एक समय म नेपाली कांग्रेसप्रति
अत्यन्तै निष्ठावान समर्थक थिएँ !
नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि
गणतन्त्र स्थापनासम्म नेपाली कांग्रेसले खेलेको
अग्रणी भूमिकाप्रति म सदैव श्रद्धावान रहँदै आएको छु ।
बीपी कोइरालाको दूरदृष्टि, वीरेन्द्र– बीपी संवाद,
०४६ सालको आन्दोलन र गिरिजाप्रसाद कोइरालाको
नेतृत्वमा भएको शान्ति प्रक्रिया जस्ता अनेकन घटनाले
नेपाली राजनीतिमा कांग्रेसको योगदान अतुलनीय छ
मलाई लाग्थ्यो – अझै लाग्छ !
तर राजनीति केवल अतीतको महिमा गाउने माध्यम होइन,
यो वर्तमानको मूल्यांकन र भविष्यको निर्माण गर्ने अभियान हो,
जब वर्तमान कमजोर देखिन थाल्छ र भविष्यप्रति दिशाहीनता छाउँछ,
तब सचेत नागरिक र कार्यकर्ताले आत्ममूल्यांकन गर्नैपर्छ ।
मैले त्यही काम गरें !
पछिल्लो एक दशकमा कांग्रेसभित्र गहिरिएको गुटबन्दी,
युवाको लगातार उपेक्षा, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र
जनतासँगको सम्बन्धमा आएको दूरीले
मलाई मनोवैज्ञानिक रूपमा असन्तुष्ट बनायो,
पार्टी पुरानै अनुहारहरूमा निर्भर रहन थालेको छ;
अनुभवी नेतृत्वको नाममा सक्रिय नेतृत्व क्षमताविहीन बनिरहेको छ ।
देश बदल्ने सपना बोकेका हजारौं युवालाई पार्टीभित्र
सुन्ने कान, बुझ्ने मन र ठाउँ थिएन, म पनि त्यो भीडको एक हिस्सा थिएँ
जसलाई चाहिँथ्यो काम चाहिन्थ्यो, तर दिइन्थ्यो केवल आश्वासन !
त्यही बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो ।
परम्परागत पार्टी संरचनाबाट अलग सोच राख्ने
यो शक्ति केवल नयाँ अनुहारको जमात थिएन,
यो साँचिकै सिस्टम परिवर्तनको प्रस्तावसहित आएको थियो ।
‘सिस्टम फेरौं’ भन्ने नारा केवल प्रचारको शैली होइन,
व्यवहारको शैली बन्न थाल्यो, उनीहरूले उठाएका विषय–
जवाफदेहिता, पारदर्शिता, भ्रष्टाचारविरुद्धको स्पष्ट दृष्टिकोण र
जनतासँग प्रत्यक्ष संवाद – यी सबैले मलाई गहिरो रूपमा प्रभावित बनायो ।
म राजनीतिमा केवल भाषण सुन्ने होइन, व्यवहार देख्न चाहन्थें
म परिवर्तनको नाराभन्दा परिवर्तनको अभ्यास खोजिरहेको थिएँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई त्यो सम्भावना देखायो ।
यहाँ म आफ्ना विचार राख्न सक्थें, निर्णय प्रक्रियामा सहभागी हुन सक्थें र
समाजसँग प्रत्यक्ष जोडिन सक्थें ।
त्यसैले मैले नेपाली कांग्रेसबाट अलग भई
राष्ट्रिय स्वतन्त्र पार्टी रोज्ने साहसी निर्णय गरें !
यो निर्णय भावनामा होइन, विवेकमा आधारित थियो ।
यस निर्णयपछि आलोचना पनि आए, प्रश्नहरू पनि उठे–
‘किन कांग्रेस छोड्यौ ?’ भन्ने । मेरो उत्तर सधैँ एउटै रह्यो–
‘पुरानो पार्टीप्रति सम्मान कायम छ तर
अबको राजनीति परिणाममुखी हुनुपर्छ, भावना आधारित होइन ।
आज विचार राख्न र कार्यान्वयन गर्न स्वतन्त्रता पाएको छु ।
पार्टीभित्रको अनुशासन, नवप्रवर्तनशील सोच र
जनमुखी नेतृत्वले मलाई अझ ऊर्जावान बनाएको छ,
मैले महसुस गरें – जब पार्टीले युवालाई विश्वास गर्छ,
तब युवाले पार्टीलाई जीवन दिन्छन् ।
अब प्रश्न ममाथि होइन, पुराना पार्टीहरू माथि उठ्नुपर्छ–
‘किन तिनीहरूले युवालाई अवसर दिन सक्दैनन् ?
किन योग्य मानिसहरूलाई नेतृत्वको पहिलो रेखाबाट टाढा राखिन्छ ?
किन परिवर्तनको डर अझै यथास्थितिमा लुकाइन्छ ?
देश बदल्न नेतृत्व बदल्नुपर्छ, सोच बदल्नुपर्छ ।
अनि मात्र हामीले नयाँ नेपाल देख्न सक्छौं ।
तब मात्र परिवर्तन सम्भव छ – तर त्यो परिवर्तन स्वतःस्फूर्त हुँदैन,
त्यसका लागि आँट, इमानदारी, र सही प्लेटफर्म आवश्यक पर्छ,
मैले त्यो आँट गरेको छु, र विश्वास गर्छु
कि हजारौं युवाहरूले पनि यो आँट गर्न थालिसकेका छन् ।
आज म मेरो ठाउँबाट इमानदारीपूर्वक काम गरिरहेको छु–
नारा होइन, परिणामका लागि !
नेपाली जनताको जय होस !
नगर सभापति,
राष्ट्रिय स्वतन्त्र पार्टी
साफेबगर, अछाम ।
सम्पर्कः ९८४६९८८९४८
प्रकाशित मिति २०८२ असार ३१, मंगलवार ११:२३ गते