अथक प्रयास गरे असम्भव पनि सम्भव हुन्छ : वनमन्त्री पौडेल

अथक प्रयास गरे असम्भव पनि सम्भव हुन्छ : वनमन्त्री पौडेल

प्रमिला रेग्मी

@antaranganews

२०८२ साउन ९ गते शुक्रबार ०८:३०

आश्रममा गत आवमा कुल एक करोड १३ लाख ७२ हजार ८५७ रुपैयाँ खर्च भएको र निर्माणतर्फ प्राप्त अनुदानले नपुगेका कारणले १० लाख ५९ हजार ८२४ रुपैयाँ सञ्चित कोषबाट सापटी लिएर काम गरेको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

सर्वोदय सेवाश्रममा २३ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

पाउँदी(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट मर्स्याङदी नदी किनार स्थित सर्वोदय सेवाश्रममा २३ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम गण्डकी प्रदेशका वन तथा वातवण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा साउन ८ गते सम्पन्न भएको हो ।
प्रमुख अतिथि पौडेलले यो आश्रम स्थापना गरेर निरन्तर मानव सेवामा जुटिरहेको र यसलाई धर्मनाथ धाम समेत निर्माण गर्न सफल हुनु महान कर्म भएको बताउँदै अथक प्रयास गरे असम्भव भनिएको पनि सम्भव हुने हुन्छ भन्नुभयो । उहाँले राष्ट्र भन्दा ठूलो मानवता हो, हामीले सधैँ मेहनत गर्नुपर्छ हामी सधैं निरन्तर लाग्न सकियो भने नतिजा आउने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले त्यस अघि आश्रम हातामा आयुर्वेद र धार्मिक महत्वको सीता अशोकको विरुवा रोपण गर्दै कार्यक्रमको थालनी गर्नु भएको थियो ।
मन्त्री पौडेलले समाजसेवामा सहभागी हुन पाउँदा हर्ष व्यक्त गर्दै सेवा संस्कार हाम्रो पुर्खाबाट प्राप्त एक अमूल्य सम्पदा भएको उल्लेख गर्नुभयो । त्याग र निष्ठाका मूल्यहरू क्रमशः ओझेलमा पर्दै गइरहेको सन्दर्भमा, सर्वोदय सेवाश्रमजस्तो संस्था मानवताको उज्यालो उदाहरणका रूपमा उदाउँदै गएकोमा उहाँले प्रशंसा गर्नुभयो । ‘हामीले गरेका कामले जनसमुदायमा आशा जगाउने, सामान्य नागरिकको अनुहारमा मुस्कान ल्याउने हुनुपर्छ’, मन्त्री पौडेलले भन्नुभयो । हरेक क्षेत्रका अनुभव र सन्देशलाई ग्रहण गर्दै समावेशी भावनाका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले बृद्धावस्थामा सबैलाई सहारा, माया, आत्मीयता र सेवाको आवश्यकता पर्ने भएकाले यस्ता सेवामूलक कार्यहरू समाजका लागि अत्यन्तै आवश्यक रहेको बताउनुभयो । जनताले प्रदान गर्नुभएको जिम्मेवारीसहित समाजसेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु हुँदै बोलबम, योगा, धर्मनाथ धामले स्थानीय क्षेत्रमा पु¥याउँदै आएको योगदान उल्लेखनीय रहेको उहाँले बताउनु भयो । यस्ता धार्मिक, सांस्कृतिक तथा सेवामूलक संस्थाहरूलाई सबै पक्षले सहयोग गर्नुपर्नेमा उहाँको विशेष जोड थियो ।
सो अवसरमा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, राष्ट्रिय जेष्ठ नागरिक समाजका महासचिव मोहनलाल श्रेष्ठ(गोर्खा), एमालेका नगर सचिव आनन्द त्रिपाठी, वडाध्यक्ष शंखबहादुर नेपाली, विश्वहिन्दू महासंघका प्रतिनिधि कमल अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा आश्रमका कोषाध्यक्ष भूमिनन्द तिमिल्सिना र लेखापाल विजय मिश्रले आयव्यय प्रस्तुत गर्नु भएको थियो । आश्रममा गत आवको अवधि गत असार मसान्तसम्ममा कुल एक करोड १३ लाख ७२ हजार ८५७ रुपैयाँ खर्च भएको र निर्माणतर्फ प्राप्त अनुदानले नपुगेका कारणले १० लाख ५९ हजार ८२४ रुपैयाँ सञ्चित कोषबाट सापटी लिएर काम गरेको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रमको व्यवस्थापनमा १२ लाख ५६ हजार ६८२ रुपैया खर्च भएको थियो । उहाँले भन्नुभयो, ‘दुई राष्ट्रिय पुरस्कारको अक्षयकोषमा १० लाख १० हजार रुपैयाँ रहेको छ भने मूल अक्षयकोष तथा सञ्चित कोषमा कुल चार लाख ५५ हजार रुपैयाँ रहेको छ ।’
त्यसैगरी, आश्रममा पाँच(हाल छ जना) कर्मचारी रहेको जानकारी दिदै तलबभत्ता, यातायात आदिमा नौ लाख ८२ हजार ८९३ रुपैयाँ खर्च भएको लेखापाल विजय मिश्रले बताउनु भयो । उहाँका अनुसार आश्रममा आन्तरिक दान दातव्यबाट ३९ लाख १५ हजार २७१ रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, गत आवमा आश्रमको सम्पत्ती खरिदमा दुई लाख ३२ हजार ६८४ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
आश्रमका अध्यक्ष कृष्णराज ओलियाले आश्रमको भावी योजना तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ओलियाले सामान्य अवस्थाबाट सुरु गरिएको यो आश्रम विशाल धर्मनाथ धाम बन्न सफल भएकोमा सबै समाजसेवी लमजुङवासीको योगदान रहेको आफ्नो प्रस्तुतिका क्रममा उल्लेख गर्नु भएको थियो ।
सो अवसरमा काँग्रेस नेता गोविन्दप्रसाद धिताल, नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, इलाका प्रहरी कार्यलय भोटेओडारका प्रमुख मनोज पण्डे लगायतको आतिथ्यता रहेको थियो ।
आश्रमका अध्यक्ष ओलियाको अध्यक्षतामा भएको उक्त स्थापना दिवसको कार्यक्रममा आश्रमका उपाध्यक्ष सुकदेव रिसालले स्वागत गर्नु भएको थियो भने व्यवस्थापक लक्ष्मीप्रसाद मिश्रले सञ्चालन गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री पौडेलले आश्रम परिसरको अवलोकन समेत गर्नु भई वस्तुस्थितिका बारेमा जानकारी लिनु भएको थियो ।

प्रकाशित मिति २०८२ श्रावण ९, शुक्रबार ०८:३० गते
हजुरको प्रतिक्रिया