लमजुङ– आज साउने संक्रान्ति । यो दिन गाउँघरमा लुतो फ्याँक्ने दिनका रुपमा पनि चिनिन्छ । सौर मास अनुसार प्रत्येक वर्ष मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर साउन १ गते मनाइँदैछ ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन प्रचलन छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
यो पर्व बर्षायामका कष्टकर दिन अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको शास्त्रीय मत छ ।
मानो खाएर मुरी उब्जाउने महिना रुपमा लिइने असारको एक महीना काम गर्ने किसानहरूले साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउने गर्दछन् । लोकपरम्परा अनुसार जोडी– जोडी पानी अमला, कागती, अम्बा, नासपाती तथा काग भलायो, कुकर डाइनो, लुतेझार आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो अर्थात लुतो फ्याक्ने चलन छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाज खासगरी गाउँघरमा प्रचलन छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।
साउन महिनाभर देशभरका विशेषगरी शिवालय तथा शिव मन्दिरहरूमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । साउन महिना शिवजीको तथा सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवम् सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।
यसलाई कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । आज विविध सांस्कृतिक एवम् धार्मिक पर्व समेत मनाइन्छ । लुतो फाल्ने दिनका रूपमा यसदिन विशेष सरफाई गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्ति फल सुन्ने प्रचलन छ ।
कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । लमजुङलगायतका स्थानमा साउने संक्रान्तिका दिन छोरीचेलीलाई बोलाएर ख्वाउने चलन पनि छ । यसै दिनबाट नेपालमा नयाँ आर्थिक वर्षको प्रारम्भ हुने दिने मानिन्छ ।
प्रकाशित मिति २०८२ श्रावण १, बिहीबार ०८:१८ गते