सेवाको क्षेत्रका साथ स्तर बृद्धि गर्दै HDCS नमुना सामुदायिक अस्पताल

सेवाको क्षेत्रका साथ स्तर बृद्धि गर्दै HDCS नमुना सामुदायिक अस्पताल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ११ गते आईतबार ०८:२१

अस्पतालले सुन्दरबजार, राइनास र दोर्दी क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य शिक्षा तथा BLS तालिम सञ्चालन गर्नुका साथै विशेष प्याकेजसहित होम केयर सेवा समेत सुरु गरेको अस्पतालका निर्देशक हेमन्त श्रेष्ठले बताउनु भयोे ।

गत आवमा पाँच हजारभन्दा बढीले झण्डै ५७ लाख बराबारको निःशुल्क उपचार सेवा पाए जो सामाजिक उत्तरदायित्वका क्षेत्रमा उत्कृष्ट उदाहरण हो ।

सुन्दरबजार(लमजुङ)– HDCS नमुना सामुदायिक अस्पताल, सुन्दरबजारले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा अस्पतालले उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिदै सो अस्पतालका निर्देशक हेमन्त श्रेष्ठले सोवाको फेहरिस्त साउन ९ गते सार्वजनिक गर्नु भएको हो ।
अस्तालबाट निःशुल्क सेवा मार्फत पाँच हजार ५६४ जनाले प्रत्यक्ष सेवा पाएका छन्, जसमा तीन हजार ४४५ महिला र दुई हजार ११९ पुरुष रहेको निर्देशक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अस्पतालले सो क्रममा ५६ लाख ८२ हजार ७७० बराबरको सेवा निःशुल्क प्रदान गरेको छ । उहाँले भन्नुभयो, ‘यो कार्य सामाजिक उत्तरदायित्वका क्षेत्रमा उत्कृष्ट उदाहरण हो ।’
स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न साझेदार संस्थासँगको सहकार्यमा अस्पतालले स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउँदै लमजुङ र तनहुँवासीलाई गुणस्तरीय, सुलभ र निःशुल्क सेवा प्रदान गर्न सफल भएको श्रैष्ठको भनाइ छ ।
अस्पतालले गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ‘C’ ग्रेडको मान्यता प्राप्त गर्दै गुणस्तरीइतामा बलियो उपस्थिति देखाउन सफल बन्नु उन्मुख भएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगशाला, फिजियोथेरापी, स्टोर र फार्मेसी विभागका लागि नयाँ भवन निर्माणको काम अघि बढेको छ । यो पूर्वाधार विस्तारसँगै अस्पतालको सेवा अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
निर्देशक श्रेष्ठले भन्नुभयो, ‘प्रदेश स्वास्थ्य निर्देशनालयबाट २५ शैयाको अस्पताल सञ्चालन स्वीकृति पाउनुले संस्थागत हैसियत अझ बढाएको छ । अत्याधुनिक प्रविधिसहित आँखा परीक्षण सेवा कम्प्युटर प्रणालीमार्फत सुरु गरिएको छ भने जिल्लामै पहिलोपटक पल्मोनरी फङ्सन टेस्ट (Pulmonary Function Test) सेवा सुरु गरिएको छ, जसले स्वासप्रश्वाससम्बन्धी रोग पहिचानमा सहयोग पुर्याइरहेको छ ।’
आर्थिक वर्ष २०८१/८२ मा कुल १७ हजार ५१२ जनाले बहिरङ्ग, ६८८ जनाले अन्तरङ्ग र २८४४ जनाले आकस्मिक सेवा लिएका निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । यसैगरी सो आर्थिक बर्षमा निदानात्मक परीक्षणको संख्या एक लाख ३४ हजार २६० पुगेको छ भने शल्यक्रिया एक हजार ८४७ वटा गरिएको छ । १० जनाले सुरक्षित सुत्केरी सेवा लिएका मध्ये १ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
नमुना सामुदायिक अस्पतालबाट गर्भवती जाँच (ANC) सेवा अन्तर्गत १६२ महिला र मनोविमर्श सेवा अन्तर्गत ६११ जना लाभान्वित भएका छन् । दन्त र फिजियोथेरापी सेवाबाट क्रमशः तीन हजार ३६९ र एक हजार २८७ जनाले सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ । यसै बर्ष बाट अस्पतालमा टेलिमेडिसिन सेवा पनि सुरु गरिएको निर्देशक श्रेष्ठको भनाइ छ । जसमा शुरुको बर्ष ४८ जनाले सेवा लिएका छन् ।
