धुञ्चे(रसुवा)– रसुवाको ल्हेन्दे खोलामा गएराति अविरल वर्षासँगै आएको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् भने ९ जनाको उद्धार भएको छ । चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका– २ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर असार २४ गते बिहान उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ । सो घट्नासँगै मानिस र सवारी साधनमा आवत जावत बन्द भएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएका १८ जनाको नामावली :
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनु भयो । उहाँका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
उहाँका अनुसार बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिकमा Yu YUe, LI HUAQINg, YANg, CHUAn, Yu HAI HANg, YOu XIAO QIu JOu YONg रहेका छन् । उनीहरू कसैको पनि उमेर खुलेको छैन ।
यसैगरी, सो घटनामा पर्ने नेपालीहरूमा पाँच जना बर्दिया जिल्लाका भएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार उनीहरू वर्ष ३६ को जिपन चौधरी, वर्ष ३५ को सन्तोष दइत, वर्ष २५ को बुद्दीराम थारु, वर्ष २४ को लक्ष्मीनारायण थारु र वर्ष ३० को सुरेश थारु छन् ।
यसैगरी, बाग्लुङ जिल्लाका वर्ष नखुलेको नरेन्द्र वि.क., जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा छन् ।
अन्य दुई जनाको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू मिक्चर चालक वर्ष नखुलेको गोविन्द मोक्तान र हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ छन् ।
‘तिब्बती क्षेत्रबाट एक्कासी बाढी आयो र जल मापन केन्द्र समेत बगायो’ :
जल तथा मौसम पूर्वानुमान महाशाखाले असार २४ गते बिहान ३ बजे आसपास रसुवास्थित भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी आएको जनाएको छ । त्यसपछि रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको विभागको स्याप्रुबेसी स्वचालित केन्द्रमा बिहान ३ः३० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको महाशाखाको भनाइ छ ।
रसुवागढी नाकाबाट केही तल रसुवा– टिमुरे स्थित जलविद्युत आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांक अनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासी करिब ३.५ मिटर बढेको देखिएको महाशाखाले सार्वजनिक गरेका प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले समयमै उद्धार गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । अहिले यार्ड क्षेत्र पूर्ण रूपमा खाली गरिएको र थप सतर्कता अपनाइएको प्रहरीको भनाइ छ ।
टिमुरे इलाकाबाट ९ जनाको सकुशल उद्धार : सेना
रसुवाको गोसाईंकुण्ड गाउँपालिका– २ स्थित रसुवागढीमा आएको बाढीका कारण हराएकाहरूको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । घटनास्थलमा सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारमा नुवाकोटको विदुरबाट थप प्रहरी परिचालन गरिएको छ । उहाँले भनुभयो, ‘हेलिकप्टरमार्फत विदुरबाट थप फौज त्यसतर्फ पठाइएको छ ।’
गएराति नेपाल–चिन सिमानाको लेण्डे खोला हुँदै भोटेकोशीमा बहाव बढेपछि फसेका ९ जनालाई रसुवाको टिमुरे क्षेत्रबाट सकुशल उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रसुवामा उद्धारको लागि एनए– ०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको सेनाले जनाएको छ । त्यस्तै, नुवाकोटको त्रिशूली नदीमा रुखमा बसेर ज्यान जोगाइरहेका २ जनालाई सेनाको एमआई हेलिकप्टरले उद्धार गरेको छ ।
प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमध्ये २ जना नेपाल प्रहरीका जवान थिए भने बाँकी ७ जना स्थानीय बासिन्दा थिए । ‘भोटेकोशी नदीमा आएको बाढीका कारण यार्ड क्षेत्र पूर्ण रूपमा डुबानमा परेपछि उनीहरू जोखिममा परेको’ एक प्रहरी अधिकृतले बताए ।
उता, जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनीघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
रसुवागढीदेखि धादिङको वेनीघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएता पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति :
रसुवाको गोसाईंकुण्ड गाउँपालिका– २ स्थित रसुवागढीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ । बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको रसुवाका डीएसपी हेम शाहीले बताउनु भयो । उहाँका अनुसार गोसाईंकुण्ड गाउँपालिका– २ मा रहेको ईभी गाडीको चार्जिङ स्टेसनमा समेत क्षति पुगेको छ । उहाँले भन्नुभयो, ‘चार्जिङ स्टेसनमा राखिएका ७– ८ वटा गाडीहरू बाढीले बगाएको छ ।’ त्यस्तै भन्सार कार्यालय रसुवाको यार्डमा पनि बाढीले क्षति गरेको प्रहरीले जनाएको छ ।
मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो :
अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ । आज बिहान ३ः१५ बजे गोसाइँकुण्ड गाउँपालिका– २ मा रहेको पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको हो ।
सशस्त्र प्रहरीका अनुसार बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७÷८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ । साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको छ ।
भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश :
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको भन्दै सतर्कता अपनाउन अलर्ट जारी गरेको छ । विभागका अनुसार आज बिहान करिब ३ः३० बजे रसुवा–स्याप्रुवेसीस्थित जलमापन केन्द्रमा बाढीको प्रवेश देखिएको थियो ।
विभागले आज दिउँसोसम्म यस क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको जनाएको छ । बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (वेनीघाट) आसपाससम्म पर्ने देखिएको छ ।
उद्धार गर्न जाने ११ जना उद्धारकर्मी नै फसे :
चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पु¥यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेकोछ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको छ ।
भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो । उहाँका अनुसार गएरातिको बाढीले पुल बगाएको पुष्टि भएको हो । उहाँले भन्नुभयो, ‘योसँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।’
व्यापक क्षति :
चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासी ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति भएको छ । लेदोसहितको ठूलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले जनाएको छ ।
हिमताल फुटेको आशंका :
यसैबीच, टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ । जल तथा मौसम विभागले बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ । विभागले भनेको छ, ‘प्रारम्भिक रुपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन ।’
भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आंकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ ।’
प्रकाशित मिति २०८२ असार २४, मंगलवार १४:३१ गते