
खत्रीठाँटी(लमजुङ)– लमजुङमा ८९ वर्षीया एक बयोबृद्ध आमाको दशदान, वैतर्णी गरिएको छ । सुन्दरबजार नगरपालिका– ६ को स्थानीय वजारमा बसोबास गर्नु हुने बयोबृद्धा आमा तारादेवी केसीको दश दान, वैतर्णी कार्य साउन १० गते गरिएको हो ।
उहाँको यहाँ स्थित निवासमा उक्त कार्य गरिएको हो । स्थानीय पंण्डित रामप्रसादले सो कर्म गराउनु भएको उहाँका माहिला छोरा कृष्ण के.सी.ले बताउनु भयो । उहाँका अनुसार आमालाई सुगर, प्रेसर, श्वासप्रश्वास लगायतको स्वास्थ्य समस्या रहेको छ । उहाँले भन्नुभयो, ‘हाम्रो संस्कार संरकृतिमा दश दान वैतर्णी गरेपछि ग्रह काटिन्छ भन्ने मान्यता छ, आमालाई सहज हुन्छ भन्ने विश्वासले दश दान वैतर्णी कार्य गरिएको हो ।’
डढे महिनाको अस्पतालमा उपचारपछि आमा एक साता अघिमात्र घरमा आउनु भएको कृष्ण के.सी.ले जनाकारी दिनुभयो । उहाँका अनुसार यस्तो उपचार करिब तीन, चार महिनाको अन्तरमा यसअघि तीन पटक गरिसकिएको हो ।
दाजु ढालबहादुर के.सी. पनि आउनु भएको मौकामा आमाले थाहा पाउँदैमा उहाँको आफ्नै हातबाट यी कार्य गर्नु उचित हुने ठानेर घर सल्लाहले गर्ने भन्ने भयो र गरिएको कृष्ण केसीले जानकारी दिनुभयो ।
तारादेवीका जेठा छोरा ढालबहादुर के.सी. नेपाली सेनाको प्रमुख सेनानी पदबाट निवृत्त हुनुहुन्छ भने कान्छो छोरा अभिमन्यु के.सी. सपरिवार अष्ट्रेलियामा रहनु भएको छ ।
दश दान, बैतर्णीको महत्त्वमा प्रकाश पार्दै रामुप्रसाद पण्डितले यो कार्य परलोक हुँदा वैतर्णी नदी पार गर्न सहजा होस् भनेर टिकट काटेको हो भन्नुभयो । त्यस्तै, दशदानमा गाई, भूमि, तिल, नुन, सुन, चाँदी, घ्यूँ, कपडा(कपास), चिनी र धानको दान गरिने जानकारी उहाँले दिनुभयो । ती हरेक वस्तुको दानको छुट्टा छुट्टै महत्व रहेको जानकारी उहाँले दिनुभयो । गाई दानले प्रायश्चित्त गराउँछ, भूमि दानले कर्तव्य दोषबाट मुक्ति दिन्छ र स्वर्गको स्थान सुरक्षित गर्छ, तिल दानले कुकर्मको दोष नष्ट हुन्छ, धान जीवन धान्न र आउँदो जीवनका लागि पनि सहज बनाउन मद्दत गर्छ भन्ने उल्लेख गर्नु भयो ।
यसैगरी, नुन स्वादिष्टताका लागि सुन, चाँदी शिवजीको तीन नेत्रको शक्ति आर्जनका लागि घ्यूँ पाप नासका लागि तथा चिनी लक्षित सपना पुरा गर्नका लागि दान गर्ने शास्त्रीय मत रहेको उहाँले जानकारी दिनुभयो ।
तारादेवी केसीका तीन भाइ छोरा र चार छोरी हुनुहुन्छ । छोराहरूतर्फ पाँच नाती, दुई नातिनी तथा पाँच पलाती र एक पलातिनी छन् । छोरीतर्फ भने सन्तान नभएको बुझिएको छ । चार छोरीमध्ये दुईले विवाहनै गर्नु भएन भने विवाह गर्नु भएको दुई छोरीतर्फ पनि सन्तान भएनन् । ‘हामीलाई अन्य नपुग्दो केही छैन, तर हामी भाञ्जा– भाञ्जीका गरीब छौं’ कृष्ण केसीले दुखेसो पोख्दै सुनाउनु भयो ।
प्रकाशित मिति २०८२ श्रावण १०, शनिबार १९:४१ गते