शिवको महिना, पर्यटन र श्रृंगारिक आरती  

शिवको महिना, पर्यटन र श्रृंगारिक आरती  

के बि मसाल

@antaranganews

२०८२ साउन ४ गते आईतबार ०७:०७

शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिशूलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यावरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । धर्म कर्तव्य र अनुशासन पनि हो ।

श्रावण महिनामा बिशेष गरी शिव मन्दिरमा श्रृंगारिक आरती हुन्छ । श्रावण महिनालाई शिवको महिना पनि भनिन्छ । श्रावण महिना धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जुन कारणले तीर्थाटनका पर्यटकहरु आफुलाई पायक पर्ने ठाउमा श्रृगारिक आरती र शिव महापुुराण वाचन भएका शिव मन्दिरमा पुग्ने गर्दछन । विशेष गरी श्रावणको सोमबार शिवजीको व्रत बस्ने महिलाहरु धेरै हुन्छन । पार्वतीले श्रावण महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको भन्ने लोक कथाले महिला तीर्थाटनका पर्यटकहरुले बढी महत्व दिएको पाइन्छ । हिन्दु शास्त्रमा श्रावणलाई मासोत्तम मास अर्थात सबैभन्दा उत्तम महिना र पवित्र मानिन्छ ।
हिन्दु धर्ममा आरती पूजा अर्चनाको एउटा विधि हो । आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्य समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ । आरती सामान्यतः पूजाको अन्तिम समयमा गर्ने गरिन्छ । आरती खासगरी मंगल आरती, पूजा आरती, श्रृगार आरती, भोग आरती, धूप आरती, सन्ध्या आरती र शयन अरतीसमेत आठ किसिमका आरती हुन्छन । यी मध्य श्रृगार अर्थात श्रृंगारिक आरतीको बिशेष महत्व मानिन्छ । श्रृगारिक आरती तीर्थाटनका पर्यटकहरुका लागि आकर्षण हुने गर्दछ । तीर्थयात्रीहरु श्रृगारिक आरती हेर्न शिव मन्दिर पुग्ने गर्दछन । साँझपख बत्तीको उज्यालोमा, चन्दन र फूलको सुवासमा, सगीतको लहरमा आरम्भ हुने आरतीले पर्यटकहरुमा आध्यात्मिक चेतना जगाउने गर्दछ । श्रृगारिक आरती नेपाली मौलिक संस्कृति भने होइन । तर बदलिँदो समयसँगै धार्मिक सांस्कृतिक आरती पनि आयात भएको छ । श्रृगारिक आरतीको सुरुवात भारतको बृन्दावन र उत्तर भारतीय वैष्णव परम्पराबाट भएको मानिन्छ । जहाँ कृष्ण–राधाको श्रृङ्गार, नृत्य, गीत र दीप–धूपसहितको आरतीलाई विशेष महत्व दिइन्छ । नेपालमा विशेष गरी केही शिव मन्दिर, धार्मिक संस्था र कथावाचन कार्यक्रमहरुमा समेत श्रृगारिक आरती लोकप्रिय बन्दै गएको छ ।
श्रृगारिक आरती भनेको ईश्वरप्रति गरिने प्रेम अर्थात भावनात्मक आस्था हो । श्रृगारिक आरती गर्दा धेरै बत्ती एउटै आरतीमा राखी साजसज्जा गरेर आकर्षक तरिकाले भक्तिभाव दर्शाइन्छ । आरती गर्ने बटुकहरुको पोशाक पनि एउटै हुन्छ । बिशेष गरी तीर्थाटनका पर्यटकहरु आरतीको समयमा खुशी हुन्छन । कोहि आरतीको लोक भजनमा स्वर मिलाउँदै नाच्न थाल्दछन । लोक भजन स्थानीय भाषा, धुन र संस्कृतिमा आधारित हुन्छ । यसले जनजीवनका आस्था, मूल्य, अनुभव र विश्वासलाई भावपूर्ण ढङ्गले प्रस्तुत गर्ने गरिन्छ । लोक भजनको गायनले मन्दिरको वातावरणलाई भक्तिपूर्ण बनाउँछ । मन्दिरमा गुञ्जिने भजनले तीर्थयात्रीहरुको थकान मेटाउछ र साधनाको अनुभूति दिन्छ । अर्को तर्फ भजनले धार्मिक स्थलको सांस्कृतिक महत्व पनि उजागर गर्दछ ।  लोक भजन केवल गायन मात्र नभएर तीर्थस्थललाई जीवित, संस्कारयुक्त र आध्यात्मिक रुपमा समृद्ध बनाउने माध्यम पनि हो ।
