
पाउँदी(लमजुङ)– लमजुङमा नवस्थापित धार्मिक गन्तव्यस्थल धर्मनाथ धाम सर्वोदय सेवाश्रम परिसरमा बोलबम यात्राको उद्घाटन गरिएको छ । संघीय सांसद शंकर भण्डारीले गमलामा पानी सिंचन तथा पूर्वसांसद एवम् सनातन संस्कृतिका अभियन्ता शंकर पाण्डेले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा साउन ५ गते साउनको पहिलो सोमबारका दिन उदघाटन गर्नु भएको हो ।
प्रमुख अतिथि भण्डारीले यस्ता धार्मिक कार्यक्रमले सनातन हिन्दु धर्मले समाजमा एकता र शिवको महिमाले मानवमा शक्ति प्राप्त हुने बताउनु भयो । उहाँले उहाँले यो नेपाल भूमि बुद्ध, सीता, आराध्यदेव भगवान शिवको भूमि भएको बताउँदै ॐकार परिवार एकै हो तर यहाँ विभाजन ल्याउन खोजिएको छ तर विभाजित हुनु पर्ने कुनै कारण छैन भन्नुभयो । उहाँले नेपाल वैदिक सनातन संस्कृतिको उपज भएको उल्लेख गर्र्दै देशको धर्म हुन्न भन्नु कुतर्क हो भन्नुभयो । उहाँले विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिले बाइबाल छोएर शपथ गर्ने गर्दछन् । विश्वमा ५० को हाराहारीमा इस्लाम धर्मराष्ट्र रहेको र त्यत्तिकै संख्यामा अन्य धर्मका राष्ट्र छन् भन्नुभयो । उहाँले वैदिक सनातल धर्म आयुर्वेद विज्ञानसँग सम्बन्धित छ भन्दै उहाँले आयुर्वेद विज्ञानको पद्दतिले उपचार गर्दा खर्च पनि धेरै कम लाग्ने उल्लेख गर्नु भयो ।
उहाँले नेता वा पार्टीहरूले नेपाल राष्ट्रको निर्माण गरेका होइनन् भन्नुभयो । उहाँले मातृशक्तिको ठूलो भूमिका रहेको उल्लेख गर्र्दै नालापानीको युद्धमा पाँच दिनकी सुत्केरी आमाले पटुका कसेर लडेको स्मरण गर्नुभयो ।
उहाँले तनहुँ सिमलचौर गाउँको फेदी डुम्रे बेसशिहर सडकको रयाले र सर्वोदय सेवाश्रमको दक्षिणी कम्पाउण्ड जोड्ने गरी झोलुंगे पुल निर्माणको काम डिपिआर भएर पनि अलपत्र परेकोमा निर्माणका लागि प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उक्त पुल बनेमा रयालेबाट आश्रममा पाँच मिनेटको दुरीमा आउँ जाउ गर्न सकिनेछ ।
सनातन संस्कृतिका अभियन्ता पूर्वसांसद शंकर पाण्डेले आफ्नो संक्षिप्त मन्तव्यमा बोलबम र सनातन संस्कृतिका बरेमा जानकारी दिनु भएको थियो । उहाँले यो ब्रह्माण्ड सञ्चालन गर्ने शक्ति अर्को कुनै छ र त्यो चैतन्य शक्ति हो, चेतना हो भन्ने विज्ञानले समेत सिद्ध गरेको छ भन्नुभयो । ती बैज्ञानिकको नाम एलेट आस्टेक हो उनले सन् २०२२ मा नोवेल पुरस्कार समेत जितेका थिए भन्ने जानकारी दिनुभयो । उहाँले अलमलमा पर्ने बेला छैन हामी नेपाली हौं र जय नेपाल भन्दा कुनै पार्टी विशेषको होइदैन भन्नुभयो । उहाँले नेपाली सेना, प्रहरीले जय नेपाल भन्दा पार्टी विशेषको नहुने र हामीले भन्दा पार्टीको हुन्छ भन्नु गलत हो सबैले जयनेपाल भन्नु पर्छ उहाँले भन्नुभयो ।
बोलबम वालिङको बारेमा जानकारी दिदै सबै प्रकारका पेशा व्यवसायकका मानिसहरू यस समितिमा रहनु भएको १० दिनको समय निकालेर यस्तो यात्रा हरेक वर्ष गर्ने गरेको जानकारी पूर्वसांसद पाण्डेले दिनु भयो । उहाँले साउन महिनामा हरियो लगाउनु पानीको सम्मान हो भन्नुभयो । त्यस्तै, रातो र पहेलो रङ्गका बारेमा प्रकाश पार्नु हुँदै यी रङ्ग परिपक्वताका हुन् भन्नु भयो । उहाँले जसरी फलफूलहरू परिपक्व भएपछि पाकेर पहेला हुन्छन् त्यसरी ने यो परिपक्वताको चिह्न हो भन्ने उल्लेख गर्नुभयो ।
