खानीगाउँ(लमजुङ)– आफ्नो लगन, सीप, परिश्रम एवम् निरन्तरको मेहनतले जीवन बदल्न महिला पनि दिन सक्षम हुँदै आएका छन् । त्यस्तै उदाहरणीय एक व्यक्तित्वकी धनी हुनुहुन्छ– लमजुङको मर्याङदी गाउँपालिका– ५ को खानी गाउँ स्थित रक गार्डेन निवासी सीता गुरुङ ।
उहाँ लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ५ अर्थात सो वडाको निर्वाचित वडा सदस्य समेत हुनुहुन्छ । अभावका बीचमा संघर्षमय जीवन विताउँदै जनप्रनितिधि बन्नु भएकी सीताले एक सफल व्यवसायिक किसानका रुपमा पनि आफ्नो पहिचान बनाउन सफल हुँदै आउनु भएको छ । विगतको चार वर्षदेखि तरकारी किसानका रुपमा पहिचान बनाउनु सफल हुनु भएकी सीता गुरुङले यतिबेला तरकारी खेतीको साथमा अकबरे खुर्सानी र कागतीको खेतीसमेत गर्नु भएको छ । उहाँले गरेको त्यस्तो खेतीले गाउँका दिदीबहिनीहरूलाई समेत उत्प्रेरित गरेको छ ।
सोही वडाको पनियो पाखा नामक भिरालो जग्गामा कान्ला खोपेर सीताले व्यवसायिक खेती लगाउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार पनियोजस्तै भिरालो ठाउँ भएको हुँदा यस पाखाको नाउँ उहिल्यै बाजेबराजुको पालादेखि नै पनियो पाखा भनिएको रहेछ, हामी पनि त्यही भन्छौं । उहाँले भन्नुभयो, ‘कुनै दिन तिते पातीको जंगल रहेर गाई, बाख्राको चरनको रुपमा परिचित सो पाखामा यतिबेला भने सीता गुरुङले आफ्नो सीप, लगातारको मेहनत एवम् लगनका साथ सेचन गर्नु भएको पसिनाले सुन अर्थात पैसा फल्ने भएको छ ।
धेरै दिदीबहिनी भएको र माइती घरमा पनि दुःख भएको कारणले कलिलो उमेरमा आफू खुशी विवाह गरेर १७ वर्षमै आमा बनेको, श्रीमान्को पनि जागिर नहुँदा निकै अभाव र कठीनका साथ संघर्षपूर्ण दिनहरू बिताउनु पर्यो । त्यसैबीचमा ससुरा बा पनि बित्नु भयो, त्यो घट्नाले हामीमाथि बज्रपात नै परेको अनुभव भएको थियो उहाँले सुनाउनु भयो । यसप्रकार दुःखसँग पैठेजोरी खेल्दै जवानीका दिन बिताउनु भएकी सीतालाई स्वाभिमानका साथ आफ्नो जीवन निर्वाह गर्ने सोख भने सानैदेखि रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘त्यही हुटहुटीले मलाई आज यो स्थानमा ल्याएको हो ।’
रेडक्रस सोसाइटी जिल्ला शाखाको कार्यकारी सदस्य, रक गार्डेन होमस्टेको संस्थापक अध्यक्ष रहेर समाजसेवीको रुपमा समेत रहेर समाजमा समाजसेवीको समेत पहिचान बनाउनु भएकी सीता गुरुङ आफैले गरेको निरन्तरको मेहनतले तरकारी खेती, कागती र अकबरे खुर्सानी खेतीका कारण उदाहरणीय किसान समेत बन्न सफल भएको बताउनु हुन्छ । पछिल्ला दिनमा सीताको सिको गरेर गाउँ वरपरका धेरै दिदीबहिनीहरूले व्यवसायिक तरकारी खेतीमा आग्रसर भएका छन् सोही गाउँका निवृत्त शिक्षक समेत रहनु भएका रक गार्डेन होमस्टेका परिकल्पनाकार कामसार्की गुरुङले जानकारी दिनुभयो ।
रड गार्डेन होमस्टेको संस्थापक अध्यक्ष समेत हुनु भएकी सीताले आफ्नै घरमा होमस्टै सञ्चालनदेखि घर गृहस्थी लगायनको समाजसेवीको काम समेत भ्याएको देख्दा धेरैको आङ्ग सिरिङ्ग गर्छ । सीताले तरकारी खेती, कागती खेतीका साथमा यो वर्षबाट अकबरे खुर्सानीको व्यवसायिक खेती समेत थाल्नु भएको छ । ती तीनै थरीका सबै खेती २/२ रोपनी क्षेत्रफलका दरले गरिरहेको उहाँले जानकारी दिनु भयो । अकबरे खुर्सानीको लागि त मस्र्याङ्दी गाउँपालिका वडानं– ४ र ५ का लागि उहाँ नर्सरी धनी समेत हुनुहुन्छ । उहाँले आफ्नो नर्सरीमा यो वर्ष १८ हजार बराबरका विरुवा उत्पादन गरी प्रतिगोटा छ रुपैयाँका दरले बिक्रि गरेको जानकारी दिनुभयो ।