श्रावण महिनाको बिशेष गरी सोमवार विवाहित महिलाहरु पतिको दीर्घायुको कामना र अविवाहित नारीहरु सुयोग्य बर मिलोस भन्ने कामनाका साथ शिवको आराधना गर्न शिवालयमा पुग्दछन । शिव मन्दिरमा जाँदा ॐ नमः शिवायको मन्त्रले शिवमा समर्पित हुन्छन । शैव धर्म मान्नेहरुको ॐ नमः शिवायको मन्त्र अत्यन्त महत्वपूर्ण मानिन्छ । शिव मन्दिरमा शिव महापुुराण सत्संग ज्ञान महायज्ञ र श्रृगारिक आरतीले तीर्थाटन पर्यटकहरुलाई मनमुग्द गराउछ । पूजाको अन्तिम समयमा गरिने आरती पुजा उपासनाको विधि हो । पर्यटकहरु शिव मन्दिरको दर्शनपछि श्रृंगारिक आरतीमा सहभागी हुने गर्छन । अर्को तर्फ संगीतमय श्रृगारिक आरती हेर्न प्रत्येक साँझ शिव मन्दिरमा भेला हुने गर्छन । श्रृगारिक आरतीको भजनमा कोहि नाच्न थाल्दछन, कोहि भजनको स्वरमा स्वर थप्दै ताली पिटेर आनन्द लिन्छन । आरतीको भजनले तीर्थाटनमा पुगेका पर्यटकलाई मन देखिनै सकरात्मक भाव जागेर आउछ । आरतीको टुकी घ्यू वा तेलको दियो पनि हुन सक्छ । यसमा वैकल्पिक रुपबाट घ्यू, धूप तथा सुगन्धित पदार्थहरुको पनि मिश्रण गरिएको हुन्छ । तर आजभोली श्रृगारिक आरतीमा   पर्यटकहरुलाई आकर्षण गर्न फस्फोरस जस्ता केमिकल समेत प्रयोगमा ल्याउन थालेको देखिन्छ ।
सनातन परम्परामा भगवान शिवलाई कल्याणकारी देवता मानिन्छ । देवताका पनि देवता भनिने महादेवको पूजा अत्यन्त सरल र शीघ्र फलदायी मानिन्छ । भगवान शिवको पूजा, जप र तपस्याका लागि श्रावण महिना उत्तम मानिन्छ । श्रावण महिनामा महादेवको आराधना गर्नाले शिवभक्तले मनोकांक्षा प्राप्त गर्ने तीर्थाटनका पर्यटकहरुको विश्वास छ । शिव पुराण हिन्दू धर्मको १८ पुराणहरु मध्यको एक धार्मिक ग्रन्थ हो । यस पुराणमा भगवान शिवको बारेमा उल्लेख गरिएको छ । शिव महापुराणमा मुख्य रुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ । पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणको मूर्तिको रुपमा लिइएको छ । शिव चाँडै सहज रुपमा प्रसन्न हुने र मनोवाञ्छित फल दिने देवता मानिन्छ । शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिशूल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति भएको मानिन्छ । पर्यटकहरुलाई शिवको यस्ता स्वरुप किन भएको होला भन्ने जान्ने उत्सुकता हुन्छ । शिव स्वरुपको रचना अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । शिवले कम्मर मुनी बाघको छाला बाँधेका छन । बाघ हिंसाको प्रतिक हो । त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनु पर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिशूलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यावरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।
श्रृंगारिक आरती मूलतः भक्ति र श्रद्धामा आधारित हुन्छ । तर पछिल्लो समय आरती प्रदर्शन र प्रतिस्पर्धामा रुपान्तरण हुँदै गएको छ । केही मन्दिरमा श्रृंगारिक आरतीमा लाखौं रुपैयाँको श्रृंगार सामग्री प्रयोग गरिन्छ । मन्दिर समितिहरुले विशेष आरती प्रायोजक तोक्छन जसले ठूलो रकम दान गर्छ त्यसको बदला उसलाई बत्ती बाल्न, पूजाको सामाग्री चढाउन, पोषाक लगाइ मञ्चमा उभिन अधिकार दिइन्छ । यो परम्परालाई केही मन्दिरहरुमा आरती टेन्डर प्रणाली नै भनिन थालिएको छ । अर्को तर्फ श्रृगारिक आरतीको सांस्कृतिक एवं कलात्मक पक्षको पनि महत्व छ । श्रृगारिक आरती आफैंमा एक सांस्कृतिक नाटय रुप हो । श्रृगारिक आरतीमा संगीत, नृत्य, वेशभूषा, रङ्गसज्जा, लाइटिङ्ग र पूजाविधिको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुन्छ । कतिपय मठमन्दिरहरुमा यो आरती धार्मिक नाटय अर्थात लीला प्रदर्शन गरिन्छ । यो परम्परा केवल धर्ममा सीमित नभई नेपाली कला, संगीत र नाटयशैलीको संवाहक पनि हो ।
