
भूलभूले(लमजुङ)– लमजुङमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उहाँको गृह गाउँपालिकाद्वारा सम्मान गरिएको छ । मर्स्याङदी गाउँपालिकाले ‘साम्बा’लाई सम्मान गरेको हो । सम्मानपत्र प्रदान गर्दै लमजुङको मर्स्याङदी गाउँपालिले साम्बालाई सम्मान गरेको हो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सम्मानपत्र हस्तान्तरण गर्दै एक कार्यक्रमका बीच साउन ९ गते सम्मान गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मर्स्याङदी गाउँपालिका– ९ को पामचोक गाउँको सामान्य परिवारमा जन्मिएर फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु र सार्क राष्ट्रबीच चिनाउदै लमजुङ र मर्स्याङदी गाउँपालिकाको इज्जत र गौरव बढाएको भन्दै साम्बालाई सम्मान गरिएको बताउनु भयो । उहाँले नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक गोलकर्तामध्ये एक सावित्राको योगदानले देशकै खेलकुद क्षेत्रमा प्रेरणा प्रदान गरेको जानकारी दिनु भएको थियो ।
सो अवसरमा साम्बालाई मर्स्याङदी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर मावि खुदीलगायतले पनि सम्मान गरेका थिए । उहाँलाई सम्मान गर्नेहरूमा गाउँपाकिलाका उपाध्यक्ष जुनामाया थापा, गाउँपाकिलाकै प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रवि थापा, मर्स्याङदी युवा तथा खेलकुद विकास समिति अध्यक्ष खेम घले, अमर मावि खुदीका अधयक्ष अमृता पोखरेल, प्रधानाध्यापक तीर्थबहादुर बस्नेतलगायतले दोसल्ला ओढाउनुका साथै फूलमाला, खदा लगाउँदै सम्मानपत्र, मायाको चिनोलगायतले सम्मान गर्नु भएको हो ।
उपप्रमुख जुनामाया थापाले पछिल्लो समय महिलाहरू खेलकुददेखि हरेक क्षेत्रमा अघि बढ्दै गएकोप्रति खुशी व्यक्त गर्नु भयो । उहाँले लैङ्गिक समानताका लागि सबै महिलाले पुरुषभन्दा कम छैन भन्ने मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।
सम्मान ग्रहण गरेपछि साम्बाले सफलताका लागि अनुशासन र लगनशीलताको महत्वलाई जोड दिँदै फुटबल खेल्नका लागि वातावरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले अझै धेरै अघि बढ्नु छ । मलाई अझै धेरैजना म जस्तै फुटबल खेलेको हेर्न मन छ । यसका लागि सरकारले वातावरण बनाइदिनु पर्छ ।’
सो अवसरमा साम्बाले आफूले लगाउने नं ९ जर्सी गाउँपालिकाका अध्यक्ष गुरुङलाई उपहार स्वरुप प्रदान गर्नु भएको थियो ।
सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नु भएकी साम्बाले इजरायल, भारत, माल्दिभ्स लगायतका देशमा विभिन्न लिगमा सहभागी भइ नेपालको प्रतिनिधित्व गरिसक्नु भएको छ ।
उक्त अवसरमा आयोजित मर्स्याङदी गाउँपालिकाभित्र रहेका अण्डर १९ खेलाडी तथा विद्यार्थीसँग साक्षात्कार गर्दै साम्बाले अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलता उन्मुख गराउने बताउनु भयो । ती खेलाडीलाई उत्प्रेरित गर्दै उनले कठिन संघर्षका विच आफूँ यो ठाउँसम्म आइपुगेको हुँदा संघर्षबाट हार नखाई अघि बढ्न सकेमा सफलता हात पार्न सकिने बताउँदै आफूले यो क्षेत्रमा अझै धेरै काम गर्न बाकी रहेको सुनाउनु भयो ।
साम्बा हालैमात्र न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित हुनु भएको छ । अस्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि क्लबले उहाँलाई अनुबन्ध गरेको हो ।
यसअघि उहाँले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेल्नु भएको थियो । उक्त क्लबसँगको यात्रा विट मार्दै उहाँले २ महिनाअघि मात्र नेपाल फर्कनुभएको थियो ।
साम्बाको सम्मानार्थ यसअघि गाउँपालिकाले सावित्राको जन्मस्थल रहेको वडा मर्स्याङदी गाउँपालिका– ९ को खुदीबजार क्षेत्रलाई ‘साम्बाचोक’ नामाकरण गरी उहाँको स्तम्भ समेत बनाएर उदघाटन गरेको छ ।
प्रकाशित मिति २०८२ श्रावण ९, शुक्रबार १६:१३ गते