रास्वपाद्वारा एमाले– कांग्रेस गठबन्धनलाई वडा स्थित टोल विकास संस्थाको निर्वाचनको चार पदाधिकारीमा क्लिन सिप

रास्वपाद्वारा एमाले– कांग्रेस गठबन्धनलाई वडा स्थित टोल विकास संस्थाको निर्वाचनको चार पदाधिकारीमा क्लिन सिप

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २९ गते आईतबार ०३:४३

सो स्थानको टोल विकास संस्थामा भएको १५ सदस्यीय कार्यसमितिमा निर्वाचनमा रास्वापाले बाजी मारेको हो । सो निर्वाचनमा ४ पदाधिकारीसहित ४ सदस्य रास्वपाले जितेको छ भने रास्वपाकै प्यानलबाट राप्रपाका दुई जनाले जितेका छन् । सदस्यहरूमा ३ जना एमाले, २ जना कांग्रेसबाट निर्वाचित भएका छन् ।

कुल २७२ घरधुरी रहेको र प्रति घर एक मतदाता रहेको सो चुनावमा २३३ मत खसेको थियो ।

बुटवल(रुपन्देही)– राष्ट्रिय स्वतन्त्र पार्टीले टोल विकास संस्थाको चुनावमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै चार पदाधिकारीमा क्लिन सिप दिन सफल भएको छ । तिलोत्तमा नगरपालिका– ८ को चार नम्बर स्थित मिलन टोल विकास संस्थाको चुनावमा चार जना पदाधिकारीमा रास्वपाले असार २९ गते क्लिन स्वीप गरेको हो ।
दुई दलका जिल्ला अध्यक्षहरूको वडामा तथा कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणकोसमेत वडा पर्ने उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो भने कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणको घर भएको वडा जोडिएको टोल हो । सो स्थानको टोल विकास संस्थामा भएको १५ सदस्यीय कार्यसमितिमा निर्वाचनमा रास्वापाले बाजी मारेको हो ।
सो निर्वाचनमा ४ पदाधिकारीसहित ४ सदस्य रास्वपाले जितेको छ भने रास्वपाकै प्यानलबाट राप्रपाका दुई जनाले जितेका छन् । सदस्यहरूमा ३ जना एमाले, २ जना कांग्रेसबाट निर्वाचित भएका छन् । १५ सिटमध्ये ८ सिट जितेर रास्वपाले सुविधाजनक बहुमत पाएको छ भने राप्रपाले उसकै प्यानलबाट दुई सिट जितेको छ ।
कुल २७२ घरधुरी रहेको र प्रति घर एक मतदाता रहेको सो चुनावमा २३३ मत खसेको थियो । अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत मात्र पाएका थिए ।
उपाध्यक्षमा पर्सुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रिना बरालले ८१ मत पाइन् । सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाएको घोषणा गरिएको छ । त्यस्तै, कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबी चापागाईंले ९८ मत पाएकी छिन् ।
रास्वपाका स्थानीय नेता बुद्धि सापकोटाले हरेक संस्थामा सत्तारुढ दुई दलको सिण्डिकेटविरुद्ध अब टोल टोलबाट विद्रोह हुन लागेको नतिजाका रुपमा यो चुनावलाई बुझ्नुपर्ने बताउनुभएको छ । उहाँका अनुसार चुनाव भएको टोलमै रहेको करहिया खानेपानी संस्थाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे अध्यक्ष र कांग्रेस नेतृ शान्ता बस्याल उपाध्यक्ष छन् ।
तिलोत्तमामा रहेका खानेपानी संस्था, सामुदायिक वन जस्ता उपभोक्ताका संस्थामा कांग्रेस र एमालेले भागबन्डा गरेर संस्थामा राजनीतिकरण हाबी गराउँदा मतदाताहरू दुई दलप्रति रुष्ट भएको नतिजा टोल विकास संस्थाको चुनावमा देखिएको नेकपा एमाले तिलोत्तमाका एक नेताले बताएका छन् ।
सोही वडाको करहिया सामुदायिक वनमा कांग्रेस नगर सभापति हरिलाल पाण्डे अध्यक्ष र एमालेबाट उपाध्यक्ष छन् । प्रमुख दुई दलबीचको भागबन्डालाई नरुचाएका मतदाताले केही महिनाअघि भएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको चुनावमा पनि कांग्रेस र एमालेका गठबन्धनलाई पराजित गर्दै नेत्रविक्रम चन्द विप्लव निकट स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेलाई जिताएका थिए । उक्त चुनावमा एमाले नेताहरू लिला गिरी, संघीय सांसद बासुदेव घिमिरे समेत मतदाता रहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार २९, आईतवार १५:४३ गते
हजुरको प्रतिक्रिया