ती विरुवा मस्र्याङ्दी गाउँपालिकाले उपलब्ध गराएको अकबरे खुर्सानीको बीउबाट तयार गरेको उहाँले जानकारी दिनुभयो । उहाँले उत्पादन गरेका ती विरुवा बिक्री गर्दा गाउँपालिकाले ८० प्रतिशत छुटमा किसानलाई उपलब्ध गराएको थियो । यो छोटो अवधिमा भएको राम्रो आम्दान हो सीताले भन्नुभयो । उहाँका अनुसार अकबरे खुर्सानी गत बैशाखको अन्तिम सातामा विरुवा रोपिएको हो, यो एले फल लाग्न थालेको छ । उहाँले भन्नुभयो, ‘यसको फललाई आउँदो भदौको अन्तिम सातादेखि टिप्न हुन्छ ।’ त्यसपछि बैशाखसम्म नै टिप्न सकिन्छ सीताले जानकारी दिनु भयो ।
अकबरे खुर्सानी अघिल्ला वर्षहरूम परीक्षण गर्दा २, ३ वर्षसम्म एउटै बोटले आम्दानी दिएको थियो, तालिममा त यसले एक वर्ष मात्र उत्पादन दिन्छ भन्नु भएको छ, के कति फल्दो रहेछ हेर्न बाँकी छ सीताले जानकारी दिनुभयो ।
सीताका अनुसार एउटा बोटमा सरदर एक केजी फल्छ भनेर तालिममा भन्नु भएको छ तर यसअघि मैले लगाएको बोटले दुई केजीसम्म फल दिएको थियो । उले भन्नुभयो, ‘यतिबेला पाकेको अकबरे खुर्सानीको बजार मूल्य प्रति केजी चार सय रुपैयाँ हो, त्यो घरबाटै बिक्री हुने गरेकोछ, तर गाउँपालिकाले के दर तोक्नु हुन्छ, त्यसै अनुसार हामी दिन्छौं । जति धेरै उत्पादन गर्न सकेपनि बजारको चिन्ता नगर्नु भन्ने गाउँपालिकाबाट भनिएकोछ, त्यसैले हामी उत्साहित छौं उहाँले उल्लेख गर्नुभयो ।
मर्र्याङदी नदी किनारमा बेसीशहरबाट मनाङ जाने सडकको रामबजारबाट पूर्वतर्फ पर्ने उक्त पनियो पाखा आफ्नो पूख्र्यौली थलो भएको सीताको भनाइ छ । उहाँका अनुसार सुरुका दिनमा त्यो पाखामा आगा खेती गर्नु हुँदो रहेछ, म आएपछि ३,४ वर्ष एक्ले धान लगाएँ । त्यो खेतमा ल्याउने कुलो पैह्रोले बगायो, कुलो बनाउन सम्भव देखिएन । त्यसपछि मैले तरकारी खैती सुरु गरेकी हुँ उहाँले भन्नुभयो । सीताले तरकारी खेती र अकबरे खुर्सानीका अतिरिक्त कागती खेती पनि सोही पाखोमा लगाउनु भएको रहेछ । उहाँले त्यो खेती समेत देखाउनु भयो ।
चार वर्ष अघि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कागतीका ती विरुवा वितरण गरेको रहेछ । दुई सय विरुवा प्रतिगोटा ३० रुपैयाँका दरले किनेर ल्याएर लगाएकी हुँ, ४०/४२ बोट मर्यो होला, ऐले डेढ सय भन्दा बढी हुर्कने क्रममा छ सीताले जानकारी दिनुभयो । उहाँका अनुसार राम्रोसँग हुर्किएको बोटमा यो वर्षदेखि फल लाग्न थालेको छ । ‘कागतीको बोटमा टुप्पोबाट मर्दै जाने रोग लाग्न थालेको हो कि ? जस्तो छ, यसरी मर्यो भने त मेहनत जति सबै खेर जान्छ ।’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
स्मरणीय के छ भने, केही वर्ष अघि लमजुङमा उत्पादन भएको सुन्तला देशका राजधानी काठमाडौं उपत्यकालगायत देशका ठूला शहरहरूमा मात्र हैन बंगलादेशमा समेत जान थालेको थियो । त्यस्ता समाचार पनि निकै आएका थिए तिनताका, तर त्यसको २, ३ वर्ष नबित्दै सुन्तलाका बोटमा टुप्पोबाट मर्दै जाने रोग देखियो । त्यो रोग लागेका कारण मानिसहरूका बगैंचाका बगैंचा सुन्तला सखाप भए । ऐले लमजुङमा सुन्तलाको उत्पादन प्रायः शून्य जस्तै छ । सीताले चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘कागती पनि सुन्तला खेती जस्तै हालत हुने हो कि ? भन्ने पिर लाग्न थालेको छ ।’
अकबरे खुर्सानी सप्रिएको देख्दा भने सीता दंग हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यति राम्रोसँग हुर्कन्छ, ठूलो बोट हुन्छ भन्ने लागेको थिएन ।’ बोट राम्रा भएका छन् । त्यसै अनुसार फल लाग्ने लक्षण देखिएको छ, यसलै आफूलाई उत्साहित बनाएको छ’ सीताले सुनाउनु भयो । उहाँले थप जानकारी दिनु भयो, ‘गाउँका सबै दिदीबहिनीले अकबरेको १०– २० बोट रोपेका छन् । आउँदो वर्षदेखि उनीहरू पनि धेरै जसोले अकबरे खुर्सानीको व्यवसायिक खेती गर्ने भनेका छन् ।’
उहाँले गर्वका साथ सुनाउनु भयो, ‘अब त वैदेशिक रोजगारीमा मलेसिया जानु भएका श्रीमान् सुवधनलाई पनि छिटै गाउँमा बोलाउने र यस्तै व्यवसायिक खेती बढाउने योजनामा छु ।’
प्रकाशित मिति २०८२ श्रावण ३, शनिबार १३:०३ गते