शिवजीले समुद्र मथन गर्दा निस्केको कालकुट विष सेवन गरेर घाँटीका अड्काउँदा भएको पीडा हटाउनका लागि जल सेचन गर्ने, हरियो बेलपत्रले हम्कने गरिएको थियो । त्यो काम पनि साउन महिनाकै सोमबार परेको हुँदालेत्यो बेलादेखि महादेव नामाकरण भएको र बोलबम यात्राको थालनी भएको हो भन्ने जानकारी दिनुभयो ।
बोलबम समिति वालिङका अध्यक्ष दिपेन्द्र तिवारीको अध्यक्षता भएको सो समारोहमा उहाँले आफू २२ बर्षदेखि निरन्तर यो अभियानमा लागेको र बोलबोमबाट निकै शक्ति मिलेको, बर्षमा १० दिन यस कार्यमा समर्पित गर्ने गरेको बताउँदै यो अवसर दिने सर्वोदय सेवाश्रम, धर्मनाथ धामलाई धन्यवाद दिनु भएको प्रचार प्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले बताउनु भएको छ ।
सो अवसरमा राइनस नगर प्रमुख खड्गबहादुर गुरुङले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा चण्डीप्रसाद गणका प्रतिनिधि सेनानी प्रदिप थापा, भोटेओडार प्रहरी प्रमुख प्रहरी निरीक्षक मनोज पाण्डे, नेपाली काँग्रेसका गोबिन्दप्रसाद धिताल, नेता बिस्नुमाया धिताल, काँग्रेसका राइनासका सभापत्ती श्रीकृष्ण पौडेल, जन्म दिनमा बृक्षारोपणका अध्यक्ष बासुदेव सेडाइ, समुता गुम्बा भोटेओडारका अध्यक्ष बिरसिङ घले, कृपेश्वोर भजन समितिका अध्यक्ष हरिबहादुर केसी, सिद्धेश्विर भजन समुहका गायक पशुपत्ती न्यौपाने, विश्व हिन्दु महासंघका जिल्ला प्रतिनिधि कमल अधिकारी, विभिन्न भजन तथा आमा समूह आदिको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन सर्वोदय सेवाश्रका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले गर्नु भएको थियो ।
सोही अवसरमा शिव मन्दिर परिसरमा प्रमुख अतिथि भण्डारीले बेलको विरुवा रोपण गर्नु भएको थियो भने अन्य अतिथीबाट पनि बिरुवा रोपन कार्य भएको थियो ।
सो अवसरमा सर्वोदय सेवाश्रममा संस्थागत तथा व्यक्तिगत गरी जम्मा १४० जनाले दान गर्नु भएको नगद ६२ हजार २५ रुपैयाँ, खाद्यान्न, फलफूल, जुस पानी आदि दान प्राप्त भएको आश्रमका कोषाध्यक्ष भूमिनन्द निमिल्सिनाले बताउनु भयो । आश्रमको तर्फबाट दाताहरूसबैलाई अध्यक्ष ओलियाले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
राइनास नगरपालिका– ८ स्थित उक्त सर्वोदय सेवाश्रम धर्मनाथ धाममा अब साउन महिनाका प्रत्यके सोमबार यस्तो कार्यक्रम गरिने तयारी रहेको ओलियाले जानकारी दिनु भएको छ । उहाँका अनुसार लमजुङ त्यसमा पनि राइनासकोट गोरखनाथको पहिलो आशीर्वाद प्राप्त भूमि भएको र नेपालको एकीकरणको थालनी भएको ऐतिहासिक थलो समेत भएको हुँदा यो थलोलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गराउन सकिने प्रसस्त सम्भावना रहेको र शिव महिमाको उजागर गर्ने विश्वास गरिएको छ ।
लमजुङका राइनास र सुन्दरबजार तथा तनहुँको भानु नगरपालिकाको संगमस्थलमा धर्मनाथ धाम रहेको छ ।
उक्त कार्यक्रममा रुपन्देही, पाल्पा, स्याङजा र कास्कीबाट ४ वटा बसमा बोलबम यात्रीको आगमन भएको थियो । साथै विभिन्न स्थानबाट झाँकी सहितको भजन टोलीले सांगीतिक प्रस्तुति दिएका थिए । श्रावण महिनाको प्रत्येक सोमवार आसपासमा रहेका तीन पालिकाका भजन समूहरूलाई पनि आआफ्नो प्रतिभा देखाउन र शिव महिमा गाउनका लागि आमन्त्रण गरिएको थियो ।
सो मेलामा वालिङको बोलबम यात्रा समितिको टिमले विगतको २२ वर्षदेखि निरन्तर रुपमा सहभागी भएकोले पनि उक्त कार्यक्रमको विशेष महत्व रहेको बताइएको छ ।



प्रकाशित मिति २०८२ श्रावण ५, सोमबार २१:५२ गते