युनुस अन्सारी जेल चलान : १५ लाख धरौटी बुझाउन नसेनन् कि चाहेनन् ?

युनुस अन्सारी जेल चलान : १५ लाख धरौटी बुझाउन नसेनन् कि चाहेनन् ?

एजेन्सी

@antaranganews

२०८२ असार २४ गते मङ्गलबार ०७:४३

बारा निवासी युनुसले टेलिभिजनमा गरेको लगानीबारे प्रहरी अधिकृतहरूसँग सो रकम ‘बुवा र बुवाका साथीहरूबाट लिएँ’ भनेका छन् । उनका बुवा सलिम मिया अन्सारी पूर्व सांसद र मन्त्री हुन् । तत्कालीन नेकपा मालेबाट एमाले हुँदै राजनीति गरेका सलिम मिया दुई पटक बाराबाट सांसद निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्री भए । २०७१ चैत २८ मा सलिम मियाँको निधन भएको थियो ।

अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।

काठमाडौं– व्यापारी तथा टेलिभिजन सञ्चालक युनुस अन्सारी जेल चलान भएका छन् । नक्कली भारतीय मुद्रा कारोबार र गैरकानुनी ढंगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले तोकेको १५ लाख रुपैयाँ धरौटी आदेश नबुझाएपछि उनी असार२३ गते जेल चालन भएका हुन् । उनी जेल गएसँगै १५ लाख धरौटी बुझाउन नसेनन् कि चाहेनन् ? भन्ने प्रश्न उठेको छ ।
न्यायाधीश बलराम लम्सालको इजलासबाट १५ लाख धरौटी मागिएपनि अन्सारीले सो रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो । युनुस मालिक रहेको नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाउँदै असार २१ गते मुद्दा दायर गरिएको थियो । असार २२ र २३ दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि आदलतबाट १५ लाख धरौटी भएको थियो ।
अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो । अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यसलगत्तै फेरि पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए तर छुट्न सकेनन्, रिट खारेज भएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध नौ करोड नौ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेपछि अदालतमा सुनुवाइ भएको हो ।
उनी सञ्चालक रहेको ‘नेशनल टेलिभिजन’ कम्पनीको आवरणमा रकम लुकाउने, विभिन्न व्यक्तिका नाममा जग्गा खरिद गर्ने र ती सम्पत्तिमा आफ्नै परिवारलाई राख्ने जस्ता क्रियाकलापमा संलग्न भएको पाइएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । सीआईबीका अनुसार अन्सारीले विगतदेखि नै नक्कली भारतीय नोट कारोबार, अवैध कारोबार तथा जाली मुद्रा प्रयोग गरी सम्पत्ति आर्जन गर्दै आएका थिए । तर उनको टेलिभिजन च्यानल नेशनल टेलिभिजन हाल बन्द भइसकेको छ । नेशनल टेलिभिजन सञ्चालनको आवरणमा उनी नक्कली भारतीय मुद्राको कारोबार गर्थे भन्ने प्रहरी अनुसन्धानको दावी रहेको छ ।
‘अन्सारीले टेलिभिजनमा गरेको ५ करोड लगानीको स्रोत देखिँदैन ।’ अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । नेसनल टेलिभिजन अहिले बन्द भइसकेको छ । टेलिभिजनमा उनका साझेदार शुभेश्वर प्रसाद साह थिए ।
२०६७ सालदेखि नै सो टेलिभिजनले कर विवरण पेस नगरेको समेत खुलेको छ । ‘टेलिभिजनमा उनले भारतीय जाली नोट कारोबारबाट आर्जित रकम लगानी गरेको अनुसन्धानको निष्कर्ष छ ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भने ।
अन्सारीले २०६६ सालदेखि नै जाली नोट कारोबारका अभियोग खेप्दै आएका छन् । २०६७ सालमा जेलमै रहेका बेला उनलाई गोली प्रहारसमेत गरिएको थियो ।
उनको श्रीमती सालमा खातुन, प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाह पनि प्रतिवादी बनाइएका छन् । सीआईबीले उनीहरूको बैंक खाताहरू, सम्पत्ति र आर्थिक कारोबारको विश्लेषण गरी गैरकानुनी स्रोतबाट आएको सम्पत्ति शुद्धीकरण गरिएको निष्कर्ष निकालेको छ ।
प्रहरी स्रोतका अनुसार, प्रतिवेदनमा अन्सारीले भारतबाट नक्कली नोट ल्याउने, त्यसबाट कमाइ गरिएको पैसा विभिन्न माध्यमबाट लुकाउने र अधिकार तथा स्वामित्व अन्य व्यक्तिको नाममा सार्ने जस्ता गतिविधि गर्दै आएको उल्लेख छ ।
