आफ्नो अनुभव साझा गर्न हौसला दिएको थियो । सो कार्यक्रमले आयोजकहरूलाई वास्तविक समस्याको आधारमा आगामी योजनाहरू बनाउन सघाउने अपेक्षा गरिएको आरसिडिसीका फिल्ड सहजकर्ता प्रमोद सेढाईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम वल्डभिजनमा दर्ता भएका बालबालिकालाई लक्षित गर्दै सुन्दरबजार नगरपालिका– २, ६ र ७ मा चरणबद्ध रूपमा सम्पन्न गरिएको छ । उहाँले भन्नुभयो, ‘मेला अवधिभर विभिन्न विद्यालयमा विविध गतिविधि, प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको छ ।’ सुन्दरबजार कै बाँकी वडाहरूमा पनि छिट्टै कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ ।
बाल– मैत्री सोच, स्थानीय स्रोतको प्रवद्र्धन र सचेतनाको संगम बनेको आरसी मेला सुन्दरबजारका बालबालिकाको जीवनमा सशक्त सन्देश बोकेर अगाडि बढेको आफू्रले पाएको सहभागी समेत रहेकी सुन्दरबजार नगरपालिका– ६ की वडा सदस्य सरस्वती परियारले बताउनुभयो ।
कार्यक्रममा सहभागी बालबालिकालाई उमेर अनुसार सचेतनामूलक चित्र बनाउने र रैथाने बाली सम्बन्धी प्रश्नोत्तरमा सहभागी हुने अवसर प्रदान गरिएको थियो । यसबाट उनीहरूमा सिर्जनात्मकता तथा सामाजिक विषयप्रति सोच्ने क्षमताको विकास हुने अपेक्षा गरिएको आयोजक संस्थाका अर्का फिल्ड अफिसर आस्था पण्डितले बताउनु भयो ।
उहाँका अनुसार यसअघि सोही नगरपालिका– २ का महादेवी प्राथमिक विद्यालय, हाडेटारमा ७१ जना र कान्ती मन्दिर माध्यमिक विद्यालय, पुर्काङमा ४४ जना बालबालिकालाई पनि टिफिन वितरण गरिएको थियो । उहाँले भन्नुभयो, ‘उक्त कार्यका लागि आरसिडिसीलाई वल्र्डमिजन इन्टरनेशनलले आर्थिक सहयोग गरेको छ ।’
ग्रामीण सामुदायिक विकास केन्द्रले आयोजना गरेको यो मेला स्थानीय तहमा बालबालिकालाई लक्षित कार्यक्रम मार्फत उनीहरूको समग्र विकास र सुरक्षा सुनिश्चित गर्न गरिएको सकारात्मक पहलका रुपमा अभिभावकले लिएका छन् । उनीहरूले आयोजक संस्थाले यस्ता कार्यक्रमले बालबालिका र अभिभावकमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८२ असार २२, आईतवार ०५:३२ गते
हजुरको प्रतिक्रिया