काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १० हजार ८६७ जना उतीर्ण

काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति परीक्षामा १० हजार ८६७ जना उतीर्ण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ४ गते आईतबार ०६:५१

पूर्व मनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नु पर्नेछ ।

महानगरले १६० संस्थागत विद्यालयहरूमा चार हजारभन्दा बढी छात्रवृत्तिका सिटहरू रहेको जनाएको छ ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ र १२ मा को लागि लिइएको प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको करिब २४ घण्टाभित्रै सार्वजनिक गरेको छ ।
हिजो अर्थोत साउन ३ गते लिइएको परीक्षामा ५४ केन्द्रहरूमा १४ हजार १७३ जना विद्यार्थीले भाग लिएका थिए । तीमध्ये १० हजार ८६७ जनाले न्यूनतम ४० अंक प्राप्त गरी परीक्षा उत्तीर्ण गरेको महानगरको शिक्षा विभागले जनाएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अंक (४० प्रतिशत) आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागको भनाइ छ ।
महानगरका अनुसार नतिजा अप्टिकल मार्क पहिचान प्रणाली प्रयोग गरी परीक्षण गरिएको हो । यसले उत्तरपुस्तिकालाई स्वचालित स्क्यानमार्फत मूल्यांकन गर्ने भएकाले नतिजा छिटो र पारदर्शी रूपमा सार्वजनिक गर्न सम्भव भएको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार २४ घण्टामै नतिजा प्रकाशन गर्नु उदाहरणीय कार्य हो । उहाँले भन्नुभयो, ‘शिक्षा विभागको मेहनत, योजना आयोगको समन्वय र दुई वर्षको अनुभवका कारण यो सम्भव भयो, हामी दिनरात खट्यौं, किनकि अहिलेको समय विद्यार्थी भर्नाको हो, ढिलो भए विद्यार्थीहरू मारमा पर्न सक्थे ।’
उत्तरपुस्तिका ओएमआर प्रणालीद्वारा जाँच :
परीक्षाको उत्तरपुस्तिका ओएमआर प्रणालीमार्फत गरिएको थियो । यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेले बताउनु भयो । उहाँका अनुसार काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिब ४,००० भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ति उपलब्ध गराउ छ ।
ती सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, ५ प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १ प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ ।
त्यसबाहेक अतिरिक्त, महिला, दलित, आदिवासी र जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रका बासिन्दा र शहीदरबेपत्ता परिवारका बालबालिकाका लागि सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूका लागि ४० प्रतिशत आरक्षण कोटा पनि छुट्याइएको जनाएको छ ।
विद्यार्थीहरूले एसईईको सिम्बोल नम्बर, जन्ममिति र प्राप्त पासवर्ड प्रयोग गरी महानगरको आधिकारिक वेबसाइट entrance.kathmandu.gov.np  वा महानगरको वेबसाइटमार्फत नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्ने बताइएको छ ।
देशभरका ७७ जिल्लाबाट १७ हजार २२९ आवेदन परेका थिए । जसमध्ये १६ हजार १३७ जनाको आवेदन छनोट भएकोमा १४ हजार १७३ जनाले परीक्षा दिएका थिए । तीमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
सो परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो । अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० र सामान्य ज्ञानबाट १० प्रश्न गरी १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए । गलत उत्तरमा कुनै नकारात्मक अङ्कन थिएन ।
महानगरले १६० संस्थागत विद्यालयहरूमा चार हजारभन्दा बढी छात्रवृत्तिका सिटहरू रहेको जनाएको छ ।
विषयगत रूपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ । पूर्व मनोनयनमा आफूले अध्ययन गर्न चाहेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना भइसक्नु पर्नेछ । तोकिएको मितिभित्र भर्ना नभएर रिक्त रहेका सिटहरूमा बाँकी विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिनेछ ।
यो सूचीमा पनि रोजाई अनुसारको विषय र कलेजमा भर्ना हुन नसकेमा, प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा रिक्त सिटमा Wrap/up कोटामा मनोनयनका लागि पुनः योग्यताक्रमका आधारमा रोजाइका लागि सूचना प्रकाशित गरी छनोट गरिने शिक्षा विभागले जनाएको छ ।

प्रकाशित मिति २०८२ श्रावण ४, आईतवार १८:५१ गते
हजुरको प्रतिक्रिया