श्रृंगारिक आरतीले पर्यटकहरुलाई अवश्य आकर्षित गर्छ । तर जब ती पर्यटक मन्दिरमा भक्ति भन्दा आरती खर्च विवरण, कसले कति दियो भन्ने चर्चा सुन्छन तब उनीहरुको धार्मिक अनुभूति खण्डित हुन्छ । धार्मिक स्थलमा न्यानोपन, शान्ति, आध्यात्मिक उर्जा खोज्न गएका ती तीर्थाटनका पर्यटकहरु जब दानदाता र प्रायोजक बीचको होड देख्छन तब उनीहरु मन्दिर भन्दा मेलामा आएको महसुस गर्न थाल्छन । श्रृंगारिक आरती भित्रको श्रद्धा बाहिर प्रदर्शनको वस्तु बन्न हुदेन । श्रृंगारिक आरती नेपाली धार्मिक संस्कृति र पर्यटनको एक समृद्ध पक्ष हो । आरती पैसाको प्रदर्शन, प्रतिस्पर्धाको मञ्च र आडम्बरको अखडा बन्न थाल्छ, तब त्यसको पवित्रता ओझेलमा पर्छ । श्रृंगारिक आरतीको सौन्दर्यमा भक्ति मिसाएर त्यसलाई धर्म, दर्शन र पर्यटनको सेतु बनाउन पर्दछ । श्रृगारिक आरती धार्मिक आस्थाको सुगन्ध हो । जहाँ भक्तिको फूल फुल्छ र सौन्दर्यमा भक्ति झल्किन्छ । यसले मन्दिरको आन्तरिक वातावरणलाई मात्र होइन, समग्र तीर्थक्षेत्रको सांस्कृतिक छवि र पर्यटन विकासलाई समेत समृद्ध बनाउँछ । यसको संरक्षण, प्रवद्र्धन र मर्यादित सन्चालन जरुरी छ । ताकि श्रृगारिक आरती केवल एक धार्मिक विधि नभएर आध्यात्मिक अनुभव र सांस्कृतिक उत्सवको पर्याय बन्न सकोस ।
अर्को तर्फ  श्रावण महिनामा गेरु बस्त्र धारण गरेर बोलबम अलाप्दै यात्रा गर्ने तीर्थाटनका पर्यटकहरुको पनि लस्कर देखिन्छ । बोलबमको प्रारम्भ साउनको पहिलो सोमबारबाट सुरु हुन्छ । बोलबम यात्रालाई काँवरीया भनिन्छ । बोलबमका तीर्थयात्रीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ । काँवरको दुई छेउमा घैला झुन्डयाएर त्यसमा पानी भरेर शिवजीको मन्दिरमा चढाइन्छ । मन्दिरमा त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल र धतुराको फूलले पूजा गरिन्छ । पछिल्लो समय बोलबमको यात्रा युवा पुस्ताहरुमा पनि आकर्षण हुन थालेको छ । बोलबमको शाब्दीक अर्थ हो, शिवको मन्त्र जप्नु । बोलबमको यात्रामा शिवको मन्त्र उच्चारण गर्दा तीर्थाटनका पर्यटकहरुलाई फाइदा हुन्छ । बोलबमले सात्विक खानपान र उपवास बस्नुपर्ने प्रचलन छ । बोलबममा यात्रा गर्ने तीर्थाटनका पर्यटकहरुले तामासिक जीवनशैली पूर्णत त्याग्नु पर्दछ ।
विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ । सनातन धर्म सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ । सनातन धर्म कसैले चलाएको धर्म भने होइन । सनातन धर्मका प्रवर्तक पनि कोही हुँदैनन । साक्षात इश्वर नै सनातन धर्मका प्रवर्तक हुन भन्ने मान्यता रहेको छ । वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । हिन्दुधर्मको मूल आधार वेद हो । वेदको विस्तार वेदव्यासले गरेका हुन । हिन्दुहरुको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सत्पुत्र हुन । रामायण लेख्ने वाल्मीकि नेपालकै भूमिमा बस्दथे । तर नेपालमा हिन्दु धर्म मान्य मानिसहरु मात्र नभएर अन्य दश वटा धार्मिक समुदाय रहेका छन । नेपाली समाजमा सबै धर्म समान छन । हिन्दु हुन वा मुस्लिम, किरात हुन वा बौद्ध आपसी प्रगाढ सम्बन्ध रहेको छ । तीर्थाटन पर्यटनका लागि सबै धर्मका मठ मन्दिर, चर्च र मस्जितहरुमा पर्यटकहरु पुग्ने गर्दछन ।