बारा निवासी युनुसले टेलिभिजनमा गरेको लगानीबारे प्रहरी अधिकृतहरूसँग सो रकम ‘बुवा र बुवाका साथीहरूबाट लिएँ’ भनेका छन् । उनका बुवा सलिम मिया अन्सारी पूर्व सांसद र मन्त्री हुन् । तत्कालीन नेकपा मालेबाट एमाले हुँदै राजनीति गरेका सलिम मिया दुई पटक बाराबाट सांसद निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्री भए । २०७१ चैत २८ मा सलिम मियाँको निधन भएको थियो । सीआईबीका अधिकृतहरूसँग युनुसले भनेका छन्, ‘बुवा र उहाँका साथीहरूसँग रकम लिएर टेलिभिजनमा लगानी गरेको हुँ ।’
युनुसको अचल सम्पत्ति, बैंक खाताको विवरण र कारोबारबारे अनुसन्धान अधिकृतहरूले विश्लेषण गरिरहेका छन् । वीरगन्जस्थित चोर्नीमा उनको नाममा २ बिगाहा जग्गा रहेको भेटिएको छ । सो जग्गा बेच्न २०७० सालमा जग्गा बैना बापत १ करोड २५ लाख रकम लिएको भेटिएको छ ।
पत्नीको बैंक खातामार्फत बैना रकम लिए पनि युनुसले जग्गा पास गरिदिएनन् । जग्गा ‘बैना विवाद’ अदालत सम्म पुगेको थियो । अन्सारीले सो जग्गा २०६४ मा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन आउनुभन्दा अघि नै खरिद गरेको भेटिएको छ ।
८ वटा बैंक खाता, करिब ८ लाख नगद :
युनुसको नाममा ८ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा थोरै रकम रहेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार खाताहरूमा करिब ८ लाख नगद भेटिएको छ । २०६४ भन्दा पछिको खाताको विवरण हेरिरहेको एसएसपी बोगटीले बताए । उनले भने, ‘खाताहरूमा थोरै मात्रै रकम देखिन्छ ।’ सबै खाता प्रहरीले रोक्का राखेको छ ।
यसअघि २०६७, २०७० र २०७६ मा पक्राउ परेका युनुस अहिले चौथो पटक पक्राउ परेका हुन् । युनुसले यसअघि संगठित अपराध, लागुऔषध र भारतीय नक्कली नोट कारोबारको मुद्दा खेपिसकेका छन् । अहिले उनी सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्दै छन् ।
हत्या प्रयास :
२०६७ फागुन २६ गते सुन्धारा, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा कैद रहेकै अवस्थामा उनको हत्या प्रयास भएको थियो । त्यसबेला केन्द्रीय कार्यालयमा कैद सिरियल किलर चाल्र्स शोभराजलाई ‘साथीका रुपमा’ भेट्ने बहानामा भारतीय सार्फसुटर जसजित सिंह भनिने मनमित सिंह भाटिया कारागार हाताभित्र छिरेका थिए ।
गुप्ताङमा लुकाएर पेस्तोलसहित भित्र छिरेका उनले युनुसको निधारलाई लक्षित गर्दै ६ राउण्ड गोली हाने । त्यसमध्ये ५ राउण्ड गोलीको निशाना लागेन । तर, छैठौँ राउण्डको गोली उनको दाहिने हातको कुहिनामा लागेको थियो ।
भाटियालाई ड्युटीमा रहेका प्रहरीले तत्कालै नियन्त्रणमा लिएका कारण युनुस मारिनबाट जोगिएका थिए ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा काण्ड’ लागेका सहसचिव भट्टराई त्यसबेला उपसचिवका रुपमा जेलरको जिम्मेवारीमा थिए ।
२०६७ सालदेखि गरिएको उनको हत्या प्रयास अहिले पनि जारी रहेको सूचनाका कारण उनलाई हत्तपत्त नियन्त्रणमा लिनुपरेको प्रहरीस्रोतले जनाएको छ । अन्यथा, सम्पत्ति शुद्धीकरण मुद्दामा शुरुमै मानिस पक्राउ नगरी अनुसन्धानबाट दोषी करार गर्न मिल्ने स्थिति भएपछि मात्रै पक्राउ गर्ने गरिन्छ ।
भारतबाट नेपालका विभिन्न स्थानमा भारतीय ‘सार्पसुटर’हरूको निर्वाध आवतजावत चल्ने गरेको यसअघिका विभिन्न घटनामा देखिएको छ ।
त्यसक्रममा पहिलोपटक २०६६ पुस १३ मा २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय मुद्रासहित उनी काठमाडौंबाट पक्राउ परेका थिए । दोस्रोपटक २०७६ असोज ६ गते प्रहरीले फेला पारेको ४० लाख ११ हजार नक्कली नोटको कारोबारमा पनि उनको संलग्नता देखिएको थियो ।
तेस्रोपटक २०७० माघ १० गते उनी पक्राउ परेका थिए । त्यसबेला उनीबाट ३५ लाख नक्कली भारु बरामद भएको थियो । फेरि २०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार नक्कली नोटसहित पक्राउ परे ।
उनलाई अन्तिमपटक ६ वर्ष कैद, ६० हजार रुपैयाँ जरिवाना र क्षतिपूर्तिबापत १३ सय रुपैयाँको सजायँ सुनाइएको थियो । सोही कैदको भुक्तानी जेठ १० गते भएको थियो । १२ गते कार्यालय समय शुरु हुनासाथ उनी ललितपुर, नख्खुस्थित कारागारबाट मुक्त भए । तर, प्रहरीले त्यहीँबाट पुनः नियन्त्रणमा लियो । त्यसको कारण थियो, नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्नका लागि दिएको पत्रलाई आधार मानिएको थियो ।

प्रकाशित मिति २०८२ असार २४, मंगलवार ०७:४३ गते
हजुरको प्रतिक्रिया