क्व्होलासोथार गाउँपालिकामा सार्वजनिक सुनुवाई

क्व्होलासोथार गाउँपालिकामा सार्वजनिक सुनुवाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ३२ गते बुधबार ०६:४४

नागरिक समाजबाट प्राप्त सुझाव तथा राखिएका जिज्ञासालाई फिडव्याकको रुपमा लिने जानकारी दिनु हुँदै आउँदा दिनहरूमा नागरिकप्रतिको सेवा प्रवाहलाई थप प्रभावकारी बनाई गाउँपालिकाको विकास र समृद्धिलाई सँगसँगै लग्ने प्रतिवद्धता पालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले व्यक्त गर्नुभएको थियो ।

बेरुजु शून्य बनाउन र एम्बुलेन्स प्रवन्ध गर्न पालिकाबासीहरूले पालिकाको नेतृत्वलाई सुझाव दिएका छन् ।

मालिङ(लमजुङ)– क्व्होलासोथार गाउँपालिकाले आफ्नो सेवा प्रवाहका बारेमा पालिकाबासीलाई सुसूचित गर्न सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो चौमासिकमा अवधिको सेवा प्रवाहका बारेमा असार ३० गते सार्वजनिक सुनुवाई गरेको हो ।
सो अबसरमा सहभागी भएका पालिकाबासीहरूले पालिकामा बेरुजु शून्य बनाउन र एम्बुलेन्स प्रवन्ध गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
पालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नागरिक समाजबाट प्राप्त सुझाव तथा राखिएका जिज्ञासालाई फिडव्याकको रुपमा लिने जानकारी दिनु हुँदै आउँदा दिनहरूमा नागरिकप्रतिको सेवा प्रवाहलाई थप प्रभावकारी बनाई गाउँपालिकाको विकास र समृद्धिलाई सँगसँगै लग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष गमिमाया गुरुङले स्वागत मन्तव्य राख्दै न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी दिनु भएको थियो । उहाँले समितिको कार्य प्रगति बारेमा उल्लेख गर्नु भएको थियो । उहाँले पालिकाबाट गरिएका र गर्ने कामबारेमा आम नागरिकलाई जानकारी दिन तथा आम्दानी खर्चका बारेमा सार्वजनकीकरण गर्न सार्वजनिक सुनुवाई आयोजना गरेका हो भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले सार्वजनिक सुनुवाईको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । सो क्रममा उहाँले आर्थिक वर्ष २०८१÷८२ को कार्य प्रगति तथा खर्च विवरण सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त सार्वजनिक सुनुवाईमा सहभागी नागरिकहरूले उक्त गाउँपलिका भौगोलिक रुपमा पिछडिएको भएपनि भौतिक संरचना निमार्ण तथा सडकका लागि संघ, प्रदेश र स्थानीय तहले प्रत्येक वर्ष बजेट विनियोजन गरेपनि अपेक्षित उपलव्धी हुन नसेकेको स्थानीयको गुनासो थियो । उनीहरूले बेरुजु, पालिका र विषयगत शाखाको सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्दै पालिकाले कर्मचारी नियुक्तिमा प्रक्रिया पु¥याउनु पर्ने, एउटै ठूलो योजना बनाएर शिलवन्दी आह्वान गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।
गाउँपलिकाले गरेका काम कारवाही सम्वन्धी गुनासो सहित आगामी आर्थिक वर्षमा गर्ने कामहरूमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए । सो क्रममा पालिकाकाबारेमा सामाजिक सञ्जालमा आएका काम कारवाही तथा महालेखा प्रदिवेदनबारे टिका टिप्पणी प्रति ध्यान दिदै औंल्याइएको बेरुजु न्यूनीकरणतर्फ विशेष चासो दिनुपर्ने सुझाव दिएका थिए ।
शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्दै नागरिकलाई सुविधायुक्त सहज स्वास्थ्य सेवा उपलव्ध गराउनेतर्फ पालिकाको ध्यान केन्द्रित हुनपर्ने, स्थानीय तह निर्वाचनको दुई कार्यकाल वित्तिसक्दा पनि पालिकामा एउटा पनि एम्वुलेन्स नहुनु, बिरामी हुदा बोलेरो रिजर्भ गरेर सदरमुकाम तथा जिल्ला बाहिरका अस्पताल धानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो थियो । सहभागीहरूले कृषि, पशु, सिचाँई समस्या, हिउँद वर्षा सहज यातायात सञ्चालन, विपद् व्यवस्थानका बारेमा जिज्ञासा राखेका थिए ।
सोही गाउँपालिकाको आयोजना तथा रेडियो मस्र्याङ्दीको सहजिकरणमा यहाँ सञ्चालित सार्वजनिक सुनुवाईमा रेडियो मस्र्याङ्दीका समाचार प्रमुख बसन्ता भट्ट बानियाले सहजिकरण गर्नुभएको थियो भने रेडियोका निर्देशक मिना गुरुङले बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाईका बारेमा सोही रेडियोका बजार प्रमुख खुशीमाया गुरुङले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वडा सदस्यहरू, विषयगत शाखा प्रमुख र कर्मचारीहरू, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति २०८२ असार ३२, बुधबार ०६:४४ गते
हजुरको प्रतिक्रिया