
काठमाडौं– रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन् । गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवा जिल्ला प्रशासन कार्यालयले असार २४ गते जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढी आउँदा फसेका मानिसहरूको उद्धार भइसकेको पनि प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको छ , नेपाल चीन सम्पर्कबिच्छेद भएको छ । यहाँले भन्नुभयो, ‘६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन् ।’
रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन । विवरण संकलन भइरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही फसेकाहरू सुरक्षित ठाउँमा छन् उहाँहरूलाई उद्धारका लागि आवश्यक प¥यो भने हेलिकप्टर पठाउँदैछौं, तयारी अवस्थामा छ ।’
राति अन्दाजी ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘कर्मचारी सुरक्षित छन् । आइसिपीको अधिकांश संरचना बगाएको छ क्षति कति भयो भन्ने यकिन हुन सकेको छैन गाडी निकाल्ने क्रममा केही मानिसहरू हताहत भएको बुझिएको छ ।’ वेपत्ता हुनेको नाम ठेगाना संकलन हुँदै गरेको जिल्ला प्रशासनले जनाएको छ ।
मैलुङ र बेत्रावतीका जोखिमयुक्त बस्तीबाट मानिसहरूलाई स्थानान्तरण गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एड्भाइजरी पनि जारी भएका छन्, गृहसँग र नेपाली सेनासँग, हेलिकप्टर स्ट्याण्डबाइ छ, मौसमका कारण उडान हुन सकेको छैन ।’
प्राधिकरणले नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आग्रह गरेको छ ।
प्रकाशित मिति २०८२ असार २४, मंगलवार ०८:४३ गते