तर मठ मन्दिरमा पुग्ने पर्यटकहरु सबै धर्मका लागि पुग्दैनन् । धर्म धारणा हो, देखावटी पन होइन । इश्वर प्रति विश्वास भए धर्म मान्ने हो । विश्वास नभए नमान्न पनि सकिन्छ, । तर धर्म पालनले धेरै कुरा सिकाउछ । धर्म कर्तव्य र अनुशासन पनि हो । धर्म भनेको सदभाव पनि हो । सत्विचार पनि हो । सकारात्मक हुनु पनि हो । कृतज्ञ हुनुपनि हो । अर्थात मन शुद्ध हुनु पनि हो । कसैप्रति आग्रह र पूर्वाग्रह नराख्नु धर्म हो । कसैलाई हेला, हेय दृष्टिले हेर्ने, होच्याउने र ढाटछल नगर्नु पनि धर्म हो । अर्को तर्फ कसैको भावनामा चोट नपु¥याउनु पनि धर्म हो । सधै सन्तुलित, सकारात्मक र सही हुनु पनि धर्म हो । धार्मिक आस्थाको केन्द्र बन्न पुगेका मन्दिर, तीर्थस्थल र शक्तिपीठहरु केवल पूजाआजा र दर्शनका निम्ति मात्र नभएर सांस्कृतिक पहिचान, पर्यटकीय आकर्षण र शान्तिको खोजीको केन्द्रसमेत बनेका छन । धर्म कुनै एक जाति, सम्प्रदाय, वा अनुष्ठान मात्र होइन । यो त जीवन जीउने उच्चतर मार्ग हो । मन्दिर जानु धर्मको एक माध्यम त हो, तर धर्मको सार होइन । यदि मन्दिर जाँदा तपाईंको मनमा दया जाग्दैन, अरु प्रति आदरभाव राख्दैनौं, सत्य र कर्तव्य पालनमा चुक्नुहुन्छ भने, त्यो साँच्चिकै धर्म होइन केवल कर्मकाण्ड मात्र हो । धर्म भनेको केवल मन्दिर जानु, पूजा गर्नु, वा टीका लगाउनु मात्र होइन । धर्म भनेको आफ्नो सोच, आचरण र व्यवहार मार्फत सत्य, दया, र न्यायमा आधारित जीवन बिताउनु हो ।
आजभोलि धर्म प्रदर्शन मुखी देखिएको छ । तर यसको वास्तविकता अन्तर्मनको चेतना र सदाचरणमा लुकेको छ । धर्मको नाममा कतिपय मन्दिरहरुमा धर्मको ब्यापार पनि हुने गरेको छ । लिन जान्ने दिन नजान्ने । मन्दिरमा दानदिदा अर्थात भेटी चढाउदा पुण्य कमाइन्छ । भगवानले बरदान दिन्छन जस्ता कुराहरुको विश्वासमा तीर्थयात्रीहरुले दान दिने गर्दछन । कहिले सस्ंथाको नाममा त कहिले सुख शान्तिको नाममा तीर्थयात्रीहरुले लाखौको रकम दान दिने गर्दछन । यसरी जम्मा हुने रकमको न त्यसको हिसाब हुन्छ, न कुनै आयकर हुन्छ, न त राज्यलाई फाइदा । तर मन्दिरमा पुग्ने तीर्थाटनका पर्यटकहरुलाई खानेपानी, शौचालय जस्ता अति आवश्यक कुराहरु पनि हुदैन ।
आरतीमा कुनै एक जना प्रमुख हैन, सबै भक्तजन समान सहभागी बनुन । आरतीको सौन्दर्य सजावटमा होइन, भक्ति र संयोजनमा होस । मन्दिरले प्राप्त हुने दान सार्वजनिक गरियोस । दान दिने श्रद्धालुलाई दर्शनीय बनाउने होइन, सदुपयोग सुनिश्चित गरियोस । शिवको महिना साउने पर्वलाई क्षणिक आनन्द र रमाइलो पर्वको रुपमा मात्र नहेरी सनातन धर्म भित्र लुकेको सत्यलाई पहिचान गरी रमाउन सिकौँ । अहंकार, घमण्ड र व्यभिचारी भावनालाई परित्याग गरी नैतिकवान र शुद्ध र पवित्र चिन्तनका साथ धर्म र संस्कृतिको संरक्षण गरौँ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ श्रावण ४, आईतवार ०७:०७ गते
हजुरको प्रतिक्रिया