वर्षाको कारणले कारागारको पर्खाल भत्कियो, तर कैदी बन्दी भाग्न पाएनन्

वर्षाको कारणले कारागारको पर्खाल भत्कियो, तर कैदी बन्दी भाग्न पाएनन्

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १ गते बिहिबार ११:२४

लमजुङ जिल्ला कारागार ग वर्गको कारागार हो । जसको क्षमता १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको मात्र छ । तर यतिबेला छ जना महिलासहित १ सय ८ जना कैदी र थुनुवा रहेको जिल्ला कारागार प्रशासनले जनाएको छ ।

सो कारागार जिल्ला सदरमुकाम कुन्छाबाट २०२८ सालमा बेसीशहर सरेकै वर्ष निर्माण गरिएको हो ।

लमजुङ– लमजुङको सदरमुकाम बेसीशहर स्थित जिल्ला कारागारको जीर्ण भवन तथा कम्पाउण्डको मुख्य गेट सहितको पर्खाल भत्किएको छ । ठूलो पानी परिरहेको बेलामा असार ३२ गते दिउँसो सो पर्खाल भत्किएको हो दिउँसो भएका कारणले गर्दा कैदी बन्दी भाग्न पाएनन् ।
कारागारको पश्चिमतर्फको कैदी र थुनुवालाई प्रवेश गराउने मूल ढोकासहित पर्खाल भत्किन गएको कारागार शाखाका प्रमुख बेनीबहादुर मुक्तान बताउनु भयो । उहाँका अनुसार दिउँसो ठूलो पानी परिरहेको बेला साँझ करिब पौने ५ बजे पर्खाल भत्किएको हो । उहाँले भन्नुभयो, ‘पर्खालको करिव ३ मिटर चौडाइ भाग भत्किन गएको छ ।’
पर्खाल भित्रबाट बाहिरतर्फ भत्किएको छ । त्यसैले कोही पनि घाइते भएका छैनन् । कारागारको मुख्य प्रवेशद्वार अर्थात ढोकानै भत्किन गएको र सुरक्षा व्यवस्था राम्रो रहेका कारण कुनै पनि कैदी वा थुनुवाले भाग्ने मौका पाएनन् । दिउसोको अफिस समयको अन्तिम बेला तिर घट्ना भएको थियो कारागार शाखाका प्रमुख मुक्तानले भन्नुभयो । थप भत्कने हो कि ? भन्ने जोखिम छ उहाँले उल्लेख गर्नुभयो ।
जीर्ण भइसकेको पर्खाल भीषण पानी परेका कारण भत्किएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले पुष्टि गर्नु भएको छ । उहाँका अनुसार भवन जीर्ण छ, त्यसैले पनि पर्खालमा भत्किने समस्या आइरहेको छ । उहाँले भन्नुभयो, ‘गतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो ।’
लमजुङ जिल्ला कारागार ग वर्गको कारागार हो । जसको क्षमता १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको मात्र छ । तर उक्त जिल्ला कारागारमा तेब्बर भन्दा बढी संख्यामा कैदी र थुनुवा बसिरहेका छन् । हाल उक्त कारागारमा यतिबेला छ जना महिलासहित १ सय ८ जना कैदी र थुनुवा रहेको जिल्ला कारागार प्रशासनले जनाएको छ ।
सो कारागार जिल्ला सदरमुकाम कुन्छाबाट २०२८ सालमा बेसीशहर सरेकै वर्ष निर्माण गरिएको हो । त्यसैले पनि कारागारका पर्खालहरू मात्र नभई सबै संरचना जीर्ण बनेका छन् । मर्मतको कार्य पनि टालटुले पाराको मात्र गर्ने गरिएका कारण समस्या पटक पटक बल्झिने गरेको छ ।
कारागारको पर्खाल भत्किएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा आवश्यकता अनुसार नेपाली सेना पनि कारागार सुरक्षार्थ परिचालन गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०८२ श्रावण १, बिहीबार ११:२४ गते
हजुरको प्रतिक्रिया