अस्पतालले तीन हजार एक सय जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा शिविरमार्फत सेवा दिइएको छ । सर्पदंश, विषाक्त खाना, विष सेवन, रेबिज भ्याक्सिन जस्ता आकस्मिक तथा विशेष सेवाहरूमा पनि अस्पतालले सक्रिय भूमिका खेलेको छ । अस्पतालले सर्पदंश ३२, फूड पोइजनिङ २१८, विष सेवन ३ र रेबिज खोप १२९ जनालाई सेवा दिएको अस्पताल प्रशासनले जानकरी दिएको छ ।
सुन्दरबजार रेसिलियन्स परियोजना (SRP) को सफल कार्यान्वयन अस्पतालको अर्को उपलब्धि हो । परियोजना अन्तर्गत वडा नं. २, ५, ६ र ८ का सामुदायिक विद्यालय र समुदायमा विपद् पूर्वतयारी, प्राथमिक उपचार, स्वास्थ्य परीक्षण तथा WASh (पानी, सरसफाइ र स्वच्छता) सम्बन्धि गतिविधि सञ्चालन गरिएको निर्देशक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यसले समुदायमा आपतकालीन तयारी र जनस्वास्थ्य चेतना अभिवृद्धिमा योगदान पुर्याउने काम गरेको छ ।
यसैगरी, अस्पतालले सुन्दरबजार, राइनास र दोर्दी क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य शिक्षा तथा BLS तालिम सञ्चालन गर्नुका साथै विशेष प्याकेजसहित होम केयर सेवा समेत सुरु गरेको अस्पतालका निर्देशक हेमन्त श्रेष्ठले बताउनु भयोे । उहाँका अनुसार यिनै सेवामार्फत बिरामीहरूलाई निःशुल्क यातायात सुविधा पनि उपलब्ध गराइएको थियो । उहाँले भन्नुभयो, ‘यो कार्यले दुर्गम क्षेत्रका बिरामीलाई ठूलो राहत दिएको अनुभूति भएको छ ।’
अस्पतालले ल्याब इन्फर्मेसन सिस्टम स्थापनामार्फत रिपोर्टिङ प्रणालीमा आधुनिकता भित्र्याएको छ । विद्यार्थीहरूले बालबालिका वार्ड रंगरोगन गरी सिंगार्दा बिरामी बालबालिकामा सकारात्मक असर परेको समेत अस्पतालले जनाएको छ ।
अस्पतालले नियमित आन्तरिक तालिम तथा निरन्तर चिकित्सा शिक्षा कार्यक्रममार्फत आफ्ना कर्मचारीहरूको सीप अभिवृद्धि गरिरहेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरूलाई स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न तालिमहरूमा सहभागी गराइएको छ । विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको निर्देशक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो कार्यले हरियाली प्रवर्धन अभियानमा सन्देशमूलक कार्य समेत भएको अस्पतालले विश्वास लिएको छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्यमन्त्री स्वयम् अस्पतालको निरीक्षण भ्रमणमा आई संस्थाको पारदर्शीता र समर्पणका बारेमा जानकारी लिने काम भएबाट अस्पताललाई स्तरीकरण गर्न थप सहयोग भएको छ ।’
अस्पताल परिसरमा आँखा, दन्त, फिजियोथेरापी, महिला स्वास्थ्य लगायत विशेषज्ञद्वारा निःशुल्क शिविर सञ्चालन गरी सेवालाई थप विस्तार र विश्वसनीय बनाउन प्रयास भएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालले चालु आर्थिक वर्षका लागि महत्वाकांक्षी योजना सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा सेवा सुरु गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, नसर्ने रोग न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने, निर्माणाधीन भवन सम्पन्न गरी सेवा स्थानान्तरण गर्ने र समुदायमा निःशुल्क शिविर तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको निर्देशक श्रेष्ठले उल्लेख गर्नुभयो ।
लमजुङका साथै तनहुँको उत्तरी क्षेत्रकाबासिन्दाका लागि समेत विषेश सेवा दिएको उक्त अस्पतालबाट सेवा लिएर हजारौं नागरिकले प्रत्यक्ष लाभान्वित भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले उक्त कार्यले गण्डकी प्रदेशस्तरमासमेत अनुकरणीय स्थान बनाउँदै गएको छ ।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक र साझेदार संस्थाको सहकार्यमा अगाडि बढिरहेको ज्म्ऋ नमुना सामुदायिक अस्पतालले लमजुङ जिल्लालाई गुणस्तरीय, पहुँचयोग्य र समावेशी स्वास्थ्य सेवाको नयाँ उदाहरण प्रस्तुत गर्ने जमर्कोमा सफलता हासिल गर्दै गएको छ ।

प्रकाशित मिति २०८२ श्रावण ११, आईतवार ०८:२१ गते
हजुरको प्रतिक्रिया